Kathmandu Press

कसरी सुरु भयो रातो मत्स्येन्द्रनाथको जात्रा?

स्थानीय नेवाः समुदाय मत्स्येन्द्रनाथलाई ‘बुंगद्यः’ नामले पुकार्छन् । ललितपुरको बुंग अर्थात् बुङमतीमा बसोवास गर्ने देवता भएका कारण उनको नाम ‘बुंगद्यः’ रहन गएको विश्वास गरिन्छ । 
कसरी सुरु भयो रातो मत्स्येन्द्रनाथको जात्रा?

काठमाडाैं, वैशाख ९ : ललिपुरमा देखाइने रातो मत्स्येन्द्रनाथको जात्रा शुक्रबारबाट सुरू भएकाे छ। नेपालका जात्रामध्ये यो जात्रा सबैभन्दा लामो अवधिसम्म देखान्छ।

प्रत्येक वर्ष वैशाख शुल्क प्रतिपदाको दिन शुभारम्भ हुने यस रथजात्रा कहिलेकाहीँ एक महिना, कहिलेकाहीँ दुई महिना त कहिलेकाहीँ तीन महिनासम्म लम्बिन सक्छ ।

मत्स्येन्द्रनाथलाई जनबोलीमा मच्छिन्द्रनाथ भनिन्छ। शुद्ध रूप भने मत्स्येन्द्रनाथ हो, जसको अर्थ माछाबाट उत्पत्ति भएको देवता भन्ने हो। 

Hardik ivf

मच्छिन्द्रनाथका वर्ण दुई किसिमका छन्– रातो र सेतो । रातो वर्णका मच्छिन्द्रनाथमा ललितपुरका मच्छिन्द्रनाथ र चोभारका मच्छिन्द्रनाथ (आदिनाथ लोकेश्वर) प्रसिद्ध छन् । त्यस्तै, सेतो वर्णमा काठमाडौं जनबहालका मत्स्येन्द्रनाथ (जमलेश्वर र लोकेश्वर) र नालाका मत्स्येन्द्रनाथ (पद्मपाणी लोकेश्वर) प्रसिद्ध छन् । 

स्थानीय नेवाः समुदाय मत्स्येन्द्रनाथलाई ‘बुंगद्यः’ नामले पुकार्छन् । ललितपुरको बुंग अर्थात् बुङमतीमा बसोवास गर्ने देवता भएका कारण उनको नाम ‘बुंगद्यः’ रहन गएको विश्वास गरिन्छ । 

वसन्त ऋतु सकिई ग्रीष्मको आगमन भएपछि काठमाडौंका कृषक आ–आफ्ना खेतीपातीको व्यवस्थातर्फ लाग्छन् । मत्स्येन्द्रनाथ सम्प्रदायसित सम्बद्ध देखिए पनि उनी वर्षाका देवताका रूपमा हिन्दू एवं बौद्ध तथा अन्य सबैमा मान्य छन् । 

ललितपुरको बुङमती र तबालमा गरी मत्स्येन्द्रनाथका दुई विशाल मन्दिर छन् । यी देवता ललितपुरको जात्रा समाप्त भएपछि (सूर्य दक्षिणायन हुने बेला) बुङमतीमा विराजमान हुने र सूर्य उत्तरायण हुने बेला तबाहलमा विराजमान हुने चलन छ ।

मत्स्येन्द्रनाथका जात्राहरूमा उनको लामो रथयात्रा प्रसिद्ध छ । यस रथजात्रामा सर्वप्रथम मत्स्येन्द्रनाथको करिब चार फिट अग्लो काठको मूर्तिलाई स्नान गराइन्छ । वैशाखशुक्ल चतुर्थीका दिन सर्वप्रथम पाटनको पुल्चोकबाट गाबहाल, मङ्गलबजार, सुनधारा हुँदै लगनखेल र अन्तमा जावलाखेल ल्याइपुर्‍याएपछि यात्रा पूर्ण हुन्छ । विशेष स्थानमा पुर्‍याउन विशेष शुभमुहूर्तको खोजी हुन्छ र स्थानविशेषअनुसार रथयात्रा पूजा पनि फरक–फरक हुन्छन् । रथलाई जावलाखेलमा पुर्‍याएपछि भोटो देखाउने जात्रा हुन्छ । मत्स्येन्द्रनाथको रथजात्राबारे अनेक किंवदन्ती पाइन्छन् । 

मत्स्येन्द्रनाथलाई कसरी ल्याइयो नेपालमा ?

भाषा वंशावलीको कथनअनुसार राजा नरेन्द्र्रदेवका पालामा सिद्ध गोरखनाथ काठमाडौं भ्रमणमा आउँदा नगरवासीबाट सम्मान पाएनन् । त्यसपछि यहाँका जनतालाई चेतावनी दिन उनले उपत्यकाका सबै मुख्य नागहरूलाई मन्त्रमुग्ध गरी आसन जमाएर बसे । नागहरूले आफ्नो दायित्व पूरा गर्न नपाएपछि काठमाडौंमा वर्षा भएन । राजाले आफ्ना गुरु तान्त्रिक बन्धुदत्त आचार्यसँग सल्लाह गरे । 

बन्धुदत्तले कामरूप–कामाख्या (आसाम प्रान्त, भारत) ढगई गोरखनाथका गुरु मत्स्येन्द्रनाथलाई नेपाल ल्याएपछि मात्र समस्या समाधान हुने बताए । त्यसपछि बन्धुदत्त एक टोलीले मत्स्येन्द्र्रनाथलाई काठमाडौं लिएर आए । मत्स्येन्द्र काठमाडौं आएको थाहा पाई गोरखनाथ गुरुको दर्शन गर्न आसनबाट उठ्नुपर्यो । उनी उठ्नासाथ नागहरू स्वतन्त्र भए र वर्षा भयो । 

भोटो जात्रा किंवदन्ती 

परापूर्वकालमा खेतमा काम गरिरहेका एक किसानलाई नागले भेट्न भेट्न आएर भने, ‘घरमा छोरो आँखा दुखी अन्धो हुन लागेकाले उपचारको खोजीमा आएको हुँ ।’ किसानले नागको छोराको ओखती गरिदिने तयार भए । त्यसपछि पातालमा गई शरीरको मयल निकाली नागको छोराको आँखामा राखिदिए । नागसँग डराएर किसान त्यहाँ एकछिन पनि बस्न सकेनन्, आत्तिँदै घर फर्के । तर, उसको ओखतीले नागको छोराको आँखा निको भयो । नागले किसानलाई फेरि भेटेर उपचार गरिदिएबापत बहुमूल्य रत्नजडित भोटो उपहार दिए । एक दिन भोटो खेतमा राखेर काम गरिरहेका बेला राक्षस आई किसानको भोटो चोरेर लग्यो ।

एक दिन मत्स्येन्द्रनाथको जात्रा हेर्न जाँदा किसानले आफ्नो भोटो लगाएको एउटा राक्षसलाई देखे । उनले ‘मेरो भोटो चोर’ भन्दै उक्त राक्षसलाई समाएर कुटपिट गर्न लागे । राक्षसले पनि भोटो आफ्नो भनी प्रतिकार गर्न थाल्यो । त्यहाँ दुवैबीच झगडा बढ्यो । त्यसपछि उनीहरुको झगडाको विषय राजासम्म पुग्यो । राजाले उक्त भोटो मत्स्येन्द्रनाथकहाँ नासोको रुपमा राख्न र सबुत–प्रमाण लिएर आई फिर्ता लैजान भने । किसान र राक्षस दुवैले सबुत पेस गर्न सकेनन् र भोटो मत्स्येन्द्रनाथसँगै रह्यो । सबुतसहित लिन आउनू भन्ने प्रतीकका रूपमा अझै पनि भोटो देखाइन्छ ।

किंवदन्ती २ 

परापूर्व कालमा नागराज कर्कोटककी पत्नीलाई आँखा दुख्ने रोग लाग्छ । रोगले च्याप्दै गएपछि कर्कोटक नागराज वैद्य खोज्न मनुष्य रुप धारण गरी मत्र्यलोकमा आउँछन् । यसरी आउँदा उनले एउटा ज्यापूले बाख्राको आँखाको उपचार गरिरहेको देख्छन् । नागराजले सोधे, ‘हजुर आँखाको वैद्य हुनुहुन्छ कि ?’ 

‘हेर्दैछ, सोध्दैछ, के आँखा छैन ? यहाँ देखनौ, औषधि गरिरहेको ?’ ज्यापू बोले ।

त्यसपछि नागराजले आफ्नी पत्नीको उपचारका लागि नागलोक जान ती ज्यापूसँग बिन्ती गरे । 

‘म वैद्य होइन, यसै भनिदिएको हुँ वैद्य भनेर, नरिसाउनू होला है,’ ती मानिसले भने । 

मनुष्य रूप धारण गरेका नागराजले अनुनयविनय गरेपछि ती ज्यापूले ‘घर कहाँ हो ?’ भनी सोधे । नागराजले नजिकै देखाएपछि उनी त्यसतर्फ जान राजी भए । कर्कोटकको दहमा पुगेपछि नागराजले ती ज्यापूको हात समाई दहमा हामफाले । नागराजले पानी भित्रभित्रैबाट ज्यापूलाई एउटा भव्य महलमा पुयाएर । ‘वैद्यराज, म नागराज कर्कोटक हुँ, यो मेरो दरबार हो । यी मेरी नागिनीको आँखा दुखेको धेरै दिन भइसक्यो, यहाँ कसैले उपचार गर्न सकेनन् । त्यसैले म मानिसको रूपमा वैद्यराजको खोजीमा पृथ्वीलोक गएको थिएँ । कृपया, मेरी नागिनीको उपचार गरिदिनुपर्‍यो,’ नागराजले आफ्नो वास्तविक रुप देखाउँदै भने ।

नागराजका कुरा सुनेर ज्यापू अक्क न बक्क भए । उनलाई चिन्ता भयो– उपचार गरौँ आफू वैद्य होइन, नगरौँ यहाँ नागहरूले के गर्ने हुन्!

उनले मनमनै करुणामय (मत्स्येन्द्रनाथ)लाई सम्झँदै आफू वैद्य भएझैँ गरी नागिनीको आँखाको उपचार गर्न थाले । उनले अन्तस्करणदेखि नै ‘हे करुणामय, मेरो रक्षा गर्नुहोस् । म मूर्ख वैद्यराज भई बिरामीको उपचार गर्न लागेको छु, यस बिरामीको रोग निको पारी मेरो उद्धार गर्नुहोस्’ भनी चोखो पानीलाई फुक्दै नागिनीको आँखामा थोपा–थोपा हाले । नागिनीले आँखा देख्न थालिन् । 

पत्नीको रोग निको भएपछि नागराज ज्यापूसँग प्रशन्न हुन्छन् र बहुमूल्य हिरामोतीसँगै अति नै दुर्लभ रत्नजडित भोटो दिन्छन् । रत्नजडित भोटो लगाएर आएको देखी ज्यापू परिवारका मानिसले ‘भोटो कसले दियो’ भनी सोधे । ज्यापूले सबै घटना वृत्तान्तमा बताए । 

एक दिन भोटो लगाएर ज्यापूले खेतमा काम गर्दै थिए । शरीरमा पसिना आएपछि उनले भोटो फुकालेर छहारीमा विश्राम गरे । त्यही बेला उनको भोटो भूतले चोरेर लग्यो ।

पछि ललितपुरमा करुणामयको रथ जात्रा भयो । रथ जात्राको अन्तिम दिन थियो, जावलाखेलमा थुप्रै भक्तजन जात्रा हेर्न आएका थिए । ती ज्यापू पनि जात्रा हेर्न पुगे । त्यहाँ उनले आफ्नो रत्नजडित भोटो लगाएको भूतलाई देखे । उनले भूतलाई समातेर ‘मेरो भोटो चोर, मेरो भोटो फुकाल्’ भन्दै चिच्याए । 

भूतले पनि प्रतिकार गर्दै भन्यो, ‘मेरो भोटो हो यो । आफ्नो भनेर दिउँसै डाँका मार्न खोज्ने ?’ 

फोटोलाई आ–आफ्नो दाबी गर्दै दुईबीच निकै झगडा चर्कियो । अन्ततः उनीहरूको झगडालाई मानिसहरूले जात्रा हेर्न आएका राजासमक्ष पु¥याए । राजाले दुवैका कुरा सुनेर भने, ‘यो अति दुर्लभ भोटो मेरो हो भन्ने प्रमाण तिमीहरूसँग रहेनछ । त्यसैले यो भोटो अरु कसैको हुन सक्ने भएकाले सबैले देख्ने गरी श्री करुणामयको रथको खटमा यस अमूल्य भोटो देखाइनेछ । जो प्रमाणसहित भोटोमाथि दाबी गर्न आउनेछ, त्यसैलाई हकदार ठहराई यो भोटो प्रदान गरिनेछ । तर, कसैले लोभमा परी झूटो दाबी गर्न आएमा असत्य बोल्ने अपराधीको तल्कालै मृत्यु होस् भनी म करुणामयसँग प्रार्थना गर्छु ।’

भोटो मेरै हो भनेर ज्यापू वैद्य र भूतले मात्रै होइन, अरु कसैले पनि प्रमाण दिन सकेनन् । अर्को वर्ष पनि सोही दिन भोटो प्रदर्शन गरियो, प्र्रमाण ल्याउन कसैले सकेनन् । त्यसयता प्रमाण नल्याएसम्म भोटो देखाउने चलन चल्यो ।

(सत्यमोहन जोशीको पुस्तक ‘नेपाली चाडपर्व’, प्रेमकुमार खत्रीको पुस्तक ‘नेपालका धार्मिक मत र सामाजिक संरचना’, बासुपासाको पुस्तक ‘ललितपुर’बाट लिइएको।)
 

प्रकाशित मिति: १३:२३ बजे, शनिबार, वैशाख ९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्