Kathmandu Press

ट्रेकिङ गाइड : घुम्न पनि पाइने, पैसा पनि कमाइने 

सन् २०१९ सम्म १७ हजारले ट्रेकिङ गाइडकाे लाइसेन्स लिएका थिए भने २०२२ को अन्तिमसम्म त्यसको संख्या २० हजार पुगिसकेको छ।
ट्रेकिङ गाइड : घुम्न पनि पाइने, पैसा पनि कमाइने 

काठमाडौं, पुस २८ : २२ वर्षीय सेविका राई पुस २२ (शुक्रबार) गते नुवाकोटको ककनी गाउँपालिका–५ ककनी हाइटको प्रिन्स होटल ट्रेकिङ गाइडको तालिम लिँदै गर्दा भेटिइन्। 

एक महिनादेखि तालिममा सहभागी उनी डोरीमा गाँठो (नट) बनाउन सिक्दै थिइन्। सैद्धान्तिक कक्षा सकाएकी उनी प्रयोगात्मक तालिमका लागि उनी ककनी पुगेकी रहिछन्। सोलुखुम्बुको माप्य दूधकोसी गाउँपालिकामा जन्मिएकी सेविकालाई सक्षम ट्रेकिङ गाइड बन्ने रहरले ककनी पुर्‍याएको रहेछ।

कक्षा १२ सम्म अध्ययन गरेकी सेविका हिमालको काखमा हुर्किइन्। बाल्यकालदेखि नै हिमाल घुम्न आउने पर्यटकलाई बाटो देखाएर उनी सघाउँथिन्। उनी सोलुखुम्बुको एक होटलमा काम गरेर पर्यटनसँग जोडिइन्। सोलुखुम्बुमा वार्षिक रूपमा हुने एभरेस्ट म्याराथनमा विभिन्न देशबाट पर्यटक आएर दौडिएको देख्दा उनलाई पनि दौडने रहर हुन्थ्यो। नभन्दै सन् २०२२ मा उनी पनि एभरेस्ट म्याराथनमा सहभागी भइन् र ४२ किलोमिटरको दुरी पूरा गरेर तेस्रो भइन्।

Hardik ivf

३५ वर्ष (सन् १९८५) देखि एभरेस्ट म्याराथन प्रतियोेगिता हुँदै आइरहेको छ। यो म्याराथन विश्वकै सर्वाधिक जोखिमपूर्ण एवं सुन्दर मानिन्छ। ‘म्याराथमको दौडमा धेरै कुरा बुझ्न र सिक्न बाँकी भएको महसुस गरें, ट्रेकिङ गाइड बनेर एडभेन्चरमा रमाउने मन छ,’ उनले भनिन्, ‘संयोग यस्तो मिल्यो कि यो तालिम लिने अवसर जुर्यो।’

327924679_5151401584962574_8649598992574158474_n1674887174.jpg

एकदुई वर्षदेखि सेविका पर्यटकसँग सहायक गाइडका रूपमा ट्रेकिङ गरिरहेकी छन्। गाइडको यात्रा सुरु हुँदै गर्दा निःशुल्क तालिम पाएकाले सेविका खुसी छिन्। ‘पैसा तिरेर तालिम लिन कठिन थियो, निःशुल्क तालिम पाउँदा खुसी छु,’ सेविकाले भनिन्, ‘प्रयोगात्मक तालिम सकिएपछि परीक्षा हुन्छ, लाइसेन्स लिएरै फर्किन्छु।’ यति भन्दै गर्दा उनको अनुहारमा खुसी तरंगित भएको देखिन्थ्यो। अध्ययन गरेर भन्दा पनि प्रयोगात्मक कक्षा लिएर धेरै कुरा सिकिएको उनले बताइन्। उनले खुसी हुँदै भनिन्, ‘सुरक्षा र प्राविधिक ज्ञानबिना ट्रेकिङ गाइड नबनिने रहेछ भन्ने बल्ल बुझें।’ 
 
त्यस्तै २८ वर्षीया नम्रता सुवेदी पनि त्यही तालिममा भेटिइन्। उनी धादिङ गंगाजमुना गाउँपालिका जन्मिए पनि काठमाडौंमा हुर्किइन्। स्नातकको अध्ययनकै क्रममा उनले पर्यटन व्यवसायीसँग काम गरेकी रहिछन्। उनका दाजुभाइ पनि ट्रेकिङ गाइड छन्। ‘दाजुभाइ फरकफरक ठाउँमा स्वतन्त्र भएर घुम्दै हिँडेको देख्दा मलाई पनि रहर लाग्थ्यो,’ नम्रताले भनिन्, ‘त्यही रहरले ट्रेकिङ गाइडको यो तालिमसम्म ल्याइपुर्यायो।’

ट्रान्सलेटरको काम गरेर पर्यटन क्षेत्रमा उनी जोडिएकी थिइन्। बिस्तारै उनले व्यक्तिगत चिनजान भएका पर्यटकलाई गाइड गर्न थालिन्। एक दिन गाइड गर्दा न्यूनतम पारिश्रमिक २० देखि ४० डलरसम्म कमाउने गर्छिन्। ‘योग्यता र अनुभव भएका गाइडले दैनिक त्योभन्दा बढी कमाउँछन्,’ उनले भनिन्, ‘सिजनको समयमा टिप्स र पारिश्रमिक शुल्क जोडेर हप्तामै एक लाखसम्म कमाइ हुन्छ।’

नम्रता लाइसेन्सको तालिम लिएर कम्पनी खोल्न चाहन्थिन्। ‘धेरै अगाडि लाइसेन्स लिन चाहन्थें तर बल्ल अवसर जुर्‍यो,’ उनले भनिन्, ‘फरकफरक ठाउँमा घुम्न पाउने भएकाले ट्रेकिङ गाइडप्रति अत्यधिक रुचि छ।’ नम्रता घुम्न रुचि पूरा गरेर पैसा कमाउन चाहन्छिन्। ‘अरू घुमेर पैसा सिध्याउँछन्, म घुमेर कमाउँछु,’ उनले भनिन्।

सेविका र नम्रता मात्र होइन, ट्रेकिङ गाइडमा आउने ९० प्रतिशत एडभेन्चर प्रेमी हुन्छन्। महिला एक्लै घुमघाम गर्न थालेका छन्, पछिल्लो समय सोलो ट्राभलको प्रवृत्ति बढ्दैछ। घुमफिरमा रुचि राख्ने व्यक्ति नै सफल ट्रेकिङ गाइड बन्न सक्ने प्रशिक्षक छिरिङ ज्याम्बु शेर्पा बताउँछन्।

शेर्पा १९९८  मा किचन ब्वाईका रूपमा पर्यटन क्षेत्रमा आए। किचन ब्वाई, पोर्टर, ट्रेकिङ गाइड हुँदै प्रशिक्षक बने। ट्रेकिङ गाइडसम्बन्धी भाषा, पर्यटकीय स्थलबारे शेर्पासँग राम्रो अनुभव र ज्ञान छ। उनका अनुसार पछिल्लो समय गाइडको संख्या बढेकाले बजारमा प्रतिस्पर्धा छ। नयाँ आउने गाइड पूर्ण रूपमा सक्षम हुनुपर्ने प्रशिक्षण शेर्पाको भनाइ छ।

327875743_898334134654318_3795805611378171642_n1674887173.jpg
ककनीमा ट्रेकिङ गाइडकाे तालिम लिँदै प्रशिक्षार्थी ।

‘सक्षम ट्रेकिङ गाइड उत्पादन गर्ने प्रयास गरिरहेको छु,’ उनले भने, ‘महिलालाई प्रोत्साहन गर्दै ट्रेकिङ गाइडमा आत्मनिर्भर बनाउन कोसिसमा छु।’ ट्रेकिङ गाइडले वर्षभरि काम गर्नुपर्दैन। वर्षमा दुई सिजनमा काम गरे पुग्छ। एउटा सिजन फेबु्रअरी, मार्च, अप्रिल र अर्काे सेप्टेम्बर, अक्टोबर र नोभेम्बर हुन्। अन्य बेलामा कामै नगरे पनि गुजारा चल्छ। ‘सिजनमा ६ महिना काम गरे ६ महिना काम नगरे पनि लगभग पुग्छ,’ उनले भने, ‘ट्रेकिङको रुट र गाइडको गुणस्तर अनुसार आम्दानी हुन्छ।’ ट्रेकिङमा आम्दानीसँगै जोखिम रहेको अनुभव सुनाए। 

उनले गाइड हुँदा ध्यान दिनुपर्नेदेखि लिएर पर्यटकलाई कसरी जानकारी दिने भन्नेबारे पनि सिकाए। होटलको ग्राउन्डमा आघा घन्टा जानकारी गराएपछि ककनी हाइटको १९९२ मा भएको थाई एयरवेजको विमान दुर्घटना भएको ठाउँमा लगे। त्यहाँ उनले वरिपरि पर्यटकलाई राखेर कसरी जानकारी दिने भनी सिकाए। ‘जानकारी दिँदा पर्यटकको अनुहारमा हेरेर प्रस्ट जवाफ दिनुपर्छ,’ उनले सबैलाई कडिकडाउ ढंगले भने, ‘आफूलाई जानकारी नभएको कुरा सोधेर भन्छु भन्नुपर्छ, गलत सूचना कहिल्यै दिनुहुन्न।’

327873253_510024464582138_7050570093558285371_n1674887173.jpg
छिरिङ ज्याम्बु शेर्पा, प्रशिक्षक, ट्रेकिङ गाइड

त्यति भन्दै गर्दा उनले सहभागीलाई त्यहाँबाट लगभग दुई किलोमिटर टाढा रहेको स्तुपा हुँदै शिवपुरीजंगलको गेटसम्म पुर्‍याए। त्यतैबाट ककनी पिकनिक स्थल हुँदै चार घन्टापछि होटलमा फर्काए। बीचबीचमा उनी टेकिङ गाइड हिँड्नेदेखि लिएर नियमबारे जानकारी दिइरहन्थे। भोलि गाइड गरिरहेको देख्न पाइयोस् भन्दै यात्राका क्रममा विद्यार्थीमा ऊर्जा पनि भरिरहन्थे। 

उक्त तालिममा सातै प्रदेशको २५ जिल्लाबाट १२० महिला सहभागी भएको नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानको तालिम संयोजक हिमाल पाण्डितले जानकारी दिए। ‘वार्षिक रूपमा धेरै ट्रेकिङ गाइडलाई ३५ दिने तालिम दिएर लाइसेन्स दिइन्छ, वर्षमा एकपटक भने महिलालाई निःशुल्क तालिम दिन्छौं,’ संयोजक पण्डितले भने, ‘विभिन्न संस्थासँग सहकार्य गरेर महिलालाई निःशुल्क तालिम दिइन्छ।’

पर्वतीय प्रतिष्ठानले प्रत्येक वर्ष ४० महिलालाई निःशुल्क तालिम दिँदै आएको छ। यसपटक आवेदन धेरै भएकाले दुई समूह बनाएर १२० जनालाई तालिम दिएको उनको भनाइ थियो। 

नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान र जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजनाको सहकार्यमा उक्त तालिम दिइएको हो। पर्यटन परियोजना नेपाल पर्यटन बोर्ड र युएनडिपीको संयुक्त साझेदारीमा सञ्चालित कार्यक्रम हो।

२० हजारले लिए लाइसेन्स 

नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान (नेपाल माउन्टेन एकेडेमी) संस्कृत, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत काम गर्ने संस्था हो। सन् २००२ देखि सञ्चालनमा आएको प्रतिष्ठानले ट्रेकिङ गाइड तालिम दिएर लाइसेन्स दिन्छ। 

नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) ले लाइसेन्स दिँदै आइरहेको संयोजक पण्डितले जानकारी दिए। ‘प्रत्येक वर्ष लाइसेन्सका लागि धेरै पटक तालिम दिन्छौं, महिलालाई निःशुल्क एकपटक मात्र हुन्छ,’ उनले भने, ‘सशुल्क तालिम लिँदा १५ हजारको हाराहारीमा खर्च हुन्छ।’

सन् २०१९ सम्म १७ हजारले लाइसेन्स लिएका थिए भने २०२२ को अन्तिमसम्म त्यसको संख्या २० हजार पुगिसकेको छ। ‘गत वर्ष ७५२ जनालाई लाइसेन्स दिएका थियौं। चालु आर्थिक वर्षको आगामी माघ अन्तिमसम्म २५० जनाले लाइसेन्स लिने भएका छन्,’ उनले भने, ‘महिला गाइडको माग बढ्दैछ। महिला सहभागिता बढाउनुका साथै आत्मनिर्भर बनाउन निःशुल्क तालिम दिइएको हो।’

प्रत्येक वर्ष गाइडको लाइसेन्सको आवेदन खुला गरिन्छ। इच्छुकले फाराम भर्छन्। सबै जिल्लाको आवेदनलाई समेटेर मौखिक परीक्षा लिई तालिममा सहभागी गराउने गरेको उनको भनाइ छ। ‘निःशुल्क तालिमका लागि पनि सोही प्रक्रिया हुन्छ,’ संयोजक पण्डितले भने। 

एक वर्षमा तालिम लिने ३२४ जनामध्ये २४० महिला 

सन् २०२२ मा नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान र जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजनाले सहकार्य गरेर ६ वटा लाइसेन्स तालिम दिएको छ। तीमध्ये तीनवटा तालिम महिला केन्द्रित छन्। त्यसमा पनि दुईवटा तालिममा महिला मात्र सहभागी थिए। 

सन् २०२२ मा प्रतिष्ठान र परियोजनाको सहकार्यमा ३२४ जनालाई लाइसेन्सको तालिम दिइएको छ। तीमध्ये २४० जना महिला छन्। ‘महिलाको क्षमता विकास हुँदै जाँदा माग बढेकाले प्राथमिकतामा पनि राखिएको हो,’ परियोजनाको विज्ञ धर्म दवाडी भन्छन्, ‘महिला पर्यटक आउँदा महिला गाइड खोज्छन्।’

327745366_1364434594411614_1177069717069752644_n1674887173.jpg

तालिम लिएर लिखित पास भएपछि लाइसेन्स दिने व्यवस्था हुन्छ। तालिममा सहभागी भएका ९८ प्रतिशतले लिखित परीक्षा पास गरेको परियोजना विज्ञ दवाडी सुनाउँछन्। ‘लाइसेन्स पाएपछि गाइडका रूपमा देशभर जुनसुकै स्थानमा जान पाउँछन्,’ उनले भने, ‘कर्णाली र सुदूरपश्चिमका पर्यटन व्यवसायीले ट्रेकिङ गाइडको अभाव भएको गुनासो थियो। त्यहाँको माग पूरा गर्न ४३ महिलालाई तालिम दिएर सुरु गरेको थियौं। ४१ जनाले लाइसेन्स निकाले।’ 

उक्त तालिममा महिलाको मात्र सहभागिता थियो। त्यस्तै दुई महिनाअघि सञ्चालित गोर्खाको गणेश हिमाल तथा लाम्टाङलाई प्रवद्र्धन गर्न महिला लक्षित ट्रेकिङ गाइडको तालिम राखिएको थियो। स्थानीय पुरुषले सहभागी हुने अपेक्षा राखेपछि २८ पुरुष र ३७ महिलालाई तालिम दिइएको परियोजना विज्ञ दवाडी बताउँछन्। 

‘तालिम लिएर लाइसेन्स पाएका धेरै महिलाले रोजगारी पाएको खबर पाएका छौं त्यसको तथ्यांक संकलनको काम भइरहेको छ,’ उनले भने, ‘सीप पाएपछि काम गरेर आत्मनिर्भर हुन्छन् भन्ने हाम्रो विश्वास हो।’ उक्त तालिमका लागि परियोजनाको २७/२८ लाख रुपैयाँ र प्रतिष्ठानको १२/१३ लाख रुपैयाँ खर्च भएको छ। ‘गाइडको लाइसेन्स लिएर पर्यटन क्षेत्रमा सहयोग पुर्‍याउनुका साथै महिलालाई आत्मनिर्भर बनाउनु मुख्य उद्देश्य हो,’ परियोजना विज्ञ दवाडीले भने। 
 
एडभेन्चरप्रति महिलाको चासो 

पर्यटन बोर्डका निर्देशक तथा परियोजना संयोजक मणिराज लामिछाने पछिल्लो समय सोलो ट्राभल गर्नेको संख्या बढ्दै गइरहेको बताउँछन्। ‘सोलो ट्राभलमा महिलाको संख्या बढ्दो छ, उनीहरूलाई सीप दिएर स्वरोजगार बनाउन तालिम दिएका हौं,’ उनले भने, ‘ट्रेकिङ गाइडमा संलग्न तीन दिदीबहिनीले सगरमाथा आरोहण गरेर साहसी महिलाका रूपमा चिनिएका छन्।’ 

327789901_3376291999356619_124025013777879848_n1674887173.jpg

पछिल्लो समय दोलखाको गौरीशंकर गाउँपालिका–९ निवासी निमा जाङ्बु शेर्पा, नाम्गे शेर्पा र दावा फुटी शेर्पाले सगरमाया आरोहण गरेर विश्वमा नयाँ रेकर्ड कायम गरेका छन्। त्यसबाट थुप्रै महिलालाई ट्रेकिङ गाइडमा सहभागी हुन प्रोत्साहन मिलेको बोर्डको निर्देशक लामिछानेले जानकारी दिए। ‘महिला पर्यटकले महिला गाइड खोज्न थालेका छन्,’ निर्देशक लामिछानेले भने, ‘टुरिजम एडभेन्चरमा महिलाको सहभागिता बढाउन तालिम दिएका हौं।’

पुरुषलाई भन्दा महिलालाई तालिम दिँदा प्रभावकारी हुने उनको बुझाइ छ। ‘पुरुषलाई तालिम दिँदा उसले मात्रै सिक्छ भने महिलाले आफूसँगै परिवारलाई सिकाउँछिन्,’ उनले काठमाडौं प्रेससँग भने, ‘हरेक क्षेत्रमा महिलालाई पछाडि परेका छन्। टुरिजम एड्भेन्चरप्रति चासो राख्ने युवतीहरुलाई तालिम दिइएर आत्मनिर्भर बन्न सहयोग गरेका हौं।’ गाइडले सिंगो टोलीको नेतृत्व गर्ने हुँदा उनीहरूमाथि सुरक्षा चुनौती कम हुने निर्देशक लामिछाने बताउँछन्।   
 

प्रकाशित मिति: १२:०७ बजे, शनिबार, माघ १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्