Kathmandu Press

२० वर्षको उमेरमै तरकारी खेतीबाट लाखौं आम्दानी

२०७७ सालमा आफ्नै जमिनबाट तरकारी खेती थालेका उनी यतिखेर गाउँठाउँमै केही गर्न सकिन्छ भन्ने उदाहरण मात्र बनेका छैनन्, स्वदेशमै केही गर्न चाहनेका लागि प्रेरणाको स्रोतसमेत बनेका छन्। 
२० वर्षको उमेरमै तरकारी खेतीबाट लाखौं आम्दानी

काठमडौं, चैत ११ : नेपालमा बेरोजगारी समस्या डरलाग्दो छ। रोजगारकै लागि पढेलेखेका युवाहरू बिदेसिने क्रम बढ्दो छ। सुदूरपश्चिमको विकट पहाडी जिल्ला बझाङका २० वर्षे तन्नेरी शमशेर थापा भने स्वदेशमै तरकारी खेती गरेर मनग्य आम्दानी गरिरहेका छन्। 

बझाङको खप्तड छान्ना गाउँपालिका–६ तिउँदेल दगाउँलेकमा २०६९ सालमा जन्मेका शमशेर थापा २० वर्षको उमेरमै आफूलाई एक सफल कृषकका रूपमा स्थापित गर्न सफल भएका छन्। २०७७ सालमा आफ्नै जमिनबाट तरकारी खेती थालेका उनी यतिखेर गाउँठाउँमै केही गर्न सकिन्छ भन्ने उदाहरण मात्र बनेका छैनन्, स्वदेशमै केही गर्न चाहनेका लागि प्रेरणाको स्रोतसमेत बनेका छन्। 

शमशेरका दुई दाजु र एक दिदी छन्। उनका दुवै दाजु बिदेसिएका छन्। परिवारको कान्छो सन्तान भए पनि यतिखेर उनले अभिभावकको हेरचाह गर्ने जिम्मेवारी पनि वहन गर्दै आएका छन्। 

Hardik ivf

यसरी सुरू भएकाे थियाे तरकारी खेती 

शमशेरले महेश्वरी माध्यमिक विद्यालयमा कक्षा ११ मा पढ्दै गर्दा २०७७ सालमा तरकारी खेती सुरु गरेका थिए। उमेरले परिपक्व नभए पनि उनको सोच भने फराकिलो छ। पैसा कमाउन विदेश नै जानुपर्छ भन्ने मान्यता भने उनी राख्दैनन्। सानै काम भए पनि कसैको दबाबबिना आफ्नै गाउँठाउँमा गर्नुपर्छ भन्ने सोच राख्ने शमशेरमा ऊर्जा थप्ने काम उनका मामा प्रकाश खत्रीले गरेका हुन्।

खप्तड छान्ना–५ का मामा लामो समयदेखि कृषिकर्ममा संलग्न छन्। कृषिकर्मबाटै मामा खत्रीले लाखौं आम्दानी मात्र गर्दै आएका छैनन्, समाजमा छुट्टै पहिचान पनि बनाएका छन्। त्यसैले मामाले अँगालेको व्यावसायबाट प्रेरित भई आफूले कृषिलाई अँगालेको उनी बताउँछन्। 

४ हजार लगानी, सुरुमै १५ हजार आम्दानी 

१८ वर्षको उमेरमा तरकारी खेती सुरुवात गर्दा शमशेरले कहीँकतैबाट कृषिसम्बन्धी तालिम भने लिएका थिएनन्। उनले आफ्नो बुद्धि र बर्कतले भ्याएसम्म काम गर्दै गए।

बेमौसमी तरकारी खेती गर्न टनेलको आवश्यकता पर्छ भन्ने उनलाई थाहा थियो। त्यसका लागि उनले काठ किने। संस्थाबाट उनकी आमालाइ प्लास्टिक उपलब्ध भएको थियो। त्यही काठ र प्लास्टिकले आफै टनेल बनाएर टमाटर रोपे । टनेलबाहिर बन्दा, काउली, मुला, गाँजर लगाएतका तरकारी परम्परागत शैलीमै लगाए।

टनेल निर्माण गर्न, तरकारीे उत्पादन गर्न, केही भिरालो जमिन समथल गर्न सुरुवाती चरणमा करिब ४ हजार लागत लागेको थियो, जसबाट करिब १५ हजार आम्दानी गर्न उनी सफल भएका थिए। तरकारी खेतीको पहिलो कमाइ थियो त्यो।

पहिलो प्रयासबाटै सफलता मिलेपछि उनले तरकारी खेतीलाई व्यवस्थित बनाएर निरन्तरता दिने योजना बनाए। थोरै जमिनबाट तरकारी खेती सुरु गरेका शमशेरले यतिखेर ४ रोपनी जमिनमा हिउँदे र बर्खे दुवै यामका मौसमी तथा बेमौसमी तरकारी रायो, मुला, गाँजर, धनियाँ, काँक्रा, टमाटर, बन्दा, काउँली, बोडी, आलुलगायत तरकारी उत्पादन गर्दै आएका छन्। 

tarkari kheti1679993589.jpg

बारी र विद्यालय दुवैतिर समय व्यवस्थापन 

शमशेर विद्यार्थी पनि हुन्। तरकारी खेती सुरु गर्दा उनी ११ कक्षामा पढ्थे। उनको घर र विद्यालयको दूरी एक घन्टाको छ। दिउँसो विद्यालय भ्याएर बिहान र बेलुका बारीमा समय दिई उनले कृषिलाई निरन्तरता दिँदै गएका हुन्।

यतिखेर तरकारी खेतीबाटै वार्षिक ४ देखि ५ लाखसम्म आम्दानी गर्दै आएको उनी बताउँछन्। ‘खर्च छुट्याएर नाफाको मात्र कुरा गर्ने हो भने करिब ३ लाखसम्म नाफा हुने गर्छ,’ उनले भने। 

शमशेरका बुवा अर्जुन थापा रोगजारीको सिलसिलामा भारत जाने गर्थे। तर छोराले सञ्चालन गर्दै आएको व्यावसायले गर्दा गाउँघरमै भ्याइनभ्याइ भएपछि उनी एक वर्षयतादेखि भारत नगई छोरालाई कृषिमा सघाउँदै आएका छन्। 

यसरी तरकारी खेतीमा निरन्तरता दिँदै गर्दा उनलाई पछिल्लो समय कृषिसम्बन्धि तालिम लिने अवसर पनि मिल्दै आएको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ बझाङबाट उनले यही फागुनमा तिन दिने तालिम पनि पाए। 

सुरुवाती दिनमा आफ्नो घरमा भएका हलो, कुटोजस्ता परम्परागत कृषि औजारको प्रयोग गरेर तरकारी खेती सुरु गरेका उनले यही पुसमा आलुजोन बझाङबाट हाते ट्याक्टर पनि पाएका छन्। जसले गर्दा व्यावसायमा थप ऊर्जा मिलेको उनी बताउँछन्। 

'ठेक्का लिएकाले बजारकाे समस्या छैन' 

एक वर्षअघिसम्म शमशेरलाई आफूले उत्पादन गरेको तरकारी बिक्री गर्न निकै कठिनाइ थियो। बारीदेखि पिठ्यूँमा तरकारी बोकी करिब पैदल दुई घन्टाको दूरीमा अवस्थित पाटादेवल र भालुहाङ बजारसम्म बिक्रीका लागि लानुपर्थ्याे। यस्तो तरिकाले तरकारी बजारमा पुर्‍याउँदा पिँठ्यूमा छालासमेत निस्कने गरेको उनी कहिल्यै बिर्संदैनन्।

‘गाउँमा गाडी चल्ने सडकको व्यवस्था नहुँदा आफूले उत्पादन गरेको तरकारी बजारसम्म पुर्‍याउन सहज छैन,’ उनी भन्छन्, ‘गत वर्ष एक क्विन्टल आलु रोपेर १६ क्विन्टल उत्पादन गरें तर बजारसम्म पुर्‍याउन नसकेर खेर गयोे। उत्पादन राम्रो हुँदाहँुदै पनि नाफा लिन सकिनँ।’ 

तर अहिल आफूले उत्पादन गरेको तरकारी बिक्रीका लागि बजार खोज्दै हिँड्नुनपरेको उनी सुनाउँछन्। विद्यालयमा दिवाखाजाका लागि तरकारीको आवश्यकता पर्ने हुँदा बहुउद्देश्यीय विकास समाज बझाङले भदौदेखि खप्तड छान्ना गाउँपालिकामा रहेका ६ वटा विद्यालयमा तरकारी पुर्‍याउने जिम्मेवारी उनलाई दिएको छ।

‘बहुउद्देश्यीय विकास समाज बझाङले रोजगारीका साथै तरकारीको मूल्य पनि निर्धारण गरिदिएकाले निकै सहज भएको छ,’ उनी भन्छन्, ‘६ वटा विद्यालयमा तरकारी पुर्‍याउँदा महिनामा ३५ देखि ४० हजारसम्म आम्दानी गर्दै आएको छु।’ 

'वास्तविक किसान मर्कामा'

छोटो समयमै तरकारी खेतीमा राम्रो उपलब्धि हासिल गरेका थापाले आठ महिनाअघि मात्र बुवाको नामबाट ‘अर्जुन बहुउद्देश्यीय कृषि फार्म’ दर्ता गरेका छन्। यसरी कृषिमा संलग्नता जनाइरहँदा अझै केही गर्न सोच बनाए पनि विभिन्न समस्याका कारण योजनालाई पूर्णता दिन नसकेको उनी बताउँछन्।

हरेक कार्यालयमा सहयोगका लागी निवेदन दिँदा पनि कहीँकतैबाट सहयोग नमिलेकोमा उनी गुनासो पोख्छन्। 
‘विभिन्न निकायका ढोका ढक्ढकाउँदा पनि सहयोग मिल्दैन। यसका लागि कार्यालयमा कि त आफन्त हुनुपर्छ कि त पावर नै लगाउन सक्नुपर्ने रहेछ,’ उनी भन्छन्, ‘सरकारी योजनाहरू आफन्त केन्द्री बन्दा वास्तविक किसान मर्कामा पर्ने गरेका छन्।’

तरकारी खेतीमा अहिले उनलाई सिँचाइको अभाव छ। सानो पाइपबाट सिँचाइ गर्नुपर्दा तरकारीलाई आवश्यक पानी पुर्‍याउन नसकेको उनी बताउँछन्। यसका साथै बेमौसमी तरकारी उत्पादन गर्न फलामे टनेल नहुँदा हिउँदे याममा हिमपातले तरकारी बिगार्ने समस्यासँग पनि जुध्नुपरेको उनको भनाइ छ। अहिलेसम्म आलु जोन कार्यालय बाजुराबाहेक अन्य निकायबाट कृषि सहयोग नपाएको उनी बताउँछन्। 

अहिले पहाडबाट तराई र गाउँबाट सहर बसाइँ सरेर जाने क्रम बढ्दो छ। जसले गर्दा पहाडका खेतबारी बाँझै रहन थालेका छन्। कृषिमा भविष्य खोजेका शमशेरको भावी योजना गाउँको बाँझो जमिनमा तरकारी खेती विस्तार गरी उत्कृष्ट कृषक बन्ने छ। 

प्रकाशित मिति: १४:३१ बजे, मंगलबार, चैत १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्