Kathmandu Press

मनाङ मर्स्याङ्दीलाई पुरानो विरासत जोगाउने चिन्ता

काठमाडौं, पुस १४ : मनाङ  मर्स्याङ्दी क्लब जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलको शीर्ष स्थानमा छ। शीर्ष स्थानमा रहने क्रममा मनाङले चार खेलबाट....

मनाङ मर्स्याङ्दीलाई पुरानो विरासत जोगाउने चिन्ता

काठमाडौं, पुस १४ : मनाङ  मर्स्याङ्दी क्लब जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलको शीर्ष स्थानमा छ। शीर्ष स्थानमा रहने क्रममा मनाङले चार खेलबाट १० अंक जोडेको छ। 

तर मनाङले जसरी लिगमा खेलिरहेको छ। त्यो उपाधि रक्षा गर्ने खालको भने छैन। मनाङको सुरुवाती प्रदर्शनलाई हेर्ने हो भने उपाधि रक्षा अभियान सहज देखिँदैन। यो पटक मनाङको ३३ वर्षे एकछत्र विरासतको चिन्ता किन पनि छ भने उसले एकै पटक राष्ट्रिय टिमका सात जना सदस्यलाई गुमाएको छ।

अघिल्लो पटक लिग जित्दा अन्तिम एक खेलबाहेक सबै खेलमा अपराजित रहेको थियो मनाङ। अन्तिम खेलमा उसलाई १–०ले हराएको फ्रेन्ड्स क्लबले सोमबार भएको लिगको खेलमा पनि १–१ गोलको बराबरीमा रोकेको छ।

यो पटकको कथा मनाङको फरक छ। अघिल्लो सिजन च्याम्पियन बन्दाका धेरै खेलाडी अहिले टिममा छैनन्। नयाँ अनुहार लिएर उपाधि रक्षा अभियान स्वभाविक रुपमा कठिन छ। त्यसो त मनाङले ए डिभिजन लिग फुटबलको यात्रा तय गरेदेखि नै सधैं आफूलाई उपाधि दाबेदारका रुपमा उभ्याउँदै आएको छ।

मनाङको ए डिभिजन लिग फुटबलको यात्रामा कमाएको ब्रान्ड भनेकै च्याम्पियन छवि हो। त्यस्तै, सर्वाधिक धेरै पटक उपाधि जित्ने एक्लो टिम नै मनाङ हो। त्यसैले यो पटक औसत खेलाडीबाटै उपाधि रक्षा अभियान सफल बनाए  मनाङको अर्को कथा लेखिनेछ।

प्रतिबन्धले जन्मिएको मनाङ

२०३६-०३७ सालमा ठमेल–११ चर्चित क्लबका रुपमा थियो। त्यो समय फुटबल व्यवसायिक भन्दा पनि प्रतिष्ठाका रुपमा लिइन्थ्यो। बलियो टिमले हार्नु भनेको टोलमा झगडा हुनु अर्थात एक अर्का क्लबप्रति दुश्मनी बढ्नु नै हुन्थ्यो। त्यही समय ठमेल ११ को थ्रीस्टार क्लबसँग झगडा पर्‍यो। परिणाम स्वरुप ठमेल ११ प्रतिबन्धमा प¥यो। त्यही ठमेल ११ मा मनाङका युवा खेलाडीहरु पनि सहभागी हुन्थे।

प्रतिबन्ध पछि अब आफ्नै क्लब बनाउनु पर्छ भनेर मनाङका तत्कालीन युवा र खेलप्रति लगाब राख्नेहरुको निर्णय भयो। जसमा पूर्वमन्त्री समेत रहेका टेकबहादुर गुरुङ, टासी घले लगायतकाले २०३८ मा क्लब स्थापना गरे। त्यसपछि क्लबले विस्तारै आकार ग्रहण गरेको थियो।

छोटो समयमै ए डिभिजनमा फड्को

तत्कालीन समयमा मनाङले मणि साह, विराटजङ्ग शाही, राजेश मानन्धर लगायत खेलाडीको साथ पाएको थियो। तत्कालीन स्टार खेलाडीले मनाङ ‘डी’ बाट लगातार च्याम्पियन बनाएर ‘ए’ डिभिजनसम्म ल्याए। 

२०३८ सालमा स्थापना भएको मनाङले २०४२ सालमा जे गर्‍यो कमालै गर्‍यो। उसले ‘डी’ बाट लगातार ए डिभिजनसम्म च्यामिपयन भएर इतिहास रच्यो। त्यही मनाङ २०४३ देखि २०७५ सम्मको यात्रामा सर्वाधिक ८ पटक च्याम्पियन भयो। सहिद स्मारक लिगको सर्वाधिक धेरै पटक च्याम्पियन बनेको मनाङ ए डिभिजनमा सर्वाधिक सफल टिमका रुपमा रहन स्थापना भएको छोटो समय नै काफी भयो।

मनाङ सुरुवाती तीन संस्करण लगातार च्याम्पियन बन्यो। त्यसपछि पनि लिग नियमित नभएपनि भएका समयमा एक नम्बर दाबेदार नै रह्यो। नेपाली फुटबलमा मनाङबाट प्रतिष्पर्धा गर्नु कुनै समय नेपाली खेलाडीको सर्वाधिक ठूलो प्रतिष्ठा हुन्थ्यो। अर्थात मनाङबाट खेल्ने खेलाडीको सपना हुन्थ्यो!

किन भएन सात खेलाडीसँग सम्झौता ?

मनाङका टिम व्यवस्थापक कुमार भट्टराई खेलाडीसँग समन्वय नहुँदा यो पटक सम्झौता हुन नसकेको बताउँछन्। ‘यो पटक खेलाडीहरु विश्वकप छनोटमा व्यस्त थिए। त्यस लगत्तै  दशैंतिहार आयो। तर लिग हुने नहुने अन्योलता थियो। यही बीचमा मच्छिन्द्रले खेलाडीसँग सम्झौता गरेको हो,’उनले भने। 

यद्यपि मनाङले अहिलेका खेलाडीबाट पनि राम्रो नतिजा निकाल्ने भट्टराईको विश्वास छ। ‘हामीलाई प्रशिक्षक र खेलाडी दुवैमा विश्वास छ। पुरानो मनाङको विरासतको चिन्ता एकातिर रहँदा हामी नयाँ खेलाडी पनि अवसर पाए गर्न सक्छन् भनेर देखाउने सोचमा छौं,’ उनले भने।
 

प्रकाशित मिति: १९:०१ बजे, सोमबार, पुस १४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्