Kathmandu Press

‘साथीहरू तनहुँवासीलाई भर्खर परिचय दिँदै हुनुहुन्छ, म मत माग्न व्यस्त छु’

अरू उम्मेदवारहरू को कहाँ बस्छन् भन्नेसमेत यहाँका जनतालाई थाहा छैन, काठमाडौं गएर घर खोज्दै हिँड्नुपर्छ। मेरो घर मात्रै होइन, सारा कुलसँग यहाँका जनता चिरपरिचित छन्। त्यसैले मेरो जितमा कुनै शंका छैन।
‘साथीहरू तनहुँवासीलाई भर्खर परिचय दिँदै हुनुहुन्छ, म मत माग्न व्यस्त छु’

काठामडाैं, वैशाख ३ : वैशाख १० गते हुने उपनिर्वाचनका लागि लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार रहेका गोविन्द भट्टराई यतिबेला चुनावी अभियानमा छन्। लामो समय राजनीति गरेर पनि अवसर नपाएका नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष भट्टराईलाई यस उपनिर्वाचनमा नेपाली कांग्रेसले चुनावी प्रतिस्पर्धामा उतारेको छ।

अर्थशास्त्रमा एमए गरेका भट्टराई सोही विषयमा विद्यावारिधि गर्दैछन्। लोकतान्त्रिक वाम गठबन्धन, तनहुँ कांग्रेस र भट्टराई स्वयं यतिबेला जित हासिल गर्न चुनावी प्रचारप्रसारमा जुटेका छन्। उनै भट्टराईसँग आसन्न चुनावका सन्दर्भमा काठमाडौं प्रेसका लागि यम विरहीले गरेको संक्षिप्त वार्तालापको अंश:

निर्वाचनको दिन नजिकिँदैछ। तनहुँ–१ मा चुनावी अभियान कस्तो चल्दैछ?

अहिले चुनाव प्रचारप्रसारका सन्दर्भमा कोणसभा, भेटघाट, जनसम्पर्क र घरदैलो कार्यक्रम चलिरहेको छ। गाउँ, टोल, बस्ती सबैतिर जनतासँग प्रत्यक्ष भेटघाट गरी विकास निर्माणलगायतका गुनासा, समस्या सुन्दै मत मागिरहेको छु। अभियान निरन्तर जारी छ। अरू उम्मेदवारहरू आफ्नो परिचय दिएर अभियान सुरु गर्दैछन् तर म मतदाताबीच परिचित छु। त्यसैले सजिलो भइरहेको छ।  

चुनावी माहोल कस्तो देख्नुभयो त?

पहिलो कुरा त म तनहुँकै स्थानीय उम्मेदवार हुँ। दोस्रो कुरा, मैले लोकतन्त्र प्राप्तिका लागि विगतमा खेलेको भूमिका र मैले जनहितमा गरेका कामहरूका कारण माहोल निकै सकरात्मक छ। आफू कुनै पदमा नभए पनि म सधैं जनताका पिरमर्कामा नजिक रहेर काम गर्दै आएको मान्छे हुँ। यसका अतिरिक्त तनहुँमा बाटोघाटो, विद्युतीकरण, खानेपानी, सिँचाइ, पर्यटन, पूर्वाधार, शिक्षाको विकासलगायत यावत् क्षेत्रमा नागरिकका बीचमा सहयोगी र समन्वयकारी भूमिकामा रहेर काम गरेको छु। जनतासँगको भेटघाटमा धेरै माया, सद्भाव र शुभेच्छा पाएको छु। यी सबै कारणले चुनावी अवस्था निकै राम्रो पाएको छु। राम्रो हौसला मिलेको छ।    

एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीबाट नयाँ उम्मेदवार आएका छन्, त्यसलाई कसरी लिनुभएको छ ?  

नयाँ साथीहरू आउनुभएको छ। उहाँहरूलाई यहाँका गाउँहरूको नाम कण्ठ गर्नै अझै एक वर्ष लाग्ला जस्तो छ। उहाँहरूलाई यहाँका जनतासँग चिनजान गर्न त पाँचै वर्ष लाग्ला। उहाँहरूको खासमा अहिले तनहुँ–१ मा परिचयात्मक कार्यक्रम भइरहेको छ।

govinda bhattarai1681278077.jpg

तपाईंले जित्ने आधारहरू केके देख्नुभएको छ ?

म तनहुँकै माटोमा खेल्दै धुलोबाट उठेको व्यक्ति हुँ। २०५३ सालमा नेपाल विद्यार्थी संघको अध्यक्ष भएदेखि यहाँका हरेक चुनाव, हरेक विकास निर्माणका काम र हरेक सामाजिक अभियानमा म सहभागी हँुदै आएको छु। म ‘टुरिस्ट उम्मेदवार’ होइन। यहाँ नै मतदाता सूचीमा नाम भएको उम्मेदवार हुँ।

सुशासन र सदाचार पद्धतिको मार्ग अवलम्बन गर्दै जनताले दिएको जिम्मेवारीको सदुपयोग गर्नु मेरो पहिलो कर्तव्य हुनेछ। उपलब्ध स्रोत र साधनको अधिक परिचालनमार्फत प्राथमिकताका क्षेत्र तोकेर एउटा ‘रोडम्याप’ तय गरेर अघि बढ्नेछु।

जनतासँग वर्षौंदेखि चिनजान र घुलमिल भएको मान्छे हुँ। २०३६ सालको विद्यार्थी आन्दोलनमा सहभागी हँुदा टाउकोमा प्रहरीको लाठी लागेर दमौली बजारमा मेरो रगत बगेको छ। त्यसपछि भएको जनमतसंग्रहमा सक्रिय सहभागी हुँदै २०४२ सालको सत्याग्रहमा जेलनेल भोग्दै निरन्तर राजनीतिमा होमिएको छु। अनेक दुःख र हन्डर बेहोरेको छु। झन्डै साढे चार दशकपछि प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेर जनताबीच आएको छु। दुःख र संघर्षका बीचबाट उठेर यहाँसम्म आइपुगेको हुँ।

यति मात्र होइन, यहीँको बासिन्दा भएकाले मलाई यहाँका स्थानीयको समस्या नजिकबाट थाहा छ। चुनाव भनेको उठ्ने र जित्ने कुरा मात्र होइन, भोलिका दिनमा विकास र समृद्धिका काममा सक्रिय भूमिका खेल्न सक्ने व्यक्ति हुनु जरुरी छ। मैले गरेका कामहरूबाट नै मैले निर्वाचन जित्नेछु।

मलाई लाग्छ, आम मतदाताले कसले निरन्तर सहयोगी भूमिकामा उभिन सक्छ, समस्या समाधानमा लागिपर्ने उपयुक्त पात्र को हो भनेर चिन्नुभएको छ। जित्ने दाबी गर्ने अधिकार त सबैलाई छ तर दुःखसुःखमा को साथमा रहन्छ भनेर पक्कै पनि आम मतदाताले मलाई न्याय गर्नुहुनेछ भन्ने पूर्ण विश्वास छ।

अरू उम्मेदवारहरू को कहाँ बस्छन् भन्नेसमेत यहाँका जनतालाई थाहा छैन, काठमाडौं गएर घर खोज्दै हिँड्नुपर्छ। मेरो घर मात्रै होइन, सारा कुलसँग यहाँका जनता चिरपरिचित छन्। त्यसैले मेरो जितमा कुनै शंका छैन।

तपाईंले जनतासँग गरेको वाचा पूरा हुन्छ भन्ने विश्वास कसरी दिलाउनुहुन्छ ?

तनहुँ–१ का जेजति समस्या छन्, ती सबैको समाधान गर्ने भनेको सरकारमा भएका पार्टीले नै हुन्। अहिले केन्द्रमा नेपाली कांग्रेस सरकारमा छ। यहाँ गण्डकी प्रदेशमा पनि कांग्रेससहितको गठबन्धनको सरकार बन्दैछ। स्वाभाविक रूपमा म निर्वाचित हुँदा मेरो भूमिकाले अर्थ राख्छ। अरू दलका उधारा मन्त्रीहरूलाई तनहुँका जनताले पत्याउँदैनन्। लोकतान्त्रिक वाम गठबन्धन सरकारमा रहेका कारण मैले यस क्षेत्रमा काम गर्ने वातावरण बन्छ। मैले भनेर होइन, व्यवहारमा गरेरै देखाउनेछु।

अर्को कुरा मेरो विगतको पृष्ठभूमि, निष्ठा, इमानदारी, आदर्शको कसीमा राखेर मतदाताले मलाई विश्वास गर्नुहुनेछ भन्ने अपेक्षा गरेको छु। अरू उम्मेदवारहरू कसैले गृहमन्त्री हुन्छु भनेर कसैले अर्थमन्त्री हुन्छु भनेर जनतालाई ढाँटेका छन्। पाँचसम्म वर्ष वर्तमान गठबन्धनकै सरकार रहन्छ, अरू कोही मन्त्री होइन, उनीहरूका दलसमेत सरकारमा हुँदैनन्।

govinda1681645545.jpg

तनहुँमा यसपल्ट कांग्रेसको आन्तरिक सहयोग र समन्वयको अवस्था कस्तो छ ?

यो क्षेत्र यसै पनि नेपाली कांग्रेसले नै जितेको क्षेत्र हो। तनहुँ कांग्रेसको गढ नै हो। यद्यपि, म लोकतान्त्रिक वाम गठबन्धनका सात दलको पनि साझा उम्मेदवार हुँ। नेपाली कांग्रेसको पूरा पार्टीपंक्ति र गठबन्धन दलका सबै निकाय एकमत भएर लागिपरेका छन्। मेरो उम्मेदवारीमा कोहीकसैप्रति कुनै विवाद र सन्देह छैन। हामी एकगठ छौं। यसर्थ, भारी मतले जित्नेमा कुनै शंका छैन।  

एमाले, रास्वपालगायत अरू पार्टी र कांग्रेसमा के फरक छ ?

हेर्नुस्, नेपाली कांग्रेस निरंकुशताविरुद्ध स्वतन्त्रताको लडाइँमा राणा, पञ्चायतदेखि ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनसम्म पटकपटक बलिदानीपूर्ण संघर्ष र त्याग गरेको ऐतिहासिक पार्टी हो। कांग्रेसकै नेतृत्वमा निरंकुशताको अन्त्य भई मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको हो। निरंकुशताविरुद्धको लडाइँमा नेपाली कांग्रेसको तेस्रो पुस्तासम्मले रगत र पसिना बगाउनुपरेको छ।

तनहुँवासीलाई एउटा विशेष आग्रह– भोलि तपाईंहरूको दुःखसुखमा साथ दिन सक्ने, तपाईंहरूले बोलाउँदा आउन सक्ने, तपाईंहरूले आफ्ना कुरा निर्धक्कसँग भन्न सक्ने उम्मेदवारलाई मतदान गर्नुहोस्।

लोकतन्त्र बहालीको आन्दोलनमा तनहुँबाटै लालध्वज गुरुङ, उत्तरकुमार श्रेष्ठ, धर्मध्वज गुरुङ, धर्मराज श्रेष्ठ, सन्तबहादुर रानामगर, चन्द्रबहादुर सार्की र खड्गबहादुर गोदारलगायत योद्धाले आफ्नो ज्यानको आहुति दिएका छन्। नेपाली कांग्रेसको अथक संघर्षको परिणाम आज राज्यको ढाँचा बदलिन सम्भव भएको हो।

अब लोकतन्त्रको रक्षा, मानवअधिकार संरक्षण, कानुनी राज्यको संवद्र्धन, सामाजिक न्याय, नागरिक स्वतन्त्रतासँगै मुलुकको समृद्धिमार्फत नागरिकको अवस्था बदल्नुपर्ने छ, जुन ऐतिहासिक अनुभवबाट खारिएको कांग्रेसबाट मात्र सम्भव छ। लोकतन्त्र, सं घीयता, समावेशिता कांग्रेसबाटै सुनिश्चित हुनेछ। आखिर प्रसव पीडा सहेर जन्म दिने आमालाई नै सबैभन्दा बढी बच्चाको माया हुन्छ। अरू भाषण मात्रै गर्छन्, कांग्रसले काम नै पूरा गरेर देखाउँछ। अरू दलहरु कुन विचार बोक्छन् भन्नेमा उनीहरु आफैं नै स्पष्ट हुन सकेका छैनन्, त्यसैले पनि नेपाली कांग्रेसुसँग कुनै दलको तुलना हुन सक्दैन।

आवधिक निर्वाचनमा कहीँकतै जनताको आवेगमा मत पाएका कारण फुर्किनुपर्ने अवस्था तनहुँमा छैन। नयाँ दलको त वैचारिकता के हो? विभिन्न विषयमा धारणा के हो? मुलुकको आर्थिक नीति के हो? सामाजिक विभेद हटाउने रणनीति के हो? विकासको मोडल के हो भन्ने नै कहीँ कुनै दस्तावेजमा छैन। यस्ता दललाई तनहुँजस्तो राजनीतिक चेतना भएको जिल्लाका मतदाताले पत्याउँदैनन्।

तनहुँ १ का लागि तपाईंको समृद्धिको मार्गचित्र के छ ?  

हामीले लोकतन्त्र स्थापना गरेका छौं। अब लोकतन्त्रलाई अझै परिष्कृत गर्दै अझै स्थानीय धेरै क्षेत्रमा काम गर्नुपर्ने छ। स्थानीय विकास निर्माणका कामदेखि, रोजगारी, शिक्षा, स्वास्थ्य, जलविद्युत्, कृषिको आधुनिकीकरण, पर्यटन तथा स्थानीय उद्यमशीलताको विकासमा दिनरात नभनी लागिपर्नेछु। प्राकृतिक स्रोत, मानव साधन, पुँजी र प्रविधिको संयोजनबाट विकासको गति अघि बढाउन सकिन्छ भन्ने मेरो दृढ विश्वास छ।

राजनीतिक स्थिरतासँगै प्रणालीमा सुधार ल्याउन मेरो अग्रसरता रहनेछ। साथै सुशासन र सदाचार पद्धतिको मार्ग अवलम्बन गर्दै जनताले दिएको जिम्मेवारीको सदुपयोग गर्नु मेरो पहिलो कर्तव्य हुनेछ। उपलब्ध स्रोत र साधनको अधिक परिचालनमार्फत प्राथमिकताका क्षेत्र तोकेर एउटा ‘रोडम्याप’ तय गरेर अघि बढ्नेछु।

govinda1681645761.jpg

महिला, दलित, आदिवासी जनजाति, मुस्लिम, पिछडिएको क्षेत्र, अपांगता भएका व्यक्ति सबै वर्गको हक–अधिकार सुनिश्चित गर्न समर्पित भएर लागिपर्नेछु। विकासको समानुपातिक लाभ र अधिकारको जगेर्ना हुन सकेन भने हाम्रो लक्ष्य पूरा हुन सक्दैन। यसकारण, संकल्प र प्रतिबद्धता निरन्तर रहनेछ।

तनहुँ १ को विकाससँगै समग्र जिल्लाको मुहार फेर्ने मेरो सपना छ। जुन अभिभारा पूरा गर्न म प्रतिज्ञाका साथ अघि बढ्नेछु। जुन विश्वास तनहुँ १ का आदरणीय न्यायप्रेमी मतदातालाई दिलाउन चाहन्छु।

अन्त्यमा तनहुँ–१ का मतदातालाई के भन्न चाहनुहुन्छ ?  
यहाँका जनतालाई मेरो एउटा विशेष आग्रह छ, भोलि तपाईंको दुःखसुखमा साथ दिन सक्ने, तपाईंले बोलाउँदा आउन सक्ने, तपाईंहरूले आफ्ना कुरा निर्धक्कसँग भन्न सक्ने उम्मेदवारलाई मतदान गर्नुहोस्। चुनावलाई एक दिन भोट हाल्ने दिन मात्रै नठान्नुहोस्, चुनावपछि पाँचै वर्ष वरिपरि हुने व्यक्तिलाई मतदान गर्नुहोस्।

महिला, दलित, आदिवासी जनजाति, मुस्लिम, पिछडिएको क्षेत्र, अपांगता भएका व्यक्ति सबै वर्गको हक–अधिकार सुनिश्चित गर्न समर्पित भएर लागिपर्नेछु। विकासको समानुपातिक लाभ र अधिकारको जगेर्ना हुन सकेन भने हाम्रो लक्ष्य पूरा हुन सक्दैन।

जीवनमा तनहुँसँग कुनै साइनो नभएका तर आफ्नो व्यक्तिगत महत्वाकांक्षाका लागि परीक्षण गर्न आएका उम्मेदवारलाई चिन्नुहोस्। मलाई विश्वास छ, तनहुँका जनताले यसलाई मध्यनगर गरेर नै आफ्नो मत खसाल्नुहुनेछ। मेरो पनि आदरणीय तनहुँ–१ का आमाबुवा, दिदीबहिनी, दाजुभाइ सबैलाई यही अनुरोध छ।

अत्यधिक मतका साथ विजयी गराई सेवा गर्ने मौका दिनुहुनेछ भन्ने पूर्ण विश्वाससहित नयाँ वर्ष २०८० को हार्दिक शुभकामना पनि दिन चाहन्छु।

 

प्रकाशित मिति: १७:३६ बजे, आइतबार, वैशाख ३, २०८०
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्