Kathmandu Press

नेपाली बजारमा फस्टायो ‘एलो हर्बल’, विदेशमा पनि बेच्ने लक्ष्य

एलो हर्बलमा स्किन केयरका सात र हेयर केयरका ३ प्रोडक्ट छन्। जडीबुटीको अत्यधिक प्रयोग गरेर बनाइएकाले ‘एलो हर्बल’ स्वदेशी उत्पादन जगतमा उदाहरणीय बनेको छ।
नेपाली बजारमा फस्टायो ‘एलो हर्बल’, विदेशमा पनि बेच्ने लक्ष्य

काठमाडौं माघ २३ : मोरङको विराटनगर महानगरपालिका–३ का गोपाल काफ्लेमा ‘स्वदेशमै केही गरूँ’ भन्ने सोच पहिल्यैदेखि थियो। त्यसैले उनले २०६३ सालदेखि नै आयुर्वेदिक सामग्री उत्पादन गर्दै आएका छन्।

उनका उत्पादनमा निमको साबुन, मसाज तेल, दन्त मन्जन, हर्बल साबुनलगायत छन्। यी सामग्रीको उत्पादनमा उनी जडीबुटीको मिश्रणलाई प्राथमिकता दिन्छन्। स्थानीय स्तरमा उनको उत्पादनले राम्रो चर्चा पाएको थियो। त्यसको व्यापारबाट पनि उनी सन्तुष्ट पनि छन्।   

आफूले गर्दै आएको उत्पादनलाई ‘ब्रान्ड’ बनाएर राष्ट्रिय बजारमा लाने सोच उनमा पलायो। आधुनिक बजारमा प्रतिस्पर्धा गर्न सक्ने उत्पादनका लागि आफूसँग भएको ज्ञानले धान्दैन भन्ने उनलाई लाग्यो। नाताले ‘सालो’ पर्ने रोशन घिमिरे उनलाई प्राविधिक सहयोग गर्न तयार भए।

Hardik ivf

घिमिरेले दक्षिण कोरियास्थित ‘स्किन केयर प्रोडक्ट कम्पनी’मा सात वर्ष काम गरेका थिए। उनीसँग छालाको हेरचाह गर्ने (स्किन केयर) सामग्री उत्पादनसम्बन्धी राम्रो प्राविधिक सीप थियो। उनी हेयर केयर (कपालको हेरचाह गर्ने) सामग्री बनाउने प्रविधिमा पनि दक्ष थिए। नेपालमै केही व्यवसाय गर्ने अठोट बनाएर उनी पनि कोरियाको जागिर छाडेर नेपाल आएका थिए। 

काफ्लेमा भएको जडीबुटीसम्बन्धी ज्ञान र घिमिरेमा रहेको प्राविधिक सीपको संयोजनबाट २०७९ वैशाखमा नयाँ उत्पादन बजारमा ल्याए। नाम दिइयो ‘एलो हर्बल’। ‘स्किन केयर’ र ‘हेयर केयर’का लागि बेजोड मानिएको यो उत्पादन अहिले ‘ब्रान्डेड’ बनेको छ। एलो हर्बलमा स्किन केयरका सात र हेयर केयका ३ प्रोडक्ट छन्। बजारमा राम्रो छाप छाडेकाले यो प्रोडक्ट ‘सामाजिक सञ्जाल’मा पनि छाएको छ। जडीबुटीको अत्यधिक प्रयोग गरेर बनाइएकाले ‘एलो हर्बल’ स्वदेशी उत्पादन जगत्मा उदाहरणीय बनेको छ।

एलो हर्बल प्राइभेट लिमिटेड विराटनगर–१० मलाइरोडमा ६ कट्ठा क्षेत्रफलमा फैलिएको छ। स्किन केयर र हेयर केयरसम्बन्धी सामग्री उत्पादनका लागि विदेशबाट मेसिन खरिद गरेर ल्याइएको सञ्चालक काफ्ले बताउँछन्। ‘तीन करोडको लगानी सुरु गरिएको हो। विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसारका मेसिनहरु जडान गरिएका छन्,’ सञ्चालक काफ्ले भन्छन्, ‘गुणस्तरमा कुनै कमी राखिएको छैन।’ सुरुमा १५ कर्मचारी थिए। अहिले सो संख्या बढेर २२ पुगेको छ। बजारमा मागअनुसार कर्मचारी संख्या घटबढ भइरहने उनी बताउँछन्। 

मासिक ८ लाखदेखि १० लाखसम्म कारोबार 

एलो हर्बलको प्रोडक्ट बजारमा आएको नौ महिना पूरा भयो। प्रत्येक महिना ८ लाखदेखि १० लाख रुपैयाँको हाराहारीमा कारोबार भइरहेको सञ्चालक काफ्ले बताउँछन्। एलो हर्बलले स्किन केयरको सातवटा र हेयर केयरका ३ वटा गरी १० वटा प्रोडक्ट उत्पादन गर्दै आएको छ।

आगामी एकदुई महिनामा स्किन केयरका पाँच प्रोडक्ट थप्ने तयारी भइरहेको सञ्चालक काफ्ले बताउँछन्। ‘ग्राहकको मागअनुसार प्रोडक्ट बढाउँदै लगेका हौं, नयाँ पाँच प्रोडक्ट फागुनमा सार्वजनिक गर्ने तयारीमा छौं,’ उनी भन्छन्, ‘माग बढेकाले थप प्रोडक्ट ल्याउन जोड गरिएको हो।’

एलो हर्बलले उत्पादन गरेको स्किन केयर र हेयर केयर प्रोडक्ट मूल्य ३६० देखि १ हजार ३५० रुपैयाँसम्म रहेको छ। स्किन केयरमा भिटामिन सी, फेस क्लिन्जर, सन्स क्रिम, मोस्चराइजिङ, फेस मास्क, एन्टिएक्नी क्रिम, ह्वाइटिङ–बाइटेनिङ क्रिम छन्। त्यस्तै हेयर केयरमा सेम्पु, हेयर ट्रिटमेन्ट, कपाल झर्न रोक्ने तेलको उत्पादन र बिक्री गरिरहेको उनी सुनाउँछन्। 

उल्लिखित सामग्री उत्पादनका लागि कच्चा पदार्थ स्वदेश र विदेशबाट आयात गरिन्छ। उनका अनुसार धेरैभन्दा धेरै जडीबुटी नेपालकै प्रयोग गरिन्छ। नेपालमा प्रशोधन गर्ने प्रविधि नहुँदा केही जडीबुटी विदेशबाट खरिद गर्नुपर्ने बाध्यता रहेको उनी सुनाउँछन्।

प्रोडक्टका लागि मल्टिफर्मल ल्याब रहेको उनी सुनाउँछन्। ती ल्याबमा स्किन केयर विज्ञले उत्पादित सामग्रीको गुणस्तर परीक्षण गर्छन्। परीक्षणका लागि तीन–चार जनाको टिम नै बनाइएको उनी बताउँछन्। ‘गुणस्तरमा हामीले कुनै सम्झौता गरेका छैनौं, कोरियाली प्रविधि अपनाएर स्किन केयर, हेयर केयर उत्पादन गरेका हौं,’ उनले भने, ‘कोरियामा काम गरेको अनुभव भएकाले रोशनले प्राविधिक पक्ष हेर्छन्। त्यसकारण स्किन केयर तथा हेयर केयर प्रोडक्टमा कोरियाली प्रविधि अपनाइएको छ।’

९० प्रतिशत ग्राहकको सकारात्म प्रतिक्रिया 

गोपाल जडीबुटीबाट स्वदेशमै बनाइएको प्रोडक्ट मन पराउँछन् कि पराउँदैनन् भन्ने डर मान्थे। तर गुणस्तरीय सामान बजारमा ल्याउँदा ग्राहकको विश्वास जित्नेमा भने ढुक्क थिए। 

२०७९ सालको वैशाखदेखि एलो हर्बलले स्किन केयर र हेयर केयरको प्रोडक्ट दराज अनलाइनबाट देशभर बिक्री थालेको हो। सामाजिक सञ्जालको विज्ञापनले मोरङ र आसपासको जिल्लामा राम्रो प्रभाव पार्‍याे। एलो हर्बलको फेसबुक पेज, इन्स्टाग्राम, टिकटकबाट अर्डर आउन थाल्यो।

अनलाइन सेवामार्फत देशभर बिक्री गरेको सञ्चालक काफ्ले बताउँछन्। ‘राम्रो मार्केटिङ गरिएकाले प्रदेश १ का धेरै कस्मेटिक पसलहरूमा एलो हर्बलका प्रोडक्ट छन्,’ उनले भने, ‘सामाजिक सञ्जाल तथा सम्बन्धित व्यक्तिलाई सम्पर्क गरेर प्रोडक्ट उपलब्ध गराउने गरिएको छ।’

gopal kafle1675670531.jpg

एलो हर्बल प्राइभेट लिमिटेडका सञ्चालक गाेपाल काफ्ले

कस्टुमर केयरको एउटा टिम पनि बनाइएको उनी सुनाउँछन्। स्किन केयरको प्रडक्ट खरिद गरेका व्यक्तिको नामावली राखिएको हुन्छ। अनलाइनबाट तथा व्यक्तिगत सम्पर्कमा खरिद गरेका व्यक्तिहरूको प्रतिक्रिया, सुझाव, सल्लाहलाई प्राथमिकतामा राखेर काम गरेको उनको अनुभव छ। ‘कम्पनीबाटै फोन गरेर प्रतिक्रिया बुझ्छांै, प्रोडक्ट प्रयोग गरेका ९० प्रतिशत ग्राहकले सकारात्मक प्रतिक्रिया दिनुभएको छ,’ उनले भने।

उनका अनुसार १० प्रतिशत ग्राहकको भने स्किनमा नकारात्मक प्रभाव पारेको गुनासो आउने गरेको छ। ग्राहकको गुनासोलाई प्राविधिक टिमले अध्ययन गर्छ। स्किनको प्रकारअनुसार प्रोडक्ट उत्पादन गर्न एलो हर्बल लागिपरेको छ। स्किनको प्रकारअनुसार छुट्टाछुट्टै प्रकारका प्रोडक्ट बनाउने तयारी भइरहेको छ।

ग्राहकले स्किन केयरको प्रोडक्ट प्रयोग गर्दा नकारात्मक असर देखिए कम्पनीका स्किन विज्ञसँग छलफल तथा स्किन टेस्ट गर्ने व्यवस्था गर्ने योजना रहेको काफ्लेको भनाइ छ। ‘सामान बिक्रीवितरण गर्ने मात्र होइन, नकारात्मक असर परे गुनासो समेट्छौं,’ उनले भने, ‘सामान बिक्री ग¥यौं, ग्राहकसँग अब कुनै सम्बन्ध छैन भन्ने सोच राख्दैनौं।’ स्किन केयरको सेट नै खरिद गर्दा फ्री होम डेलिभरीको व्यवस्था छ। एउटा मात्र प्रोडक्ट खरिद गरे डेलिभरी चार्ज ग्राहकले नै बेहोर्नुपर्ने सञ्चालक काफ्ले बताउँछन्।

स्किन केयरको प्रोडक्ट किन्न दराज अनलाइन, फेसबुक पेज, इस्टाग्रामामा म्यासेज गर्न सकिन्छ। बिक्रीवितरणमा सहयोग पुर्‍याउन प्रोडक्टको मूल्यसहित फोटो राख्न मिल्नेगरी बेवसाइट निर्माण गरिरहेको पनि सञ्चालक काफ्लेले बताए। ‘देशभरको केन्द्र काठमाडौं मानिन्छ। विराटनगरमा भन्दा काठमाडौंबाट बिक्रीवितरण गर्न सहयोग पुग्ने अनुमान गरिएको छ,’ उनले भने, ‘आगामी वर्ष काठमाडौंमा स्टोर सञ्चालन गर्ने योजना बन्दैछ।’

अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने लक्ष्य 

काफ्लेका अनुसार नेपाली ग्राहकले स्किन केयर तथा कस्मेटिक प्रोडक्टमा विदेशी सामान धेरै मन पराउँछन्। नेपाली प्रोडक्ट गुणस्तरीय भए पनि कम रुचाउँछन्। अब गुणस्तरीय सामग्री बनाएर विदेशी प्रोडक्टसँग प्रतिस्पर्धा गर्ने योजना छ। नेपाली जडीबुटीबाट बनाइएका प्रोडक्टलाई विश्व बजारमा चिनाउने लक्ष्य रहेको सञ्चालक काफ्लेको भनाइ छ।

‘नेपाली कम्पनीले राम्रो उत्पादन गर्न सक्छ भन्ने सन्देश अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउनु छ,’ उनले भने, ‘प्रयोगकर्ताहरु नेपाली प्रोडक्ट राम्रो हुँदैन भन्ने सोच राख्छन् तर त्यसलाई गलत प्रमाणित गर्नेगरी हामी लागिपरेका छौं।’

नेपाली दक्ष व्यक्तिले विदेशमा कुनै कम्पनीमा बनाएको प्रोडक्ट मन पराउँछन्। तर सोही व्यक्ति नेपालमा आएर त्यस्तै सामग्री बनाउँदा पनि नरुचाउने नेपाली मनोविज्ञान रहेको छ। ग्राहकले रुचाइहाले पनि अन्य व्यावसायीबाट आक्रमण हुने गरेकाले बजार बिग्रने उनको अनुभव छ। ‘एलो हर्बलले छोटो समयमा राम्रो बजार पायो। बजार पाउँदा अन्य व्यवसायीले नकारात्मक भाव फैलाउने गरेको छ,’ उनले भने, ‘हामीले ग्राहकलाई सामान बेच्ने मात्र होइन, समस्या आइपरे समाधान गर्ने कोसिस गरेका छौं।’

उनले स्किन परीक्षण गर्न चाहने ग्राहकलाई स्किन केयर चिकित्सकसमेत उपलब्ध गराउने योजना बनाएका छन्। आगामी दिनमा स्किन परीक्षण गरी सोहीअनुसार प्रोडक्ट प्रयोग गर्न सल्लाह–सुझाव दिने चाहना छ। यसका लागि केही समय लाग्ने उनको भनाइ छ। 

‘अवसर पाए धेरै युवा स्वदेश फर्किन्छन्’

उनी दुई दशकअगाडि मार्केटिङ गर्थे। त्यतिबेला उनी देशभर डुले। उनले सामान कसरी बेच्ने भनेर विभिन्न तरिका सिके। अध्ययन गर्दैगर्दा आयुर्वेदिकबारे बुझ्ने अवसर पाए। सिटिइभिटीबाट आयुर्वेदिकबारे अध्ययन गरे। साथै अनलाइनबाट व्यवसायलाई प्रवर्धन गर्ने तालिम लिए। 

स्वदेशी उत्पादनको सोच राख्दाराख्दै आयुर्वेदिक ज्ञानको उपयोग गरी २०६३ देखि हर्बलका साबुन, तेललगायत जडीबुटीबाट विभिन्न सामग्री बनाउन थाले, अनुभव बटुल्दै गए। अध्ययन, तालिम र अनुभवको उपजस्वरूप एलो हर्बल उत्पादन गर्ने योजना बनेको उनले सुनाए।

रोशनको स्किन केयरसम्बन्धी दक्षताले प्रोडक्ट सम्भव भएको सञ्चालक गोपाल बताउँछन्। ‘रोशन कोरियाको लाखौंको जागिर छोडेर स्वदेश फर्किएका हुन्,’ उनले भने, ‘स्वदेशमै केही गर्ने रहर बोकेर आएका हुन्।’ सुरुमा बिदेसिए पनि स्वदेशमै केही गर्ने भनेर फर्किएका रोशन त्यस्तै सोच राख्नेका लागि प्रेरणा बनेको गोपाल बताउँछन्।  

सरकारले युवालाई स्वदेशमै उद्योग, व्यवसाय गर्ने वातावरण सिर्जना गरे विदेशमा रहेका धेरै युवा फर्किने विश्वास उनले व्यक्त गरे। ‘अवसर पाए धेरै युवा स्वदेश फर्किन्छन्,’ उनले भने, ‘सरकारले युवा पुस्ताले चाहेको व्यवसाय थाल्न र टिकाउन सहजीकरण गर्न सक्नुपर्छ।’ रोशनजस्तै युवाहरू उद्योग–व्यवसायमा संलग्न भए मुलुकको अर्थतन्त्र मजबुत बनाउन सहयोग पुग्नेमा उनी विश्वस्त छन्।
 

प्रकाशित मिति: १३:४२ बजे, सोमबार, माघ २३, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्