सभामुख सापकोटाको शपथ भोलि
काठमाडाैं, माघ १२ : प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाको शपथ भोलि हुने भएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति....

काठमाडाैं, माघ १२ : प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाको शपथ भोलि हुने भएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति भवन शीतलनिवासमा सोमबार बिहान शपथ खुवाउने छिन्। सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता सापकोटा आइतबार अपरान्ह बसेको प्रतिनिधिसभा बैठकबाट सभामुखमा निर्विरोध निर्वाचित भएका हुन्।
प्रतिनिधिसभामा बैठकमा ज्येष्ठ सदस्यका हैसियतले राजपाका अध्यक्षमण्डलका सदस्य महन्थ ठाकुरले सभामुखमा सापकोटा निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए। नेकपाका संसदीय दलका उपनेता सुवास नेम्बाङले ‘अग्निप्रसाद सापकोटालाई सभामुखमा निर्वाचित गरियोस्’ भन्ने गरेको प्रस्तावलाई प्रतिनिधिसभाको बैठकले सर्वसम्मतीले पारित गरेको थियो।
प्रस्तावको समर्थकको रुपमा नेकपाका प्रमुख सचेतक देवप्रसाद गुरुङ र सांसद ओनसरी घर्ती एवं तथा राष्ट्रिय जनता पार्टीका सांसद लक्ष्मणलाल कर्णले रहेका थिए। सभामुख पदका लागि सापकोटाको मात्रै उम्मेदवारी परेको थियो। गत सोमबार नेकपाका तर्फबाट सापकोटाले सभामुखमा उम्मेदवारी दिएका थिए। सभामुख पदका लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने उम्मेदवारी दिएको थिएन।
यौन दुर्व्यवहारको मुद्दा खेपिरहेका तत्कालीन सभामुख कृष्णबहादुर महराले असोज १५ गते राजीनामा दिएपछि सो पद रिक्त थियो।











