सेनाको आकार घटाउनुपर्ने अभिव्यक्तिप्रति केन्द्रको आपत्ति
बिहीबार अध्ययन केन्द्रका अध्यक्ष महारथी प्यारजंग थापाद्वारा हस्ताक्षरित एक विज्ञप्तिमार्फत नेपाली सेनाको संख्या घटाउनुपर्ने भनाईप्रति ध्यानाकर्षण गरिएको हो।
काठमाडौं, साउन १८ : नेपाली सेनाको आकार घटाउनुपर्ने अभिव्यक्तिलाई लिएर नेपाल नीति अध्ययन केन्द्रले आपत्ति जनाएको छ।
नेपाली सेनाको २६० वर्षभन्दा पूरानो गौरवपूर्ण इतिहास रहेको जनाउँदै नेपाली सेनाले शान्ति सेनाको रुपमा विदेशमा ख्याति कमाइ स्वदेशमा पनि आन्तरिक शान्ति, विकास निर्माण, विपद व्यवस्थापनलगायतका कार्य गरेको विज्ञप्तिमा उल्लेख गरेको केन्द्रले जनाएको छ।
बिहीबार अध्ययन केन्द्रका अध्यक्ष महारथी प्यारजंग थापाद्वारा हस्ताक्षरित एक विज्ञप्तिमार्फत नेपाली सेनाको संख्या घटाउनुपर्ने भनाईप्रति ध्यानाकर्षण गरिएको हो।
देशमा राजनैतिक अस्थिरता, बेरोजगारी, जातीय तथा साम्प्रदायिक विखण्डन लगायतका विभिन्न समस्यामा जिम्मेवार निकायहरू मौन रहेको भनाई समेत केन्द्रको छ। साथै सेनाको महत्वको वेवास्ता गरी आकार घटाउन लागेको बताउँदै केन्द्रले चिन्ता समेत व्यक्त गरेको छ।
नेपाली सेनाले बजेटको हिसाबले पनि निकै कम खर्च गर्ने गरेको केन्द्रले जनाएको छ। पाकिस्तानले बजेटको २२ प्रतिशत, श्रीलंकाले १४ प्रतिशत र बंगलादेशले ७.७ प्रतिशत खर्च गर्दा नेपाली सेनाले जम्मा ४.३८ प्रतिशत मात्र गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
देशको भूधरातलीय आवश्यकता, स्वदेश र विदेशमा निभाउनुपर्ने जिम्मेवारी एवमं देशको गौरव अझ बढाउन पर्याप्त सेना चाहिने बेला घटाउने अभिव्यक्ति आउँदा सरकारी निकाय र जनता गम्भीर हुनुपर्ने समेत केन्द्रले जनाएको छ।












