सोमबार, असोज १२, २०७७

डेब्यूको पर्खाइमा १९ वर्षे ठिटो

रिवाज राई

काठमाडौं, माघ २२ : भारतमा सन् २०२३ मा हुने विश्वकपका लागि बुधबार कीर्तिपुरस्थित टियू मैदानमा ओमानविरुद्ध खेल्दै नेपालले छनोटको यात्रा सुरू गरेको छ। विश्वकप छनोटको रोडम्यापका रुपमा रहेको ‘विश्वकप क्रिकेट लिग–२’ को पहिलो श्रृंखलामा नेपाल ओमान र अमेरिकासँग भिड्नेछ।

यो श्रृंखलामा नेपालका नियमित मिडियम फास्ट बलर सोमपाल कामी भने छैनन्। ढाडको चोटका कारण बन्द प्रशिक्षणसमेत गुमाएका उनको ठाउँमा नयाँ बलर आएका छन्, १९ वर्षीय कमलसिंह ऐरी।

कञ्चनपुरका यि किशोरलाई राष्ट्रिय टिममा सोमपालको अभाव हुन नदिने गरि प्रदर्शन गर्नुपर्ने चुनौति त छँदै छ, आफूलाई प्रमाणित गर्ने अवसर पनि छ। कमल भन्छन्, ‘म जुन किसिमको बलर हुँ, त्यसैमा ध्यान केन्द्रित गर्छु। मेरो स्टे«न्थ के हो, टिमले मलाई के रोल दिन्छ, त्यसैलाई पूरा गर्छु।’

क्रिकेट खेल्न थालेको चार वर्षमै कमलले आफूलाई राष्ट्रिय क्रिकेटरका रुपमा उभ्याएका छन्। यू–१९ देखि राष्ट्रिय टिमको यात्रामा उनले आफूलाई खरो उतारेका पनि छन्। यसका लागि धेरै मेहनत पनि गरेका छन्।

यो त्रिकोणात्मक श्रृंखलाका लागि राष्ट्रिय टिमको घोषणाअघि डर र द्विविधासहितको त्यो क्षण कलमको मनमा अहिले पनि ताजै छ। ‘जब राष्ट्रियको टिमको घोषणा कुरा चल्यो, मनमा उत्साहसँगै डर पनि थियो। घरेलु प्रतियोगिता र क्याम्पमा पनि राम्रो गरेकाले टिममा पर्छुजस्तो लागेको थियो। अन्तिम क्षणमा बाहिरिन्छु कि भन्ने डर पनि थियो,’ कमल भन्छन्, ‘जब सिरिजका लागि १४ सदस्यीय टिम घोषणा भयो, त्यसमा मेरो नाम पनि अटायो। त्योवेला म यति खुशी भएँ, शब्दमा बयान गर्न सक्दिनँ।’