ललितपुरमा ‘लम्पी स्किन’ बढ्दो
सङ्क्रमितमध्ये ७२ भैँसी र ११ गाई मरिसकेका छन्। उहाँका अनुसार सङ्क्रमण बढ्दो क्रममा छ।
काठमाडौं, साउन १८ : ललितपुरमा ‘लम्पी स्किन’ सङ्क्रमण बढ्दो क्रममा देखिएको छ। झिङ्गा, लामखुट्टेका टोकाइबाट पशुमा सर्ने सङ्क्रमण यहाँ फैलिदै गएको हो।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ललितपुरका डा. निशा तिमिल्सिनाका अनुसार ललितपुरमा वैशाखदेखि साउन १६ गतेसम्ममा एक हजार चार सय ३१ पशु सङ्क्रमित भएका छन्। सङ्क्रमितमध्ये ७२ भैँसी र ११ गाई मरिसकेका छन्। उहाँका अनुसार सङ्क्रमण बढ्दो क्रममा छ।
केन्द्रले थप क्षति नहोस् भनेर सजकता अपनाएको जानकारी दिँदै उनले जिल्लाभरमा आठ हजार तीन सय गाईभैँसीलाई ‘लम्पी स्किन’ विरुद्घको खोप लगाइसकेको बताइन्। गोदावरी नगरपालिकामा मात्र पाँच हजार गाईभैँसीलाई खोप लगाएको छ भने यहाँ सङ्क्रमित सङ्ख्या दुई सय ९६ पुगेको छ।
‘उपत्यकामा कूल सङ्क्रमित पशुको सङ्ख्या १२ हजार आठ सय ७३ पगेको छ,’ डा. निशाले भनिन्, ‘गाईभैँसी सङ्क्रमणमुक्त एक हजार १७ छन् भने मर्नेको सङ्ख्या एक सय ७४ पुगेको छ।’ उपत्यकाभरका १७ हजार नौ सय ८८ गाईभैँसीलाई खोप लगाइसकेको उनले बताइन्।












