पहिराले मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध
अबिरल वर्षाका कारण लोकमार्गको बागलुङ–बुर्तिबाङ सडकखण्डअन्तर्गत काठेखोला गाउँपालिका–६ इनारपानी र करिडोरको बागलुङ नगरपालिका–गलुवामा पहिरो झर्दा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ।
बाग्लुङ, साउन २३ : अबिरल वर्षाका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध भएको छ।
अबिरल वर्षाका कारण लोकमार्गको बागलुङ–बुर्तिबाङ सडकखण्डअन्तर्गत काठेखोला गाउँपालिका–६ इनारपानी र करिडोरको बागलुङ नगरपालिका–गलुवामा पहिरो झर्दा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ।
मध्यपहाडी लोकमार्गमा एकतर्फी सडक सञ्चालन गर्ने तयारी छ। गलुवाको पहिरो हटाएर करिडोर सञ्चालन गर्न जेसिबी पठाए पनि त्यसले सडक खुलाउन नसकेको प्रहरी नायब उपरीक्षक केसीले बताए। सडक खुलाउन ठूलो डोजर नै पठाउनुपर्ने भएकाले पालिका केही समय लाग्ने उनले बताए।
‘वर्षा ठूलो भयो, राति पहिरो गएपछि दुईवटै सडक अवरुद्ध छन्, सडक खुलाउने प्रयास भएको छ, मध्यपहाडी लोकमार्ग केहीबेरमा सञ्चालनमा आउने देखिएको छ भने करिडोर खुलाउन केही समय लाग्छ, निकै ठूलो पहिरो गएको हुँदा पन्छाउन ठूलो मेसिन चाहिन्छ,’ उनले भने, ‘अहिले वर्षा कम भएको छ, मेसिनले काम सुरु ग¥यो भने करिडोर दिउँसोसम्म खुल्ला।’
करिडोर अवरुद्ध हुँदा जिल्ला सदरमुकामबाट दक्षिण बागलुङको जैमिनी, बलेवा, बरेङलगायतका क्षेत्र सीधा यातायात हुनसकेको छैन भने लोकमार्ग अवरुद्ध हुँदा बुर्तिबाङ, गलकोटबाट काठमाडौं, पोखारा, चितवन, बागलुङलगायतका ठाउँमा जाने गाडी सडकमै रोकिएका छन्।
बागलुङ बजारबाट पश्चितर्फ सञ्चालन हुने गाडी पनि सडकमै ठप्प भएका छन् भने यात्रु बीचबाटोमा अलपत्र परेका छन्।












