पोखरा म्याराथनमा दुई लाख पुरस्कार
पोखरा, पुस १४ : पोखरामा वर्षेनी आयोजना हुँदै आएको ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’को पुरस्कार राशिमा दोब्बर वृद्धि गरिएको छ।

पोखरा, पुस १४ : पोखरामा वर्षेनी आयोजना हुँदै आएको ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’को पुरस्कार राशिमा दोब्बर वृद्धि गरिएको छ।
भूतपूर्व खेलाडी मञ्च नेपालले आयोजना गर्दै आएको म्याराथनमा विगतमा विजेतालाई एक लाख दिइएकोमा यस वर्षबाट विजेतालाई दुई लाख पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ। सोमबार पत्रकार सम्मेलन गरि प्रतियोगिताबारे जानकारी दिइएको हो।
त्यस्तै, प्रतियोगितामा द्वितीय, तृतीय र सान्त्वनालाई क्रमशः एक लाख, ७५ हजार र १५ हजार पुरस्कार प्रदान गरिनेछ।
दक्षिण एशियाली मुलुकबाट व्यावसायिक धावकको सहभागिता वृद्धि गर्ने उद्देश्यले पुरस्कार राशिमा वृद्धि गरिएको संस्थाका अध्यक्ष तेजबहादुर गुरुङले बताए। पोखरामा खेल पर्यटनको प्रवद्र्धन प्रतियोगिताले सघाउनेछ।
प्रतियोगितामा पुरुष तथा महिला १० किमी दौडमा प्रथम, द्वितीय र तृतीयलाई क्रमशः १५, रु १० र पाँच हजार प्रदान गरिनेछ।
त्यस्तै, पाँच किमी छात्र÷छात्रा दौडमा प्रथम, द्वितीय र तृतीयलाई क्रमशः १० हजार, सात र चार हजार दिइनेछ। ह्विलचियर पुरुष तथा महिला र दृष्टिविहीन पुरुष तथा महिला दौडमा प्रथम, द्वितीय र तृतीयलाई पाँच, तीन र दुई हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।
‘विश्व परिवेशमा चर्चित शहरको नाममा आयोजना हुँदै आएको सिटी म्याराथनको अवधारणाअनुरुप पर्यटकीय शहर पोखरालाई खेलकुदको विश्व मानचित्रमा स्थापित गराउँदै पर्यटन प्रवद्र्धन गर्ने प्रतियोगिताको प्रमुख लक्ष्य हो,’ अध्यक्ष गुरुङले भने।
प्रतियोगिताको तयारीका लागि विभिन्न २१ उपसमिति गठन गरी कार्य अघि बढाइएको पोखरेली मञ्च युके, हङकङ निवासी नेपाली समूदाय, सहारा यूके, नेपाली समाज बोस्टनलगायतका खेलप्रेमीबाट सहयोगको प्रतिबद्धता प्राप्त भएकाले यस संस्करण विगतको भन्दा भव्य हुने आयोजकले जनाएको छ।
प्रतियोगितामा सहभागीताका लागि बङ्गलादेश, भारत, श्रीलङ्का तथा पोखरा महानगरबाट भगिनी सम्बन्ध कायम भएका जापानको कोमागाने र चीनका केही शहरमा पत्राचार गरिएको र सहभागी हुने आश्वासन प्राप्त भएको मञ्चका उपाध्यक्ष हरिप्रसाद पराजुलीले बताए। यसवर्ष प्रतियोगितामा करिब सात हजारको हाराहारीमा सहभागिता रहने विश्वास आयोजकको छ।











