Kathmandu Press

ओमानसँग किन हार्‍यो नेपाल ?

काठमाडौं, माघ २३ : सन् २०२३ मा भारतमा आयोजना हुने एकदिवसीय विश्वकप क्रिकटमा छनोट आधारका रुपमा रहेको प्रतियोगिता आईसिसी विश्वकप क्रिकेट लिग–२ मा ....

ओमानसँग किन हार्‍यो नेपाल ?

काठमाडौं, माघ २३ : सन् २०२३ मा भारतमा आयोजना हुने एकदिवसीय विश्वकप क्रिकटमा छनोट आधारका रुपमा रहेको प्रतियोगिता आईसिसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले हारबाट सुरुवात गरेको छ।

सात राष्ट्र सहभागी लिग–२ अन्तर्गतको पहिलो क्रिकोणात्मक श्रृंखलाको पहिलो खेलमा नेपाल ओमानसँग घरेलु मैदानमा १८ रनले पराजित हुन पुग्यो। कीर्तिपुरस्थित टियू मैदानको ‘स्लो बाउन्स’ पिचमा नेपालको ब्याटिङलाई पुरानै रोगले समात्यो। नेपाली ब्याट्सम्यानले एक रन लिन पनि निकै संघर्ष गरे, केही ब्याट्सम्यानलाई छाड्ने हो भने। ओमानविरुद्ध हारको प्रमुख कारण पनि ब्याटिङ नै रह्यो।

नेपाली ब्याट्सम्यानले घरेलु मैदानमा आयोजना भएको पहिलो एकदिवसीय खेललाई अविस्मरणीय बनाउन सकेनन्। ५० ओभरको खेलमा एक सय ९८ रनको लक्ष्यलाई सामान्य नै मानिन्छ।

Hardik ivf

त्यसमाथि घरेलु मैदान, दर्शकको साथ। नेपालले एक सय ९८ रनको लक्ष्य सहजै पूरा गर्नुपर्ने थियो। तर, नेपालका लागि अजंगको भारी भयो। नेपाली ब्याट्सम्यानले पिचको कन्डिसन र दर्शकको साथलाई ‘क्यास’ गर्न सकेनन्।

ओपनिङमा पुरानै रोग

एक दशकदेखि नेपाली क्रिकेटका प्रमुख खेलाडी हुन्, कप्तान ज्ञानेन्द्र मल्ल र पूर्वकप्तान पारस खड्का। र, उनीहरू नेपाली टिमका सबैभन्दा भरपर्दा र अनुभवी खेलाडी पनि हुन्। तर, बुधबार कीर्तिपुर मैदानमा दुवै ‘फ्लप’ भए।

एकदिवसीय क्रिकेटमा ज्ञानेन्द्र र पारसले पहिलो नेपाली इनिङको सुरुआत त गरे, तर चार रनमा मात्र जोड्दा नेपालले दुवै ओपनरलाई गुमायो। सामान्य लक्ष्य पछ्याउँदा नेपाल दबाबमा आयो। ज्ञानेन्द्रले एक रन बनाए भने पारसले तीन।

नेपालको ओपनिङ सधैँ खराब रहने गरेको छ। नियमित ओपनर सुवास खकुरेल र अनिल मन्डल टिमबाट बाहिरिएसँगै नेपालले ओपनिङमा थुप्रै प्रयोग गरिरहेको छ। ती सबै प्रयोग असफल भइसकेका छन्। नेपालले दुई एकदिवसीय श्रृंखलामा तीन जोडीलाई ओपनिङमा प्रयोग गरेको थियो।

नेपालले ओमानविरुद्ध पनि पारस र ज्ञानेन्द्रलाई ओपनिङमा पठाउँदै प्रयोग गर्‍यो, त्यो सफल भएन। हारको मुख्य कारण त्यही बन्यो।

ज्ञानेन्द्रले त ५–६ वर्षयता नियमित ओपनिङ गरिरहेका थिए। पारसलाई पहिलो पटक एकदिवसीय क्रिकेटमा ओपनिङमा ल्याइयो। ओपनिङ नचल्दा मिडल अर्डरमा पारसले धानिरहेका थिए। तर, ओनिङमा रन नबनाउँदा मिडलअर्डरमा त्यसको असर देखियो।

कलिमुल्लाहको दोस्रो ओभरको पाँचौ बलमा ज्ञानेन्द्रले गलत सट खेले र मोहम्मद नदीमलाई सहज क्याच दिन पुगे। आठ बल खेलेका ज्ञानेन्द्रले त्यसअघि केही ‘लुज’ बलमा सट खेल्ने प्रयास नै नगर्दा उनी दबाबमा आएका थिए। लगत्तै अर्को ओभरमा पारस पनि बिलाल खानलाई विकेट दिन पुगे।

नेपाली टिमका कप्तान ज्ञानेन्द्रले पनि ओमानविरुद्धको हारमा ब्याटिङलाई प्रमुख कारण माने। त्यसमा पनि उनले ओपनिङ नै नचल्दा टिम असफल भएको स्वीकार गरे।

खेलपछि पत्रकारसँग कुरा गर्दै ज्ञानेन्द्रले भने, ‘टिममा म र पारस अनुभवी खेलाडी हौं, हामीले टिमलाई सकारात्मक सुरुआत दिन सकेनौं। त्यही हारको कारण बन्यो।’

कमजोर मिडल अर्डर

विगतजस्तै नेपालको ओपनिङ ओमानविरुद्ध पनि फ्लप भयो। मिडलअर्डरले पनि त्यही बाटो पछ्याए (शरद र दीपेन्द्रबाहेक)। चार रनमै दुई विकेट गुमाएपछि शरद भेषावकर र दीपेन्द्रसिंह ऐरीले ६२ रनको कीर्तिमानी साझेदारी गर्दै नेपालको इनिङ सम्हाले। तर, २१औं ओभरको तेस्रो बलमा दीपेन्द्र मोहम्मद नदीपको बलमा एल्बिडब्लु शिकार भएपछि नेपाली इनिङ पुनः धरमरायो।

त्यसपछि नेपालले तीन ओभर पूरा नहुँदै थप दुई विकेट गुमायो। २४औं ओभरको पहिलो र दोस्रो बलमा आरिफ सेख र रोहितकुमार पौडेल पभेलियन फर्किए। आरिफ ६ र रोहित गोल्डेन डकआउट भए। यी दुई विकेट खेलको अर्को टर्निङ प्वाइन्ट बन्यो।

कप्तान ज्ञानेन्द्रले मध्यक्रममा लगातार तीन विकेट गुमाउँदा खेल आफ्नो हातबाट खोसिएको माने। ‘सुरु मै विकेट गुमायौं। त्यसलाई सम्हाल्दै हामीले केही राम्रो साझेदारी पनि गर्‍यौँ, तर लगातार तीन विकेट गुमाउन पुग्दा खेल ओमान पक्षमा गयो,’ उनले भने, ‘फेरि विनोद र शरदको राम्रो साझेदारी भयो, विनोद गलत समयमा आउट हुँदा हामी झन दबाबमा आयौं।’

पछिल्लो समय फर्म नरहेका रोहितलाई प्लेइङ सेटमा राख्नुलाई पनि नेपालको हारको कारण मानेका छन्। रोहितले घरेलु र अन्तर्राष्ट्रिय प्रतियोगितामा राम्रो ब्याटिङक गर्न सकेका छैनन्। उनको स्थानमा ५० ओभरको घरेलु प्रतियोगितामा उत्कृष्ट व्याटिङ गरिहेका अलराउन्डर कुशल मल्ललाई खेलाउनु पर्ने थियो।

डेथ ओभरमा खराब बलिङ

ओमानविरुद्ध फिल्डिङको निर्णय लिएको नेपालले बलिङमा राम्रो सुरुआत ग¥यो। करण केसी, सुशन भारी र अभिनास बोहराले सुरुआतमै विकेट लिएपछि एक सयम ओमान ५७÷५ को खराब अवस्थामा थियो। अन्तिम १० ओभर बाँकी रहँदासम्म नेपालले खेललाई पूर्ण नियन्त्रणमा लिएको थियो।

४० ओभर सकिँदा ओमान १२१÷६ को अवस्थामा थियो। बाँकी १० ओभरमा नेपाली बलरले थप तीन विकेट त लिए, थुप्रै रन पनि दिए। ओमानलाई एक सय ५० रनभन्दा कम स्कोरमै रोक्ने अवस्था थियो, तर अन्तिम १० ओभरमा ओमानी ब्याट्सम्यान नेपाली बलरमाथि हाबी भए। दोस्रो पावरप्लेपमा ७६ रन बनायो। त्यो पनि नेपालको हारको कारण बन्यो।

डेथ ओभरमा सन्दीप लामिछाने र करण केसी निकै महँगा बने। अन्तिम १० ओभरमध्ये सन्दीपले तीन र करणले दुई ओभर बलिङ गरे। बाँकी ओभर दीपेन्द्रसिंह ऐरी, सुशन भारी र अविनाश बोहराले गरे।

अघिल्ला सात ओभरमा २१ रन मात्र दिएका सन्दीपले तीन ओभरमा २४ रन दिए। अन्तिम पावर प्लेमा सन्दीप महँगो हुँदा पनि सन्दीपलाई निरन्तर बलिङमा ल्याउनु पनि कप्तानको गलत निर्णय थियो।

करणले पनि सुरुआती सात ओभरमा २४ रन मात्र दिएका थिए। अन्तिम पावर प्लेका दुई ओभरमा उनले २३ रन दिए। उनले अन्तिम ओभरमा १७ रन खाएका थिए।

ज्ञानेन्द्रले पनि अन्तिम १० ओभरमा खराब बलिङ हुनुलाई हारको एउटा कारण मानेका छन्। ‘अन्तिम पवार प्लेमा हाम्रो बलिङ राम्रो भएन, त्यसमा पनि अन्तिम चार–पाँच ओभर त निकै खराब भयो। त्यही कारण ओमानले चुनौतीपूर्ण लक्ष्य दियो,’ कप्तान ज्ञानेन्द्रले भने, ‘हामी बलिङमा राम्रो सुरुआत गरेका थियौं, अन्तिममा केही कमजोरी भए। त्यसलाई आगामी खेलमा सुधार्नुपर्छ।’

नेपाली इनिङका सकारात्मक पक्ष

घरेलु मैदानमा भएको पहिलो एकदिवसीय खेल हारे पनि नेपालका केही साकारात्मक पक्ष देखिए। जसमा थियो, सुशन भारीको स्पिन बलिङ, शरद भेषावकरको अर्धशतक र सन्दीपको आक्रामक ब्याटिङ।

एकदिवसीय टिममा डेब्यू गरिरहेका सुशनले नेपाली इनिङमा सबैभन्दा राम्रो बलिङ गरे। उनले १० ओभरमा १४ रन मात्र दिएर तीन विकेट लिए।

यस्तै, शदरले तेस्रो नम्बरमा ब्याटिङ गर्दै कीर्तिमानी अर्धशतकीय इनिङ खेले। नेपालल सात एकदिवसीय म्याच खेलिसक्दा शरदको दोस्रो एकदिवसीय खेल मात्र हो। ओमानविरुद्धको ५५ रनको इनिङ उनको पहिलो एकदिवसीय अर्धशतक हो भने घरेलु मैदानमा नेपालकै पहिलो एकदिवसीय अर्धशतक।

नेपाली ब्याट्सम्यान प्रत्येक रनका लागि संघर्ष गरिहँदा सन्दीपले भने कीर्तिपुरमा खुलेर ब्याटिङ गरे। विश्वका ठूलो फ्रेन्चाइज लिग खेलेको अनुवभ सन्दीपको ब्याटिङमा प्रष्ट देखिन्यो। उनले २७ बल खेल्दै तीन चौका र एक छक्काको सहयोगमा २८ रन बनाए।

अब नेपाल अर्को खेल माघ २५ मा अमेरिकासँग खेल्नेछ।

याे पनि पढ्नुस् :

विश्वकपका लागि सुरू हुँदै नेपालको यात्रा

डेब्यूको पर्खाइमा १९ वर्षे ठिटो

प्रकाशित मिति: १८:४३ बजे, बिहीबार, माघ २३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्