Kathmandu Press

हिमपातले कर्णाली र सुदूरपश्चिमको जनजीवन प्रभावित

हिमपातले कर्णाली र सुदूरपश्चिमको जनजीवन प्रभावित

कर्णाली, माघ १० : कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली जिल्लामा परेको हिमपातले जनजीवन कष्टकर बनेको छ । कर्णाली प्रदेशको माथिल्लो क्षेत्रमा पर्ने कालीकोटको अग्लो भाग, जुम्ला, मुगु, हुम्ला र डोल्पामा भारी हिमपात भएको छ । त्यस्तै, सुदूरपश्चिम प्रदेशका बझाङ, बैतडी, र बाजुरामा पनि हिमपात भएको छ । हिमपातका कारण त्यहाँका स्थानीयको जनजीवन कष्टकर बन्दै गएको स्थानीयले जानकारी दिएका छन् । 

उच्च हिमाली जिल्लामा हिमपातका कारण सरकारी तथा गैरसरकारी कार्यालयका कामकाज पनि प्रभावित भएका छन् । हिमपात भइरहे पनि सबै सरकारी कार्यालय खुला रहेको जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीले राससलाई जानकारी दिए।

Hardik ivf

'नागरिकता बनाउन छिटपुटरुपमा सेवाग्राही आएकै छन् । चिसोबाट बच्न हामीले जुम्ला बजारका चोकचोक आगो बालेर ताप्ने व्यवस्था मिलाएका छौँ, ' उनले भने, 'चिसोबाट बच्ने उपायबारे पनि स्थानीयलाई सूचना गरिएको छ ।' हिउँ परिरहेकाले लामो तथा छोटो दूरीका सवारी यातायात सञ्चालनमा आउन नसकेको प्रजिअ केसरीले जनाए।

जिल्ला प्रशासन कार्यालय हुम्लाका निमित्त प्रमुख जिल्ला अधिकारी अमृतप्रसाद सुवेदीले भारी हिमपातका कठ्याङ्ग्रिने चिसो बढेको बताए। 'हुम्लाको आजको तापक्रम माइनस पाँच डिग्री सेल्सियसमा झरेको छ । चिसो निकै बढेकाले हामी प्रशासनमा आगो बालेर बसेका छौँ तर सेवाग्राही एकजना पनि आएका छैनन् ।' हिमपातकै कारण यातायातको एकमात्र विकल्प हवाई सेवा पनि ठप्प भएको निमित्त प्रजिअ सुवेदीले जनाए।
  
चिसोले ज्येष्ठ नागरिक, दीर्घरोगी, बालबालिका र ट्युसन अध्ययन गर्ने बालबालिका प्रभावित भएका छन् । हिउँ पर्दा भने किसान हर्षित भएका छन् । सुक्खा खडेरीले हिउँदे बाली सुक्दै जाँदा चिन्तित बनेका किसान भने पहिलोपटक हिउँ परेपछि खुसी भएको कृषि विकास कार्यालय जुम्लाका प्रमुख गणेशबहादुर अधिकारी बताए।

हिउँदे बालीको उत्पादन वृद्धिका लागि कर्णालीमा पुस र माघमा हिमपात हुनुपर्ने यहाँका किसान बताउँछन् । चन्दननाथ नगरपालिका–३ जुम्लाका मन्नु बुढ्थापाले हिमपातले बढेको चिसोका कारण स्थानीयलाई हिँडडुल गर्न र पशु चौपायालाई दाना पानी दिन भने समस्या भए पनि अन्नबालीका लागि राम्रो भएको जानकारी दिए। हिमपातले गहुँ, जहुँ बाली सप्रिने र स्याउका बिरुवालाई फाइदा हुने बुढ्थापाले बताए।

कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्रालय विपद् शाखाका प्रमुख कृष्णबहादुर रोकायले जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा भोलिसम्म हिमपातको सम्भावना रहेको सूचनाबमोजिम यहाँका नागरिकलाई आवश्यक सावधानी तथा सतर्कता अपनाउन अनुरोध गरिएको बताए।

प्रकाशित मिति: १९:४८ बजे, मंगलबार, माघ १०, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्