Kathmandu Press

सडक किनारामा वृक्षरोपण : प्रचारबाजी मात्र, लाभभन्दा हानि धेरै

काठमाडौं उपत्यकाका फराकिला सडक किनाराका साँघुरा फुटपाथमा रोपिएका बिरुवा हुर्किँदै गर्दा फुटपाथ चर्किएको छ, फुटपाथ अझ साँघुरो भएको छ। वृक्षरोपणको लाभभन्दा हानी बढी छ।
सडक किनारामा वृक्षरोपण : प्रचारबाजी मात्र, लाभभन्दा हानि धेरै

काठमाडौं साउन ३१ : काठमाडौं महानगरपालिका–१४ कलंकीदेखि सोल्टीमोडसम्म साँघुरा फुटपाथमा दुई साताअघि वृक्षरोपण गरियो। सहरलाई हरियालीयुक्त बनाउने अभियानअन्तर्गत् भएको हो, त्यो वृक्षरोपण। तर, साँघुरा फुटपाथमा रोपिएका बिरुवा हुर्किँदै गर्दा पैदल यात्री समस्यामा परेका छन्। भविष्यमा पर्ने असरबारे अध्ययन नै नगरी वृक्षरोपण गरिएकामा स्थानीय व्यवसायी असन्तुष्ट छन्।

काठमाडौं उपत्यकाका फराकिला सडक किनाराका साँघुरा फुटपाथमा रोपिएका बिरुवा हुर्किँदै गर्दा फुटपाथ चर्किएको मात्र छैन अझ साँघुरो पनि भएको छ। वृक्षरोपणको लाभभन्दा हानी बढी छ।

कलंकी–सोल्टीमोड सडकको फुटपाथ दुई मिटरभन्दा साँघुरो छ। त्यही फुटपाथमा हुर्किँदै छन्, काइँयो फूल, अमला र ठूला रुखका बिरुवा। त्यसबाट आफूहरूलाई असर परेको स्थानीय व्यवसायी बताउँछन्। ‘साँघुरो फुटपाथमा बिरुवा रोपिदिँदा पसल र पैदल यात्रीलाई समस्या परेको छ,’ व्यवसायी कुशुम रोक्का भन्छिन्, ‘बिरुवा रोप्न आउनेलाई भनेका थियौँ– फुटपाथ साँघुरो छ, त्यसैमा रुख रोप्दा हामीलाई असर पार्छ भनेर। तर, कसैले सुनेनन्।’

Hardik ivf

कलंकी–सोल्टीमोड सडकको दायाँतर्फ उनको छालाको जुत्ता पसल छ। पाँच वर्षयता त्यही पसलबाट उनको परिवारले गुजारा चलाइरहेको छ। फुटपाथमा रोकिएका बिरुवाका कारण पसलमा आउने ग्राहकलाई अप्ठ्यारो भइरहेको उनी बताउँछिन्। भन्छिन्, ‘बिरुवा जोगाउन राखिएको बारले फुटपाथ अझ साँघुरो बनाएको छ।’

वडा कार्यालयले बिरुवाको रेखदेख सीसी क्यामेराबाट गर्दै आएको छ। कसैले तिनलाई उखेलेमा कारवाही गर्ने वडा कार्यालयले चेतावनी दिएको छ।

अर्का व्यवसायी दलबहादुर रोक्काले पनि सोही सडकमा जुत्ता पसल चलाउँछन्। सडकबाट उनको पसल पुग नपुग दुई मिटर टाढा छ। त्यो भनेको फुटपाथको चौडाइ हो। र, त्यही चौडाइमा वडा कार्यालयले बिरुवा रोपिदिएको छ।

त्यो बिरुवा ठूलो हुँदा पैदलयात्री हिँड्ने ठाउँ नहुने उनी बताउँछन्। ‘चर्चामा आउनको लागि बिरुवा रोप्छन् तर त्यसले पार्ने समस्याको बारेमा भने ध्यान दिँदैनन्,’ उनी भन्छन्, ‘गरिबको कुरा कसले सुन्छ ? पछि दुर्घटना भएपछि मात्र सम्बन्धित निकायको ध्यान जाला।’

हरियाली अभियानअन्तर्गत् राजधानीका सडक किनारामा रोपिएका बिरुवा र ती हुर्किँदा पर्ने असर स्थानीय बासिन्दा र व्यवसायीले बेहोर्नुपर्छ। अभियानमा सहभागी गैरसरकारी संस्था त बिरुवा रोप्छन् अनि बिरुवा जोगाउन राखिएको बारमा आफ्नो बोर्ड टाँसेर हिँड्छन्। त्यसबाट आफ्नो संस्थाको तर्फबाट सामाजिक काम गरेको देखाउन खोजिन्छ। उपत्यकाका हरेक फुटपाथमा त्यस्तो दृश्य नौलो होइन।

रुखबिरुवा हराउँदै गएको सहरी क्षेत्रमा वृक्षरोपण गर्नुलाई विज्ञहरू सकारात्मक मान्छन्। तर, त्यसरी फुटपाथ ओगटेर रोपिएका बिरुवाले हरियाली होइन, सकस बढाउनेतर्फ सरकारी–गैरसरकारी संघसंस्थाले ध्यान दिनुपर्ने उनीहरूको सुझाव छ। बिरुवाको आकार बढ्दै जाँदा फुटपाथ र त्यससँगै जोडिएका पर्खालहरू भत्किइरहेका दृश्य राजधानीमा यत्रतत्र देखिन्छ, जसले सुविधा होइन, जोखिम बढाएको छ।

काठमाडौं महानगरलगायत उपत्यकाका तीनै जिल्लाका पालिकाहरूले फुटपाथलाई अपांगमैत्री बनाउने भनेर सन्देश फैलाउने गरेको धेरै भयो। तर, तयार भएका फुटपाथहरूमा रोपिएका बिरुवाले पालिकाहरूको त्यो नारालाई गिज्याइरहेका छन्। फुटपाथहरू अपांगमैत्री होइन, सबलांगमैत्री पनि छैनन्। त्यसैले भविष्यमा वृक्षरोपणसमेत गर्न मिल्नेगरी फुटपाथ बनाउनुपर्ने वनस्पतिविद् डा. दीपेश प्याकुरेल बताउँछन्।

काठमाडौं उपत्यकामा पाँच वर्षयता रोपिएका बिरुवा भने त्यति अग्ला हुनेखालका छैनन्। यहाँको हावापानीसँग हुर्किने मझौला बिरुवा रोपणमा पछिल्ला वर्षमा जोड दिइएको डा. प्याकुरेल बताउँछन्। दुई दशकअघि चक्रपथ सडकको दायाँबायाँ र टुँुडिखेल वरिपरि लहरे पीपल रोपिएको थियो। ‘लहर पीपल अग्लो हुने तर जरा गहिराइमा नजाने भएकाले जोखिम बढी थियो,’ उनी भन्छन्, ‘सहरी क्षेत्रमा  १०–१५ फिटभन्दा अग्लो हुने रुख रोप्नुहुँदैन।  अग्लो रुख रोप्दा जोखिम बढी निम्तिन्छ।’

सोही कारण पछिल्लो समय जरा बलियो तथा अग्लो नहुने मझौला बिरुवालाई प्राथामिकता दिन थालिएको उनको भनाइ छ। उनका अनुसार अहिले प्रायः नेपालकै रैथाने रुखबिरुवा रोप्न प्रोत्साहन गरिएको छ। काठमाडौंको वातावरणमा तराईका बिरुवा ल्याएर रोप्दा राम्रोसँग हुर्किन नसक्ने उनी बताउँछन्। ‘बिरुवा राम्रोसँग छानिएन भने ढल्न सक्छ। फल धेरै लागेर कुहिन सक्छ,’ डा. प्याकुरेल भन्छन्, ‘रैथानेबाहेक अन्य बिरुवा रोप्दा रुखको प्रजाति र स्वभाव थाहा हुनुपर्छ। नत्र लाभ होइन, हानी बढी हुने सम्भावना हुन्छ।’

रुख लडेर या हाँगा भाँचिएर मानिसलाई थिच्दा मृत्यु, घाइते र अंगभंग भएका घटना पनि कम छैनन्। कारण– अनावश्यक अग्लो हुने र जरा गहिराइमा नजाने लहरे पीपलजस्तै रुख रोपिनु हो। त्यसैले अहिलेदेखि नै सावधानी नअपनाए १०–१५ वर्षपछि त्यो समस्या अझ बढ्ने वनस्पतिविद् डा. प्याकुरेलको भनाइ छ।

मानिस र वनस्पतीको सम्बन्धबारे अध्ययन गरिरहेका डा. कमल अधिकारी जथाभावी रोपिएका रुखका कारण दुर्घटना हुने १५ वर्षअघिको शृंखला फेरि दोहोरिने आकलन गर्छन्। उनका अनुसार त्यतिबेला रत्नपार्कदेखि भद्रकाली मन्दिर अगाडिको फुटपाथमा लहरे पीपल रोपिएका थिए। साँझपख रुख ढलेर ट्याक्सी चालक र पैदल यात्री घाइते भएका धेरै उदाहरण छन्। रुख ढलेर एउटा ट्याक्सी कच्याककुचुक भएको प्रत्यक्षदर्शी बन्नुपरेको थियो, उनले पनि।

‘अहिले पुनः वृक्षरोपण गर्न तँछाडमछाड भइरहेको छ तर अध्ययन गरेर वृक्षरोपण गरिएको छैन,’ उनी भन्छन्, ‘बाक्लो बस्ती भएको क्षेत्रमा वृक्षरोपण गर्न धेरै ध्यान पु¥याउनुपर्छ। उपत्यकाको फुटपाथमा वृक्षरोपण गर्ने ठाउँ नै छैन।’

उनका अनुसार वृक्षरोपण गर्नुअघि फुटपाथ कति फराकिलो छ भन्ने महत्त्वपूूर्ण हुने डा. अधिकारीको भनाइ छ। राजधानीका अधिकांश फुटपाथ त पैदलयात्री र ह्विलचेयर प्रयोग गर्नुपर्ने व्यक्तिहरूका लागि अनुकुल छैनन्। कारण– ती कि त साँघुरा छन्, कि लथालिंग छन् या फुटपाथमा निर्माण सामग्रीदेखि पसलका सामानसम्म थुपारिएको हुन्छ। त्यसमाथि बिरुवा रोपिदिँदा राजधानीमा सडक दायाँबायाँ हिँडडुल गर्न सकस हुने गर्छ।

यात्रुको समस्याबारे जानकारीसम्म नभएका उपत्यकाका पालिकाहरू अझ समस्या थप्न उद्यत रहेको डा. अधिकारी बताउँछन्। भन्छन्, ‘आयातीत प्रजातिका बिरुवा त फुटपाथमा झनै रोप्नुहुँदैन। कारण– तिनको स्वभाव, उचाइ र वातावरणसँग मेल खान्छ कि खाँदैन भन्ने जानकारी हुँदैन।’

उनका अनुसार बिरुवाको प्रजातिअनुसार जरा गहिराइमा नपुग्ने, जरा फैलिने, धुलो नछान्ने, धेरै अग्लो हुनेलगायत स्वभाव हुन्छ। जरा गहिराइमा नपुग्ने रुख ढल्छ, पात तिखो हुने रुखमा चराचुरुंगी बस्दैनन्। धुलो नछान्ने प्रजातिका रुखले वातावरण अनुकुलनमा मद्दत पु¥याउँदैनन्।

‘बरु खाली जग्गामा रुख रोपेर पार्क बनाउँदा राम्रो हुन्छ। हामी भने फुटपाथमा रुख रोपेर जोखिम निम्त्याइरहेका छौँ,’ उनी भन्छन्, ‘फुटपाथमा दुईजना आवतजावत गर्न सक्ने बाटो छैन, बिरुवा रोपेर अझ साँघु¥याउनु कति उचित हो ?’ एकपल्ट सबैको दिमागमा बत्ति बल्नेगरी दुर्घटना नभएसम्म कसैले अहिले भइरहेको लापरवाहीमा ध्यान नदिने उनको बुझाइ छ।

०००

त्यसका बावजुद फुटपाथ ओगटेर वृक्षरोपण गर्न तँछाडमछाड गर्नेहरूको भीड घटेको छैन, उपत्यकामा। हरेक फुटपाथमा रुख रोपिएको छ। कतै हुँदैछ, कतै रोपिइसकेको छ। पाँच रोपनीभन्दा कम क्षेत्रफलमा वृक्षरोपण गर्न वडा कार्यालयको अनुमति भए पुग्ने भएकाले वातावरणसम्बन्धी जानकारी नै नभएका व्यक्ति–समूह वृक्षरोपणमा लागिपरेको विज्ञहरू बताउँछन्।

चुरे उत्थानशील आयोजनाका राष्ट्रिय आयोजना निर्देशक पशुपतिनाथ कोइराला पाँच मिटरभन्दा साँघुरो फुटपाथमा बिरुवा रोप्न नहुने बताउँछन्। वन तथा वातावरण मन्त्रालयका सहसचिवसमेत रहेका कोइराला भन्छन्, ‘वृक्षरोपणका लागि पाँचदेखि १० मिटर चौडा फुटपाथ हुनुपर्छ।’

उनका अनुसार वर–पीपल, काँगियो, कल्की, चाँपका रुख जथाभावी फुटपाथमा रोपिएको पाइन्छ। विभिन्न फुटपाथमा ठूला रुखले फुटपाथ ओगटेको देखिन्छ। ‘ठूला रुख हुर्किएको अवस्थामा हावाहुरी र बर्खाको समयमा ढल्ने जोखिम हुन्छ, जसका कारण मानवीय र भौतिक क्षति हुन सक्छ,’ उनी भन्छन्।

उनका अनुसार ठूला रुखका जरा त्यसका हाँगाविगा फैलिएको क्षेत्रसम्म फैलिएका हुन्छन्। बिजुलीको तारमा नछोऊन् भनेर जमिनमाथिका हाँगाबिँगा काट्ने गरिए पनि जमिनमुनि जरा फैलिरहेकै हुन्छन्, जसका कारण फुटपाथनजिकका घरलाई क्षति पुग्ने उनको भनाइ छ। ‘अहिले हरियाली अभियान चलिरहेको छ त्यसले ल्याउने जोखिमबारे ध्यान जान सकेको छैन,’ उनी भन्छन्, ‘मानवीय र भौतिक संरचनामा क्षति पुगेपछि मात्र सोच्न थाल्ने चलन हामीकहाँ छ।’

उनका अनुसार आयातीत अधिकांश बिरुवा मौरीका लागि उपयुक्त हुँदैनन्। जसको एउटा उदाहरण हो, अशोक। उक्त बिरुवाले माहुरीलाई रस दिँदैन र चरा पनि बस्दैनन्। अशोकको बिरुवा रोप्न गरिने प्रतिस्पर्धाले सहरी क्षेत्रबाट चराचुरुंगी र अन्य जीव पनि हराउँदै जाने जोखिम कोइराला औँल्याउँछन्।

अधिकांश बिरुवा ३० देखि ५० सेन्टिमिटर अग्ला हुन्छन्।  विशेष उद्देश्यका लागि केही नर्सरीमा अग्ला बिरुवा हुन सक्छन्। बहुवर्षीय भनिने दुई फिटभन्दा अग्ला ती बिरुवालाई  प्रायः सहरी क्षेत्रमा रोपिने गरेको कोइराला बताउँछन्। ‘अग्ला बिरुवा विशेष वृक्षरोपण कार्यक्रमका लागि विशेष अनुरोधमा उपलब्ध हुने गर्छन्,’ उनी भन्छन्, ‘विशेष उद्देश्यका  लागि कार्यालयको स्वीकृत कार्यक्रमअन्तर्गत र सहरी वृक्षरोपणका लागि अग्ला बिरुवा र नर्सरीमा हुर्केका एक वर्षभन्दा बढी उमेरका बहुवर्षीय बिरुवा उपलब्ध हुन्छन्।’

त्यस्ता बिरुवा रोपेको केही दिनमा हरियाली देखियोस् भन्ने मनसायले रोपिन्छ। तीभन्दा पनि साना बिरुवा रोप्नु राम्रो मानिने उनको सुझाव छ।

कस्तो स्थानमा वृक्षरोपण गर्ने ?

सडक, भवन, विद्युतीय तार धेरै भएका स्थानमा मझौला रुख मात्र रोप्न सकिन्छ। पहिला रोप्ने स्थान र बिरुवाको पहिचान गर्न सक्नुपर्छ। सहरी क्षेत्रमा पार्किङ तथा अन्य पार्कमा ठूला बिरुवा रोप्नुहुँदैन।

काठमाडौंका रैथाने रुख कुन हुन् ?

कोइरालाका अनुसार काठमाडौंका पुराना रुख वर, पीपल, चिउरी, लस्सी, पैयूूँ, चिलाउने, कटुस, धुपी, लालीगुराँस र भीमसेन पाती हुन्। काठमाडौं वरिपरिका जंगलमा सल्ला, चाँप, खर्सु, फिरफिरे, तेजपात, ओखर, उत्तिस, वौजी पाइन्छन्। साथै, मेहाल, रिष्ठा, गोगन, जमुना, क्यामुना, हर्रो, बर्रो, टुनी, हाडे बयरलगायत रुख रैथाने हुन्। जुन अहिले ग्रामीण क्षेत्रमा मात्र देख्न पाइने बताउँछन्। ‘धेरै पहिला राजाहरूले विदेश भ्रमणमा जाँदा ल्याएर हावापानीसँग स्वभाव मिलेका चेरीफूल र कल्की फूूल उपत्यकामा भित्र्याएका हुन्,’ उनी भन्छन्।

सहरी विकास मन्त्रालयका सूचना अधिकारी सुरेशकुमार वाग्लेका अनुसार हरियाली अभियानभन्दा पनि पार्क तथा वागमती सभ्यताका लागि बजेट छुट्याइने गरेको छ। वृक्षरोपण शीर्षकमा बजेट नछुट्याइने उनी बताउँछन्।

आर्थिक ०७७–७८ मा १२ करोड ४० लाख रुपैयाँ सघन सहरी विकास कार्यक्रमअन्तर्गत पोखरी संरक्षण र सौन्दर्यका लागि बजेट छुट्याइएको थियो। यस्तै, हरियाली पार्क, मनोरञ्जन पार्क र उद्यानहरूका निर्माणका लागि १९ करोड ७० लाख रुपैयाँ छुट्याइएको थियो। यिनै विभिन्न योजनाभित्र रहेर वृक्षरोपण गर्ने गरिएको उनको भनाइ छ।

 

प्रकाशित मिति: १४:४१ बजे, आइतबार, साउन ३१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्