सापकोटा सभामुखमा निर्वाचित भएपछि पूर्णिमाया भन्छिन्, ‘पतिका हत्याराविरुद्ध बाँचुञ्जेल लड्छु’
काठमाडौं, माघ १२ : प्रतिनिधिसभाको सभामुखमा अग्निप्रसाद सापकोटा निर्वाचित भएपछि पूर्णिमाया लामाले पतिका हत्याराविरुद्ध बाँचुञ्जेल लड्ने बताएकी छन्....

काठमाडौं, माघ १२ : प्रतिनिधिसभाको सभामुखमा अग्निप्रसाद सापकोटा निर्वाचित भएपछि पूर्णिमाया लामाले पतिका हत्याराविरुद्ध बाँचुञ्जेल लड्ने बताएकी छन्।
नवनिर्वाचित सभामुख सापकोटामाथि सशस्त्र द्वन्द्वका बेला काभ्रे छत्रेबाँसका अर्जुन लामाको हत्या आरोप छ। पूर्णिमायाले आफ्नो जीवनकालभर सापकोटाविरुद्ध लडिरहने बताएकी हुन्। ‘उसलाई चाहिँ कारबाही पनि नहुने, सरकारले पनि सर्पोट गरिरहने, हामीले चाहिँ कहिले पनि न्याय नपाउने? हामीले न्याय पाउनुपर्यो,’ उनले भनिन्, ‘मेरो जीवनभर ऊ (सापकोटा) विरुद्ध लडिरहनेछु। उसलाई कारबाही हुनैपर्छ।’
उनले आफ्नो पतिको अहिलेसम्म लास र सास नदेखाएको बताइन्। ‘त्यस्तो मान्छेले चुनाव जित्ने, ठूलो पदमा बस्ने, ठूला पदमा बसेका मान्छेलाई चाहिँ कानून लाग्दैन कि ?,’ उनले भनिन्, ‘१४ वर्षअघि मेरो मान्छे मारे। बरू कुकुर मर्दा माया हुने रहेछ। तर हामी गरिबको माया नहुने रहेछ।’
पूर्णिमायाले २०६९ मंसिर ७ गते सापकोटा, पूर्वसहायक ऊर्जामन्त्री सूर्यमान दोङलगायतलाई विपक्षी बनाएर मुद्दा दायर गरेकी थिइन्। ०६२ वैशाख १६ गते तत्कालीन माओवादी कार्यकर्ताको अपहरणमा परेका लामाको शव दुई महिनापछि काभ्रेकै साविक बुढाखानी गाविसमा गाडेको अवस्थामा फेला परेको थियो।
मुद्दामाथि सुनुवाइ गर्दै तत्कालीन न्यायाधीश सुशीला कार्की र ओमप्रकाश मिश्रको इजालसले ०६२ चैत २२ मा मुद्दाको अन्तिम सुनुवाइ संवैधानिक इजालसबाट गर्न आदेश दिएको थियो। मुद्दाको अन्तिम फैसला अझै भएको छैन।











