राष्ट्रिय सुरक्षाको आयाम व्यापक र फराकिलो भइसकेको छ : उपप्रधानमन्त्री खड्का
उपप्रधानमन्त्री खड्काले सैनिक कमाण्ड तथा स्टाफ कलेजलाई स्रोत र साधनको व्यवस्था गरी सर्वोत्कृष्ट शिक्षालयका रुपमा विकास गर्नुपर्नेमा जोड दिए।
काठमाडौं, साउन १९ : उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले राष्ट्रिय सुरक्षाको आयाम परम्परागत दृष्टिकोणबाट व्यापक र फराकिलो भइसकेको बताएका छन्।
सैनिक कमाण्ड तथा स्टाफ कलेज, शिवपुरीको निरीक्षण भ्रमणका क्रममा तालिमरत शिक्षार्थी अधिकृतलाई सम्बोधन गर्दै उनले राष्ट्रिय सुरक्षा राजनीतिक, सामाजिक, आर्थिक एवम् भौगोलिक लगायतका अन्य सबै पक्षको समग्र सुरक्षा भएको स्पष्ट पारे।
‘राष्ट्रिय सुरक्षाको आयाम सैनिक शक्तिलाई मात्रै आधार बनाइ बुझ्ने परम्परागत दृष्टिकोणबाट व्यापक र फराकिलो भइसकेको परिप्रेक्षमा यसले राष्ट्रको सार्वभौमिकता, राष्ट्रिय अखण्डता, सामाजिक, आर्थिक, सांस्कृतिक, पर्यावरणीय एवम् मानवीय पक्षलगायतलाई पनि सम्बोधन गर्नु उत्तिकै आवश्यक छ,’ उनले भने, ‘यी विषयवस्तुलाई पनि तालिममार्फत तपाईंहरुले ग्रहण गर्नुहुनेमा विश्वास छ।’
विश्व परिवेशमा देखा परेका विभिन्न घटनाक्रमका कारण अन्तर्राष्ट्रिय सुरक्षा वातावरणमा आइरहेको परिवर्तन, सूचना एवम् प्रविधिको तीव्रगतिमा भइरहेको विकासक्रमका साथै राष्ट्रिय रुपमा राजनीतिक, सामाजिक, सांस्कृतिक एवम् आर्थिक क्षेत्रमा देखिएका परिवर्तनले राष्ट्रिय सुरक्षामा प्रत्यक्ष प्रभाव पारिरहेको उनको भनाइ थियो।
सो अवसरमा उपप्रधानमन्त्री खड्काले सैनिक कमाण्ड तथा स्टाफ कलेजलाई स्रोत र साधनको व्यवस्था गरी सर्वोत्कृष्ट शिक्षालयका रुपमा विकास गर्नुपर्नेमा जोड दिए। तालिमरत शिक्षार्थी अधिकृतलाई सम्बोधन गर्दै कलेजलाई ‘सेन्टर फर एक्सिलेन्स’ बनाउने सन्दर्भमा रक्षा मन्त्रालय सदैव सकरात्मक रहेको उल्लेख गरे।

उनले उच्चस्तरीय तालिम सञ्चालनका लागि राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सञ्चालनमा नआउँदासम्म यहाँ सञ्चालन गरिने तालिमले नै राष्ट्रिय सुरक्षामा टेवा पुग्नेमा विश्वास व्यक्त गरे।
‘राष्ट्रिय सुरक्षा, परराष्ट्र नीति तथा कुटनीति, राजनीतिक अर्थशास्त्र, अन्तर्राष्ट्रिय सम्बन्ध, शान्ति सेनासम्बन्धी विषय, राष्ट्रिय सुरक्षामा विभिन्न सरकारी तथा गैरसरकारी निकायबीचको समन्वयसम्बन्धी विषय, परम्परागत र आधुनिक, सैद्धान्तिक एवम् व्यवहारिक शिक्षा दिँदै आइरहेको यस कलेजलाई भविष्यमा उत्कृष्ट शिक्षालय बनाउन रक्षा मन्त्रालयको सदैव सकारात्मक सहयोग रहनेछ’, उनले भने।
उपप्रधानमन्त्री खड्काले अन्य सुरक्षा निकायबाट पनि उत्कृष्ट अधिकृतहरु सहभागी हुने हुँदा आ–आफ्नो सङ्गठनमा उदाहरणीय रुपमा जिम्मेवारी बहन गरी आफूलाई अब्बल प्रमाणित गर्न तालिमरत शिक्षार्थीलाई सुझाव दिए।
विसं २०४७ सालमा शाही नेपाली सैनिक तालिम प्रतिष्ठानका रुपमा स्थापित उक्त संस्थानले आजका दिनसम्म आइपुग्दा नेपाली सेनाको गौरव गर्न लायक संस्थाको रुपमा रहेको उनले बताए। कलेजमा अन्तर्राष्ट्रिय विद्यार्थी समेतको सहभागिताले अन्तर–सांस्कृतिक ज्ञान र अनुभवको आदानप्रदान गर्ने अवसर समेत उपलब्ध भएको उनले बताए।
उनले कलेजसँग सम्बन्धित चुनौती तथा समस्या समाधान गर्दै आगामी दिनमा कलेजको प्रभावकारी सञ्चालन, व्यवस्थापन एवम् सुरक्षाका लागि व्यावसायिक प्रशिक्षक, आधुनिक एवम् सुविधा सम्पन्न आवास व्यवस्थापनका लागि सहयोगको प्रतिबद्धता व्यक्त गरे।












