कोरोना भाइरसबाट धेरै डराउनु पर्दैन, सतर्क हुनुपर्छ
काठमाडाैं : चीनबाट सुरू भएको काेरोना भाइरसको संक्रमण नेपालमा पनि देखिएको छ। चीनबाट आएका एक युवकमा संक्रमण देखिएको हाे। अन्य दुई जनामा शंकास्पद द....
काठमाडाैं : चीनबाट सुरू भएको काेरोना भाइरसको संक्रमण नेपालमा पनि देखिएको छ। चीनबाट आएका एक युवकमा संक्रमण देखिएको हाे। अन्य दुई जनामा शंकास्पद देखिएको छ। उनीहरूको नमूना परीक्षणका लागि हङकङ पठाएका छौं।
आजदेखि नेपालमै यसको परीक्षण गर्छौं। यसको परीक्षणका लागि भारतको नयाँ दिल्लीबाट केमिकल आउँछ। हाम्रै टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण हुन्छ।
यतै परीक्षण हुने भएपछि कोरोना भाइरस संक्रमण भएको छिट्टै पहिचान हुन्छ। तत्कालै उपचार गर्न र अरुलाई संक्रमण नहोस् भनेर सतर्कता अपनाउन सजिलो हुन्छ। यसको उपचारको व्यवस्था पनि गरेका छौं, शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा। धेरै डराउँनु पर्दैन, सतर्कता भने अपनाउनै पर्छ।
हामीले पनि सतर्कता अपनाउन थालेका छौं। यसमा कुनै सम्झौता हुँदैन। आवश्यक परेको ठाउँमा बजेट, स्वास्थ्यकर्मी पठाउँछौं। मन्त्रालयले नै खर्चको व्यवस्था गर्छ। अझ अहिले त विश्व बैंकको एमर्जेन्सी फन्ड छ, त्यसको प्रयोग गर्छौं।
यो नयाँ रोग हो। संसारमा यसअघि पनि नयाँ रोगहरू आएका थिए। सन् १९८० देखि २०२० सम्म ४० भन्दा बढी रोगहरु देखिएका छन्। केही नयाँ रोग आउने क्रममा विभिन्न ठाउँमा महामारी फैलिएका छन्। अफ्रिकामा ईबोला आयो, जिका आयो, त्यसपछि मेडिकल डिजिज आयो, सार्स आयो यस्ता थुप्रै रोगहरु आए। हेपाटाईटिस सी, डी, ई सबै नयाँ हो। यसरी नयाँ रोगहरु आउने क्रममा यो कोरोना भाइरस पनि आएको हो। चीनमा यो रोगको संक्रमण हुन थालेको लगभग एक महिना भयो।
अहिलेसम्म भएका बिरामीहरू, प्रकोपदर, यसबाट भएको मृत्यु, देखिएका चिह्न र लक्षणहरू हेर्दा यो भाईरस जनावरमा भएको अनुमान छ। जनावरबाट मान्छेमा आएको हो। पहिलो पटक मान्छेमा देखिएकाले यसलाई नोवल कोरोना भाईरस २०१९ भनेर नाम दिइएको छ।
सुरुआतमा जनावरमा भएको यो भाइरस पछि मान्छेमा र अहिले मान्छेबाट मान्छेमा सरेको चीनले पुष्टि गरेको छ। यो अहिले संसारका १२ देशमा फैलिएको छ। मलाई लाग्छ यो अझै धेरै देशहरुमा फैलिन्छ।
किनभने मानिसको अहिलेको मुभमेन्ट विगतको तुलनामा धेरै छ। नेपालमा पनि एक व्यक्तिमा यो रोगको संक्रमण देखिएपछि परीक्षण गर्यौँ र माघ ९ गते यसको रिजल्ट आयो र पोजेटिभ निस्कियो।
अहिले ति युवा पूर्ण रुपमा निको भइसकेका छन्। तैपनि हामीले निगरानीमा राखेका छौं। किनभने उनको सम्पर्कमा भएका अन्य मान्छेलाई पनि कोरोना भाइरसको केही चिह्न र लक्षण देखा पर्छन् कि भन्ने डर छ। त्यसैले उनको सम्पर्कमा रहेका सबैलाई पनि सम्पर्कमा राखेका छौं। अहिलेसम्म कसैलाई पनि कुनै लक्षण देखिएको छैन, जुन राम्रो पक्ष हो। अहिले लगभग दुई हप्ता भईसक्यो। अब सायद कोरोना भाईरस सर्ने अवस्था हुँदैन होला भन्ने अनुमान गरेका छौँ।
यो रोगका कारण पाँच प्रतिशत मानिसको मृत्यु भएको छ। त्यसकारण हामी यस विषयमा सतर्क हुनुपर्नेछ। यो रोग चीनबाट आएको हुनाले त्यहाँबाट आएका मान्छेलाई रुघाखोकी लागेको, ज्वरो आएको छ भने अस्पतालमा सम्पर्क गर्न अनुरोध गरेका छौँ। साथै सबै अस्पतालहरूलाई पनि त्यस्ता बिरामीहरू आएमा शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा पठाईदिन अनुरोध गरेका छौँ।
सबैको जाँच त्यहीँ हुन्छ। छुट्टै राख्ने व्यवस्था गरेका छौं। परीक्षणपछि संक्रमण भएको देखिएमा निको नहुञ्जेल त्यही राख्छौं। संक्रमण नदेखिएमा तत्कालै डिस्चार्ज गरिहाल्छौं।
अहिले अस्पतालहरूलाई तयारी अवस्थामा राखेछौँ। त्रिभुवन विमानस्थललाई तयारी अवस्थामा राखेका छौँ। विमानस्थलमा चीनबाट आउने सबैलाई स्क्यान गर्ने व्यवस्था मिलाएका छौँ। त्यहाँ एमडीजीपी चिकित्सको नेतृत्वमा स्वास्थ्यकर्मीकाे टोली बसेको छ। साथै रसुवा र तातोपानीबाट आउने नाकामा पनि स्वास्थ्यकर्मीलाई सजक बनाउने र आवश्यक स्रोत साधन पठाउने तयारी गरेका छौं।
यसको लागि सबै प्रदेशहरुलाई पनि आह्वान गरेका छौँ। नराम्रो अवस्था सिर्जना भएको अवस्थालाई कल्पना गरेर तयारी गरेका छौँ। तर, अहिलेसम्म डराउनु पर्ने अवस्था केही पनि छैन, अवस्था सामान्य छ।
यसको उपचार केही पनि छैन। यो भाईरस डिजिज हो, लाक्षणिक उपचार हुन्छ। जस्तै टाउँको दुखेमा दुखाई कम गर्ने, स्वाँस फेर्न गाह्रो भएमा सजिलो बनाउने, धेरै ज्वरो आएमा ज्वरो कम गराउने औषधि दिने, खानपिनको ख्याल राख्नेलगायतको उपचार गराइन्छ। यसको कुनै विशेष औषधि भने छैन।
तथापी, डराउँनुपर्ने केही पनि छैन। सतर्कता अपनाउँनु भने जरुरी छ। व्यक्तिगत सरसफाईमा ध्यान दिने, धेरै भिडभाडमा नजाने, हाच्छ्युँ गर्दा रुमालले मुख छोप्ने, कतै जाँदा माक्सको प्रयोग गर्नेलगायतका कुराहरू गर्यौँ भने आफू पनि बच्न सक्छौं, अरुलाई पनि बताउँन सक्छौं। खासगरि दिनमा सात पटकसम्म साबुनपानीले हाल धुनु अहिलेका लागि जरुरी हो। शंका लागेमा तुरुन्तै अस्पताल जान नबिर्सिनु होला।
(स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठसँग काठमाडौं प्रेसका लागि सोनी शाहीले गरेको कुराकानीमा आधारित।)
याे पनि पढ्नुस् : नेपाल पनि प्राणघातक कोरोना भाइरसको जोखिममा