आत्मदाहको घटना बढ्दो, मनोविद् भन्छन्– विकराल अवस्था आउन सक्छ
आत्महत्या गर्ने ९० प्रतिशत व्यक्ति डिप्रेसनमा रहेको अध्ययनले देखाउँछ। आत्महत्या गर्ने निर्णयमा पुग्ने व्यक्तिले केही छनक दिने र समयमै पहिचान गर्न सके बचाउन पनि सकिने डा. ढुंगेल बताउँछिन्।काठमाडौं, माघ १८ : गत मंसिर १८ गते नुवाकोटकी २७ वर्षीया पुष्पा न्यौपानेले धुम्बाराहीमा आत्मदाह गरिन्। प्रेमी सुधन संग्रौलासँगको विवाह पक्कापक्की भए पनि अन्तिम समयमा इन्गेजमेन्ट तोडिएपछि न्यौपानेले आफ्नै ज्यानमा पेट्रोल छर्किएर आगो लगाएकी थिइन्।
गम्भीर घाइते भएकी न्यौपानेको उपचारका क्रममा १९ गते बिहान मृत्यु भएको थियो। व्यावसायिक रूपमा भएको चिनजान प्रेम र विवाहसम्म पुगेको थियो तर अकास्मात् विवाह टुटेपछि पुष्पाले प्रेमी संग्रौलाकै घरको अगाडि आफूलाई जलाएकी थिइन्।
माघ ५ गते काठमाडौंको सुन्धारास्थित सिभिल मलमा ३० वर्षीय विशाल गुरुङले पनि आफ्नो ज्यानमा पेट्रोल छर्केर आगो लगाए। प्रहरीले उनलाई तत्कालै उद्धार गरेर ट्रमा सेन्टर पु¥याउन सकेकाले उनको ज्यान जोगियो। माघ ११ गतेको घटनाले देशकै ध्यानाकर्षण गर्यो।
काठमाडौंको नयाँ बानेश्वरस्थित संसद् भवनअगाडि इलामका व्यवसायी ३६ वर्षीय प्रेमप्रसाद आचार्यले आफूलाई जलाए। गम्भीर अवस्थामा कीर्तिपुर अस्पताल पुर्याइएको आचार्यले भोलिपल्ट देहत्याग गरे।
मृत्युअघि उनले सामाजिक सञ्जालमा लामो स्टाटससमेत लेखेका थिए। व्यवसायमा असफल भएको र ऋणको भारी बोक्न नसकेर आत्महत्याको बाटो रोजेको आचार्यले सामाजिक सञ्जालमार्फत जानकारी गराएका थिए।
गत आइतबार (माघ १५ गते) पोखरामा पनि एक युवकले आफूमाथि आगो लगाएर आत्महत्या गर्ने प्रयत्न गरे। पोखरा महानगरपालिका-१३ का कृष्णबहादुर क्षेत्रीले आफंैमाथि पेट्रोल छर्किएर आगो लगाए। घरबेटी संगिता सापकोटाले देखेर बचाउन जाँदा उनी पनि जलिन्।
प्रहरीले कृष्णबहादुर र संगीता दुवैलाई उद्धार गरी पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्यायो तर सोमबार बिहान संगीताको निधन भयो। कृष्णबहादुरको भने उपचार भइरहेको छ।
मंसिर १८ गतेको घटना (पुष्पा न्यौपानेको आत्मदाह) पछि लगत्तै एकपछि अर्को गर्दै काठमाडौंमा त्यस्तै प्रकृतिका घटना बढेको देखिन्छ। त्यसअघि आत्मदाह गरी आत्महत्या गरेको घटना त्यति देखिएको थिएन। आत्मदाहका घटना बढेपछि जिल्ला प्रहरी परिसर काठमाडौंले खुला रूपमा बोतल, जर्किनमा पेट्रोल, डिजेललगायत अति प्रज्वलनशील पदार्थ बिक्री गर्न रोक लगाएको थियो।
प्रहरीले विज्ञप्ति नै जारी गरी अति प्रज्वलशील पेट्रोलियम पदार्थलाई खुला रूपमा बिक्री गर्दा, असुरक्षित ओसारपसार, घर, पसल भण्डारण गर्दा आगलागी हुने र मानवीय, भौतिक क्षति पुर्याउने हुँदा पेट्रोल पम्पलाई खुला रूपमा बिक्री गर्न रोक लगाउनुपरेको बताएको थियो। त्यसरी बिक्री गरेमा प्रचलित कानुनबमोजिम हदैसम्मको कानुनी कारबाही गर्नेसमेत चेतावनी दिइएको थियो।
काठमाडौंमा यसअघि त्यस्ता प्रकृतिका घटना नभएको प्रहरी बताउँछ। त्यसकारण प्रहरीले यस्तो घटनाको तथ्यांकसमेत राखेको छैन। ‘आफैंलाई आगो लगाएर आत्मदाह गर्नेको तथ्यांक राखिएको छैन,’ परिसर प्रवक्ता एसपी दिनेशराज मैनाली भन्छन्, ‘हामीलाई थाहा भएको घटना यही तीनवटा हो।’
प्रहरीको केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डिआइजी) पोषराज पोखरेलले पनि आगो लगाएर आत्मदाह/आत्महत्या गर्नेको छुट्टै तथ्यांक नभएको बताए।
२०७४/७५ देखि २०७९/८० मंसिर अन्तिमसम्म ३४ हजारको हाराहारीमा आत्महत्या गरेका छन्। ‘झुन्डिएर, डुबेर आत्महत्या गर्नेको तथ्यांक छुट्याए पनि आफूलाई नै जलाएर आत्मदाह/आत्महत्याको वर्गीकरण गरिएको छैन,’ प्रवक्ता पोखरेल भन्छन्, ‘पाँच आर्थिक वर्षमा ३४ हजार संख्याले आत्महत्या गर्नु सामान्य कुरा होइन।’
‘सरकार संवेदनशील हुनुपर्छ’
मनोचिकित्सक डा. विनीता ढुंगेल पछिल्लो समय आत्मदाहको शृंखलाबद्ध घटना बाहिर आउनु चिन्ताको विषय रहेको बताउँछिन्। प्रविधिको विकाससँगै सामाजिक सञ्जाल, सञ्चारमाध्यमबाट यस्ता घटनाको प्रचारप्रसार हुँदा मानिसहरूले सिको गरेको उनको भनाइ छ।
‘दैनिक रूपमा आत्महत्याको घटनामा वृद्धि हुनुमा अरूको सिको गर्ने प्रवृत्ति बढ्नुलाई मानिन्छ। एकजना जलेर मरेपछि अर्काेले जलेको खण्डमा छिटो मरिने अनुमान लगाउन थालेकाे देखिन्छ,’ उनले भनिन्।
जलेर आत्महत्या गरेका समाचार सामाजिक सञ्जाल, सञ्चारमाध्यममा चर्चा हुँदा पनि घटना बढेको हुन सक्ने मनोचिकित्सक ढुंगेलको अनुमान छ। डा. ढुंगेलले पछिल्लो समय आत्महत्या रोगसरि फैलिएको बताइन्। ‘आत्महत्या गर्न मानसिक रूपमा केही तनाव हुनैपर्छ, नत्र त्यसै त्यस्तो सोच आउँदैन,’ मनोचिकित्सक ढुंगेल भन्छिन्, ‘त्यसैले आत्महत्या रोग हो।’
आत्महत्याको गर्नुको पछाडि जैविक, मनोवैज्ञानिक र सामाजिक कारण मुख्य हुने डा. ढुंगेलको भनाइ छ। व्यक्तिगत समस्या, जागिरको अवस्था, विवाहित–अविवाहित स्थिति, सम्बन्ध विच्छेद, आर्थिक अवस्था आदि कुराले गर्दा मानिसले आत्महत्याको मनशाय बनाउने गरेको मनोचिकित्सक डा. ढुंगेल बताउँछिन्। यी कारणले मानिस आवेगमा आई आत्महत्याको निर्णयमा पुग्ने उनको भनाइ छ।
आत्महत्या गर्ने ९० प्रतिशत व्यक्ति डिप्रेसनमा रहेको अध्ययनले देखाउँछ। आत्महत्या गर्ने निर्णयमा पुग्ने व्यक्तिले केही छनक दिने र समयमै पहिचान गर्न सके बचाउन पनि सकिने डा. ढुंगेल बताउँछिन्। केही व्यक्तिले आवेगमा आई आत्महत्या गरे पनि केहीले भने योजनाबद्ध रूपमा आत्महत्या गर्ने उनको भनाइ छ।
योजनाबद्ध रूपमा आत्महत्याको तयारी गरिरहेको व्यक्तिले केही अस्वाभाविक व्यवहार देखाउने गर्छन्। ‘ती व्यवहारको पहिचान गरी मनोचिकित्सकबाट परामर्श दिलाउन सकिए उनीहरूलाई त्यहाँबाट फर्काउन पनि सकिन्छ,’ उनले भनिन्।
आत्महत्यको मनशाय राखेका व्यक्ति एकान्तमा बस्न रुचाउने, आफ्नो प्रमुख जिम्मेवारीमा भएका कामलाई धेरै प्राथमिकता दिएर सकाइहाल्न खोज्ने, परिवार र साथीभाइसँग फरक व्यवहार देखाउने, निराश हुने, रुचिका विषय पनि छाड्नेलगायत विभिन्न छनक देखाउँछन्। व्यक्तिले फरक व्यवहार देखाउन थाले वा एकान्तमा मात्र बस्न रुचि राख्न थाले मनोचिकित्सकसँग परामर्श लिनु आवश्यक रहेको डा. ढुंगेल बताउँछिन्।
उनका अनुसार आत्महत्यको मनशाय राखेको थाहा पाए त्यस्ता व्यक्तिलाई तुरुन्त औषधि सुरुवात गराउनुपर्छ। आत्महत्या गर्ने सोच आउनुलाई कुनै एउटा तनाव तथा एक किसिमको रोग नै मानिन्छ। आत्महत्या गर्ने सोच आएको मानिसलाई अस्पतालमा भर्ना गरेर पनि उपचार गर्नुपर्ने हुन सक्छ।
कसैले आत्महत्याको छनक दिए परिवार, आफन्त र साथीभाइले त्यस्ता व्यक्तिको कुरा सुन्ने, उसको मनोविज्ञान बुझ्ने कोसिस गर्नुपर्ने डा. ढुंगेल बताउँछिन्। ‘आत्महत्या गर्ने सोच आएका व्यक्तिलाई राम्र री सम्झाउने, बुझाउने र मनोचिकित्सकको सल्लाहअनुसार औषधि खुवाउँदै लैजानुपर्छ,’ उनले भनिन्, ‘थर्काउने, धम्काउनेलगायत डर देखाउने कार्य कदापि गर्नुहुँदैन।’
आत्महत्यालाई निरुत्साहित गर्न परिवार, साथीभाइसँगै सरकारको पनि मुुख्य भूमिका हुने डा. ढुंगेल बताउँछिन्। सरकारले मनोचिकित्सकको संख्या बढाउने, मनोचिकित्सकलाई देशभर खटाउनुपर्ने र आत्महत्याको निर्णयमा पुगेका मानिससँग कुराकानी गर्ने वातावरण बनाउनुपर्ने उनको सुझाव छ।
‘मानसिक बिरामीसँग कुराकानी गरेमा आधा रोग कम हुन्छ। मान्छेले मनको कुरा भन्न नपाएर यस्तो भएको हो,’ उनले भनिन्, ‘यसका लागि जनचेतना र समयमा उपचार नै हो।’ पछिल्लो समय बढ्दै गएको घटनाबाट सरकार संवेदनशील हुनुपर्ने नत्र विकराल अवस्था आउन सक्ने उनको भनाइ छ।
हटलाइनमा दैनिक दुई सयभन्दा धेरैको फोन
मानिसलाई आत्महत्याको सोच आए ११६६ मा निःशुल्क हटलाइनमा फोन गरी परामर्श लिन सकिन्छ। निःशुल्क हटलाइन सेवामा दैनिक २ सयभन्दा धेरै जनाले फोन गर्ने मनोविद् मनिल महर्जन बताउँछन्।
१० सेप्टेम्बर २०२० देखि मानसिक अस्पतालले सुरु गरेको हटलाइनमा आत्महत्या गर्ने सोच भएका व्यक्तिलाई परामर्श दिने गरिन्छ। यसको मे २०२१ देखि प्रचारप्रसारसहित सुरुवात गरिएको हो। त्योभन्दा पहिले मानसिक अस्पतालका केही चिकित्सकले सञ्चालन गरेको हुन्। यसको प्रचारप्रसार भएको दिनमा २ सयभन्दा धेरैको फोन आउँछ भने सामान्य दिनमा ३०/४० जनाले फोन गर्ने गरेको मनोविद् महर्जन बताउँछन्।
‘जंगलमा डोरी लगाएर आफूलाई झुन्ड्याउँदैछु भन्ने व्यक्तिलाई बचाएका छौं,’ मनोविद् महर्जन भन्छन्, ‘निराश भएर विक्षिप्त अवस्थामा रहेका व्यक्तिलाई मनोपरामर्श दिएर बचाएका छौं।’ धेरैजसो फोन वाग्मती प्रदेशबाट आउँछ। दोस्रोमा सुदूरपश्चिम र तेस्रोमा कर्णली प्रदेशबाट फोन आउने गरेको मनोविद् महर्जन बताउँछन्। ‘एकपटक फोन गरेको व्यक्ति पटक–पटक कल गरेर मनोपरामर्श दिन्छौं,’ मनोविद् महर्जनले भने, ‘फोनमा कुराकानी भइसकेपछि धेरैले आफ्नो विचार परिवर्तन गर्नुभएको छ।’
धेरैजसोले पारिवारिक सम्बन्ध, सम्बन्धमा निराशापन, घरेलु हिंसा, जागिर, आर्थिक संकट, अध्ययनका कारणले पीडा भई उन्मुक्तिका लागि आत्महत्याको सोच बनाउने गरेको उनको भनाइ छ।