कला, संस्कृतिको जगेर्ना गर्न महोत्सव

कला, संस्कृति जगेर्ना गर्न विगत लामो समयदेखि स्थानीयस्तरमा महोत्सव आयोजना गरिँदै आएका र मौलिकता हराउँदै गएको अवस्थामा यसबाट मद्दत पुगेको भजनीका  तपेन्द्र कुँवर बताउँछन्। यहाँ आयोजना गरिने महोत्सवमा स्थानीय प्रतिभाले स्थान पाउने गरेका छन्।
कला, संस्कृतिको जगेर्ना गर्न महोत्सव

कैलाली, माघ १५ : सुदूरपश्चिम प्रदेश कला र संस्कृतिमा धनी छ। यहाँको कला, संस्कृतिको जगेर्नाका लागि प्रदेशका विभिन्न क्षेत्रमा सांस्कृतिक मेला महोत्सव आयोजना गरिँदै आएका छन्। स्थानीय कला, संस्कृति जोगाउन महोत्सवबाट मद्दत पुगेको छ। 

कला, संस्कृति जगेर्ना गर्न विगत लामो समयदेखि स्थानीयस्तरमा महोत्सव आयोजना गरिँदै आएका र मौलिकता हराउँदै गएको अवस्थामा यसबाट मद्दत पुगेको भजनीका  तपेन्द्र कुँवर बताउँछन्। यहाँ आयोजना गरिने महोत्सवमा स्थानीय प्रतिभाले स्थान पाउने गरेका छन्।

देउडा, न्याउल्या, हुड्के, सखियालगायत नाचले  महोत्सवमा प्राथमिकता पाउँदै आएको छ। महोत्सवमा प्रस्तुत हुने गरेका पञ्चेबाजा, हुड्के नाच, देउडा, न्याउलेलगायतका नाचले विगतलाई सम्झाउने टीकापुर महोत्सव अवलोकन गर्न आएका टीकापुर नगरपालिका–१ का प्रेमबहादुर बोगटीले बताए। 'मलाई अझै सम्झना छ, मेरो विवाहमा हुड्के नाचले सबैको ध्यान आकर्षित गरेको थियो', उनले भने। 

बोगटीको विवाह अछाममा भएको थियो। 'तराई झरेपछि हुड्के नाच देख्न मुश्किल भएको थियो, बल्ल यहाँ आएर हेर्न पाइयो', उनले भने। करिब ४० वर्षपछि हुड्केली नाच हेर्न पाउँदा बोगटी औधी प्रसन्न भए। मेला महोत्सवमा छाडा प्रवृत्ति भित्रिने गरेकोप्रति आयोजक सचेत हुनुपर्ने उनको भनाइ छ। 

टीकापुर उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष रामबहादुर भण्डारीले टीकापुर महोत्सवले कला संस्कृतिको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको बताए। स्थानीय कला, संस्कृतिलाई महत्व दिँदै यहाँका प्रतिभालाई स्थान दिने गरेको उनी बताउँछन्। 'महोत्सव मुनाफा कमाउनका लागि मात्र होइन। यो स्थानीय कला, संस्कृति जोगाउनका लागि पनि हो', भण्डारीले भने, 'कला र संस्कृति हाम्रा पहिचान हुन। यसमा गौरव गर्नुपर्छ।' 

कला, संस्कृति संरक्षणमा टीकापुर महोत्सवले इँटा थपेको सङ्घका महासचिव नवराज रिमाल बताउँछन्। विवाह, व्रतबन्ध तथा शुभकार्यमा हुड्के नाच प्रस्तुत गरिँदै आएको छ। आधुनिकतासँगै यो नाच लोप हुने अवस्थामा छ। टीकापुर डान्स एकेडेमीका सञ्चालक टीकाराम परियार स्वर्गीय पिता गगनसिंह हुड्केको सम्झनामा हुड्के नाच प्रस्तुत गर्दैआएको बताउनुहुन्छ। गगनसिंह हुड्के नाचका लागि प्रख्यात थिए। 

प्रकाशित मिति: १६:४७ बजे, आइतबार, माघ १५, २०७९
प्रतिक्रिया दिनुहोस्