नेपालमा मात्रै होइन युरोपदेखि अमेरिकासम्म चर्चित छन् नटक्राफ्टका हस्तकला
माया राइले नेतृत्व गरेको नटक्राफ्ट सेन्टरले वनस्पतिको रेसाबाट आधुनिक डिजाइनमा मौलिक हस्तकलाका सामाग्री बनाउँछ । उनले दुई सयजना भन्दा बढीलाई आत्मनिर्भर बन्न सिकाएकी छन् । यहाँ बनाइएका सामाग्री युरोपदेखि अमेरिकासम्म पुग्छन् ।काठमाडौं, फागुन ४ : ‘हातमा सीप भए भोकै बस्नुपदैन’। अग्रजहरूले आफ्ना सन्तानलाई सुनाउँदै आएको उखान हो यो। ३२ वर्षीया माया राईले पनि सानैदेखि आफ्ना अभिभावकबाट यो उखान सुनेकी मात्र छैनन्, त्यसलाई आफ्नो जीवनमा चरितार्थ पनि गरेकी छन्। हातको सीप उपयोग गरेर उनी अहिले नाम र दाम कमाउन सफल भएकी छन्। उनको नेतृत्वमा रहेको हस्तकलाका सामग्री उत्पादन गर्दै आएको नटक्राफ्ट सेन्टरबाट अर्गानिक हस्तकलाका सामग्रीले स्वदेशी मात्र नभएर विदेशमा बजारमासमेत वर्चस्व जमाएको छ।
मायालाई सानैदेखि हस्तकलाका सामग्री बनाउने रुचि थियो। सुरुसुरुतिर उनी जानीनजानी प्राकृतिक रेशायुक्त वनस्पतिका कच्चा पदार्थबाट विभिन्न आकर्षक सामग्री बनाउँथिन्। त्यसरी सिकेको सीपबाट उनले अहिले छुट्टै पहिचान बनाएकी छन्। प्राकृतिक कच्चा पदार्थबाट मूर्तिदेखि घरकोठा सजावटका विभिन्न सामग्री बनाउँछिन्, बनाउन लगाउँछिन्। त्यसका लागि नेतृत्वदागी भूमिका नटक्राफ्ट सेन्टरले गर्छ, त्यसलाई हाँक्ने जिम्मेवारी मायाले लिएकी छन्।
माया वातावरणलाई असर नपुग्ने गरेर पराल, छ्वाली, बाँस, केराको रेशा, सेरामिक फाइबर, बाबियो, मकैको खोस्टालगायत सामग्रीलाई आधुनिक डिजाइनमा विभिन्न सामग्री बनाउँछिन्। आफूले ढक्की, गुन्द्री, चकटी, सोफा, विभिन्न आकृति मूर्तिलगायत विविध संस्कृति झल्काउने आधुनिक हस्तकलाका सामग्री बनाउने गरेको उनी सुनाउँछिन्।
उनले त्यस्ता सीप आफूमा मात्र सीमित नराखी अरूलाई पनि सिकाउने र रोजगारीका लागि योग्य बनाउने गरेकी छन्। ‘आफूले जानेको सीप अरूलाई पनि सिकाउने गरेकी छु। रोजगारीको समेत प्रबन्ध गरेर उनीहरूलाई आत्मनिर्भरतातर्फ उन्मुख बनाउँदै आएकी छु,’ उनले भनिन्।
उनले आमा (हीरा) र बुबा (खड्ग) बाट हस्तकलालाई माया गर्न सिकेकी हुन्। उनका आमाबुवा बाँसबाट विभिन्न सामग्री बनाउँथे। त्यो देखेर नै बाल्यकालदेखि नै हस्तकलाप्रति उनको आकर्षण र प्रेम बढेको हो। धनकुटामा जन्मिएकी उनी काठमाडौंको बुढानीलकण्ठमा हुर्किएकी हुन्। उनी हजुरआमासँगै धनकुटामा बस्थिन्। उनका आमाबुबा काठमाडौंमा बस्थे।
सात वर्षको हुँदा बोर्डिङ स्कुलमा पढाउने ध्येयले आमाबुवाले उनलाई पनि काठमाडौं ल्याए। काठमाडौं आउन पाउँदा उनमा खुसी सीमा थिएन तर गाउँघर छोड्नुपर्दा खिन्नताबोध पनि भएको थियो। काठमाडौं आगमन उनका लागि फापिलो बन्यो। त्यसैले आज उनी हस्तकलाका सफल उद्यमी बन्न सकेकी छन्।
उनका बा–आमा नटक्राफ्टका सञ्चालक श्यामवदन श्रेष्ठको घरमा बसेर हस्तकलाका काम गर्थे। ‘श्यामवदनले छोरीलाई राम्रो स्कुलमा पढाउन सुझाएपछि आमाबुबाले मलाई काठमाडौं ल्याउनुभएको हो,’ उनले भनिन्, ‘उहाँले नै मलाई हस्तकला जगत्मा नयाँ जीवन दिनुभएको भन्दा फरक पर्दैन। उहाँ मेरी कर्म दिने आमा हुनुहुन्छ।’
माया राई
धनकुटामा उनी सरकारी स्कुलमा पढ्थिन्। उनको बाल्यकालको सपना शिक्षक बन्ने थियो। तर काठमाडौं आएर उनी कक्षा ४ देखि बुढानिलकण्ठकै बालविकास बोडिङ हाई स्कुलमा पढ्न थालिन्। ‘राई परिवारमा हुर्किए पनि श्रेष्ठ परिवारको रहनसहन सिक्ने मौका पाएँ,’ उनले भनिन्, ‘पहिला गाउँमा पछि गाउँसहरमा बस्दा र विभिन्न चालचलनसँग भिज्दा धेरै कुरा सिक्न पाएँ।’ बाल मस्तिष्कमा हुर्किएको शिक्षक बन्ने सपना धमिलो बन्दै गयो र उनी उद्यमी–व्यावसायी बन्ने मार्गमा अग्रसर भइन्।
श्यामवदन मायालाई छोरी मान्छिन्। श्यामवदनले नै मायालाई हुर्काउनेपढाउने काम गरेकी हुन्। श्यामवदनकै उद्योगमा बुवाआमाले बाँसबाट विभिन्न सामग्री बनाउँदा मायाले पनि सिक्दै गइन्। उनले बाँसबाट मात्र नभएर अन्य सामग्रीबाट पनि हस्तकलालाई विविधता दिँदै गइन्। ‘औपचारिक शिक्षा प्राप्तिसँगै सीपलाई पनि निरन्तरता दिँदै गएँ,’ उनले भनिन्, ‘कलेजमा पढ्न थालेसँगै नटक्राफ्ट सेन्टरमा पनि सक्रिय भएकी हुँ।’
व्यवस्थापन र मानविकीमा स्नातक गरेकी उनी देशभरि घुमेर विभिन्न कलालाई आधुनिकता दिन लागिपरेकी छन्। ‘हस्तकलाकै लागि देशका विभिन्न भूभागमा घुम्छु, ठाउँठाउँका कलालाई समेट्ने कोसिस गरिरहेकी छु,’ उनले भनिन्, ‘हस्तकलाकै माध्यमले नेपाली उत्पादनलाई विश्वभर चिनाउने र व्यावसायिक रूप दिने कोसिसमा छु।’
उनी अहिले नटक्राफ्ट सेन्टर सम्हाल्छिन्। चार वर्षयता उनी सो सेन्टरकी प्रमुख हुन्। ‘जन्म दिने बाआमा र कर्म दिने आमाको मेहनत र सपनालाई उचाइमा पु¥याउने लक्ष्य छ,’ उनले भनिन्, ‘सपनाले सार्थकता पाउने संकेत दिएको छ। दैनिक रूपमा देशविदेशबाट हस्तकलामा सामग्रीको माग बढिरहेको छ।’
वार्षिक १ करोड कारोबार, २ सयजनालाई रोजगारी
श्यामवदन श्रेष्ठले सन् १९८४ मा सञ्चालनमा ल्याएकी थिइन्, नटक्राफ्ट सेन्टर। आफ्नै घरबाट दुईजनालाई सीप सिकाउँदै उनले सो सेन्टर सुरु गरेकी थिइन्। उनले धेरैभन्दा धेरैलाई सीप सिकाएर आत्मनिर्भर बनाउने योजनामुताबिक सो सेन्टर सञ्चालनमा ल्याएकी थिइन्।
‘१३ वर्षदेखिको शिक्षण पेसा छाडेर उहाँले नटक्राफ्ट सञ्चालनमा ल्याउनुभएको थियो,’ मायाले भनिन्, ‘आमाले विभिन्न ठाउँमा घुमफिर गर्दा देखिएका सीपलाई समेट्न खोज्नुभएको थियो।’
श्यामवदन सीपलाई व्यावसायिक रूप दिन चाहन्थिन्। त्यसैले नटक्राफ्ट सेन्टरलाई घरेलु उद्योगका रूपमा दर्ता गराएकी थिइन्। ‘दुई जनालाई सीप सिकाएर थालिएको उद्योगमा अहिले नियमित काम गर्ने दुई सयजना छन्,’ उनले भनिन्, ‘३८ वर्षको मेहनतको परिणामस्वरूप अर्गानिक हस्तकलाले अन्तर्राष्ट्रियस्तरमा नटक्राफ्टलाई चिनाउन थालेको छ।’
अहिले नटक्राफ्टसँग जोडिएर आठ जिल्ला (दाङ, कपिलवस्तु, बाँके, काठमाडौं, भक्तपुर, ललितपुर, धनकुटा र सुनसरी) का महिलाले घरमै बसेर हस्तकलामा काम गरिरहेका छन्। ‘नियमित काम गर्ने २ सयजना भए पनि सामग्री मागको मात्राअनुसार काममा संलग्नको संख्या थपघट हुने गरेको छ,’ उनले भनिन्।
उनका अनुसार नटक्राफ्टमा जोडिएर काम गर्ने प्रत्येक महिलाले मासिक १५ देखि ३० हजार रुपैयाँसम्म आम्दानी गर्छन्। ‘अर्डर आएपछि मात्र हस्तकलाका सामग्री निर्माण गर्छाैं,' उनले भनिन्, ‘ग्राहकको मागअनुसारको डिजाइन तय गर्छौं र उत्पादन थाल्छौं।’
नटक्राफ्ट सेन्टरले वार्षिक १ करोडबराबरको कारोबार गर्ने गरेको माया बताउँछिन्। ‘कोरोनाको कारण उद्योग थला परेको थियो, अहिले पुनः सक्रिय हुन थालेको छ,’ उनले भनिन्, ‘नटक्राफ्टबाट उत्पादित अर्गानिक हस्तकला स्वदेशी तथा विदेशी दुवैले मन पराएका छन्।’
अर्गानिक हस्तकलाका सामग्री अमेरिका तथा युरोपेली मुलुकमा ५० प्रतिशत र स्वदेशमा ५० प्रतिशत खपत हुने गरेको छ। ‘नेपालमा होटल तथा रेस्टुरेन्ट सञ्चालनले हस्तकलाका सामग्री धेरै अडर गर्छन्। विदेशमा पनि नेपालीले नै अर्डर गर्ने गरेका हुन्,’ उनले भनिन्, ‘१ सय रुपैयाँदेखि ६० हजार मूल्यसम्मका सामान बनाउँदै आएका छौं।’
सबै सामान पूर्णतः नेपालकै कच्चा पदार्थ प्रयोग गरेर हातले नै बनाउने गरिएको उनको भनाइ छ। त्यसकारण नटक्राफ्टद्वारा उत्पादित सामग्रीलाई अर्गानिक भन्ने गरिएको हो।
सीपलाई नगदमा रूपान्तरण
गाउँघरतिर मानिसहरूले ढक्की, गुन्द्री तथा अन्य सामग्री बनाउँदै गरेको देखिन्छ। उनीहरूले आफ्नो आवश्यकताका लागि मात्र ती सामग्री बनाउँछन्। त्यही सीपलाई नगदमा रूपान्तरण गर्ने प्रयास नटक्राफ्टले गरेको माया बताउँछिन्। ‘पहिला विभिन्न जिल्लामा अध्ययन गर्छौं, त्यहाँका सीप, संस्कृतिलाई ध्यान दिएर हस्तकलाको साम्रगी बनाउन सिकाउँछौं,’ उनले भनिन्, ‘सीप जानेकालाई डिजाइन देखाएर सिधै काम गर्न लगाउँछौं।’
उनका अनुसार उपत्यकामा मात्रै हस्तकलाका सामग्री बनाउने ४० जनाभन्दा धेरै छन्। कच्चा पदार्थ नभएको ठाउँमा खरिद गरेर हस्तकला बनाउन दिने गरिएको माया बताउँछिन्। ‘विभिन्न संघसंस्थाले तालिम दिएर काम दिएको हुँदैन। त्यस्ता सीप सिकेका व्यक्तिलाई हामी भने काम पनि दिन्छौं,’ उनले भनिन्, ‘सीप सिकाएर आत्मनिर्भर बनाउनु नै हाम्रो मुख्य उद्देश्य हो। सोहीबमोजिम योजना र कार्यक्रम बनाउँछौं, कार्यान्वयन गर्छौं।’ गृहणी महिलाले फुर्सदको समयमा हस्तकलाका सामग्री बनाउन सक्ने भएकाले पनि प्रभावकारी बन्दै गएको बताउँछिन्।