गर्मीयाममा आँखालाई कसरी जोगाउने?
लामो समय पानी नपरी हावाहुरी मात्र चलिरह्यो भने धुवाँधुलोले वायुमण्डलमा प्रदूषण बढाई ब्याक्टेरियालाई सक्रिय पार्ने भएकाले यो समयमा आँखासम्बन्धी संक्रमण पनि बढ्ने गरेको आँखा रोग विशेषज्ञ डा. शैलेश प्रधान बताउँछन्।
काठमाडौं, वैशाख १६ : गर्मीयाममा वातावरण प्रदूषणले गर्दा स्वास्थ्यमा विभिन्न किसिमका समस्या देखा पर्छन्। यो समयमा लामखुट्टेको बिगबिगी हुनुका साथै विभिन्न संक्रामक जीवाणु पनि बढी सक्रिय हुने हुँदा खानेकुरा चाँडै बिग्रने र सड्ने गर्दछन्।
लामखुट्टेको टोक्दा, जीवाणुले आक्रमण गरेको खाना खाँदा गर्मीयाममा ज्वरो आउने, झाडापखला, खुघाखोकी, डेंगुजस्ता रोग लाग्ने गर्छन्। त्यसकारण यो समयमा खानपिनमा विशेष ध्यान दिनुपर्नेमा चिकित्सकहरू जोड दिन्छन्। उल्लिखित रोगका अलावा गर्मीयाममा आँखासम्बन्धी संक्रमण पनि बढी देखापर्ने आँखा रोग विशेषज्ञहरू बताउँछन्।
फागुन–चैतदेखि वैशाख–जेठसम्म गर्मी अत्यधिक बढ्नुका साथै हावाहुरी पनि बेस्सरी चल्ने गर्छ। लामो समय पानी नपरी हावाहुरी मात्र चलिरह्यो भने धुवाँधुलोले वायुमण्डलमा प्रदूषण बढाई ब्याक्टेरियालाई सक्रिय पार्ने भएकाले यो समयमा आँखासम्बन्धी संक्रमण पनि बढ्ने गरेको आँखा रोग विशेषज्ञ डा. शैलेश प्रधान बताउँछन्। उनी भन्छन्, ‘गर्मीयाममा पानी परेन भने हावाहुरीले वातावरण प्रदूषण बढाउँदै लान्छ। त्यसपछि अन्य रोगहरूसँगै आँखामा पनि समस्या देखा पर्न थाल्छ।’
खासगरी गर्मीयाममा आँखामा पानीको मात्रा सुक्ने भएकाले सुक्खापन बढेर आँखा चिलाउने, आँसु आउने, आँखा रातो हुने, आँखाको परेला सुन्निने, आँखाको नानीमा दाग देखिने तथा चिपचिपाहट हुनेजस्ता लक्षण देखापर्ने डा. प्रधान बताउँछन्। आँखासम्बन्धी समस्या गर्मीयाममा युवायुवती, वृद्धवृद्धासँगै बालबालिकामा पनि उत्तिकै देखा पर्ने गर्छ। पाँच वर्षमुनिका बालबालिकामा आँखा पाक्ने, आँखा रातो हुनेजस्ता समस्या बढी नै देखापर्ने उनी बताउँछन्।

आँखा पाक्दा आँखा बिझाउने, चिप्रा आउनेजस्ता समस्या भोग्नुपने मात्र होइन, घाम लाग्दा वरिपरि हेर्न पनि निकै गाह्रो हुने डा. प्रधानको भनाइ छ। बाहिरी वातावरणमा धेरै खेल्ने हुँदा यो समस्य बालबालिकामा बढी देखिन्छ । घरबाहिर धुलोधुवाँको असरले आँखामा संक्रमण भई आँखा पाक्ने, आँखा रातो हुनेजस्ता समस्याले बालबालिकालाई सताउने गरेको डा. प्रधान बताउँछन्।
आँखा पाक्ने समस्या देखा परे बालबालिकालाई समयमै अस्पताल लगेर आँखा जँचाउन उनी सुझाउँछन्। ‘अस्पताल नगई चिकित्सकको सल्लाहबमोजिम उपचार गरिएन भने संक्रमण बढ्दै गई जटिल अवस्था आउन सक्छ,’ उनी भन्छन् । हावाहुरी चलेको समयमा बालबालिकालाई बाहिर खेल्न दिनु उचित नहुने उनको भनाइ छ।
जटिलता आए के गर्ने ?
आँखामा कुनै समस्या देखा परेपछि सकेसम्म छिटो विशेषज्ञ डाक्टरबाट औषधि उपचार गराउनुपर्ने डा. प्रधान बताउँछन् । ‘आँखा रातो भएको त हो नि, अरू केही भएको होइन भनेर लापरबाही गर्न थाल्यो भने समस्या बढ्दै गई आँखाको सेतोे झिल्ली बिस्तारै रातो हुन थाल्छ। यो अवस्था आइपुग्दासम्म अस्पताल नजाने हो भने आँखाको नानीमा समस्या देखियो भने उपचार असम्भव हुन सक्छ,’ उनी भन्छन्।
उनी थप्छन्, ‘कतिपय अवस्थामा आँखा नदेख्ने भई आँखा नै निकाल्नुपर्नेसमेत हुन सक्छ। त्यसकारण आँखाजस्तो संवेदनशील अंगमा कुनै समस्या देखियो भने हेलचेक्रयाइँ नगरी समयमै आँखा अस्पताल गएर औषधोपचार गर्नुपर्छ।’ समयसमयमा चिसो पानीले आँखा सफा गर्ने, जथाभाबी फोहोर हातले आँखा नमिच्ने, घाममा हिँड्दा चस्मा लगाउने बानी बसालेर केही हदसम्म आँखामा हुने संक्रमणबाट बच्न सकिने डा. प्रधान बताउँछन्।









![काठमाडौंमा पहिलो हिउँदे वर्षा [फाेटाे फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1769601740.jpg)
![हिउँले सेताम्मे कर्णाली [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-2-1769229345.jpg)
![स्वयम्भूको सरस्वती मन्दिरमा अक्षरारम्भ गर्दै बालबालिका [फाेटाे फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1769153505.jpg)
![चाकु बनाउने चटारो [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1767945774.jpg)