Kathmandu Press

हामी दोस्रो वर्षमा

आज माघ १० गते। गएको वर्ष यही दिन हामीले काठमाडौं प्रेस सुरू गरेका थियौँ। त्यो बेला हाम्रो अठोट थियो– अनलाइन समाचार पोर्टलहरूको भीडमा अलग्गै स्थान बनाउने र अलग पह....

हामी दोस्रो वर्षमा

आज माघ १० गते। गएको वर्ष यही दिन हामीले काठमाडौं प्रेस सुरू गरेका थियौँ। त्यो बेला हाम्रो अठोट थियो– अनलाइन समाचार पोर्टलहरूको भीडमा अलग्गै स्थान बनाउने र अलग पहिचान कायम गर्ने! हामी यो अग्निपरीक्षामा खरो उत्रिन सक्यौँ कि सकेनौँ? यो त तपाईं पाठकहरूले मूल्याङ्कन गर्ने विषय हो। हाम्रो स्वमूल्याङ्कनमा चाहिँ हामी यतिमात्रै भन्न सक्छौँ– हामी सहि मानेमा पत्रकारिता गरिरहेका छौँ र सधैं गरिरहने छौँ।

काठमाडौं प्रेसको पहिलो वर्ष चुनौतिपूर्ण त थियो नै, निकै रोमाञ्चक पनि रह्यो। नयाँ–नयाँ सूचना सुँघेर पत्ता लाउनु, त्यसलाई मेहनतका साथ उधिन्नु, अपुष्ट बिवरणहरूलाई कनिका निफनेर फाले झैं फाल्नु र अन्तमा पाठकसामु रोचक शैलीमा विश्लेषणात्मक खबरहरू प्रस्तुत गर्नु साँच्चै एक रोमाञ्चक प्रक्रिया थियो, जुन हामीले काठमाडौं प्रेसको समाचार कक्षमा हरेक दिन अनुभव गर्‍यौँ।

एक वर्ष लामो अवधि होइन, तर यो छोटो अवधिमै पनि हामीले हाम्रा समाचार, विचार र अन्य सामग्रीप्रति जे–जस्ता प्रतिक्रियाहरू पाएका छौँ, त्यसले हामीलाई पुलकितमात्र होइन, पाठकप्रति थप प्रतिबद्ध समेत बनाएको छ। पाठकको सकारात्मक प्रतिक्रिया, सद्भाव र विश्वास नै काठमाडौं प्रेसले एक वर्षमा कमाएको सबैभन्दा ठूलो पूँजी हो।  

Hardik ivf

भिडियाे

काठमाडौं प्रेस सुरू गर्दा हामीले भनेका थियौँ– अहिलेको युग अनलाइन पत्रकारिताको हो। केही वर्षअघिसम्म ब्लगको श्रेणीमा राखिने–हेरिने अनलाइन पत्रकारिता अहिले सञ्चारको सबैभन्दा सशक्त माध्यमको रूपमा उदाइसकेको छ। अनलाइनले लेख्ने समाचार–प्रकाशन गर्ने सामग्रीहरूमा अहिले सामाजिक सञ्जाल तताउने मात्रै होइन, सरकारी निर्णयहरूलाई प्रभावित पार्ने तागत पनि छ। लोकतन्त्र, अभिव्यक्ति स्वतन्त्रता र २०६२/६३ सालको वसन्त विद्रोहका उपलब्धिहरू रक्षा गर्ने बलियो हिमायतीका रुपमा अनलाइन पत्रकारिता उदाइसकेको छ।

तर, डिजिटल दुनियाँमा सूचना–समाचार ‘ओभरलोड’ भइरहेको पनि हामीले महसुस गरेका छौँ। एउटै घटनालाई दर्जनौं अनलाइनहरू उस्तै शैलीमा पाठकसामु पस्कन्छन्। कतिको प्रस्तुतिमा बिवरणहरू तलमाथि हुन्छन्, तथ्यहरू नै पनि गलत पर्न सक्छन्। हावादारी समाचार अर्थात् फेक न्यूजको जोखिम पनि उत्तिकै छ। फेक न्यूज पत्रकारिताकालागि मात्र होइन, लोकतन्त्रकालागि पनि घातक छ।

फेक न्यूजले समाजमा विग्रह पैदा गर्छ, मतदातालाई झुक्याउँदै आत्मकेन्द्रित एवं अधिनायकवादी नेतालाई सत्तामा पुर्‍याउँछ र देशलाई हिंसाको दलदलमा जाक्छ। यस्तो चुनौतीपूर्ण अवस्थामा सनसनीपूर्ण शीर्षकका सट्टा समाचारको संवेदनशील प्रस्तुतिमा ध्यान दिने अनलाइन पत्रकारिताको जुन खाँचो छ, त्यो काठमाडौं प्रेसले केही हदसम्म भएपनि पूरा गर्ने प्रयत्न गरेको छ। र, यो प्रयत्न नै हाम्रो अस्तित्वको आधार पनि हो।

हामी ‘फेक’ लोकप्रियतातिर लागेनौँ, लाग्दैनौँ। ‘पेड भ्यूअरशिप’तिर पनि लागेनौँ, लाग्दैनौँ। हामीले थोरै सही, तर तथ्यपरक एवं विश्लेषणात्मक समाचारको परख गर्ने असली पाठकवर्ग आर्जन गर्ने कठिन तर नितान्त अपरिहार्य प्रक्रिया रोजेका छौँ। त्यसैले, हामी गर्वकासाथ भन्न सक्छौँ– हामीले मूल्यवान सम्पत्तिका रूपमा हामीलाई विश्वास गर्ने पाठकहरू कमाएका छौँ। आशा छ– पाठकको विश्वासरूपी पूँजी र मायारूपी सम्पत्ति दिनानुदिन बढ्दै जानेछन्।

एक वर्षको अवधिमा हामीले समाचारमात्रै पर्खेनौँ, समाचार खोज्यौँ, बनायौँ। हाम्रा प्रायः सबै स्तम्भहरू अत्यधिक रुचाइएका छन्। हाम्रा भिडियोहरू पनि पाठकहरूले निकै मन पराएको पाएका छन्।

यो एक वर्ष हाम्रा लागि केही सिक्ने–परीक्षण गर्ने समय पनि भयो। र, अबदेखि हामी एक वर्षको अनुभव, सिकाई र चुनौतीलाई आफ्नो उर्जा एवं लगानी ठानेर अझै सशक्त रूपमा अघि बढ्ने प्रण गर्दछौँ। हामी हाम्रो तराजुलाई स्वतन्त्र बनाएर राख्न पनि सङ्कल्पित छौँ। 

अन्त्यमा, हामीलाई माया गर्ने विज्ञापनदाता, पाठक, शुभेच्छुक, हाम्रा कर्मचारी साथीहरु र पत्रकार मित्रहरूलगायत सबैलाई हार्दिक बधाई एवं धन्यवाद दिन चाहन्छौँ । र, तपाईंहरूको माया, विश्वास, सुझाव/सल्लाहलाई मार्गदर्शन मान्दै हामी अघि बढ्नेछौँ।

प्रकाशित मिति: ०८:५३ बजे, शनिबार, माघ ११, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मैले चिनेका दमन दाइ
मैले चिनेका दमन दाइ
दशैंकाे भाग
दशैंकाे भाग
दसैं हिन्दुको कि नेपालीको?
दसैं हिन्दुको कि नेपालीको?