Kathmandu Press

सौर्य मिनीग्रिडबाट विद्युतीकरण

सत्तरी किलोवाट पिक क्षमताको ‘ककनी सौर्य मिनीग्रीड आयोजना’बाट जिल्लाको सुनकोशी गाउँपालिकाको वडा नं ९ स्थित ककनी गाउँका १७१ घरधुरीमा विद्युत् पहुँच पुगेको छ। 
सौर्य मिनीग्रिडबाट विद्युतीकरण

काठमाडौं, साउन २१ : वैकल्पिक ऊर्जा  प्रवर्द्धन केन्द्रको आर्थिक तथा प्राविधिक सहयोग तथा सुनकोशी गाउँपालिकासँगको साझेदारी र स्थानीयवासीको सहभागितामा ओखलढुङ्गाको ककनीमा सौर्य मिनीग्रीड आयोजना सम्पन्न भएको छ। सत्तरी किलोवाट पिक क्षमताको ‘ककनी सौर्य मिनीग्रीड आयोजना’बाट जिल्लाको सुनकोशी गाउँपालिकाको वडा नं ९ स्थित ककनी गाउँका १७१ घरधुरीमा विद्युत् पहुँच पुगेको छ। 

आयोजनाबाट उत्पादित विद्युत्बाट घरधुरी विद्युतीकरणका साथै विद्यालय, स्वास्थ्यचौकी लगायतका सार्वजनिक संस्थामा विद्युतीकरण एवं यन्त्र उपकरण सञ्चालन तथा धान कुटानी, फर्निचरजस्ता लघुउद्यम सञ्चालनमा समेत सघाउ पुगेको छ। कूल लागत छ करोड ४२ लाख ८८ हजार रहेको आयोजनामा कूल लागतको ९० प्रतिशत वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको अनुदान रहेको छ भने १० प्रतिशत लगानी सुनकोशी गाउँपालिकाको रहेको छ।

Hardik ivf

एक समारोहबीच आयोजनाको उद्घाटन गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले आगामी दुई वर्षभित्र सबैमा विद्युत् पहुँच पुर्‍याउने लक्ष्य हासिल गर्न विद्युतीकरणको अभियानलाई देशैभर अघि बढाइएको बताए। 

सुनकोशी गाउँपालिकाका अध्यक्ष कमल तामाङको सभापतित्वमा भएको कार्यक्रममा केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले आयोजनालाई दिगोरुपमा सञ्चालन गर्नुपर्नेमा जोड दिंदै आयोजना निर्माणमा संलग्न सम्पूर्ण सरोकारवालालाई धन्यवाद दिए। आयोजनालाई पाँच वर्षसम्म जडानकर्ता कम्पनीले सञ्चालन एवं मर्मतसम्भार गर्ने र त्यसपछि स्थानीय तहलाई हस्तान्तरण गरिने केन्द्रका सहायक निर्देशक एवं सौर्य तथा वायु ऊर्जा शाखाका प्रमुख डा लक्ष्मणप्रसाद घिमिरेले बताए।

प्रकाशित मिति: १५:१५ बजे, आइतबार, साउन २१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्