‘खोज अभियान’अन्तर्गत ४० हजार बालबालिकालाई खोप
स्वास्थ्य सेवा विभागको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले अभियानअन्तर्गत नियमित खोप लगाउन छुटेका ४० हजार ४ सय ६३ बालबालिकालाई खोप प्रदान गरिएको जानकारी दिए।
काठमाडाैं, साउन २४ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘बृहत खोज र खोप अभियान’अन्तर्गत नियमित खोप लगाउन छुटेका ४० हजार बालबालिकालाई खोप प्रदान गरेको छ।
स्वास्थ्य सेवा विभागको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले अभियानअन्तर्गत नियमित खोप लगाउन छुटेका ४० हजार ४ सय ६३ बालबालिकालाई खोप प्रदान गरिएको जानकारी दिए।
मन्त्रालयले १५ महिनाभित्रमा लगाउनुपर्ने नियमित खोप लगाउन छुटेका पाँच वर्षमुनिका बालबालिकालाई अभियान सञ्चालन गरी खोप लगाएको उनले बताए।
प्रमुख डा गौतमका अनुसार गत वैशाख १५ र ३१ गते अभियान सञ्चालन गरिएको थियो। उनका अनुसार १५ महिनाभित्र लगाउनुपर्ने खोपको एक मात्रा पनि नलगाएका दुई हजार ९० बालबालिकालाई पहिलो पटक खोप प्रदान गरिएको छ।
कुनै एक वा सोभन्दा बढी मात्रा खोप लगाउन छुटेका ३८ हजार तीन सय ७३ बालबालिकालाई विभिन्न नौ किसिमका १३ रोगविरुद्ध १८ मात्रा खोप प्रदान गरिएको प्रमुख डा. गौतमले जानकारी दिए। उनका अनुसार ४ हजार ६ सय सात स्थानबाट खोप प्रदान गरिएको थियो।
प्रमुख डा गौतमले नियमित खोप लगानुपर्ने समयमा नलगाएका बालबालिकालाई अहिले लगाइएको खोप कम प्रभावकारी भए पनि काम गर्ने बताए। 'जुन उमेर/समयमा खोप लगाउनुपर्ने हो त्यसबेला नलगाएर अहिले लगाउँदा खोपको प्रभाव पहिला लगाउँदाको जस्तो नहुन सक्छ,' उनले भने, 'तर छुटेको खोप अहिले लगाउँदा पनि काम भने गर्छ।' पहिले ९५ देखि शतप्रतिशत खोपको प्रभाव हुनेमा अहिले ८० प्रतिशतसम्म काम गर्ने उनको भनाइ थियो।
मधेस प्रदेशमा कुनै एक मात्र पनि नियमित खोप नलगाएका बालबालिका बढी रहेका पाइएको प्रमुख डा. गौतमले जानकारी दिए। उनका अनुसार कुनै पनि खोप नलगाउनेमा मधेसमा १ हजार ३ सय १६, लुम्बिनीमा २ सय ९५, वागमतीमा १ सय ७६, कोशीमा १ सय ६०, सुदूरपश्चिममा १ सय पाँच, कर्णालीमा २९ र सबैभन्दा कम गण्डकीमा नौ जना रहेका छन्।
पूर्ण मात्रा खोप लगाउँदा स्वास्थ्यमा हुने फाइदा तथा खोप लगाइने स्थान र समयको बारेमा पर्याप्त जानकारी नहुनु, खोप सेवाका बारेमा प्रभावकारी परामर्शको कमी, कतिपय समुदाय/स्थानमा खोपप्रतिको गलत बुझाइलगायत कारणले बालबालिका नियमित खोपबाट वञ्चित भएका मन्त्रालयले जनाएको छ।
कोरोना सङ्क्रमण फैलिएका समयमा बन्दाबन्दी (लकडाउन) ले गर्दा पनि बालबालिका नियमित खोप लगाउनबाट वञ्चित भएका खोप शाखा प्रमुख डा गौतमले बताए। उनले खोप लगाउन छुटेका बालबालिकाका लागि प्रत्येक वर्ष नियमित खोप अभियान सञ्चालन गरिने जानकारी दिए।
नेपाल जनसाङ्ख्यिक स्वास्थ्य सर्वेक्षण–२०२२ का अनुसार जन्मेदेखि पाँच वर्षमुनिका ५२ प्रतिशत बालबालिकाले पूर्ण, ४८ प्रतिशतले अपूर्ण र ४ प्रतिशतले कुनै पनि खोप लगाएका छैनन्। उक्त सर्वेक्षण अनुसार एक वर्षमुनिका ८० प्रतिशतले बालबालिकाले पूर्ण खोप लगाएका छन्।












