व्याक स्टेजमा जोनी डो रिगोलाई भेट्दा
गत शनिबार दिउँसो काठमाडौंमा हिउँदे वर्षा भइरहेको थियो । बिहानको पारिलो घामले न्यानो भइसकेको सहर फेरि एक्कासि चिस्सिएको थियो । बाहिर सडकमा मानिसहरू बाक्लो लुगा लाएर हिँ....
गत शनिबार दिउँसो काठमाडौंमा हिउँदे वर्षा भइरहेको थियो । बिहानको पारिलो घामले न्यानो भइसकेको सहर फेरि एक्कासि चिस्सिएको थियो । बाहिर सडकमा मानिसहरू बाक्लो लुगा लाएर हिँडिरहेका थिए ।
तर, कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको एउटा हलको स्टेज पछाडि भने विभिन्न देशका बडी बिल्डरहरू कपडा फुकालेर वार्म अप गरिरहेका थिए । उनीहरू आईएफबीबी बडीबिल्डिङ प्रो क्वालिफायरका लागि भिड्ने तयारीमा थिए ।
व्याक स्टेजमा प्राकृतिक प्रकाश छिर्दैन थियो । यसैले, ट्यूबलाइटहरू बालिएका थिए । बत्तीको उज्यालोमा कोही आफै आफ्नो शरीरमा चम्किलो रङ दलिरहेका थिए । कसैलाई भने अरुले मद्दत गरिरहेका थिए ।
म आफै पनि जिम जान्थेँ । जिम नगई चित्तै बुझ्दैन थियो । म जाने जिममा बडेमान ज्यान भएका धेरै जिमरहरू आउँथे । तर, मलाई कहिल्यै पनि आफू उनीहरूका अगाडि धेरै सानो छु भन्ने महशुस हुन्थेन ।
आईएफबीबी बडीबिल्डिङ प्रो क्वालिफायरका सहभागी खेलाडीहरूका अगाडि चाहिँ मैले आफूलाई फिस्टा जत्रो मात्रै पाएँ । हुन त मैले अन्तर्राष्ट्रिय बडी बिल्डरहरूलाई धेरै पटक तस्वीर, भिडियो र स्टेजमा पनि प्रत्यक्ष देखेको थिएँ । तर, उनीहरूलाई त्यति नजिकबाट नियाल्ने मौका चाहिँ पाएको थिइनँ ।
उनीहरू तस्वीर र भिडियोमा जति बडेमानका देखिन्छन्, नजिकबाट प्रत्यक्ष हेर्दा झन् अजङ्गका हुँदा रहेछन् । कोही केही साना थिए । तर, अधिकांश चाहिँ साँच्चै हल्क जस्ता देखिन्थे ।
त्यही व्याक स्टेजम थिए – जोनी डो रिगो । बेलायतका यी २३ वर्षीय बडी बिल्डर अरुभन्दा भिन्न थिए । अरुहरू सबै एउटै झुण्डमा थिए । उनी चाहिँ एउटा कुनामा थिए । अरुहरू प्रायः सबै आफ्नो शरीरमा आफै रङ दलिरहेका थिए । केहीलाई पुरुष सहयोगीले रङ दल्न मद्दत गर्दै थिए । तर, जोनीको जीउमा चाहिँ एक महिला सहयोगीले रङ दल्दै थिइन् ।
अरु अलि नर्भस देखिन्थे । जोनी चाहिँ निष्फिक्री थिए । उनको अनुहारमा आत्मविश्वास देखिन्थो । मानौ उनलाई थाहा भइसक्यो – मै हुँ विजेता !
पहिलो पटक बडीबिल्डिङको व्याक स्टेजमा जान पाएकोले म निकै उत्सुक थिएँ । त्यसैले, धमाधम फोटो खिचिरहेको थिएँ । कसैले मलाई केही भनेन । जोनीले चाहिँ मलाई बोलाइवरि आफ्नो फोटो खिच्न आग्रह गरे । मेरो डिजिटल क्यामेराको स्क्रिनमा आफ्नो फोटो हेरेपछि उनले मसँग अंग्रेजमा सोधे, ‘कस्तो लाग्यो ?’
मैले भने, ‘राम्रो छ ।’
मलाई लाग्यो, यिनले पक्कै कुनै पुरस्कार जित्नेछन् । नभन्दै, उनले ओभरअलमा ९० देखि १०२ केजी तौल समूहमा पहिलो भई आउँदो सेप्टेम्बरमा आयोजना हुने मिस्टर ओलम्पियामा सहभागी हुन प्रो कार्ड पाए ।
मिस्टर ओलम्पियाको प्रो कार्ड पाउनुको अर्थ यो विश्वप्रसिद्ध बडीबिल्डिङ प्रतियोगितामा भाग लिन योग्य हुनु हो । तर, यसका लागि उनले अझै केही चरण पार गर्नुपर्नेछ ।
प्रो कार्ड पाएपछि जोनीले भने, ‘मेरो १५ वर्षदेखिको मेहनतले बल्ल आज पुरस्कृत भयो । तर, मेरो सपना साकार हुन बाँकी नै छ । यसका लागि मैले थप मेहनत गर्नुपर्नेछ ।’
स्टेजमा र स्टेजपछाडि जोनीले जस्तो आत्मविश्वास र कौशल प्रदर्शन गरे, त्यसले उनी बडीबिल्डिङमा अझै माथि जानेछन् भन्ने मलाई लाग्छ । आखिर बडीबिल्डिङ भनेको शरीर सुगठित पार्नुमात्र हैन, त्यसलाई आत्मविश्वासका साथ प्रदर्शन गर्नु पनि हो ।
गुड लक, जोनी ।