Kathmandu Press
उसै त साँघुरा फुटपाथ, अव्यवस्थित वृक्षरोपणले झनै भद्रगोल 
उसै त साँघुरा फुटपाथ, अव्यवस्थित वृक्षरोपणले झनै भद्रगोल काठमाडौं उपत्यकाभित्रका साँघुरा फुटपाथमा वृक्षरोपण गर्ने लहरै चलेको छ। बिरुवा संरक्षणका लागि राखिने ट्री–गार्डले फुटपाथ झनै साँघुरिएका छन्। अपांगता भएका व्यक्ति, दृष्टिविहीनका लागि त त्यस्ता फुटपाथ अझै प्रतिकूल बनेका छन्।

काठमाडौं, फागुन ८ : काठमाडौं उपत्यकाभित्रका साँघुरा फुटपाथमा वृक्षरोपण गर्ने लहरै चलेको छ। बिरुवा संरक्षणका लागि राखिने ट्री–गार्डले फुटपाथ झनै साँघुरिएका छन्। फुटपाथमा दोहोरो आवतजावत गर्न नमिलेर पैदलयात्री सडकमा हिँड्न बाध्य छन्। अपांगता भएका व्यक्ति, दृष्टिविहीनका लागि त त्यस्ता फुटपाथ अझै प्रतिकूल बनेका छन्।

उपत्यकाका धेरैजसो फुटपाथ दुईतीन फिटभन्दा फराकिला छैनन्। त्यस्तो ठाउँमा वृक्षरोपणपछि राखिने ट्री–गार्डले पैदलयात्रीलाई झनै अवरोध पुर्‍याइरहेका छन्। सडक विभागले बनाएको ‘सडक मापदण्ड–२०७०’ अनुसार एक मिटरभन्दा कम चौडाइको फुटपाथ बनाउन मिल्दैन। सडक विभागले नै बनाएको सडक मापदण्डविपरीत धेरै फुटपाथ बनेका छन्, त्यसमाथि भएका वृक्षरोपणले भद्रगोल अवस्था निम्त्याएको छ। 

No description available.

Hardik ivf

वृक्षरोपणले फुटपाथमा निम्तिएका समस्याबारे नेता, मन्त्री, उच्च पदमा बसेर नीतिनियम बनाउनेहरू बेखबर छन्। किनकि उनीहरूका सवारीसाधन सडकमा हुइँकिन्छन्, अर्थात् उनीहरूलाई फुटपाथ प्रयोगको जरुरत पर्दैन्। उनीहरुले फुथपाथका पैदलयात्रीको समस्या बुझेका भए साँघुरा सडकमा जथाभावी वृक्षरोपण गर्न अनुमति नै दिँदैनथे। सम्बन्धित निकायका कसैकसैले त्यो समस्या बुझे पनि बुझ पचाउने गरेका छन्। 

धोबीखोला करिडोर, सिफल–कालोपुल–चावहिल सडक, सोल्टीमोडदेखि कलंकीसम्मको सडकमा बनेका फुटपाथ उपत्यकाभित्र मनलाग्दी रूपमा हुने वृक्षरोपणको उदाहरण बनेका छन्। वृक्षरोपणपछि बिरुवा संरक्षणका लागि कतै ट्री–गार्ड राखिएका छन् त कतै बिरुवा रोपेर अलपत्र पारिएका छन्। तीन–चार महिनाअघि भत्केको पुलदेखि चावहिल पुग्ने सडकखण्डको फुटपाथमा बिरुवा रोपेर त्यसै छाडिएको छ। उक्त सडकखण्डमा कति बिरुवा भाँचिएर असरल्ल छन्, कति बिरुवा उखेलिएका छन्। 

विभिन्न बैंक तथा वित्तीय कार्यालय, युवा क्लबका ससाथै अन्य संघसंस्थाले गरेको वृक्षरोपणमा ट्री–गार्ड राखेर आफ्नो विज्ञापन गरेको देख्न सकिन्छ। थप संरक्षण नहुँदा ती विज्ञापनले तिनै संघसंस्थालाई गिज्याइरहेको भान हुन्छ । तर वृक्षरोपणको कार्यक्रम भने रोकिएको छैन। 

No description available.

२०७६ असार १४ गते तत्कालीन प्रधानमन्त्री केपी ओलीले वृक्षरोपण अभियानको शुभारम्भ गरेका हुन्। उनले काठमाडौंको कोटेश्वरमा वृक्षरोपण गरेर अभियानको उद्घाटन गरेका थिए। त्यतिबेला नै प्रत्येक वर्ष असार १४ गतेलाई राष्ट्रिय वृक्षरोपण दिवसका रूपमा मनाउने निर्णय गरिएको थियो। त्यति मात्र होइन, त्यतिबेला तीन वर्षभित्र ३ करोड बिरुवा रोप्ने योजनासमेत अघि सारिएको थियो। तर कस्ता बिरुवा रोप्न, कहाँ रोप्ने, कसरी संरक्षण गर्ने भन्ने विषयमा भने कुनै कदम चालिएको थिएन। त्यसैको फलस्वरुप अहिले वृक्षरोपणका नाममा बेथिति मौलाएको देख्न सकिन्छ।

जथाभाबी वृक्षरोपण भए पनि संरक्षणको पाटो भने कमजोर रहेको वन तथा भू–संरक्षण विभागकी प्रवक्ता सबनम पाठक बताउँछिन्। ‘आफ्नै विभागअगाडिको माइतीघर–बानेश्वर सडकखण्डमा गरिएको वृक्षरोपणले गिज्याइरहेको भान हुन्छ, त्यहाँ पिपल तथा ठुला बिरुवा रोपिएका छन्,’ प्रवक्ता पाठक भन्छिन्, ‘त्यो वृक्षरोपण विभागले गरेको होइन। २०७१ सालतिर तत्कालीन प्रधानमन्त्रीको निर्देशनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आउँदा ती बिरुवा रोपिएका हुन्।’

उनी उक्त वृक्षरोपणबारे विभागलाई जानकारीसमेत नभएको नै दाबी गर्छिन्। ‘विभागलाई त्यहाँ वृक्षरोपण हुँदैछ भन्नेसमेत थाहा थिएन’ उनले भनिन्। विभागअगाडि यस्तो वृक्षरोपण देख्दा लाज लाग्ने गरेको उनको भनाइ छ। ‘बिरुवाको ज्ञान नभई जथाभाबी वृक्षरोपण गरिएको छ, यसले भविष्यमा समस्या ल्याउँछ,’ उनले भनिन्, ‘वृक्षरोपण अभियान र संरक्षणमा विभागको भने कुनै भूमिका छैन। अहिले विभागले वृक्षरोपण र संरक्षणबारे नीतिनियम बनाउन तालुकदार मन्त्रालयलाई सघाइरहेको छ, वृक्षरोपण भने गरिरहेको छैन।’ 

उनी सहरी क्षेत्रमा अमला प्रजाति, मिठोनिन, गुन्सी, जुरे काफल, कनिके, प्याउली, सिरिंगे प्रजातिजस्ता मझौला खालका रुख मात्र रोप्न हुने बताउँछिन्। ‘कपुर प्रजाति पनि रोप्न सकिन्छ तर त्यो फराकिलो क्षेत्रफलमा रोप्दा मात्र उपयुक्त हुन्छ,’ उनले भनिन्, ‘सहरी क्षेत्रमा साना तथा मझौला बिरुवा मात्र रोप्नु उपयुक्त हुन्छ।’

विभागकी प्रवक्ता पाठकका अनुसार विभागसँग अहिले देशभर भएको वृक्षरोपणको कुनै तथ्यांक छैन। २०७४ सालसम्म विभागमा जिल्लाले तथ्यांक पठाउँथे तर अहिले रोकिएको उनी बताउँछिन्। उनका अनुसार भर्खरै वन नियमावली, २०७९ पास भएको र उक्त नियमावलीमा प्रदेश तथा जिल्लाबाट वन तथा भू–संरक्षण विभागलाई पनि प्रगति विवरण पठाउनुपर्ने भनिएको छ। उनले भनिन्, ‘त्यो काम सुरु भइसकेको छैन।’

No description available.

आगामी आर्थिक वर्षबाट प्रदेशले तथ्यांक पठाउँछ भन्ने अपेक्षा उनले गरिन्। ‘संघीय सरकार बनेपछि वन कार्यालय अलमलमा छ,’ उनले भनिन्, ‘प्रदेश पनि अलमलमा परेकाले विभागलाई प्रतिवेदन र  तथ्यांक नपठाइएको हुन सक्छ।’ 

वन कार्यालयसँग छैन बिरुवा वितरणको खर्च विवरण 

उपत्यकाभित्र तीनवटा वन कार्यालय छन्, जहाँबाट वृक्षरोपणका लागि निःशुल्क बिरुवा वितरण हुन्छ। काठमाडौं, भक्तपुर र ललितपुरका डिभिजन वन कार्यालयले बिरुवा उत्पादन गरेर वितरण गर्ने गरेका छन्। बिरुवा उत्पादनमा लाग्ने खर्चबारे भने तीनै कार्यालयले केही बताउन चाहेनन्। 

‘वृक्षरोपण गर्न ज्ञान चाहिन्छ’ 

सहरी वृक्षरोपणमा धेरै सहभागी हुने भए पनि ठुलो क्षेत्रमा वृक्षरोपण भने वन कार्यालयले गर्ने गरेको डिभिजन वन कार्यालय काठमाडौंका प्रमुख बद्रीकुमार कार्की बताउँछन्। ‘कहाँ कस्तो बिरुवा रोप्ने भन्नेबारे अध्ययन गरेर मात्र वन कार्यालयले वृक्षरोपण गर्छ। जथाभाबी बिरुवा रोप्ने काम वनको होइन,’ प्रमुख कार्कीले भने, ‘निजी तथा विभिन्न संघसंस्थाले प्रचारप्रसारका लागि जथाभाबी बिरुवा रोपेका हुन्।’ 

उनका अनुसार सडक फुटपाथ तथा खाली स्थानमा वृक्षरोपण गर्ने अनुमति सोही स्थानको वडा कार्यालयले दिन्छन्। बिरुवा भने वन कार्यालयले उपलब्ध गराइदिन्छ। वडा कार्यालयसँग अनुमति लिएर बिरुवा लिन आउने जो–कोहीलाई वनले निःशुल्क रूपमा बिरुवा दिन्छ। ‘कार्यालयले बिरुवा दिने हो, संरक्षण गर्दैन,’ उनले भने, ‘जसले वृक्षरोपण गर्छ, संरक्षण गर्ने जिम्मा उसैको हो।’

वृक्षरोपण जहाँ पायो त्यही गर्दा हुन्छ भन्ने आम बुझाइ छ। तर उक्त धारणा गलत भएको उनको बुझाइ छ । ‘वृक्षरोपण गर्न ज्ञान चाहिन्छ,’ उनले भने, ‘माटो र ठाउँको अवस्थाबारे जानकारी लिइसकेपछि मात्र वृक्षरोपण गर्नुपर्छ।’ आम मानिसले यी कुरा बुझ्न रुचि राख्ने नगरेको प्रमुख कार्कीको भनाइ छ। 

No description available.

नेपाल प्रहरी, नेपाली सेना, विभिन्न क्लबले वन कार्यलयबाटै बिरुवा लैजान्छन्। वन कार्यालय काठमाडौंले वार्षिक रूपमा १ लाख बिरुवा उत्पादन गर्छ। एउटा बिरुवा उत्पादन गर्न २५ रुपैयाँ खर्च लाग्छ। ‘बिरुवाको प्रजातिअनुसार उत्पादन शुल्क थपघट हुन्छ,’ प्रमुखले भने, ‘वार्षिक रूपमा बिरुवा उत्पादनमा १५/२० लाख रुपैयाँ बजेट छुट्याइन्छ।’

प्रमुख कार्कीका अनुसार उपत्यकाको सडकमा तथा नदीकिनारमा गरिएको वृक्षरोपण व्यवस्थित छैन। यसले तत्कालका लागि हरियालीयुक्त सहर बनाउन सघाए पनि पछि दुर्घटना निम्त्याउन सक्छ। ‘सडक तथा नदीकिनारमा ठुलाखाले बिरुवा रोपे सडक फुटाउने, घर भत्काउने, सवारी दुर्घटना नित्याउने जोखिम बढ्छ,’ प्रमुख कार्कीले भने, ‘साँघुरा ठाउँमा रोपिएको पिपल तथा ठुला प्रजातिका बिरुवाले आसपासका घरहरू भत्काउन सक्छ।’

‘बिरुवा वितरण गर्छौ, वृक्षारोषण गर्दैनौं’

डिभिजन वन कार्यालय भक्तपुरले पनि बिरुवा वितरण गरे पनि कहाँकहाँ वृक्षरोपण भयो भन्ने विषयमा जानकारी राख्ने गरेको छैन। कार्यालय प्रमुख प्रेम सापकोटाका अनुसार वन कार्यालयमा वडाको सिफारिस लिएर आउनेलाई बिरुवा दिएर पठाउने गरिएको छ। ‘हामी निःशुल्क बिरुवा दिएर पठाउँछौं तर कहाँ रोप्छन् भन्नेबारे जानकारी हुँदैन,’ उनले भने, ‘वन कार्यालयले अहिले कतै पनि वृक्षरोपण गरेको छैन।’ उनका अनुसार वन कार्यालयले बिरुवा वितरण गरिएको तथ्यांक पनि कार्यालयसँग छैन। 

तीन वर्षमा ८ लाख बिरुवा उत्पादन 

डिभिजन वन कार्यालय ललितपुरले २०७६ देखि २०७९ सम्म ८ लाख १४ हजार ४२ वटा बिरुवा उत्पादन गरेको त्यहाँका प्रमुख रामकुमार भण्डारीले जानकारी दिए। तर उक्त बिरुवा उत्पादनमा लागेको खर्चको विवरण भने कार्यालयसँग नभएको उनले बताए। 

वन कार्याल ललितपुरले आर्थिक वर्ष २०७६/७७ मा फलफूल र काठ प्रजातिको गरेर ५५ हजार ३४६ बिरुवा वितरण गरेको छ। उक्त वर्ष फलफूलका बिरुवा १३ हजार ११५, अन्य बिरुवा ३३ हजार २५१, धुपीसल्ला ३ हजार ६०० र उत्तिसका बिरुवा ५ हजार ४०० वटा वितरण गरेको तथ्यांक कार्यालयसँग छ। तर ती बिरुवा उत्पादनमा लागेको खर्चको तथ्यांक नभएको प्रमुख भण्डारीले बताए। ‘विभिन्न संघसंस्था तथा निजी व्यक्तिले मागे बिरुवा दिन्छौं, उनीहरूको तथ्यांक संकलन भने गरिएको छैन,’ उनले भने, ‘अब तथ्यांक राख्छौं।’

त्यस्तै २०७७/७८ मा ६ लाख ६२ हजार ११६ बिरुवा वितरण गरेको तथ्यांक छ भने २०७८/७९ मा ८३ हजार ९८० बिरुवा वितरण भएको छ।

याे पनि

सडक किनारामा वृक्षरोपण : प्रचारबाजी मात्र, लाभभन्दा हानि धेरै

 

प्रकाशित मिति: ११:३१ बजे, सोमबार, फागुन ८, २०७९
प्रतिक्रिया दिनुहोस्