काठमाडौं फागुन १४ : गत माघ २९ गते आइतबार मध्याह्न लगनखेलस्थित मानसिक अस्पतालको हटलानइन नम्बर ११६६ को घन्टी बज्यो । मनोपरामर्शदाता सुनिता जिरेलले फोन उठाइन् र झन्डै आधा घन्टा कुरा गरिन् । फोन गर्ने ती व्यक्ति लमजुङका ४७ वर्षीय पुरुष थिए । श्रीमतीसँग झगडा परेपछि उनी तीन दिनदेखि घर छाडेर हिँडेका रहेछन् । आत्महत्या गर्ने सोचमात्र आउन थालेपछि उनले हेल्पलाइनमा फोन गरेका रहेछन् ।
मनोपरामर्शदाता जिरेलले ती पुरुषलाई पारिवारिक माया, सम्बन्धलाई सुमधुर बनाउने लगायत विभिन्न समस्या र समाधानका उपायहरुका विषयमा परामर्श दिइन् । टेलिफोन वार्तापछि जिरेलको कुरामा ती पुरुष केही सकारात्मक सुनिए । जिरेलले एक दिनपछि पुनः फोन गरेर उनको समस्या बुझ्ने आवश्वासन दिँदै फोन राखे । त्यो दिन दिउँसो १ बजेसम्म हेल्पलाइन नम्बर ११६६ मा फोन गर्ने दर्जनौंलाई जिरेलले परामर्श दिएकी थिइन् । फोन गर्नेहरुले आत्महत्याको सोच आएको बताउने गरेको जिरेलले सुनाइन् ।
‘बिहान ८ बजेतिर संखुवासभाका ३५ वर्षीय पुरुषले पनि आत्महत्या गर्ने साेच आएकाे सुनाउँदै फोन गरेका थिए,’ उनले भनिन्, ‘ती पुरुषले १ लाख रुपैयाँ आफन्तलाई दिएका रहेछन्। ऋण गरेर दिएकोे पैसा फिर्ता नपाएपछि उनले मानसिक तनावमा परेर आत्महत्या गर्ने योजना बनाएका रहेछन्।’
फोनमार्फत परामर्श दिएपछि ती पुरुष आत्महत्या गर्ने सोचबाट बाहिर आएको उनले सुनाइन्। आत्महत्याको सोच आउनेलाई सहजै परिवर्तन गर्न सकिए पनि आत्महत्याका लागि अघि बढिसकेकालाई भने बचाउन गाह्रो हुने अनुभव आफूले सँगालेको उनले बताइन्।
हटलाइन नम्बर ११६६ मा धेरैजसो मानसिक बिरामी र आत्महत्या गर्ने सोच आएकाहरूले फोन गर्छन्। कतिपयले आत्महत्या गर्ने स्थानमा पुगेर र कतिपयले आत्महत्याको प्रयास गरिसकेपछि पनि फोन गर्ने गरेको उनी बताउँछन्। ‘माघ २७ गते अनामनगरकी १७ वर्षीया बालिकाले हात काटेर फोन गरिन् र भनिन्– मैले हात काटें, मलाई बचाइदिनू। त्यसपछि उक्त बालिकासँग साथीको नम्बर मागेर फोन गरी आफन्तलाई जानकारी गराएका थियौं,’ उनले भनिन्, ‘समयमा अस्पताल लगेका कारण उनलाई बचाउन सकियो।’
आत्महत्या गर्ने सोच आए वा कसैले त्यस्तो सोच बनाएको थाहा पाए निःशुल्क हटलाइन नम्बर ११६६ मा फोन गरे बचाउन सकिने अर्की मनोसामाजिक परामर्शकर्ता सन्ध्या खतिवडा बताउँछिन्। ‘नेपाल टेलिकमको सिम प्रयोग गर्नेले उक्त हटलाइनमा फोन गर्न सक्छन्,’ उनले भनिन्, ‘चौबिसै घन्टा फोन उपलब्ध हुन्छ।’
मनोसामाजिक परामर्शकर्ता खतिवडाका अनुसार दैनिक ४०–५० जनाको फोन आउँछ। सञ्चारमाध्यम, कलाकारमार्फत विज्ञापन गरेको दिनमा भने २ सयभन्दा बढी फोन आउने गरेको उनी बताउँछिन्। ‘धेरैलाई थाहा नभएकै कारण फोन नगरेको हुन सक्छ,’ उनले भनिन्, ‘विज्ञापन भएको दिन फोन गर्नेको संख्या ह्वात्तै बढ्छ।’
२० महिनामा साढे ९ हजारको फोन
२०२० सेटेम्बर १० देखि ११६६ हटलाइनमा निःशुल्क परामर्श दिन सुरु गरिएको थियो। पाटनको मानसिक अस्पतालका डा. वासुदेव कार्कीलगायत अन्य चिकित्सकले सो सेवा सुरु गरेका हुन्।
विश्व स्वास्थ्य संगठनको आर्थिक सहयोग र बहुशास्त्रिक, मनोसामाजिक संस्थाको प्राविधिक सहयोगमा २०२१ मेमा औपचारिक रूपमा सुरु भएको थियो। ‘पहिला चिकित्सकहरूले सुरुवात गरे पनि ५–६ महिनापछि मनोसामाजिक परामर्शकर्ताले परामर्श दिँदै आएका छन्,’ परामर्शकर्ता सन्ध्या खतिवडाले भनिन्।
हटलाइन नम्बर ११६६ औपचारिक रूपमा सञ्चालनमा आएपछि आफू कार्यरत रहेको र त्यसपछिको तथ्यांक मात्र आफूसँग रहेको उनले बताइन्। २०२१ मेदेखि २०२३ जनवरी २३ सम्म २० महिनाको अन्तरालमा ९ हजार ४४२ जनाको फोन आएको उनले जानकारी दिइन्।
२०२१ मेदेखि २०२२ डिसेम्बरसम्म ८ हजार ६९४ जनाले फोन गरेकामध्ये १ हजार ३१० जना मानसिक बिरामी र ७९३ ले आत्महत्याको गर्ने सोच आउनेले फोन गरेको उनी बताउँछिन्। ‘यीबाहेक धेरैले आत्महत्या गर्ने सोच आउन थालेको छ, कसरी कम गर्ने भनेर बुझ्न लागेको भन्दै फोन गर्छन्,’ उनले काठमाडौं प्रेससँग भनिन्, ‘२० प्रतिशतले भने झुक्किएर फोन गर्छन् अर्थात् नम्बर गलत भएर पनि फोन आउँछ।’
खतिवडाका अनुसार ८ हजार ६९४ मध्ये महिला ३ हजार ४७, पुरुष ३ हजार ६६१, यौनिक तथा अल्पसंख्यक ५ जना र परिचय नखुलाएका १ हजार ९८१ जनाले फोन गरेको तथ्यांक छ। ‘उमेर समूह छुट्याउँदा सबैभन्दा धेरै फोन १९ देखि ३९ वर्षका व्यक्तिले गरेका छन्,’ उनले भनिन्, ‘उक्त उमेर समूहका ३ हजार ४३२ जनाले फोन गरेका छन्।’
परामर्शकर्ता खतिवडाले उपलब्ध गराएको तथ्यांकअनुसार ४०–५९ उमेर समूहका ४६३, ६० वर्षभन्दा माथिका ६९ जना, १८ वर्षभन्दा मुनिका ६०४ र उमेर नखुलाएका ४ हजार १०६ जनाले फोन गरेर आत्महत्याको सोच आएको भन्दै हटलाइन नम्बरमा फोन गरेर परामर्श लिएका छन्।
त्यस्तै २०२३ सुरु भएपछि जनवरी २३ सम्म ७४८ जनाले फोन गरेका हुन्। जसमा मानसिक स्वास्थ्य अवस्था बुझ्न १२० र आत्महत्या गर्ने सोच आएर ६० जनाले फोन गरेका हुन्। यीबाहेक अन्यले आत्महत्याको सोच आएर फोन गरेका छन्। ‘सबैभन्दा धेरै फोन बाग्मती र कम गण्डकी प्रदेशबाट आएको छ,’ परामर्शकर्ता खतिवडा भन्छिन्, ‘उपत्यकाबाहिर एनसेल सिम प्रयोगकर्ता धेरै छन्। एनसेल प्रयोगकर्ताले निःशुल्क हटलाइनमा फोन गर्न मिल्दैन, त्यसैले कम आएको हुन सक्छ। नेपाल टेलिकमका सेवाग्राहीले मात्र निःशुल्क परामर्श लिन सक्ने व्यवस्था छ।’
‘ज्यान बचाउन पाउँदा खुसी लाग्छ’
हटलाइनका लागि मानसिक अस्पताल पाटनको दायाँ भवनको दोस्रो तलाको कोठा नम्बर ४ र ५ दिइएको छ। त्यहीबाट अहिले तीनजनाले आत्महत्याको सोच आएका व्यक्तिलाई परामर्श दिइरहेका छन्।
मनिल महर्जन पनि त्यहाँ सुरुवाती चरणदेखि कार्यरत छन्। आत्महत्या गर्न तयारी अवस्थामा पुगेका व्यक्तिलाई समेत बचाउन सफल भएको उनी बताउँछन्। ‘ज्यान बचाउन पाउँदा खुसी लाग्छ,’ उनले भने, ‘९० प्रतिशत व्यक्ति योजना बनाएर आत्महत्या गर्छन् भने १० प्रतिशतले आकस्मिक रूपमा आत्महत्या गर्छन्।’
उनका अनुसार आत्महत्या गर्ने योजना बनाएका व्यक्तिले पनि हटलाइन नम्बरमा परामर्श लिन्छन्। आकस्मिक आत्महत्या गर्नेले फोन नै गर्दैनन्। हात काट्ने, कुनै औषधिको ओभर डोज खानेले भने फोन गर्छन्। उनीहरूलाई प्रहरी तथा स्थानीय तहको सहयोगमा तत्काल उद्धार गर्ने गरिएको परामर्शकर्ता महर्जन बताउँछन्।
‘माघ २७ गते ललितपुरको हात्तीवनमा बस्ने एक महिलाले १० चक्की सिटामोल खाइछन्, गाह्रो भएपछि उद्धार गरिदिन भन्दै फोन गरिन्,’ उनले भने, ‘आफन्तको नम्बर मागेर तत्काल उनको उद्धार ग¥यौं, अहिले उनको स्वास्थ्य अवस्था सुधार भइरहेको छ।’
पछिल्लो समय मानसिक बिरामी र आत्महत्या गर्ने सोच आउने धेरै मानिसले हटलाइनमा फोन गर्न थालेको उनी बताउँछन्। ‘मानिसहरू विक्षिप्त हुँदैछन्, आत्महत्या नै समस्याको समाधान मान्न थालेको पाउँछौं,’ उनले भने, ‘परामर्श दिएकै कारण सबैलाई बचाउन नसकिएला तर केही प्रतिशतको ज्यान बचाउन पाए पनि खुसी लाग्छ।’
परामर्शकर्ता महर्जन अब छिट्टै एनसेल सिमबाट पनि फोन गर्न मिल्ने बनाउने योजना रहेको बताउँछन्। ‘धेरैले एनसेल सिम प्रयोग गर्ने गरेको पाइन्छ। त्यसैले त्यो लाइन पनि जोड्न लागेका हौं,’ उनी भन्छन्। ‘आर्थिक, सामाजिक, सम्बन्ध, भविष्य, पारिवारिक अवस्था र समस्याले गर्दा मानसिक बिरामी भई मानिसमा आत्महत्या गर्र्ने सोच आउने गरेको पाएका छौं,’ उनले भने, ‘धेरैका समस्या उस्तैउस्तै हुन्छन्।’
आर्थिक–सामाजिक समस्या र सम्बन्ध मुख्य कारण
हटलाइनमा फोन गर्ने धेरैजसो व्यक्ति कोही सम्बन्ध बिग्रिएको, आर्थिक अवस्था कमजोर भएको, समाज, परिवार र आफन्तले हेला गरेको हुँदा मर्ने सोच बनाएको बताउँछन्। जागिर नगरी बसेका व्यक्तिले आफूलाई परिवारको बोझ मान्ने र मृत्युलाई नै समाधान देख्ने गरेको उनी सुनाउँछन् ।
‘परिवारका लागि बोझ भएकाले आफू मरेपछि अरूलाई खुसी मिल्छ भन्ने सोच धेरैमा पायौं,’ उनले भने, ‘कतिपयमा भने प्रेम सम्बन्ध टुट्दा पनि आत्महत्या गर्ने सोच आएको पाइएको छ।’ जागिर नगरेका व्यक्तिले आफूलाई बोझ मान्ने, सम्बन्ध बिग्रिए जिन्दगी सकियो भन्ने, गरिबीमा बाँच्न नचाहने, पारिवारिक तनाव, अध्ययनमा असफलताले आत्महत्या गर्ने सोच आउने गरेको पनि पाइयो।
‘कतिपयले घरझगडाले गर्दा हात काट्ने, औषधिको ओभर डोज लिने तर मर्ने उद्देश्य पूरा नहुँदा गाह्रो भएर फेरि बाँच्न चाहेका हुन्छन्,’ उनले भने। आफ्ना पीडा आदानप्रदान गर्न नपाउँदा विक्षिप्त भएर आत्महत्या गर्नेहरू पनि भेटिएको उनको अनुभव छ ।
आत्महत्या गर्ने सोच किन आउँछ ?
जैविक, मनोवैज्ञानिक, सामाजिक, पारिवारिक कारणले आवेगमा आउने, भावनामा बग्ने गर्दा मानिसमा आत्महत्या गर्ने सोच आउने गरेको मनोचिकित्सक डा. विनीता ढुंगेल बताउँछिन्।
व्यक्तिगत समस्या, जागिरको अवस्था, विवाहित र अविवाहित स्थिति, सम्बन्ध विच्छेद, आर्थिक अवस्थाले पनि मानिसमा आत्महत्या गर्ने मनशाय बन्ने गरेको उनी सुनाउँछन् । ‘आत्महत्या गर्नेमध्ये ९० प्रतिशत व्यक्ति डिप्रेसनको सिकार भएका हुन्छन् भन्ने धारणा पनि छ,’ उनले भनिन्, ‘यीबाहेक धूमपान, मदिरापान, मानसिक रोगलगायतका कारणले पनि आत्महत्या गर्ने अवस्थासम्म पु¥याउने गरेको पाइन्छ।’
मानिसहरूले मूलतः पारिवारिक समस्या, आर्थिक अवस्थाले तनावमा परेर र आवेगमा आएर आत्महत्या गर्ने मनशाय बनाउने गरेका छन्। आवेगमा आउने केहीले ५–१० मिनेटकै बीचमा आत्महत्या गरिहाल्छन् भने कसैले योजना बनाएर आत्महत्या गर्छन्।
योजना बनाएर आत्महत्या गर्न चाहनेले केही न केही संकेत गरेका हुन्छन्। त्यसलाई परिवार, समाजले सामान्य रूपमा लिन्छन्। त्यस्तो संकेत बुझ्न सकियो भने आत्महत्या रोक्न सकिने मनोचिकित्सक ढुंगेल बताउँछिन्। ‘योजना गरेर आत्महत्या गर्नेको दैनिक क्रियाकलाप फरक हुन्छ, व्यवहार परिवर्तन हुन्छ,’ उनले भनिन्, ‘योजना बनाएर आत्महत्या गर्नेले आफ्ना जिम्मेवारी वा आफूले गर्नुपर्ने काम गर्न खोज्छन्।’
फरक व्यवहार देखाउन थाले वा एकान्तमा मात्र बस्न रुचि राख्न थाले परिवारका सदस्यले मनोचिकित्सकसँग परामर्श लिनु आवश्यक छ।
दैनिक रूपमा आत्महत्या बढ्नुमा अरूको सिको गर्ने प्रवृत्तिलाई पनि मानिन्छ। आत्महत्या गर्न मानसिक रुपमा केही न केही तनाव हुनैपर्ने नत्र त्यस्तो सोच नआउने मनोचिकित्सक ढुंगेलको दाबी छ। ‘समस्या समाधान गर्नतिर लाग्नुभन्दा आत्महत्या गरे आनन्द हुन्छ भन्ने सोच पनि कतिपयमा आउँछ,’ उनले भनिन्, ‘पीडाबाट उन्मुक्ति पाउन पनि आत्महत्या गर्ने गरेको पाइन्छ।’
मनोचिकित्सक ढुंगेल कसैमा आत्महत्या गर्ने सोच आएको थाहा पाए परिवारजन, आफन्त, साथीभाइले समयमै मनोचिकित्सकोमा पु¥याउनुपर्छ। समयमै समस्या पहिचान गर्न सकिए आत्महत्या गर्ने मनशाय बनाएकालाई रोक्न सकिने उनी बताउँछिन्। ‘आत्महत्या गर्ने सोच आएकालाई सामान्य ढंगले सम्झाउने, बुझाउने र मनोचिकित्सकको सल्लाहअनुसार औषधि खुवाउँदै लैजानुपर्छ,’ उनले भनिन्, ‘आत्महत्या गर्ने सोच आएछ भनेर थर्काउने, गाली गर्ने, जिस्काउने काम कदाचित् गर्नुहुँदैन।’