Kathmandu Press

त्यसैले राष्ट्रपतिमा रामचन्द्र

पौडेल राजनीतिका चतुर खेलाडी होइनन्। अर्थात्, निजी स्वार्थको राजनीतिक दाउपेचमा उनी लागेनन्। पार्टीभित्र उनले आफ्नो गुट कहिल्यै बनाएनन्। पार्टी राजनीति स्वस्थ हुनुपर्छ भन्ने अडान उनको रहिरह्यो। गुटबाट टाढा रहनुले पनि अहिले आएर उनीप्रतिको स्वीकार्यता बढाएको हो।
त्यसैले राष्ट्रपतिमा रामचन्द्र

अबको तीन दिनपछि मुलुकले नयाँ राष्ट्रपति पाउनेछ। राष्ट्रपति निर्वाचनका लागि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ चुनावी मैदानमा छन्।

यतिबेला राष्ट्रपति निर्वाचनको माहोल तातेको छ। दुवैजना उम्मेदवार राजनीतिक दलका नेता र जनप्रतिनिधिसँग मत माग्न दौडधुपको धपेडीमा छन्। संयोग के परेको छ भने यसपल्टको राष्ट्रपतिका उम्मेदवार दुवैजना पूर्वसभामुख छन्।

हाम्रो संविधानले राष्ट्रपतिलाई कुनै शासकीय अधिकार नदिँदानदिँदै कार्यकारीको अभ्यास गरेको आरोप बोकेर राष्ट्रपति विद्यादेवी भण्डारी बिदा हुँदैछिन्। मुलुक र संविधानको अभिभावक रहने संस्था कुनै दल विशेषका नेताको स्वार्थअनुकूल प्रयोग भएको भनेर आलोचना भइरहेको छ। यस्तो अवस्थामा फेरि कस्तो व्यक्तिलाई राष्ट्रपति बनाउने भन्ने प्रश्न पेचिलो बनेको छ।

फागुन २५ गते आखिर राष्ट्रपतिमा पौडेल या नेम्वाङमध्ये एकजना निर्वाचित हुनेछन्। यो आलेखले राष्ट्रपतिका लागि नेम्वाङभन्दा पौडेल किन अब्बल भन्ने प्रश्नको उत्तर खोज्नेछ।

लोकतन्त्रका लागि लामो समयदेखि संघर्ष र हन्डर खेप्दै कांग्रेसको नेतृत्व तहमा पुगेका पौडेल कांग्रेस वृत्तमा ठुलो अवसर प्राप्त गर्नबाट वञ्चित नेता हुन्। उनी पटकपटक मन्त्री भएर सरकारमा गए। पार्टीमा महामन्त्री र उपसभापतिसम्म भए। तर सरकार र पार्टी दुवैतर्फको पहिलो स्थान हासिल गर्न भने पाएनन्।

पौडेल राजनीतिका चतुर खेलाडी होइनन्। अर्थात्, निजी स्वार्थको राजनीतिक दाउपेचमा उनी लागेनन्। पार्टीभित्र उनले आफ्नो गुट कहिल्यै बनाएनन्। पार्टी राजनीति स्वस्थ हुनुपर्छ भन्ने अडान उनको रहिरह्यो। गुटबाट टाढा रहनुले पनि अहिले आएर उनीप्रतिको स्वीकार्यता बढाएको हो। सदैव मूल्य र निष्ठाको राजनीतिमा उभिरहे। अहिलेसम्म देशको र पार्टीको प्रमुख पदमा पुग्न नसक्नुमा अन्तरनिहित यही स्वभाव नै कारक थियो।

सायद यसैले हुन सक्छ, कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्ना सहयोद्धालाई राष्ट्रपतिमा प्रस्ताव गरे र पार्टीभित्र राष्ट्रपतिको सर्वसम्मत उम्मेदवार बन्न सफल भए। लोकतन्त्रप्रतिको समर्पण, त्याग र संघर्षको लामो इतिहास बोकेका कारण आठ पार्टीको गठबन्धन र प्रधानमन्त्री प्रचण्डको साथ पाउन सकेको निर्विवाद तथ्य हो।

सायद उनी सबैभन्दा ठुलो प्राप्तिका लागि आफ्नो पहिलो र अन्तिम परीक्षा एकैपटक दिँदैछन्। सम्भवतः आठ दलमा अर्को एउटा दल पनि चाँडै रामचन्द्रकै पक्षमा उभिनेछ। यसरी पौडेल आफंैमा नेम्वाङभन्दा बलिया उम्मेदवार बनेका छन्।

हुन त नेम्वाङ पनि त्याग र समर्पण भएकै नेताका रूपमा चिनिन्छन्। कानुनी पृष्ठभूमिका नेम्वाङले दुईपटकसम्म संविधानसभाको अध्यक्ष भएर संविधान निर्माणमा गुन लगाएका पनि हुन्। लोकतन्त्र प्राप्तीको लडाइँमा उनले मुलुकप्रति अमूल्य योगदान दिएका छन्।

तर दुःखको कुरो, तत्कालीन राजा ज्ञानेन्द्रको शैलीमा आफ्नै पार्टी अध्यक्ष रहेका प्रधानमन्त्री केपी ओलीले संविधानको धज्जी उडाउँदै दुईदुई पटक संसद् विघटन गर्दा नेम्वाङ मूकदर्शक बन्न पुगे। किनाराका साक्षी बनेर टुलुटुलु हेरि मात्र रहे। विरोधमा मुख खोल्नु त परै जाओस् अनेक कुतर्कका माला उनेर संसद् विघटन जायज रहेको भन्दै हिँडे।

यिनै नेम्वाङ हुन्, जसले संविधान निर्माणताका संसद्का समितिहरुमा अन्तिम विकल्प रहँदासम्म संसद् विघटन गर्न नमिल्ने तर्क गर्दै संविधानको व्याख्या गरिरहेका थिए। ओलीले संसद् विघटन गरी संविधान क्षतविक्षत हुँदा र राजनीतिक अस्थिरताको बिउ रोपिँदासमेत जिउज्यान लगाएर नेम्वाङ ओलीको प्रतिरक्षामा उभिए।

प्राप्त उपलब्धिलाई संस्थागत गर्दै तिनको जगमा टेकेर देशलाई समृद्धि र विकासतर्फ लैजाने बेला संघीयतालाई कमजोर पार्ने, धार्मिक राज्य ब्युँताउन लाग्ने, समावेशिता सिध्याउने र गणतन्त्रलाई नै असफल बनाउन उद्यत भएको भनेर ओलीको आलोचना भइरह्यो। ओलीको अहंकारसँग झस्किएर बरु माओवादीले एमालेसँगको गठबन्धन तोड्न तयार भयो। तर नेम्वाङको सन्तुलनकारी भूमिका कतै देख्न पाइएन।

गलत ढंगले एमालेले संवैधानिक निकायमा गरेका नियुक्तिको असर आज पनि देशले भोगिरहेकै छ। यस्तो गलत प्रवृत्तिलाई टुलुटुल हेरेर बस्ने पार्टी नेतृत्वको कठपुतलीका रूपमा नेम्वाङ खडा भए।

हो, यहीँनेर सुवासचन्द्रमाथि प्रश्न छ। यिन्ले भोलिका दिनमा हालकै राष्ट्रपतिले जस्तो बालकोटको आदेश र निर्देशन तामेल गर्दैनन् भन्ने ग्यारेन्टी के छ ? त्यसैले भोलिका दिनमा पनि उनले संविधान र व्यवस्थाको रक्षार्थ अभिभावकीय भूमिका निर्वाह गर्नेमा ढुक्क हुन सकिँदैन। राष्ट्रपतिका लागि कमसेकम आफ्नै विवेकमा चल्ने पात्र हामीलाई चाहिएको हो। त्यसैले यो व्यवस्थाको आधारभूत उपलब्धि रक्षाका हकमा नेम्वाङका तुलनामा राष्ट्रपति पदमा पौडेल नै उपयुक्त हुन्।

हुन सक्छ, राजनीति हो, चालचलन र व्यवहारबाटै सबैको विश्वास जित्न सके नेम्वाङका लागि पनि समय छ। भविष्यमा ठाउँ रहला।  लोकतन्त्रको परीक्षामा पटकपटक ‘ए प्लस’ प्राप्त गरेको पौडेलको हकमा एकपल्टका लागि शंकाको सुविधा छ। विश्वास गर्न सकिने थुप्रै आधार अनि कारण छन्। उनी बिपी कोइरालाको सान्निध्य र त्यागबाट ओतप्रोत नेता हुन्। निरंकुश पञ्चायतविरोधी आन्दोलनमा लागेका कारण उनले पटकपटक गरी १३ वर्ष जेलनेल भोगेका छन्।

मुलुकले अहिले जुन दिशामा अग्रगमनको फड्को मारेको छ, यसमा नेपाली कांग्रेसले इतिहासका विभिन्न कालखण्डमा खेलेको भूमिका अर्थपूर्ण छ। २००७ र २०४६ मा भएका परिवर्तन, २०६२÷६३ को दोस्रो जनआन्दोलन र गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशिताजस्ता आधुनिक राज्य निर्माणका आधारभूत आवश्यकतालाई स्विकार्ने कांग्रेसको भूमिका हेरौं। कांग्रेसले नचाहेको भए यी उपलब्धि प्राप्त हुने थिएनन्। राजनीतिक संघर्ष र उपलब्धिको यही आलोकमा पौडेलको भूमिका खोजी भयो सकारात्मक निष्कर्षमा पुग्न सकिन्छ।

पञ्चायती व्यवस्थाविरुद्ध २०४६ सालको जनआन्दोलन परिचालन गर्न बागलुङ पुगेका रामचन्द्रलाई मण्डले ग्याङ र प्रहरीले धवलागिरी होटलको चार तलामाथिबाट टाउकोमा बुट लाठी बजार्दै रक्ताम्य पारेर सडकमा घिसार्दै, नेल ठोकेर जेल हाल्न लगेको घटनाको म आफैं प्रत्यक्षदर्शी हुँ। उबेला बागलुङ क्याम्पसमा आईए पढ्दै गरेको मजस्तो १७ वर्षे किशोरका लागि समेत पौडेल स्वतन्त्रताको मूल्य बोध गराउने आदर्श अनि प्रेरणाका स्रोत थिए।

त्यसयता पनि निरन्तर अग्रपंक्तिमा रहेर नेतृत्व लिँदै प्रतिगमनविरुद्ध डटिरहेका नेता हुन् उनी। लोकतन्त्रप्रतिको निष्ठा र अटुट लगावका कारण उनीप्रति शंका गर्ने ठाउँ छैन।

यसर्थ गणतन्त्र संस्थागत गर्न र संविधानको रक्षा गर्न नेपाली जनता पौडेलप्रति ढुक्क छन्। विधिको शासन, मानवअधिकार र प्रेस स्वतन्त्रताको रक्षाका लागि पूर्ण विश्वास गर्ने ठाउँ छ। प्रजातान्त्रिक समाजवाद, नयाँ सन्दर्भमा समाजवाद, आस्थाका यात्रालगायत आधा दर्जन कृति र उनका विचार उनको निष्ठामा अरु भरोसा दिलाउने चिज हुन्। सुशील कोइरालाको आकस्मिक निधनपछि नेपाली कांग्रेसको कार्यवाहक सभापति बनेका पौडेलको विवेकपूर्ण भूमिकाले पार्टीमा आन्तरिक सन्तुलन कायम गर्न सफल भएको निकट इतिहास छ।

राजा महेन्द्रले २०१७ सालमा तत्कालीन प्रधानमन्त्री बिपी कोइरालालाई जेल हालेपछि आक्रोशको ज्वालामुखी बोकेर पौडेल राजनीतिमा होमिएको इतिहास हामीले पढ्दै र सुन्दै आएका हौं। २०१७ सालपछि निरंकुशताविरुद्धका हरेक राजनीतिक संघर्षहरूमा उनी संलग्न रहे र पार्टीले दिएको जिम्मेवारी निष्ठापूर्वक वहन गरे।

पौडेल कांग्रेसभित्र नीतिगत–वैचारिक चिन्तन गर्न सक्ने ल्याकत भएका नेता हुन्। यही लामो र अथक राजनीतिक सक्रियता नै पौडेलको प्रमुख पुँजी हो। अर्को सुन्दर पक्ष, पटकपटक मन्त्री हुँदा उनी विवादमा मुछिएनन्। भ्रष्टाचारमा नमुछिएका, इमानदार, सदाचारी र निष्कलंक छवि भएका नेताका रूपमा पौडेलको समाजमा स्थान छ।

दल विशेषको उम्मेदवार भए पनि राष्ट्रपति निर्वाचित भइसकेपछि देशको हुन्छ। यसैले दलीय स्वार्थ त्यागेर साझा अभिभावक बन्न सक्ने सामथ्र्य राष्ट्रपतिले राख्नुपर्छ भन्ने लोकतान्त्रिक मान्यता हो।

ठिक यतिबेला जनअपेक्षाअनुरूप काम हुन नसकेको भनेर नागरिकमा निराशा व्याप्त छ। यही मौका छोपेर शिशु लोकतन्त्र अपहरण गर्न सकिन्छ कि भनेर अनेक नामधारी भूतप्रेतहरू घुमिरहेका छन्। यस्तो अवस्थामा नागरिकको संघर्ष र बलिदानबाट प्राप्त उपलब्धिहरू जोगाउँदै संविधानको संरक्षणमा सन्तुलित भूमिका खेल्न सक्ने दह्रो व्यक्ति राष्ट्रपतिका रूपमा चाहिएको छ।

यसैले राष्ट्रपतिको आसनमा नागरिकको बलिदानबाट प्राप्त उपलब्धिहरूको रक्षा गर्न सक्ने नैतिक बल भएको व्यक्ति बस्नुुपर्छ। निसंकोच भन्न सकिन्छ, त्यो भूमिका निःसन्देह पौडेलबाटै सम्भव छ।

 

प्रकाशित मिति: २०:१० बजे, सोमबार, फागुन २२, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्