कांग्रेस इतर समूहकाे ९० क्षेत्रको क्षेत्रीय अधिवेशन सकियो
उक्त समूहका नेता किरणराज शर्मा पौड्यालका अनुसार हालसम्म ९० क्षेत्रको क्षेत्रीय र नौं जिल्लाको जिल्ला अधिवेशन पनि सकिएको छ।
काठमाडौं, कात्तिक १२ : नेपाली कांग्रेसको संस्थापन इतर समूहले १५ औं महाधिवेशन अन्तर्गत करिब ९० प्रतिनिधि सभा क्षेत्रको क्षेत्रीय अधिवेशन सम्पन्न गरेको छ।
उक्त समूहका नेता किरणराज शर्मा पौड्यालका अनुसार हालसम्म ९० क्षेत्रको क्षेत्रीय र नौं जिल्लाको जिल्ला अधिवेशन पनि सकिएको छ।
‘कार्तिक १५ गते जिल्ला अधिवेशन छ त्यसअघि नै एक मात्र निर्वाचन क्षेत्र रहेका नौं जिल्लाका अधिवेशन सकिएको छ र नयाँ नेतृत्व आइसकेको छ । १५ गतेसम्ममा लगभग सबै जिल्लाको अधिवेशन सकिने छ । मंसिर ४ गते सातै प्रदेशको अधिवेशन पनि हुनेछ,’ पौडेलले भने.
१५ औं महाधिवेशन मंसिर २१ देखि २३ गतेसम्म गर्ने प्रस्ताव गरिएको र सो अनुसार निर्णय भएको तालिका अनुसार आफूहरुले काम गरिरहेको उनले जानकारी दिए।
जस अनुसार वडा अधिवेशन असोज १५ गते, पालिका अधिवेशन असोज २० गते, प्रदेश सभा÷प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन असोज २३ गते गर्ने प्रस्ताव गरिएको थियो। त्यस्तै, जिल्ला अधिवेशन कात्तिक १५ गते, प्रदेश अधिवेशन मंसिर ४ गते तोकिएको छ ।
युवा नेता भरत खड्काका अनुसार उत्साहका साथ देशभर अधिवेशन भइरहेको छ । ‘अधिवेशनमा धेरैजसो युवा पुस्ताका साथीहरु नेतृत्वमा आउनुभएको छ । अग्रजहरुलाई सम्मानजनक स्थान दिंदै कांग्रेसमा युवाहरुको आकर्षण देखिएको छ, तल्लो तहदेखिका अधिवेशनमा नवयुवाहरुको सहभागिता उत्साहजनक देखिनुलाई पार्टीमा नयाँ उर्जा देखिएको भान हुन्छ,’ उनले भने ।
गगन कुमार थापा नेतृत्वको संस्थापन पक्षले १५ औं महाधिवेशन सम्पन्न गरिसकेको छ । इतर पक्षले पनि छुट्टै महाधिवेशनको तयारीमा जुटेको हो।
गत पुसमा सम्पन्न विशेष महाधिवेशनपछि दुई भागमा विभाजित कांग्रेसको आधिकारिकता विवाद अझै सर्वोच्च अदालतमा विचाराधीन छ।











