Kathmandu Press

मगर समुदायमा पितृ र चेली पुज्ने पर्व ‘माघे सकराती’

मगरले माघे संक्रान्तिका बेला चेलीबेटीलाई निम्तो गरेर मीठो-पोसिलो खानेकुरा खुवाउने, टीका लगाइदिएर दक्षिणा दिने चलन छ। कतै चामलको सेतो टीका त कतै काँचो तरुलको टीका लाइदिने चलन मगर समुदायमा पाइन्छ।
मगर समुदायमा पितृ र चेली पुज्ने पर्व ‘माघे सकराती’

बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषता बोकेको देश नेपालमा माघे संक्रान्ति एउटा साझा पर्वका रूपमा रहेको छ। हिमाल, पहाड, तराईका सबैजसो भूभागमा बसोबास गर्ने नेपालीले आआफ्नै तौरतरिकाबाट यो पर्व मनाउने गरेका छन्। विशेषतः थारू, मगर, छन्त्याल, दुरा, कुमाल, भुजेललगायत जातिले यसलाई आफ्नो समुदायको मुख्य सांस्कृतिक पर्वका रूपमा मनाउँदै आएका छन्।

यी जातिहरू पछिल्लो समय आफ्ना लोप हुन लागेका संस्कृति र रीतिरिवाजको जगेर्नामा संस्थागत रूपमै लागेका छन्। देशैभरिका मगरहरूले माघे संक्रान्ति अर्थात् ‘माघे सकराती’ विशेष चाडका रूपमा मनाउने गर्छन्। काठमाडौं उपत्यकामा बस्दै आएका मगरहरूले यसपालि टुँडिखेलमा भेला भएर भव्यताका साथ माघे सकराती मनाइरहेका छन्।

नेपाल मगर संघको अगुवाइमा शुक्रबार (पुस २९) गते ‘मगर मौलिक सांस्कृतिक राष्ट्रिय महोत्सव’ नाममा माघे सकरातीको कार्यक्रम सुरु भइसकेको छ। तेस्रो दिन आज (माघ १ गते) माघे सकरातीको अवसरमा आयोजित उक्त कार्यक्रम विशेष रूपमा मनाइँदैछ। ‘मगरात सभ्यताको संरक्षण-संवर्धन गर्दै पुस्तान्तरण गरौं, मगर समुदायको महान् चाड माघे सकराती-२०७९ भव्यताका साथ मनाऔं’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा मुख्य दिन आज प्रमुख अतिथिका रूपमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई आमन्त्रण गरिएको छ।

Hardik ivf

कार्यक्रममा घाटु, सोरठी, पैस्यारु, हुर्रा, भूम्या, कौडा, मयुर नाच प्रदर्शन हुनुका साथै झाँक्री संस्कृति र तारो हान्ने खेल आकर्षणका रूपमा रहेका छन्। कार्यक्रमस्थलमा विभिन्न परिकार, मगर जाति र संस्कृतिसँग सम्बधित पुस्तक, पहिरनलगायत विभिन्न सामग्रीका स्टलहरू राखिएका छन्। आज मौलिक वेशभूषामा ठाँटिएका मगरहरूको सांस्कृतिक झाँकीसहित र्‍याली गरिनेछ। र्‍याली बिहान ११ बजे सुरु हुने आयोजकको भनाइ छ।

काठमाडौंसँगै मगरको बाक्लो बस्ती भएका मुलुकका विभिन्न भूभाग र मगरहरू बस्दै आएका अमेरिका, अस्ट्रेलिया, जापान, भारत, मलेसिया, क्यानडा, साउदी अरेबिया, कतार, युएईलगायत विभिन्न देशमा समेत विविध सांस्कृतिक कार्यक्रम भइरहेका छन्।

खासगरी मगर संघकै अन्तर्राष्ट्रिय शाखाहरूको सक्रियतामा यस्ता कार्यक्रम आयोजना हुने गरेका छन्। केही वर्षयता भव्यताका साथ गरिँदै आएका कार्यक्रमरूमा वर्षेपिच्छे सहभागीहरूको संख्या बढ्दो छ।

राष्ट्रिय सांस्कृतिक पर्व

सांस्कृतिक हिसाबले सम्पन्न भए पनि राज्यले एक भाषा र एक धर्मको नीति लिएका कारण भाषिक, सांस्कृतिक र राजनीतिक दृष्टिले अन्य विभिन्न जातजातिजसरी मगर जाति पनि पछाडि रहन पुग्यो। मगरहरूसँगै थुप्रै जातिले आफ्ना संस्कृतिक पर्वलाई जागरण अभियान र एकता प्रदर्शनका रूपमा मनाउन थालेका छन्। मगरहरूले पनि आफ्नो मूल पर्व माघे सकरातीलाई सांस्कृतिक आन्दोलनका रूपमा मनाउँदै आएका छन्।

मगरहरूले उठाउँदै आएको आवाज र गर्दै आएको मागलाई सम्बोधन गरेर २०६५ सालमा सरकारले माघ १ अर्थात् माघे सकरातीलाई मगर समुदायको राष्ट्रिय मौलिक चाडका रूपमा मान्यता दिएको थियाे। त्यसयता विविधतामा एकता खोज्दै सम्पूर्ण मगर समुदायले सामूहिक रूपमा यो पर्व मनाउन थालेका हुन्।

तर सार्वजनिक बिदा दिने विषयमा भने अन्योलको स्थिति सिर्जना भएको छ। बिदा कहिले राख्ने र कहिले हटाउने गर्दा माघे सकरातीलाई मूल पर्वका रूपमा अंगीकार गर्दै आएका मगर, थारूलगायत अन्य विभिन्न समुदायलाई सरकारले अपमानबोध गरेको गुनासाे रहँदै आएको छ।

जनगणना २०६८ को तथ्यांकअनुसार नेपालको तेस्रो ठुलो जनसंख्या भएको जाति हो मगर। आदिवासी जनजातिमध्येमा मगरको जनसंख्या सबैभन्दा बढी छ। २०७८ सालको पूर्ण विवरण सार्वजनिक हुन बाँकी छ। प्रारम्भिक तथ्यांकमा जातीय जनसंख्या उल्लेख नभए पनि स्थनगत रूपमा खासै फेरबदल नआएको आकलन गरिन्छ।

नेपालका सबैजसो जिल्लामा छरिएर रहेकाले र ठुलो संख्या भएकाले मगर समुदायभित्रै पनि स्वाभाविक रूपमा सांस्कृतिक-सामाजिक विविधता छन्। मगर संघका अध्यक्ष ज्ञानेन्द्र पुनका अनुसार मगरहरूको सिंगो संस्कृतिभित्र मूलतः तीन शाखा संस्कृति छन्- बाह्र मगरात, अठार मगरात र काइके।

गुल्मीको रिडी क्षेत्रभन्दा पूर्वका मगरहरूको भाषा–संस्कृतिलाई बाह्र मगरात (ढुट) र त्यसभन्दा पश्चितिरका मगरको भाषा-संस्कृतिलाई अठार मगरात (खाम/पाङ) भनिन्छ। डोल्पाका केही गाउँमा बसोबास गर्ने अल्पसंख्यक काइके मगरको छुट्टै भाषा-संस्कृति छ, जुन अन्य मगर संस्कृतिसँग मेल खाँदैन। यी तीनै खाले मगरका भाषा आपसमा मिल्दैनन्, जन्मदेखि मृत्युसम्मका संस्कारमा केही न केही भिन्नता पाइन्छ। तर माघे सकरातीलाई भने यी तीनै खाले संस्कृतिका मगरले प्राचीन कालदेखि मनाउँदै आएको मगर संस्कृति अध्येताहरू बताउँछन्।

मगर संस्कृतिमा विद्यावारिधि गरेका मीन श्रीस मगरका अनुसार वर्षायाममा लगाइएको बालीनाली हिउँदयाममा पाक्छ। नयाँ अन्नबाट बनाइएको खिचडी माघे सकरातीको विशेष परिकार हो। त्यसैगरी नयाँ अन्नबाटै बनाइने सेलरोटी, बारा, बटुक रोटीसँग सुँगुरको मासु, पिँडालुको अचार र जाँडरक्सी परिकार मगरहरूका लागि माघे सकरातीमा विशेष बन्ने गर्छन्।

यस चाडमा ठाउँ विशेषअनुसार मौलिक रूपले भैलो खेल्ने, पुतली नाच्ने, सिस्नो खेल्ने, पिङ खेल्ने पनि गरिन्छ। माघे सकरातीमा मगरहरूका बीचमा शुभकामना आदानप्रदान गर्ने गरिन्छ।

चेली सत्कारको पर्व

मगरले माघे संक्रान्तिका बेला चेलीबेटीलाई निम्तो गरेर मीठो-पोसिलो खानेकुरा खुवाउने, टीका लगाइदिएर दक्षिणा दिने चलन छ। कतै चामलको सेतो टीका त कतै काँचो तरुलको टीका लाइदिने चलन मगर समुदायमा पाइन्छ।
माघे सकरातीको खास विशेषता भन्नु नै चेलीलाई पुज्नु हो। दाजुभाइ र दिदीबहिनीका बीचमा प्रेम, सद्भाव, विश्वासको वातावरण तय गर्ने एउटा महत्वपूर्ण पर्वका रूपमा माघे सकराती रहेको मगर विद्वान्हरू बताउँछन्।

अध्ययताका अनुसार यस चाडमा दाजुभाइले खासगरी बिहे गरेर गइसकेका दिदीबहिनीलाई माइत आउन निम्ता दिन्छन्। खासगरी पश्चिम नेपालतिर माइत आएका दिदीबहिनीले सकरातीको दिन बिहानै नुहाइधुवाई गरेर पँधेराबाट ल्याएको चोखो पानी र जौपातीले घरको धुरीखाँबो पुज्ने गरिन्छ।

त्यसपछि चेलीहरूलाई दाजुभाइले चामलको सेतो टीका र जौपाती लगाइदिएर दक्षिणासहित ‘मिस्रा’ दिने गर्छन्। छोरीचेलीलाई दिइने तरुल, गिठा, भ्याकुर, पिँडालु, रोटी, खिचडीलगायतलाई मिस्रा भनिन्छ। माइत आउन नसकेका चेलीलाई उनीहरूकै घरघरमा मिस्रा पुर्‍याइदिने वा पठाइदिने चलन छ। मिस्रालाई कुनै भेगतिर 'पाहुर' भन्ने चलन पनि छ।

यो पर्वमा चेलीबेटी र ज्वाइँ-कुटुम्बलाई बोलाएर विभिन्न परिकार खुवाउने चलन धेरै पहिलेदेखिको हो। माघे सकारातीमा मगर समुदायले तरुललाई सबैभन्दा बढी महत्व दिने गर्छ। माघ १ गतेदेखि गर्मी मौसम सुरु हुने भन्दै शरीरलाई चिसो बनाएर प्रकृतिसँग मिलाउन वनतरुल, घरतरुल खानुपर्ने मान्यता मगर समुदायमा रहेको पाइन्छ। पिँडालु, सखरखण्ड, गिठा, भ्याकुरलगायत कन्दमूललाई पनि तरुलबराबर नै मानेर खाने चलन पनि छ।

पितृ पुज्ने पर्व

कतिपय ठाउँमा मगर समुदायमा माघे सकरातीकै दिन पितृपूजा गर्ने चलन पनि छ। बुवाआमाको स्वर्गारोहण भइसकेका छोराहरूले यो दिन दिवंगत बुवाआमाका नाममा पिण्ड चढाउने गर्छन्। पिण्ड दिनेहरू अघिल्लो दिन अर्थात् पुस मसान्तको दिन उपवास बस्छन्।

माघ १ गते बिहानै पँधेरा वा खोलामा गई एक मुठी चामल, एक मुठी खाल, अदुवा पितृलाई चढाउने चलन रहेको मगर संस्कृतिका अध्यताहरू बताउँछन्। पूर्वी नेपालका सुनसरी, धनकुटातिरका मगर बस्तीमा कुलपितृलाई धुपबत्ती गरेरर काँचो तरुल चढाउने गरिन्छ।  माघे सकरातीका दिनमा पितृ पूजा गरे अरु दिनमा गर्नुनपर्ने मान्यता मगर समुदायमा पाइन्छ।

नयाँ आर्थिक वर्ष

पहिले मगरहरूले माघे सकरातीलाई नयाँ आर्थिक वर्षका रूपमा लिन्थे। यसको पछाडि निश्चित ऐतिहासिक तथ्य रहेको नेपाल मगर संघका पूर्वअध्यक्ष नवीन रोका मगर बताउँछन्।

उनका अनुसार प्राचीन तथा मध्यकालमा नेपालमा थुप्रै मगर राज्य अस्तित्वमा थिए। त्यतिबेला बितेको वर्षको समीक्षा गर्ने तथा आगामी वर्षको नीति तथा कार्यक्रम तर्जुमा गर्ने दिनका रूपमा माघ १ गतेलाई लिइन्थ्यो। त्यतिबेला राज्यले मात्र नभई सर्वसाधारणले पनि आफूसँग सम्बन्धित सबैखाले हरहिसाब अद्यावधिक मात्र नभई परिवारजनका बीचमा काम बाँडफाँट पनि यसै दिन गर्थे।

मीन श्रीसका अनुसार मगर समुदायले वर्षभरिको समयलाई दुई भागमा विभाजन गरी माघे संक्रान्तिदेखि असार मसान्तसम्म उभौली र साउने संक्रान्तिबाट पुस मसान्तसम्म उधौलीका रूपमा लिने गरेका छन्। उभौली सुरु हुनुलाई नै मगरहरूले नयाँ वर्ष आरम्भको मान्यता दिने गरिएको उनी बताउँछन्।

सामाजिक र सांस्कृतिक पक्ष

मगर समुदायमा मौसमअनुसार बेग्लाबेग्लै गीत-नृत्यमा रमाउने चलन छ। बाजागाजा कहिले बजाउने र कहिले बन्द गर्ने भन्ने सामाजिक नियम बनाइएको छ। साउने सकरातीबाट चर्को आवाज आउने मादल आदि बाजा बजाउन पाइन्छ भने माघे सकरातीसँगै तिनलाई बन्द गर्ने चलन छ। त्यही दिनमा मधुरो आवाज हुने खैंजडी बजाएर गाइने र सुस्त चालमा नाचिने कौडाको विधिवत् सुरुवात गरिन्छ।

मगर संस्कृतिका अध्यताका अनुसार पश्चिम भेगको पहाडी क्षेत्रमा अहिले पनि मगरहरूको बसाइ लेक र बेंसी दुवैतिर हुने गर्छ। ‘उभौली लागेसँगै लेकका पाटनमा गएर लामो समय बस्ने, खेतीपाती गर्ने, भेडाबाख्रा पाल्ने गर्छन्,’ मीन श्रीस भन्छन्, ‘जाडो पनि बढेको, कामको बोझ नभएको बेला पारी बेंसीमा झारिएका भेडीगोठ पुनः लेकतिरै लाने बेला भएको संकेत गर्ने पर्वका रूपमा माघे सकरातीलाई लिने गरिन्छ।’

डा. श्रीसका अनुसार यो पर्वले तिहारकै झल्कोसमेत दिने गरेको छ। किनकि यतिबेला कतैकतै ‘देउसीभैलो’जस्तै घरघरमा पुगी नाचगान गरी माग्ने चलन छ। बाग्लुङको एउटा भेगतिर पहिलो दिनलाई ‘जेठी सकराती’ र दोस्रो दिनलाई ‘कान्छी सकराती’ भनेर दुई दिन मान्ने पनि गरेका छन्। मगर समुदायमा पितृ र चेली पुज्ने महत्वपूर्ण पर्वका रूपमा माघे सकराती रहेको छ।

तारो हान्ने खेल

माघे सकरातीका बेला मगर समुदायमा तीर हान्ने खेल खेलिन्छ। डा. श्रीसका अनुसार परम्परागत आधारमा हेर्दा मगर समुदायमा पुस १५ गतेबाट मात्रै धनुकाँड चलाउन पाइन्छ। दुई साताजति अभ्यास गरेर माघे सकरातीका दिन तारो हान्ने प्रतियोगिता हुने गर्छ। प्रतियोगिता जित्नेलाई विभिन्न पुरस्कार दिइन्छ।

पहिलेपहिले तारो हान्ने खेल जितेर साली (मामाचेली) लाई विवाह गर्ने समेत चलन थियो। तारो खेलले मगरहरू सिकारी जाति भएको संकेत दिन्छ। प्राचीन तथा मध्यकालमा बाबुबाजेले आफ्ना सन्तानलाई धनुकाँड चलाउन सिकाउने गरेको र कालान्तरमा त्यो खेलका रूपमा विकसित भएको बताइन्छ। पहिलापहिला भेडीगोठ लिएर जाँदा वनमा विभिन्न जनावरको सिकार गर्न र खतरनाक जनावरको आक्रमणबाट बच्न धनुकाँड चलाउने गरिन्थ्यो।

धनुकाँड चलाउने सीप अघिल्लो पुस्ताले पछिल्लोलाई सिकाउने चलन थियो, जुन माघेसंक्रान्तिकै आसपासमा हुन्थ्यो। त्यसैकारण पछि आएर माघे सकरातीमा मगर समुदायमा खेलिने एउटा महत्वपूर्ण खेलका रूपमा यसको विकास भएको मान्यता छ।

 

प्रकाशित मिति: १५:०१ बजे, आइतबार, माघ १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मैले चिनेका दमन दाइ
मैले चिनेका दमन दाइ
दशैंकाे भाग
दशैंकाे भाग
दसैं हिन्दुको कि नेपालीको?
दसैं हिन्दुको कि नेपालीको?