हालान्ड चम्किँदा सिटीको सानदार सुरुआत
शुक्रबार राति भएको लिगको पहिलो खेलमा इर्लिङ हालान्डको २ गोल मद्दतमा सिटीले नवप्रवेशी क्लब बर्नलीमाथि ३-०को जित निकाल्यो।
काठमडौं, साउन २७ : डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा सानदार सुरुआत गरेको छ।
शुक्रबार राति भएको लिगको पहिलो खेलमा इर्लिङ हालान्डको २ गोल मद्दतमा सिटीले नवप्रवेशी क्लब बर्नलीमाथि ३-०को जित निकाल्यो।
बर्नलीको घरेलु मैदानमा सम्पन्न खेलको चौथौ मिनेटमा सिटीले अग्रता लियो। रोड्रीको पासमा हालान्डले पहिलो टचमै गोल गरे।
३७औं मिनेटमा हालान्डले नै गोल गर्दै सिटीको अग्रता दोब्बर पारे। उनले जुलियन अल्भारेजले डिबक्समा मिलाइदिएको पासमा गोल गरेका थिए।
योसँगै हालान्डले युरोपको शीर्ष पाँच लिगमा एक सय गोल पूरा गरेका छन्। उनले ६३ बोरुसिया डर्टमुन्ड र सिटीका लागि ३७ गोल गरेका छन्।
पहिलो हाफमा दुई गोलको अग्रता बनाएको सिटीका लागि ७५औं मिनेटमा रोड्रीले गोल गर्दै ३-० को जित दिलाए।
प्रकाशित मिति: ०९:०० बजे, शनिबार, साउन २७, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












