एएफसी कप छनोटमा भुटानको पारो एएफसीसँग भिड्दै मछिन्द्र
मच्छिन्द्रका कप्तान विशाल श्रेष्ठले टिममा रहेका खेलाडीहरुले राम्रो खेल खेल्ने र सोचेजस्तो नजिता निस्कने विश्वास व्यक्त गरे।
काठमाडाैं, साउन २२ : एएफसी कपको प्रारम्भिक चरणमा मछिन्द्र क्लबले भुटानको पारो एफसी क्लबसँग खेल्दैछ। खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार साँझ हुनेछ।
खेलका लागि दुवै टोली तयारी अवस्थामा रहेको प्रिम्याच कन्फ्रेन्समा जानकारी दिइयो। दुवै टोलीका कप्तान र प्रशिक्षकले खेलको तयारी राम्रो भएको बताए।
मछिन्द्रका प्रशिक्षक किशोर केसीले सबै प्रशिक्षण सकेर खेलका लागि आफ्नो टोली तयारी अवस्थामा रहको बताए। ए डिभिजन लिग विजेता चर्च बोइजसँग एएफसीको लाइसेन्स नहुँदा उपविजेता बनेको मछिन्द्रले एएफसी कप खेल्ने अवसर पाएको हो।
मच्छिन्द्रका कप्तान विशाल श्रेष्ठले खेलको सम्पूर्ण तयारी सम्पन्न गरेको बताए। उनले टिममा रहेका खेलाडीहरुले राम्रो खेल खेल्ने र सोचेजस्तो नजिता निस्कने विश्वास व्यक्त गरे।
पारो एफसीका प्रशिक्षक पुष्पलाल शर्माले भुटानमा लिग भइरहेकाले आफ्नो टोलीको तयारी राम्रो रहेको बताए। उनले मछिन्द्रमा राष्ट्रिय खेलाडीसमेत समावेश रहेकाले आफूहरूले मछिन्द्रलाई बलियो प्रतिद्वन्द्वीको रूपमा लिएको बताए।
मछिन्द्र र पारोबीचको खेलको विजेताले एएफसी कपको दोस्रो चरणमा भारतको मोहन बगान क्लबसँग खेल्ने छ। उक्त खेल साउन ३१ गते हुनेछ।
मछिन्द्रले गत वर्ष पनि एएफसी कपको प्रारम्भिक चरण खेलेको थियो। घरेलु मैदानमा मछिन्द्र श्रीलंककको क्लब ब्लू स्टारसँग पराजित भएको थियो।












