Kathmandu Press

धेरै बिरामी उपचारको दायराबाहिर हुँदा क्षयरोग निवारणमा चुनौती

दुई साता वा सोभन्दा बढी समयसम्म खोकी लाग्नु, साँझपख ज्वरो आउनु, तौल घट्दै जानु, खकारमा कहिलेकाहीँ रगत देखिनु, खाना खान मन नलाग्नु क्षयरोगका लक्षण भएकाले यस्ता लक्षण देखिए तुरुन्त चेकजाँचका लागि स्वास्थ्य संस्था जानु आवश्यक देखिन्छ।
धेरै बिरामी उपचारको दायराबाहिर हुँदा क्षयरोग निवारणमा चुनौती

काठमाडौं, चैत १० : क्षयरोग नियमित उपचारले निको हुन्छ। तर पनि विश्वमा क्षयरोगका बिरामीको संख्या बर्सेनि उकालो लागिरहेको छ। समयमै उपचारको दायरामा आउन नसक्दा क्षयरोगबाट ज्यान गुमाउनेको संख्या पनि त्यत्तिकै वृद्धि हुँदै गएको छ। 

सन् १८८२ मार्च २४ का दिन डा. रोबर्ट कोचले क्षयरोगको कीटाणु पहिलोपटक पत्ता लगाएका थिए। त्यसको सय वर्षपछि सन् १९८२ देखि हरेक मार्च २४ का दिन विश्व क्षयरोग दिवसका रूपमा मनाउने गरिएको छ। ‘यस वी क्यान इन्ड टिबी’ अर्थात् ‘हो, हामी क्षयरोग अन्त्य गर्न सक्छौं’ भन्ने नाराका साथ यो वर्ष १४१औं क्षयरोग दिवस मनाइँदैछ। 

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को वार्षिक प्रतिवेदनअनुसार सन् २०२२ मा मात्र ६० लाख पुरुष, ३४ लाख महिला र १२ लाख बालबालिका गरेर करिब १ करोड ६ लाख मानिस क्षयरोगबाट प्रभावित भए। सन् २०२१ मा संसारभरि क्षयरोगबाट मृत्यु हुनेको संख्या १६ लाख थियो। 

Hardik ivf

नेपालको सन्दर्भमा पनि क्षयरोगका बिरामीको ग्राफ प्रत्येक वर्ष उकालिँदै गएको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको तथ्यांकले देखाउँछ। तथ्यांकअनुसार नेपालमा हरेक वर्ष क्षयरोगका ६९ हजार नयाँ बिरामी थपिन्छन्।

हरेक वर्ष १७ हजार मानिसको मृत्यु क्षयरोगकै कारण हुने राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा. नवीनप्रकाश शाह बताउँछन्। उनी भन्छन्, ‘गत आर्थिक वर्ष २०७८/७९ मा नेपालमा ३७ हजार ८६१ जना क्षयरोगका बिरामी उपचारमा दर्ता भएका थिए। तीमध्ये ६१.६ पुरुष, ३८.४ महिला, ८.७ बालबालिका छन्।’

३२ हजार क्षयरोगका बिरामी उपचारको दायराबाहिर 

नेपाललगायत विश्वका धेरै देशमा कोभिडको समयमा क्षयरोगको संख्यामा निकै कमी आएको डा. शाहका बताउँछन्। उनका अनुसार मास्क लगाउने र सरसफाइमा पनि सावधानी अपनाउने बानीको विकास भएकाले कोभिडकालमा क्षयरोगीको संख्यामा निकै कमी आएको थियो। ‘तर कोभिड नियन्त्रण हुँदै गर्दा हामीमा जुन बानी पहिले थियो, त्यही बानीलाई अँगाल्दै गर्दा फेरि क्षयरोगीको संख्या बढ्दै गएको छ,’ उनले भने। 

नेपालमा क्षयरोगका अनुमानित बिरामीको संख्या र उपचारमा आएका बिरामीको संख्याको अनुपात हेर्दा हरेक वर्ष नेपालमा झन्डै ३२ हजार क्षयरोगका बिरामीलाई उपचारको दायरामा ल्याउन नसकिएको निर्देशक शाहको भनाइ छ। साथै नेपालमा औषधि प्रतिरोधी क्षयरोगका अनुमानित बिरामीको संख्या वार्षिक २८ हजार छ। यो संख्या नेपालको कुल जनसंख्याको अनुपातमा अत्यन्त धेरै हो। 

‘डब्लुएचओले सन् २०१० देखि नेपाललाई पनि औषधि प्रतिरोधी क्षयरोगको उच्च प्रकोप भएका ३० देशको सूचीमा समावेश गरेको छ,’ डा. शाह भन्छन्, ‘यसरी आर्थिक वर्ष २०७८/७९ मा राष्ट्रिय क्षयरोग कार्यक्रममा ९४२ जनामा औषधि प्रतिरोधी क्षयरोग पहिचान भएको थियो भने ६५९ जनाको मात्र उपचार दर्ता भएको देखिन्छ । यसरी अनुमानित औषधि प्रतिरोधी क्षयरोगका बिरामी र रोग निदान भई उपचारमा आएका बिरामीको संख्या हेर्दा करिब २१ सयभन्दा बढीमा औषधि प्रतिरोधी क्षयरोगका बिरामी रोग पत्ता लगाई उपचारमा ल्याउन नसकिएको उनको भनाइ छ। 

क्षयरोग निवारणका चुनौतीहरू 

नेपालले सन् २०३० सम्म दिगो विकासको लक्ष्य लिएको छ। दिगो विकासको लक्ष्य ३ को (ग) मा एचआइभी एड्स, क्षयरोग र औलोलाई अन्त्य गर्ने भनिएको छ। तर प्रत्येक वर्ष ६९ हजारको सख्यामा नयाँ क्षयरोगी थपिनाले क्षयरोग अन्त्य गर्ने लक्ष्यमा चुनौती देखिएको छ।

क्षयरोग नियन्त्रण हुन नसक्नुको प्रमुख कारण भनेको यो सरुवा रोग हुनु हो। एक क्षयरोगीले रोग पत्ता लाग्दासम्म तीनचारजनामा भन्दा बढीमा रोग सारिसक्ने हुँदा रोग नियन्त्रणमा बाधा बन्दै गएको शाहको भनाइ छ। जहिलेसम्म आम सर्वसाधारण मानिस क्षयरोगबारे राम्रोसँग जान्ने र बुझ्ने अनि सावधानी अपनाउनेतर्फ जागरुक हुन सक्दैनन् तबसम्म क्षयरोगलाई अन्त्य गर्न सम्भव नरहेको उनी बताउँछन्।

अर्काे कारण क्षयरोग नियन्त्रणका लागि सञ्चारमाध्यम र स्थानीय निकायबाट बढीभन्दा बढी प्रचार हुन नसक्नु रहेको डा. शाहको ठहर छ। उनी भन्छन्, ‘क्षयरोग नियमित उपचारपछि निको हुने रोग भए पनि अझै क्षयरोगबारे नागरिकलाई पर्याप्त जानकारी छैन। क्षयरोग लाग्दा केकस्ता लक्षण देखिन्छन् भन्नेबारे धेरैलाई थाहा नै छैन।’

दुई साता वा सोभन्दा बढी समयसम्म खोकी लाग्नु, साँझपख ज्वरो आउनु, तौल घट्दै जानु, खकारमा कहिलेकाहीँ रगत देखिनु, खाना खान मन नलाग्नु क्षयरोगका लक्षण भएकाले यस्ता लक्षण देखिए तुरुन्त चेकजाँचका लागि स्वास्थ्य संस्था जानु आवश्यक देखिन्छ। यस्ता लक्षण देखिएका बिराम िसचेत भएर औषधोपचार गरे क्षयरोगमा सुधार ल्याउन सकिने उनको भनाइ छ।

क्षयरोग अन्त्यका लागि के गर्दैछ केन्द्र?

क्षयरोगमा देखिएका समस्या अन्त्य गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पञ्चवर्षीय  रणनीतिक योजना आर्थिक वर्ष २०७८/७९–२०८२/८३ तयार गरी कार्यान्वयन गरिरहेको छ। निर्देशक डा. शाहका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बनाएको पञ्चवर्षीय रणनीतिलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न १० वटा कार्यनीति तय गरिएका छन्। ‘तीमध्ये क्षयरोगमुक्त नेपाल अभियानलाई स्थानीय तहको स्वामित्व तथा समुदायको संलग्नतामा सुढृढीकरण गर्ने कार्यनीति प्रमुख हो,’ उनले भने । 

यसका साथै क्षयरोग अन्त्यकै लागी आर्थिक वर्ष २०७८/७९ मा राष्ट्रिय क्षयरोग कार्यक्रमअन्तर्गत ८९६ माईक्रोस्कोपिक केन्द्र, ९३ जिनएक्सपर्ट केन्द्र, २ कल्चर तथा डिएसटी र २ एपिए  केन्द्रमार्फत क्षयरोग निदान सेवा प्रवाह गरिएको थियो भने ५ हजार ९७१ डट्स केन्द्र, २२ डिआर केन्द्र, ८१ डिआर उपचार उपकेन्द्र र ७ डिआर होस्टेलमार्फत क्षयरोगको उपचार सेवा प्रदान गरिएको थियो।
 

प्रकाशित मिति: १३:४७ बजे, शुक्रबार, चैत १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्