ला लिगामा रियल मड्रिडले गेटाफेलाई हरायो, बार्सिलोना बराबरीमा रोकियो
काठमाडौं, पुस २० : स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले जित दर्ता गरेको छ । शनिबार राति सम्पन्न खेलमा गेटाफेमाथि तीन–शून्य गोलको जित निकालेको म....

काठमाडौं, पुस २० : स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले जित दर्ता गरेको छ । शनिबार राति सम्पन्न खेलमा गेटाफेमाथि तीन–शून्य गोलको जित निकालेको मड्रिडले तालिकामा ४० अङ्क बनाउँदै बार्सिलोनासँग अङ्क बराबरी गरेको हो ।
शगेटाफेको मैदानमा तीन–शून्य गोलको फराकिलो जित दर्ता गर्दा मड्रिडले अग्रता भने उपहार गोलबाट लिएको थियो । बल क्लियर गर्न खोज्दा गेटाफेका डेभिड सोरियाले आफ्नै पोस्टमा गोल गरेका थिए । आत्मघाती गोलले अग्रता बनाएको मड्रिडले दोस्रो हाफमा दुई गोल थपेको थियो । राफेल भर्नेले ५३ औँ मिनेटमा गोल गर्दै मड्रिडको अग्रता दोब्बर बनाए ।
दोस्रो हाफको इन्ज्योरी समयको सातौँ मिनेटमा लुका मड्रिकले मड्रिडका लागि तेस्रो गोल गर्दै फराकिलो जित दिलाए । यता स्पेनिस ला लिगामा बार्सिलोना भने रेलिगेसन जोनको स्पान्योलसँग बराबरीमा रोकिएको छ । स्पान्योलको मैदानमा भएको खेलमा १० खेलाडीमा समेटिएको बार्सिलोना २–२ गोलको बराबरीमा रोकिएको हो । बराबरीका कारण बार्सिलोनाले दोस्रो स्थानको रियल मड्रिडसँगको अङ्क दुरी बढाउने मौका गुमाएको छ । अङ्क बाँडेसँगै बार्सिलोनाको ४० अङ्क भएको छ । एस्पान्योलको मैदानमा भएको खेलमा २३औँ मिनेटमा डेभिड लोपेजले गोल गर्दै घरेलु टिमलाई अग्रता दिलाए ।
पहिलो हाफमा एस्पान्योलले अग्रता कायम राखे पनि बार्सिलोनाका लागि लुइस स्वारेजले ५०औँ मिनेटमा बराबरी गोल फर्काए । त्यसको ९ मिनेटपछि अर्टुरो भिडालले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । खेलको ७५औँ मिनेटमा फ्रेङ्की डी जोङ दोहोरो पहेँलो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि बार्सिलोना १० खेलाडीमा सीमित बन्यो । निर्धारित समय सकिन दुई मिनेट बाँकी रहँदा एस्पान्योलका वु लेईले गोल गर्दै खेललाई बराबरीमा रोके ।











