२१ वर्षमै प्रअ बनेका सरोज श्रेष्ठ नयाँ पुस्ताका प्रेरणा
शिक्षक हुँदा विद्यार्थीसँग घुलमिल हुन पाइन्छ। आफ्नो विषयमा विद्यार्थीलाई दक्ष बनाउने जिम्मेवारी शिक्षकमा हुन्छ। विद्यालयको व्यवस्थापनदेखि लिएर अभिभावक, शिक्षक, विद्यार्थीलाई केन्द्रमा राखेर काम गर्नुपर्ने भएकाले प्रधानाध्यापकमा थप जिम्मेवारी हुने उनले बताए।काठमाडौं पुस २९ : ‘प्रधानाध्यापक’ भन्नेबित्तिकै हाम्रो मानसपटलमा अलिकति उमेर खाइसकेका व्यक्तिको बिम्ब बन्छ। तर पाँचथरको फाल्गुनन्द गाउँपालिका–१ का सरोज श्रेष्ठलाई देख्दा प्रधानाध्यापक बन्न उमेर खाएकै हुनुपर्छ भन्ने भ्रमबाट मुक्त हुन सकिन्छ।
फाल्गुनन्द–१ स्थित श्री बालविकास आधारभूत विद्यालयका प्रधानाध्यापक हुन् २१ वर्षीय श्रेष्ठ। कम उमेरमै प्रधानाध्यापक बनेका कारण यतिखेर उनको चर्चा चुलिएको छ। सामाजिक सञ्जालहरूमा ‘कान्छो प्रधानाध्यापक’का रूपमा उनको चर्चा भइरहेको छ।
प्रेरणाको स्रोत पिता
फाल्गुनन्द–१ का भोजराज र लीलादेवीका पहिलो सन्तान हुन् सरोज। उनी २०५७ फागुन १० मा जन्मिएका हुन्। उनका एक भाइ र एक बहिनी छन्। उनका बुबा (भोजराज) २०६२÷६३ सालदेखि श्री तिरतिरे आधारभूत विद्यालयमा अध्यापनरत छन्। उनले त्यही विद्यालयबाट अध्ययन सुरु गरेका थिए। ‘प्लस टुसम्म गाउँमै पढें। स्नातक इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसबाट गरें,’ प्रधानाध्यापक श्रेष्ठले भने।
उनले शिक्षा शास्त्र संकायका विद्यार्थी हुन्। शिक्षा विषय लिएर अध्ययन गरे। २०७८ सालमा स्नातकको चौथो वर्षमा अध्ययन गरिरहँदा शिक्षकको माग भएको थाहा पाएको र आवदेन दिएको उनले सुनाए। नाम निस्केपछि सोही सालको कात्तिकदेखि आफू प्रधानाध्यापक रहेको विद्यालयमा अस्थायी करारमा नियुक्त भएको उनले सुनाए।
उनलाई सानै उमेरदेखि भविष्यमा शिक्षक बन्छु भन्ने लाग्थ्यो रे। ‘नयाँ पुस्ताका युवा शिक्षणमा सम्भावना र भविष्य देख्दैनन्। अर्थात् उनीहरू शिक्षक बन्न खासै रुचि राख्दैनन्,’ उनले भने, ‘म अलि फरक स्वभावको थिएँ, त्यसकारण शिक्षणमा जोडिएँ।’
बुबा शिक्षक भएकाले पनि हुन सक्छ, उनी सानैदेखि शिक्षण पेसालाई सम्मानको दृष्टिले हेर्थे। बुबाको शिक्षण पेसाप्रतिको रुचि र मेहनत देखेर गाउँका मानिसहरू छक्क पर्थे। उनी पनि बुवाको शिक्षणप्रतिको लगाव देखेर प्रभावित थिए। ‘बुबा स्थायी शिक्षक बन्न चाहनुहुन्थ्यो तर उहाँको त्यो सपना पूरा हुन सकेन,’ उनले भने, ‘किनकि उहाँले मानविकी विषय पढ्नुभएको थियो।’ शिक्षक बन्न अनिवार्य रूपमा शिक्षा शास्त्र पढेको हुनुपर्छ। आफू स्थायी शिक्षक बनी अहिले प्रधानाध्यापकको जिम्मेवारी पुग्दा बुवाको अपुरो रहर पूरा भएको अनुभूति हुने गरेको सरोजले सुनाए।
त्यसो त बालविकास आधारभूत विद्यालयमा अस्थायी करारमा नियुक्ति हुनुअघि पनि उनी निजी स्रोतमा पढाउँदै आएका थिए। उनी प्रधानाध्यापक भएको पनि गत कात्तिकदेखि मात्र हो। आफूलाई प्रधानाध्यापकका रूपमा सबैले विश्वास गर्नुको मुख्य कारण विद्यालयको उत्थानमा सक्रियता र शिक्षण पेसाप्रतिप्रतिको गहिरो लगाव भएको उनी ठान्छन्। शिक्षक भएपछि विद्यार्थीलाई मात्र नभई विद्यालयलाई पनि अगाडि बढाउन खोज्ने उनको प्रवृत्तिले कम उमेरमै विद्यालयको नेतृत्व गर्ने प्रधानाध्यापकको गरिमामय पद हासिल गराएको भन्दा फरक नपर्ने उनको भनाइ छ।
‘यो विद्यालयमा शिक्षक भएर आएपछि तत्कालीन प्रधानाध्यापक (कृष्णप्रसाद पाण्डे) लाई कार्यालयको काममा सहयोग गर्न थालें,’ उनले भने, ‘सहयोग गर्ने क्रममा कार्यालीय काम र प्रक्रिया सिक्ने अवसर पाएँ।’
घाँसदाउरा गर्ने क्रममा तत्कालीन प्रधानाध्यापक पाण्डेको मेरुदण्ड भाँचिएका कारण राम्रोसँग हिँडडुल गर्न सक्दैनथे। त्यसकारण कार्यालयको काममा प्रधानाध्यापकलाई सघाउने मौका सरोजले पाएका थिए। त्यसक्रममा विद्यालयको अगुवाइ गर्ने सीप उनले सिके।
शिक्षक हुँदा विद्यार्थीसँग घुलमिल हुन पाइन्छ। आफ्नो विषयमा विद्यार्थीलाई दक्ष बनाउने जिम्मेवारी शिक्षकमा हुन्छ। विद्यालयको व्यवस्थापनदेखि लिएर अभिभावक, शिक्षक, विद्यार्थीलाई केन्द्रमा राखेर काम गर्नुपर्ने भएकाले प्रधानाध्यापकमा थप जिम्मेवारी हुने उनले बताए। ‘आफ्नो जिम्मेवारी विद्यार्थीलाई सिकाउने मात्र हो भन्ने सोचिन्थ्यो,’ उनले भने, ‘तर प्रधानाध्यापकले एउटा परिवारमा मुख्य अभिभावकले जस्तै भूमिका निर्वाह गर्नुपर्ने बोध पाण्डे सरलाई सहयोग गर्ने क्रममा थाहा पाइयो।’
प्रधानाध्यापक भई नयाँ पुस्ताका लागि प्रेरणाको स्रोत बन्न पाउँदा गौरवको अनुभूति हुने गरेको उनले बताए। पढाइ पूरा नगरी सानैमा पढाउने काममा लागेको भनेर परिवारबाट गाली खाएको तर अहिले उनीहरूबाटै प्रशंसाको पात्र बन्दा खुसी मिलेको उनले सुनाए। ‘घरपरिवारका सदस्यले पहिले पढ्नुपर्छ अनि मात्र पढाउनतिर लाग्नुपर्छ भनेर सम्झाउनुभएको थियो,’ उनले भने, ‘शिक्षक बनिरहँदा झनै अध्ययन गर्न पाएको र पढेको कुरा परिपक्वतापूर्वक सिक्न पाएको भनेर उल्टै म सम्झाउँथे।’
अवसर पनि चुनौती पनि
उनी प्रधानाध्यापक हुनुलाई अवसर र चुनौती दुवै मान्छन्। सानै उमेरमा विद्यालयको सिंगो जिम्मेवारी सम्हाल्न पाउनुलाई उनी अवसर ठान्छन्। तर आफूले नेतृत्व गरिरहँदा शिक्षाको गुणस्तर सुधार ल्याउनुलाई आफ्ना लागि चुनौती बनेको उनी सुनाउँछन्।
उनी जिम्मेवार प्रधानाध्यापक भएर अभिभावक, समुदाय, शिक्षक, विद्यार्थीले सोचेजस्तो परिवर्तन गर्ने प्रयासमा छन्। उनको बुझाइमा राजनीतिले सामुदायिक विद्यालयलाई गाँजेको छ। शिक्षक नियुक्तिदेखि लिएर अन्य विभिन्न विषयमा बाहिरी दबाब आइरहन्छ, राजनीतिक प्रभावमा पार्ने कोसिस भइरहन्छ। सामुदायिक विद्यालयलाई राजनीतिक प्रभावबाट टाढा राख्नु प्रमुख चुनौती रहेको श्रेष्ठले बताए।
‘विद्यालय कुनै शिक्षक नियुक्तिलाई लिएर होस् या अन्य कुनै विषयमा हुने छलफल, भेला नै किन नहोस्, राजनीतिक दलको प्रभाव पर्ने रहेछ,’ उनले भने, ‘आफ्नो पालामा त्यस्तो हुन नदिने भनेर लागिपरेको छु।’
सरकारले कक्षा १ देखि ६ सम्म दिवा खाजाको व्यवस्था गरेको छ। प्रत्येक व्यक्तिलाई १५ रुपैयाँले स्थानीयस्तरको खाजा खुवाउनुपर्छ। तर त्यही रकममा स्थानीयस्तरको खाद्यान्न खुवाउन चुनौती रहेको अनुभव उनलाई भएको छ। ‘खाजा बनाउन विद्यालयको सम्पूर्ण कर्मचारी खट्छौं,’ उनले भने, ‘विद्यार्थीलाई १५ रुपैयाँमा स्थानीयस्तरको खाजा खुवाउन चुनौती छ।’ उनका अनुसार विद्यालयमा भइपरिआउने ससाना विवाद, दुर्घटनामा प्रधानाध्यापकले जिम्मेवारीसाथ प्रस्तुत हुनुपर्छ। यस्ता जिम्मेवारी र चुनौतीले नै मानिसलाई परिपक्व बनाउने प्रधानाध्यापक श्रेष्ठको भनाइ छ।
‘वडाकै उत्कृष्ट आधारभूत विद्यालय’
फाल्गुनन्द–१ मा बालविकास आधारभूत विद्यालयमा बालकक्षादेखि कक्षा ५ सम्म पढाइ हुन्छ। विद्यालय १७ रोपनी क्षेत्रफलमा फैलिएको छ। एउटा पक्की भवन र दुईवटा कच्ची भवन छन्। खानेपानी, शौचालय, खेल्ने चौरलगायत भौतिक संरचनामा राम्रो व्यवस्था छ।
उक्त विद्यालयमा ४९ विद्यार्थी र पाँच शिक्षक छन्। ३८ जना विद्यार्थी नियमित रूपमा आउँछन्। गत वर्षको तुलनामा ७/८ जना विद्यार्थी बढेको उनको भनाइ छ। यनले आफ्नो विद्यालय वडाभरिकै आधारभूत विद्यालयमध्ये उत्कृष्ट रहेको श्रेष्ठले दाबी गरे। ‘वडाभित्रका सामुदायिक विद्यालयमा विद्यार्थी घट्दै जाँदा हाम्रोमा बढिरहेका छन्,’ उनले भने।
उनी विद्यार्थी बढ्नुलाई राम्रो पक्ष मान्छन्। तर ७/८ जना विद्यार्थी नियमित विद्यालय नआएकोमा उनलाई दुःख लाग्छ। ती विद्यार्थीलाई विद्यालयमा नियमित बनाउन अभिभावकसँग छलफल थालिसकेको उनको भनाइ छ। वडाभित्रको बालबालिकालाई सहजै विद्यालय ल्याउन पटकपटक प्रयास गर्ने उनी बताउँछन्।
‘गाउँपालिकाभित्र ९ वटा वडा छन्। वडा १ मा ९ वटा सामुदायिक विद्यालय र एउटा संस्थागत विद्यालय छन्,’ उनले भने, ‘कक्षा १२ सम्म अध्ययन गर्ने व्यवस्था छ। सोभन्दा माथिल्लो तहको अध्ययन गर्न पाँचथरको राजधानी फिदिम पुग्छन्।’
‘दक्ष भएर शिक्षणमा प्रवेश गर्नुहोस्’
शिक्षण पेसालाई हेर्ने दृष्टिकोण फरक छ। हरेक क्षेत्रमा जनशक्ति उत्पादन गर्ने स्रोत नै शिक्षक हुन्। तर हाम्रो समाजमा शिक्षक हुनासाथ फरक ढंगले व्याख्या गरिने श्रेष्ठ बताउँछन्। दक्षता हासिल गरेर मात्र शिक्षण पेसामा लाग्नुपर्ने उनी सुझाउँछन् ।
‘पहिलेभन्दा अहिले शिक्षण सेवामा आउने शिक्षक गुणस्तरीय हुन्छन्,’ उनले भने, ‘शिक्षण पेसामा आउँदा शैक्षिक, प्राविधिक र प्रशासनिक रूपमा सक्षम हुनु आवश्यक छ।’ उनका अनुसार नयाँ पुस्ताका शिक्षक ‘स्मार्ट’ हुनुपर्छ। नयाँ पुस्ताका शिक्षकले शिक्षा क्षेत्रमा व्याप्त समस्या समाधान गर्न खम्बा भएर उभिनुपर्छ।
शिक्षण पेसा आफैंमा सम्मानित र राष्ट्रको सेवामूलक पेसा भएको प्रधानाध्यापक श्रेष्ठ बताउँछन्। ‘शिक्षकलाई निजामती कर्मचारीभन्दा तल्लो स्तरको मानिन्छ। यो धारण फेरिनुपर्छ,’ उनले भने, ‘सेवासुविधामा पनि केही फरक आउनु आवश्यक छ।’
आधारभूत तहको प्रधानाध्यापक हुँदा उनी मासिक ३४ हजार ९०२ रुपैयाँ तलब लिन्छन्। सरोज शिक्षण पेसालाई जागिरभन्दा पनि सेवामूलक काम सम्झेर नयाँ पुस्ता प्रवेश गर्नुपर्ने बताउँछन्। ‘जागिर खाने योजनाले शिक्षक भए विद्यार्थी, विद्यालय र राष्ट्रका लागि सहयोग गर्न सकिँदैन,’ उनले भने, ‘नयाँ पुस्ता नयाँ प्रविधिबाट दक्ष भएर आउनुपर्छ ।’ नयाँ पुस्ताको शिक्षकलाई दक्ष भएर शिक्षणमा प्रवेश गर्न आग्रह गर्छन्।