Kathmandu Press

किन हुन्छ डिप्रेसन ? कसरी बच्ने ?

डिप्रेसनमा परेको मान्छेमा शरीरमा जोसजाँगर हराउँछ, थकान महसुस हुन्छ। सुतिरहने, झोक्राएर एकान्तमा बस्ने, साथीभाइसँग बस्न नरुचाउने वा टाढिने, खानमा अरुचि देखाउने, छटपटाहट हुने इत्यादी डिप्रेसनका लक्षण हुन्।
किन हुन्छ डिप्रेसन ? कसरी बच्ने ?

काठमाडौं, फागुन ५ : ‘डिप्रेसन’ गहिरो चिन्ताका कारण उत्पन्न हुने मानसिक रोग हो, यसले मानिसलाई आत्महत्यासम्म पनि उन्मुख गराउँछ। ‘चिन्ताले चितासम्म पु¥याउँछ’ भन्ने नेपाली उखानले पनि ‘डिप्रेसन’को परिणामलाई इंगित गर्छ। चिन्ता नहुने मानिसै हुन्न तर चिन्तालाई नियन्त्रण गर्न नसक्दा मानिस डिप्रेसनको सिकार हुने गर्छन्। 

जटिल मानसिक रोग मानिएको डिप्रेसन संसारभरि नै विकराल समस्याका रूपमा देखिएको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सन् २०२० मा सार्वजनिक गरेको तथ्यांकले पनि यसको पुष्टि गर्छ। तथ्यांकअनुसार हाल विश्वमा झन्डै ३ करोड मानिस डिप्रेसनबाट पीडित छन्।

डिप्रेसनले गर्दा आत्महत्याका घटना पनि दिनानुदिन बढ्दै गएको अनुसन्धानकर्ताहरू बताउँछन्। हरेक वर्ष विश्वमा करिब ७ लाख मानिसले आत्महत्या गर्ने गरेको डब्लुएचओको आँकडाले देखाउँछ। यसको मूल कारण डिप्रेसन रहेको देखिन्छ । सन् २००५ देखि २०१७ सम्म विश्वभरिमा डिप्रेसनबाट पीडित हुनेको संख्या १८ प्रतिशतले बढेको पाइन्छ। यसले तथ्यले पछिल्लो समय डिप्रेसनले मानव समाजमा जटिलता ल्याएको प्रस्ट हुन्छ।  

Hardik ivf

२०१७ अप्रिल ७ मा मनाइएको विश्व स्वास्थ्य दिवसका लागि डब्लुएचओले तय गरेको मूल नारा थियो– ‘डिप्रेसन ः लेट्स टक’। त्यसयता मात्र डिप्रेसनबारे  गहिरो अध्ययन, अनुसन्धान, बहस हुने क्रम बढेको देखिन्छ। त्यसैगरी डब्लुएचओ सन् २०२० को तथ्यांकले ‘डिप्रेसन’को अवस्था २५ प्रतिशतले बढेको देखाएको छ। कोभिड महामारीको लहरसँगै विश्वमा डिप्रेसनको अवस्था खासगरी महिला र युवाहरूमा भयावह बन्दै गएको अध्ययनले देखाएको छ। अनुसन्धानकर्ताले सन् २०२० मा विश्वभर प्रत्येक १ लाख जनसंख्यामा ४ हजार ८०२ जना डिप्रेसनको सिकार भएको बताएका छन्। 

विश्वव्यापी रूपमै विकराल समस्या बन्दै गएको डिपे्रसन नेपालमा पनि बढ्दै गएको मनोचिकित्सकहरू बताउँछन्। नेपालमा पनि पछिल्लो केही वर्षयता आत्महत्याका घटनाले तीव्रता पाइरहेको छ। यसको मूल कारण डिप्रेसन नैै रहेको विज्ञहरू बताउँछन्। 

ललितपुरको पाटनमा रहेको नेपालको एक मात्र मानसिक अस्पतालको ओपिडी कक्षमा आउने बिरामीमध्ये ६० देखि ८० प्रतिशत डिप्रेसनसँग सम्बन्धित हुने गरेको सोही अस्पतालकी सूचना अधिकारी डा. लता गौतम बताउँछिन्। 

के हो डिप्रेसन? 

डिप्रेसन निराशापन र उदासीपनले निम्त्याउने रोग हो।  मानिस दुःखी देखियो भन्दैमा डिप्रेसन भन्न नमिल्ने भए पनि त्यो अवस्था दुई साताभन्दा बढी लम्बियो भने चाहिँ आशंका गर्नुपर्ने सूचना अधिकारी गौतमको भनाइ छ।

मानिस लामो समय उदास भएर बस्ने, थकित देखिने, नरमाउनेजस्ता लक्षण देखाउन थाले त्यसलाई डिप्रेसन भएको मान्न सकिने उनी सुनाउँछिन्। ‘निदाउनै नसक्ने वा धेरै निद्रा लाग्ने वा मनमा नकारात्मक सोच मात्र आउने परिस्थितिले दुई साताभन्दा बढी लम्बियो भने त्यसलाई डिप्रेसन भएको मान्न सकिन्छ,’ उनी भन्छिन्। 

नेपालमा डिप्रेसनको अवस्था भयावह बन्दै गएको मनोविद् डा. विनीता ढुंगेल बताउँछिन्। कोही मानिस कुनै विषयलाई लिएर दुई, तीन दिन निराश देखियो भन्दैमा डिप्रेसनमा परेको भनेर आशंका गर्ने प्रवृत्ति बढ्दै गएको र त्यो सही बुझाइ नभएको उनको भनाइ छ। डिप्रेसन हुनुका कारण र लक्षण नजान्दा तथा डिप्रेसन एक रोग भएकाले उपचार सम्भव छ भन्ने नबुझ्दा नेपालमा भित्रभित्रै डिप्रेसनले भयावह रूप लिँदै गएको उनी बताउँछिन्।

डिप्रेसनका सन्दर्भमा डा. ढुंगेलको मत डा. गौतमको भन्दा फरक छैन। डा. ढुंगेलका अनुसार जब मानिसले दुई साताभन्दा बढी समयदेखि पूर्ववत् व्यवहारको सट्टा फरक क्रियाकलाप देखाउन थाल्यो, उदास बन्ने, झर्किने, रुने, नरमाउनेजस्ता व्यवहार बढ्दै गएको अवस्थामा डिप्रेसन भएको मान्न सकिन्छ।

त्यसो त डिप्रेसनबाट जुनसुकै उमेर समूहका मानिस प्रभावित हुने गरेका छन् । तर नेपालको परिवेशमा विभिन्न किसिमका तनाव, पारिवारिक कलह, लागुपदार्थ दुव्र्यसनका कारण महिला र युवा बढी डिप्रेसनमा पर्ने गरेको उनको भनाइ छ।

‘डिप्रेसन पहिले पनि थियो, अहिले पनि छ र भविष्यमा पनि रहिरहनेछ। तर आउने दिनमा यसले विकराल रूप लिन सक्ने सम्भावना उच्च छ,’ डा. ढुंगेल भन्छिन्, ‘पहिले डिप्रेसनलाई रोगका रूपमा हेर्ने गरिएको थिएन। आर्थिक, सामाजिक, मनोवैज्ञानिक तनावले गर्दा विश्वमै आत्महत्याका घटना बढ्दै गएपछि मात्र विभिन्न अध्ययन–अनुसन्धान हुन थाले। आत्महत्याको प्रमुख कारण डिप्रेसन देखाएपछि त्यसबारे विश्वमै व्यापक बहस हुन थालेको छ।’   

डिप्रेसनका कारण केके हुन्? 

मनोविद् डा. ढुंगेलका अनुसार डिप्रेसनका विभिन्न कारण छन्। उनका अनुसार नेपालका सन्दर्भमा डिप्रेसन बढ्दै जानुको मुख्य कारण जैविक, मनोवैज्ञानिक र सामाजिक कारण रहेका छन्। 

जैविक (बायोलोजिकल) अर्थात् वंशाणुगत प्रभावका कारण पनि नेपालमा धेरै मानिस डिप्रेसनको सिकार भएका छन्। बुवाआमा डिप्रेसनबाट ग्रसित छन् भने छोराछोरीमा पनि त्यसको प्रभाव पर्न सक्छ। डिप्रसनबाट ग्रसित आमाबुवाका कारण छोराछोरीमा पनि मानसिक तनाव हुने गरेको तथ्यांकले देखाउँछ। जुम्ल्याहा बच्चाहरूको अध्ययन गर्दा एउटालाई डिप्रेसन छ भने अर्कालाई पनि हुने गर्छ। त्यो जैविक वा वंशाणुगत कारणले भएको मान्न सकिन्छ। 

त्यस्तै मनोवैज्ञानिक (साइकोलोजिकल)। मनोवैज्ञानिक कारणले पनि मानिसलाई डिप्रेसन हुने गरेको छ । व्यक्तिको बाल्यकाल कसरी बित्यो, कत्तिको तनाव भोग्नुप¥यो, तनाव व्यवस्थापन गर्न सिक्यो या सिकेन, परिवार र समाजबाट कस्तो संस्कार पायो भन्ने कुरा डिप्रेसनसँग जोडिन्छ। बाल्यवस्थामा उसको मस्तिष्कमा छाप पर्ने कुनै नराम्रो घटना भए, परिवारमा झैंझगडा वा कलह हुने गरेको भए, अभिभावकले बच्चाको अगाडि जाँडरक्सी खाएर तथानाम गाली गर्ने, कुटपिट गर्ने अर्थात् शारीरिक–मानसिक यातना दिएको भए त्यस्ता कुराले बालबालिकामा मन र मस्तिष्कमा गहिरो असर पारेको हुन्छ, जसबाट डिप्रेसन निम्तिन सक्छ। 

डिप्रेसनको अर्को कारणमा सामाजिक अवस्था (सोसल फ्याक्टर) सँग सम्बन्धित छ। सामाजिक घटनाहरूले मानिसलाई प्रत्यक्ष–अप्रत्यक्ष रूपमा प्रभाव पार्ने र कुने घटनाको मानसिक प्रभावले मानिस डिप्रेसनमा जाने गर्छ। सामाजिक कारणले डिप्रेसन हुनेमा पुरुषभन्दा महिला र गाउँमा बस्नेभन्दा सहरमा बस्नेहरू बढी छन्। एकल महिलामा, सम्बन्ध विच्छेद भएको महिलामा र अविवाहित महिलामा विभिन्न सामाजिक संरचना र परिघटनाले गर्दा डिप्रेसन हुने गरेको देखिन्छ।

उल्लिखित तथ्यलाई हेर्दा डिप्रेसन हुनुको कुनै एउटा मात्र नभई विभिन्न कारण रहेका हुन्छन्। डिप्रेसन हुनुका अन्य कारणमा जीवनमा देख्नुभोग्नुपर्ने विभिन्न घटना, जस्तै ः आफन्तको मृत्यु, धनसम्पत्ति अभाव वा विनाशले निम्तिने चिन्ता, आपसी सम्बन्धमा आउने उतारचढाव, शारीरिक रूपमा देखिने समस्या, प्रतिकूल स्वास्थ्य अवस्था, पारिवारिक विवाद, असझदारी, लक्ष्य प्राप्तिमा असफलता आदिले डिप्रेसन सिर्जना गर्ने मनोविद् ढुंगेलको भनाइ छ। 

कस्ता लक्षण देखिन्छन् ?

डिप्रेसन एकदुई दिनको रोग होइन। डिप्रेसन हुन निश्चित समय लाग्छ। मानिस एउटै विषयलाई लिएर दुई साताभन्दा बढी समयदेखि चिन्तामा डुब्यो वा उदास रहन थाल्यो भने त्यसलाई डिप्रेसन भएको मान्न सकिने डा. गौतम बताउँछिन्।

उनका अनुसार डिप्रेसनमा परेको मान्छेमा शरीरमा जोसजाँगर हराउँछ, थकान महसुस हुन्छ। सुतिरहने, झोक्राएर एकान्तमा बस्ने, साथीभाइसँग बस्न नरुचाउने वा टाढिने, खानमा अरुचि देखाउने, छटपटाहट हुने, दिमागमा नकारात्मक कुरा मात्र खेल्ने, पहिले गरेका गल्तीको अहिले आएर पश्चात्ताप वा ग्लानि हुने, पहिले जुन कुरा गर्दा खुसी भइन्थो पछि त्यस्तो कुराबाट टाढा रहने वा मन नै नपर्ने, रुन मन लाग्ने, आत्महत्याको सोच आउनेजस्ता लक्षण डिप्रेसनमा देखिन्छन्।   

चेतनाको अभाव पनि डिप्रेसन हुनुको कारण

चेतनाको अभावले पनि मानिसमा डिप्रेसन हुने गरेको मनोविद ढुंगेल बताउँछिन्। उनी भन्छिन्, ‘डिप्रेसनले विकराल रूप लिनुमा चेतनाका अभाव रहेको छ। धेरैलाई डिप्रेसनबारे थाहा हँुदैन। डिप्रेसनमा आर्थिक, मनोवैज्ञानिक, सामाजिक र जैविक कारणहरू रहेका हुन्छन्। सबैभन्दा बढी १५ देखि २९ वर्ष उमेर समूहका व्यक्तिहरू बढी डिप्रेसनका सिकार हुन्छन्।’ डिप्रेसन जटिल बन्दै जाँदा आत्महत्याका घटना बढ्दै गएको उनको भनाइ छ।

‘अहिले ग्रामीण भेगमा विभिन्न कारणले डिप्रेसनमा परी आत्महत्या गर्ने क्रम बढ्दो छ तर परिवारलाई भने त्यसबारे अत्तोपत्तो हँुदैन,’ उनी भन्छिन्, ‘डिप्रेसनमा रहँदा व्यक्तिको व्यवहारमा परिवर्तन देख्न सकिन्छ तर डिप्रेसनबारे नबुझ्दा ग्रामीण भेगका मानिसहरू परिवारमा कसैलाई डिप्रेसन भए पनि वास्त नगर्ने हुँदा आत्महत्या गर्ने अवस्था सिर्जना हुने गर्छ।’

आजको समयमा सामान्य ज्वेरो आए पनि अस्पताल जाने कुराको विकास भइसकेको छ। तर डिप्रेसनका लक्षण देखिए पनि बिरामीलाई अस्पताल लानुको साटो धामीझाँक्रीकोमा लाने प्रवृत्ति अझै हट्न नसकेको उनी बताउँछिन् । डिप्रेसन रोग हो र रोगकै कारण विभिन्न किसिमका लक्षणहरू देखापर्छन् भन्ने कुराको चेतना फैलाउनु जरुरी रहेको उनको भनाइ छ। 

डिप्रेसनको न्यूनीकरणमा सरकारबाटै पहल हुनुपर्नेमा डा. ढुंगेल जोड दिन्छिन्।सामाजिक सञ्जाल, पत्रपत्रिका, रेडियो टेलिभिजनबाट डिप्रेसनबारे बढीभन्दा बढी सूचना प्रसारण गरी नागरिकलाई यसले निम्त्याउन सक्ने जटिलताबारे सचेत गराउनुपर्छ। तर त्यसो गर्न नसकिएकैले झन्झन् जटिल अवस्था सिर्जना भएको उनले बताइन्।

परिवारको भूमिका कस्तो हुनुपर्छ?

सामान्यतया डिप्रेसनका लक्षण लगातार दुई सातासम्म देखियो भने परिवारले विशेष ध्यान दिनुपर्ने हुन्छ। उदास रहने, एकान्तमा बस्ने, साथीभाइमाझ बस्न नरुचाउने, खान मन नगर्नेजस्ता लक्षण देखिए डिप्रेसनको लक्षण हो भनी बुझेर बिरामीसँग बढीभन्दा बढी कुरा गर्ने, सम्झाउने र साथ दिने गर्नुपर्छ।  

डिप्रेसनमा परेका व्यक्तिहरू भने मनमा कुरा गुम्स्याएर बस्छन् । अन्ततः हरेस खाएर आत्महत्याको बाटो रोज्छन्। त्यसकारण डिप्रेसनमा परेका व्यक्तिहरूलाई बढीभन्दा बढी कुरा गरेर उनीहरूको मनशाय बुझिदिँदा मन हलुँगो हुने गर्छ। साथै उपचारका लागि नजिकैको अस्पताल वा मनोचिकित्सककहाँ बिरामीलाई लान सके उपचारमा सहजता आउन सक्छ। कसैलाई मनोपरामर्शले नै ठिक हुन सक्छ भने कसैलाई भने औषधि ६ महिनादेखि एक वर्षसम्म खानुपर्ने हुन्छ। 

डिप्रेसनबाट बच्न चिकित्सकको भनाइबमोजिम औषधि नियमित खाने, काममा व्यस्तता ल्याउने, व्यायाम गर्ने, खानपिनमा ध्यान दिने, कानुन र सामाजिक मर्यादाभित्र रहेर आफूलाई जे गर्न मन लाग्छ त्यही गरे पनि डिप्रेसनलाई नियन्त्रण गर्न सकिने विज्ञहरू बताउँछन्।
 

प्रकाशित मिति: १४:०९ बजे, शुक्रबार, फागुन ५, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्