Kathmandu Press

जापानका तीन सहरमा गुन्जँदै नेपथ्य

जापानका तीन सहरमा गुन्जँदै नेपथ्य

काठमाडौं, साउन १४ : शृंखलाबद्ध कन्सर्ट प्रस्तुत गर्न लोक रक ब्याण्ड नेपथ्य जापान जाने भएकाे छ। यसपाला राजधानी टोकियोमा पहिलो कन्सर्ट दिएपछि लगत्तै फुकुओका र ओसाका सहरका मञ्चहरुमा आफूलाई उभ्याउने हिसाबले १४ सदस्यीय टोली अगस्त पहिलो साता त्यसतर्फ प्रस्थान गर्दैछ।

नेपथ्यले टोकियो स्थित ‘तोयोसु पिट’मा अगस्त ८ तारिखका दिन आफुलाई प्रस्तुत गर्नेछ। त्यसैगरि ब्याण्डले अगस्त १२ तारिखका दिन ‘फुकुओका सिभिल हल’ र अन्तिममा अगस्त १७ तारिखका दिन ओसाकास्थित ‘नाम्बा ह्याच’मा नेपाली लोकरक गुञ्जाउने छ।

सन् १९९८ मा नेपथ्य पहिलोपटक जापानमा प्रस्तुत भएको थियो। पछिल्लोपटक ब्याण्डले आफुलाई सन् २०१८ मा त्यहाँस्थित प्रसिद्ध ‘टोकियो डोम’ मा प्रस्तुत गरेको थियो। अन्तर्राष्ट्रिय पहिचान बनाएको त्यो प्रसिद्ध मञ्चमा प्रस्तुत हुनपाउनु आफैँमा नेपथ्यका लागि कोसेढुंगा थियो।

Hardik ivf

‘जापानसँग धेरै सम्झनाहरु जोडिएका छन्,’ ब्याण्डका अगुवा एवं मुख्य गायक अमृत गुरुङ भन्छन्, ‘जापानसंग जोडिएका मिठा यादहरुमध्ये केही वर्ष अघि टोक्यो डोममा हामीले पाएको भव्य मायाको अनुभूति पनि हाम्रा लागि अविष्मरणीय रहेको छ।’ आफूहरु जुनसुकै परिस्थिति र स्वरुपमा पुग्दा पनि जापानका दर्शकहरुले नेपथ्यलाई सदैव न्यानो हृदयका साथ स्वागत गर्दैआएको अमृत सुनाउँछन्।

लामो समयदेखि नेपाली तन्नेरीहरुका लागि आर्थिक अवसरको हिसाबले आकर्षक गन्तब्य जापान पछिल्लो समय भने उच्च शिक्षाका लागि पनि उल्लेख्य संख्यामा नेपाली विद्यार्थी पुग्ने थलो बन्दै गएको छ। यसरी आफुसँगै नेपाली पहिचान पनि बोकेर उता पुग्ने तन्नेरीहरुले नेपाली लोक भाकामा आधारित रहेर रक संगीतका हिसाबले प्रस्तुत गरिने नेपथ्यका गीतहरुलाई मनपराउँदै आएका छन्।

01 Nepathya Japan Concert Tour 2023 - Poster Image with Info1690712007.jpg

सन् २०१५ मा विनाशकारी भूकम्पलगत्तै जापान पुगेको बेला त्यहाँस्थित अग्रणी टेलिभिजन कम्पनी एनएचकेले अमृतको अन्तवार्तासहित नेपाल र नेपथ्यलाई चिनाउनेगरि झण्डै १५ मिनेट लामो भिडियो रिपोर्टसमेत प्रस्तुत गरेको थियो। कियोस्का साइले तयार पारेको त्यो भिडियोको छोटो अंश एनएचकेको सर्वाधिक महत्वको मानिने ‘प्राइम टाइम न्युज’मै देखाइएको थियो। त्यो यात्रालाई नेपथ्यले भूकम्प पीडितलाई राहतको निम्ति जनचेतना फैलाउने मञ्चका रुपमा प्रयोग गरेको थियो भने त्यसबाट ब्याण्डले गरेको आर्थिक आर्जन प्रधानमन्त्री राहतकोषमा बुझाएको थियो।

सन् २०२३ भरि नेपथ्यका सबै प्रस्तुतिहरुलाई ‘मानवताका लागि संगीत’ को नारा सहित मानवता प्रबर्धन अभियानको श्रृंखलाका रुपमा प्रस्तुत गर्ने विचार अनुरुप यसपालीको नेपथ्य जापान शृंखला पनि त्यही नारा अन्तर्गत अगाडी बढ्नेछ।

आफूहरुले व्यवस्थापन गरेयता जापानमा एकभन्दा बढी सहरमा श्रृंखलावद्ध कन्सर्ट आयोजना गर्नलागेको यो पहिलोपटक भएको नेपालयले बताएको छ। ‘प्राविधिक हिसाबले ब्यवस्थापन गर्न नेपालबाटै प्राविधिकहरुको टोली लिएर जाँदा बढी प्रभावकारी हुन्छ,’ नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘त्यसैले यसपाला मञ्चमा प्रस्तुत हुने छ जना कलाकारका अलावा आठ जना थप सदस्य सहितको हाम्रो ठूलो टोली जापान पुग्दैछ।’

जापानमा श्रृंखलावद्ध नेपथ्य कन्सर्टका लागि टिकट बुकिङ खुला भइसकेको छ र यसका लागि बिस्तृत जानकारी नेपथ्य वेबसाइटबाट प्राप्त गर्न सकिन्छ।

नेपालयले स्थानीय आयोजकको सहकार्यमा कार्यक्रम आयोजनाको लागि प्रतिष्ठित हलको छनाेट गर्नुका साथै, टिकटको बिक्री व्यवथापनका लागि अनलाइन माध्यममा जोड दिंदै आएको छ। 'जापानमा पनि अग्रिम अनलाइन बिक्रिको संख्याले हामी सन्तुष्ट छौं,' नेपालयका किरण थप्छन्।

कन्सर्टका दाैरान अमृतलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुबिन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाउनेछन्।
 

प्रकाशित मिति: १५:४९ बजे, आइतबार, साउन १४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्