शेयर बजारमा लघुवित्त समूहमा खरिदकर्ताको चाप
काठमाडौं, माघ १५ : साताको चौथो कारोवार दिन बुधबार लघुवित्त समूहमा खरिदकर्ताको अत्यधिक चाप रहेको देखिए पनि नेप्से परिसूचक ० दशमलव २७ अंक अर्....
काठमाडौं, माघ १५ : साताको चौथो कारोवार दिन बुधबार लघुवित्त समूहमा खरिदकर्ताको अत्यधिक चाप रहेको देखिए पनि नेप्से परिसूचक ० दशमलव २७ अंक अर्थात ० दशमलव ०२ प्रतिशतले घटेर १३०५ दशमलव ८८ को विन्दुमा बन्द भएको छ।
सर्वाधिक वृद्धि हुने लघुवित्त र ट्रेडिङ्ग समूहमा क्रमशः ४ दशमलव ३४ र २ दशमलव ०८ प्रतिशतले बढेको छ। बैंकिङ्ग समूह भने ० दशमलव ७० प्रतिशतले घटेको छ।
दोस्रो बजार १३०६ दशमलव १६ को विन्दुमा खुलेको थियो भने १३११ दशमलव ७५ को उच्च विन्दुसम्म पुगेको थियो। बजारको न्यून विन्दु १३०२ दशमलव १५ रहँदा दिनभरमा १ अर्ब २९ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।
आजको बजार अवस्था
आज सर्वाधिक कारोबार हुने
आज सबैभन्दा धेरै नाडेप लघुवित्तको शेयर किनबेच भएको छ। नाडेप लघुवित्तको ६ करोड ३८ लाख बराबरको शेयर किनबेच भएको छ।
आज सर्वाधिक कमाउने र गुमाउने
आज सर्वाधिक कमाउने १० कम्पनीहरु लघुवित्त समूहका छन्। नाडेप लघुवित्तका शेयरधनीले सर्वाधिक ९ दशमलव ९६ प्रतिशतले कमाए भने प्रोग्रेसिभ फाइनान्सका शेयरधनीले सर्वाधिक ५ दशमलव ५० प्रतिशतले गुमाए।
छोटो समयावधिको प्राविधिक विश्लेषण
अघिल्लो दिन गरिएको विश्लेषणको निष्कर्ष अनुसार बजारलाई समग्र रुपमा हेर्दा बजारको तत्कालीन प्रतिरोध १२१७ र तत्कालीन टेवा १२९५ मा रहेको देखिन्छ भनिएको थियो। आज बजार यही क्षेत्रभित्र सीमित रहेर उतारचढाव भएको छ।
चित्र नं १ : नेप्से दैनिक मैनबत्ती प्रवृत्ति
चित्र नं १ मा दैनिक मैनबत्ती विश्लेषण अनुसार हाल बजार १२७४ मा टेवा प्राप्त गरेर सकारात्मक रहेको देखिन्छ। आजको मैनबत्तीले ‘डोजी’ आकृति बनाएको छ। यसले बजारमा लगानीकर्ताहरु अन्योल अवस्थामा रहेको संकेत गर्दछ।
चित्र नं.२ : पाँच मिनेट मैनबत्ती प्रवृत्ति
चित्र नं. २ मा, दुई दिनको कारोबार कस्तो रह्यो भनेर हेर्नलाई पाँच मिनेट समयावधिको मैनबत्तीलाई प्रयोग गरिएको छ। अघिल्लो दिन प्रवृत्तिहीन रहेको बजार आज पनि त्यही अवस्थामा रहेको र उतारचढाव पनि कम रहेको देखिन्छ।
बजार प्रवृत्तिहीन रहेकाले २१ र ५० समयावधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए)हरुले दिएको संकेत प्रभावकारी देखिँदैन। रिलेटिभ स्ट्रेन्थ इन्डेक्स (आरएसआई) ५० दशमलव १६ अंकमा रहेको छ। यसको प्रवृत्ति पनि हाल प्रभावकारी देखिँदैन। कारोबारको अन्तिम समयमा स्टोकास्टिक अक्सिलेटरले बजार केही सकारात्मक हुन सक्ने संकेत गरेको छ।
निष्कर्ष : छोटो समयावधिको बजारको प्रवृत्ति र सूचकहरुलाई समग्र रुपमा हेर्दा यदि बजार १३१७ भन्दा माथि स्थिर रहेमा बजार केही सकारात्मक हुन सक्ने र अर्को तत्कालीन सामान्य प्रतिरोध १३२५ देखि १३३० को क्षेत्रमा रहेको देखिन्छ। त्यस्तै, हाल बजारको टेवा १३०० को क्षेत्रमा रहेको देखिन्छ।