नवीन सुब्बाको ‘गाउँ आएको बाटो’ टोरन्टो फिल्म फेस्टिभलमा
फिल्म राई जातिको सामाजिक पृष्ठभूमिमा तयार भएको छ । गाउँमा सडक आएपछि बाबुछोराको सम्बन्धमा आउने उतारचढावलाई नियाल्ने प्रयास फिल्मले गरेको छ।
काठमाडाैं, साउन २६ : नवीन सुब्बा निर्देशित फिल्म ‘गाउँ आएको बाटो’ टोरन्टो अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा छनोट भएको छ। निर्माण टोलीले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै छनोटबारे जानकारी दिएको हो।
टोरन्टो फिल्म फेस्टिभलको ४८औं संस्करण सेप्टेम्बर ७ देखि १७ सम्म आयोजना हुने छ।
फिल्म राई जातिको सामाजिक पृष्ठभूमिमा तयार भएको छ । गाउँमा सडक आएपछि बाबुछोराको सम्बन्धमा आउने उतारचढावलाई नियाल्ने प्रयास फिल्मले गरेको छ।
विश्व प्रतिष्ठित फेस्टिभलमा नेपाली फिल्म छनोट हुनुले सकारात्मक प्रभाव पार्ने निर्देशक सुब्बाले बताए। ‘यसले हाम्रा फिल्मलाई अन्तर्राष्ट्रियकरण गर्न सघाउने विश्वास छ,’ उनले भने।
सुब्बाले निर्देशन गरेको पहिलो फिल्म ‘खाङ्ग्री’ पनि अन्तर्राष्ट्रिय बजार पुगेको थियो। उनीले निर्देशन गरेको फिलम ‘नुमाफुङ’ फुकुओका, गोटेवर्ग, सन्फ्रान्सिस्कोजलगायत थुप्रै अन्तर्राष्ट्रिय महोत्सवमा छनोट भएको थियो।
‘गाउँ आएको बाटो’मा दयाहाङ राई, पशुपति राई, प्रसन राई, केशव राई, सुमित्रा राई, राज थापा, प्रेम सुब्बालगायतको अभिनय छ। महेश राई र निर्देशक सुब्बा संयुक्त रुपमा लेखेको फिल्म जोस हेरमले खिचेका हुन्।












