बागमती प्रदेशका ७० हजार पशुलाई लम्पी स्किनविरुद्धको खोप
साउन २५ गतेदेखि ३१ गतेसम्म अभियानका रुपमा खोप लगाउन सुरु गरिने मन्त्रालयका सचिव डा. शरणकुमार पाण्डेले जानकारी दिए।
मकवानपुर, साउन २३ : बागमती प्रदेशको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले ७० हजार गाईभैँसीलाई लम्पी स्किनविरुद्धको खोप दिने भएको छ।
साउन २५ गतेदेखि ३१ गतेसम्म अभियानका रुपमा खोप लगाउन सुरु गरिने मन्त्रालयका सचिव डा. शरणकुमार पाण्डेले जानकारी दिए। ‘सबै पशुलाई खोप लगाउन नसके पनि अभियान सञ्चालन गरेर सन्देश दिन मन्त्रालयले चाहेको छ,’ उनले भने।
प्रदेशभित्रका सबै जिल्लामा गोठमै गएर खोप लगाइने छ। एउटा पशुलाई खोप लगाउने प्राविधिकले २० पाउने छन्। निजी क्षेत्रबाट प्राविधिक छनोट गरेर खोप लगाउन लागिएको हो।
एउटा पशुलाई खोप लगाउँदा खोपको मूल्य १३० रुपैयाँ हाराहारी पर्न आउँछ। यो अभियानमा प्रदेशले करिब एक करोड खर्च गर्न लागेको उनले जानकारी दिए।
हालसम्म बागमती प्रदेशमा लम्पी स्किनबाट कूल संक्रमित पशुको सङ्ख्या दुई लाख चार हजार नौ सय ८८ पुगेको छ। जसमध्ये सबैभन्दा बढी दोलखामा ३३ हजार छ सय २४ छन् भने कम ललितपुरमा एक हजार आठ सय ८८ छन्।
सक्रिय सङ्क्रमित पशुको सख्या एक लाख १० हजार चार सय ४० रहेको उनले जानकारी दिए। जसमा काभ्रेपलान्चोकमा सबैभन्दा बढी २७ हजार दुई सय ९९ र ललितपुरमा सबैभन्दा कम छ सय ५१ छन्।
रोगका कारण हालसम्म ६ हजार दुई सय ९१ पशु मरेका छन्। जसमध्ये सिन्धुपाल्चोकमा सबैभन्दा बढी आठ सय ९६ छन् भने सबैभन्दा कम ललितपुरमा एक सय ४५ छन्।
हालसम्म एक लाख ३२ हजार नौ सय पशुलाई खोप लगाइसकिएको छ। सचिव पाण्डेले रोग नियन्त्रणका लागि सुरुका दिनदेखि हालसम्म प्रदेश सरकारले आफ्ना मातहतका कार्यालयमार्फत काम गरिरहेको बताए।












