प्रचण्ड क्याबिनेटकी एक्ली महिला ज्वाला, यस्तो छ संघर्ष यात्रा
सांसदका रूपमा जनताको सेवकको रुपमा उल्लेखनीय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेकी उनले संघीय मन्त्री भएर थप उत्साहका साथ जनसेवामा जुट्ने अवसर पाएकी छन्।काठमाडौं, पुस ११ : नेकपा एमालेकी सांसद ज्वालाकुमारी साह चौथोपटक मन्त्री बनेकी छन्। आज (सोमबार) शीतल निवासमा आयोजित शपथ ग्रहण कार्यक्रममा उनले मन्त्री पदको शपथ ग्रहण गरेकी छन्।
नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री रहनेगरी आठ सदस्यीय मन्त्रिमण्डल गठन भएको अवस्थामा साह कार्यभार पछि तोकिने गरी मन्त्री बनेकी हुन्। पहिलो चरणमा मन्त्री हुने महिलामा उनी एकजना मात्र हुन्। यसअघि उनी संघीय सरकारमा दुईपटक राज्यमन्त्री र एकपटक मन्त्री बनिसकेकी छन्।
गत मंसिर ४ सम्पन्न निर्वाचनमा बारा ३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित ज्वालाकुमारी साहले जनता समाजवादी पार्टी (जसपा) का रामबाबुकुमार यादवलाई २ हजार ९८२ मतान्तरले पराजित गरेकी हुन्। साहले २० हजार २५१ मत ल्याउँदा यादव १७ हजार २६९ सीमित बनेका थिए। यसपटकको निर्वाचनमा प्रतिनिधिसभा प्रत्यक्षतर्फ नौ महिलाले जित हासिल गर्दा एमालेका तर्फबाट चारजना छन्। जसमा साह पनि एक हुन्।
चुनाव जितेलगत्तै उनले महिला, विद्यार्थी, आम बुद्धिजिवी र किसानमा एक किसिमको उत्साह देख्न पाउँदा खुशी लागेको बताएकी थिइन्। सांसदका रूपमा जनताको सेवकको रुपमा उल्लेखनीय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेकी उनले संघीय मन्त्री भएर थप उत्साहका साथ जनसेवामा जुट्ने अवसर पाएकी छन्।
बाल्यकाल
ज्वाला २०३८ साल बाराको तत्कालीन सिहर्वा गाविस वडा ६ लौतल (हाल सुन्दर नगरपालिका) मा बुवा खेदु साह र आमा श्रीपतिदेवी साहको पहिलो सन्तानको रूपमा जन्मिएकी हुन्। बाल्यकालमै ‘समाज असमानता छ, समाज परिवर्तनका लागि युवाले विद्रोह गर्नुपर्छ’ भन्ने आफ्ना बुवाको आदर्श विचारबाट आफू प्रभावित भएको उनी बताउँछिन्।
ज्वालाका बुवा खेदु तत्कालीन कम्युनिस्ट पार्टीको भ्रातृ संगठन किसान संघमा सक्रिय थिए। २०३८ सालमा किसान आन्दोलन चलेकै बेला उनका बुवाले पनि आफ्नो गाउँटोलमा संगठन बनाउँदै आन्दोलनको अगुवाइ गरेका थिए। आन्दोलनमा सक्रिय भएको आरोपमा उनका बुवालाई २०३८ सालमा सेनाले पक्रेर प्रहरीको जिम्मा लगायो।
१६ दिन जेलमा बस्दा उनका बुवालाई प्रहरीले घाउमा खुर्सानी छर्कनेलगायत कठोर यातना दिएको थियो। त्यसपछि उनलाई वीरगन्ज कारागारमा राखियो। सोही अवस्थामा ज्वाला जन्मेकी थिइन्। जन्मेको केही दिनमा आफूलाई आमाले जेलमै पुगेर बुवासँग भेट गराएको भनी पछि थाहा पाएका उनी बताउँछिन्। त्यहीबेला बुवाले भनेका थिए रे, ‘मेरो सपना छोरीले पूरा गर्नुपर्छ।’ त्यही भेटमा बुवाले आफ्नो नाम ‘ज्वाला’ राखिदिएको उनले सुनाइन्। तिनै ज्वाला यसपटक फेरि पनि मन्त्री बन्न सफल भएकी छन् र आफ्ना बुवाको मात्र नभएर सिंगो नेपाली जनताको सपना पूरा गर्ने जिम्मेवारीमा पुगेकी छन्।
यसरी आइन् राजनीतिमा
कम्युनिस्ट राजनीतिमा संलग्न बुवाको छोरी भएर जन्मेकी ज्वाला बाल्यकालदेखि नै विद्रोही स्वभावकी थिइन्। अलिकति बुझ्ने भएपछि नै समाज परिवर्तनका लागि राजनीतिमा लाग्नुपर्छ भन्ने चेतना आफूमा विकास भएको उनी बताउँछिन्। राजनीतिमा बुवाको लगाव नै आफूलाई राजनीतिमा लाग्ने प्रेरणा बनेको उनी बताउँछिन्।
तर पढाइ नभएकै कारण आफूले दुःख पाएको, राजनीतिमा लाग्दा कठोर संघर्ष गर्नुपरेको र परिवर्तनका लागि आवाज उठाउँदा चरम यातना भोग्नुपरेको भन्दै उनका बुवाले ज्वालालाई राजनीतिक जीवनबाट टाढा राख्न चाहन्थे। अर्थात् राम्रोसँग लेखपढ गरेर छोरी राजनीतिभन्दा अन्यत्र क्षेत्रमै ‘ठुलो मान्छे’ बनेको हेर्न चाहना बुवाको थियो।
पढाइ नहुँदा राजनीतिमा अन्य व्यक्तिले जस्तै उचाइ हासिल गर्न नसकेकोमा उनका बुवालाई ठुलो गुनासो थियो। त्यसकारण छोराछोरीलाई भने पढाउनुपर्छ भन्ने उनका बुवा लाग्थ्यो। मधेसतिर छोरीलाई पढाउने चलन त्यति नभए पनि क्रान्तिकारी बाबुभएकाले उनका हकमा त्यस्तो भएन। गाउँकै विद्यालयमा पढिरहेकै अवस्थामा २०५४ सालमा ज्वाला तत्कालीन नेकपा माओवादीको विद्यार्थी संगठनमा आबद्ध भइन्।
बाबु एमालेमा आबद्ध भए पनि तत्कालीन परिस्थितिले आफूलाई माओवादीतर्फ आकर्षित गराएको उनी बताउँछिन्। त्यतिबेला देशमा माओवादीले जनयुद्धका नाममा सशस्त्र द्वन्द्वको शंखघोष गरेर देशैभरि आन्दोलन चर्काएको थियो। माओवादीका नेता–कार्यकर्ता घरघरमा बास बस्न आउँथे। उनका घरमा पनि माओवादी बास बस्न आउँथे। माओवादीले आफूलाई कम्युनिस्ट विचारधारा समेटिएका पुस्तकहरू पढ्न दिएको र रातिराति लुकीलुकी ती पुस्तक पढ्ने गरेको स्मरण गरिन्। २०५६ सालमा आफू पढ्ने विद्यालयमा उनी माओवादी विद्यार्थी संगठनको कोषाध्यक्षसमेत भइन्।
छोरी जन्मिँदा प्रश्न गर्ने र छोरा जन्मिँदा उत्सव मनाउने तत्कालीन परिवेशमा महिला भएर राजनीतिक पाटोलाई अँगाल्नु सहज नभए पनि आफूले कहिल्यै हार नखाएको उनी बताउँछिन्। समय बित्दै जाँदा परिवर्तनका लागी छोरीले सही कदम चालेको भन्दै बुवाआमाले चित्त बुझाए पनि ‘फलानाकी छोरी त माओवादी’ भन्दै गरिने अनेकन् टीकाटिप्पणीको सामना आफूले मात्र नभएर परिवारजनले समेत गर्नुपरेको उनी सम्झिन्छिन्।
‘माओवादी क्रान्तिकारी विद्यार्थी संगठनको कोषाध्यक्ष ज्वाला साह’ भन्ने शीर्षकमा पत्रिकामा खबर प्रकाशित भएपछि भने प्रहरी आफूलाई खोज्दै घरसम्म आउन थालेको उनले सुनाइन्। यसैबीच उनी २०५७ सालमा उनले भूमिगत भइन्। आठ वर्ष भूमिगत जीवन बिताएको अवस्थामा पनि उनले राजनीतिमा झनै घनीभूत रूपमा लागिन्।
माओवादी आन्दोलनसक्रिय रहेकै अवस्थामा २०६० असार ३ गते जिल्ला कमिटीको बैठकमा सहयात्री अमृत शर्मा बजगाईंसँग ज्वालाको अन्तरजातीय विवाह भयो। विवाहपछि पनि उनी राजनीतिमा सक्रिय बनिरहिन्।
भूमिगत अवस्थाको दर्दनाक घटना
भूमिगत अवस्थामा उनले निकै संघर्ष गर्नुप¥यो। गर्भवती हुँदा पनि उनको संघर्ष निरन्तर चलिरह्यो। आफू र बच्चाको सुरक्षाका लागि पार्टीले भारतको एक गाउँमा आफूलाई राखिदिको उनी सुनाउँछिन्। उनले पहिलो सन्तान छोरालाई भारतमै जन्माइन्। जन्मिँदै जन्डिस भएका छोरालाई उपचारका लागि भारतको मोतीहारी अस्पताल लाँदा एक्कासि भाग्नुपरेको घटना उनी कहिल्यै भुल्न सक्दिनन्।
अस्पतालमा रहेको भनेर सुराकी परेपछि दुईवटा ट्रकमा आएका नेपाली सेनाका जवानहरूले अस्पताल घेरेपछि छोराको उपचार नै नगराई रक्ताम्मे शरीर लिएर उनले भाग्नुपरेको थियो। सुत्केरी अवस्थामा रातारात अनेक व्यथा सहेर भाग्दैभाग्दै नेपाल फर्किएको दर्दनाक कथा सुनाउँदा उनी भावुक बनिन्।
‘जनयुद्ध’लाई विश्राम दिएर माओवादी शान्तिप्रक्रियामा आएपछि २०६३ सालमा ज्वाला जनपरिषद्को केन्द्रीय सदस्य भइन्।
संसदीय यात्रा
२०६४ सालमा सम्पन्न पहिलो संविधानसभाको निर्वाचनमा उनी समानुपातिकबाट सांसद भइन्। यो नै उनको पहिलो संसदीय यात्रा थियो। सोही कार्यकालमा २०६७ सालमा उनी माओवादी पार्टीबाटै भूमि सुधार राज्यमन्त्री भइन्। त्यतिबेला बाबुराम भट्टराई प्रधानमन्त्री थिए।
उनले भूमि सुधार राज्यमन्त्रीको जिम्मेवारी साढे चार महिना मात्र सम्हाल्न पाइन्। सो अवधिमा पतिपत्नीबीच आउने विचलनलाई न्यूनीकरण गर्न दुवैका नामबाट लालपुर्जा दिने व्यवस्था गर्नुपर्ने आवाज सशक्त रूपमा उठाइन् र त्यसलाई नीतिगत रूपमै पारित गर्न उनी सफल भइन्।
२०६७ सालको अन्तिमतिर उनी डेढ महिना पर्यटन राज्यमन्त्री पनि बनिन्। संसदीय राजनीतिसँगै पार्टीगत भूमिकालाई पनि उनले शक्तिशाली बनाउँदै लगिन्। २०७० सालमा माओवादी केन्द्रीय सदस्य बनेकी उनी २०७१ सालमा पोलिटब्युरो सदस्य बन्न उनी सफल भइन्। २०७४ सालको आम निर्वाचनमा उनी माओवादी पार्टीबाटै बारा ३ (क) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भइन्।
२०७४ को निर्वाचन लड्न पनि उनका लागि सहज थिएन। उनका प्रतिस्पर्धीमा नेपाली कांग्रेसका रामचन्द्र यादव त थिए नै आफ्नै पार्टीबाट दुई जना बागी उम्मेदवारसमेत खडा भएका थिए। तर जनताको दरिलो साथले आफू निर्वाचित हुन सफल भएको उनी बताउँछिन्।
माओवादी त्यागेर नेकपा एमालेमा आएकी उनी २०७८ सालमा कृषिमन्त्री बनिन्। यो मन्त्रीका लागि तेस्रो अवसर थियो। तर कांग्रेस नेतृत्वको गठबन्धनले सत्ता हातमा लिएसँगै केपी ओली नेर्तत्वको सरकार गिरेपछि उनको पनि मन्त्री पद गएको थियो। त्यतिबेला उनले १३ दिन मात्र मन्त्रालय हाँक्ने अवसर पाएकी थिइन्।
माओवादीबाट कसरी एमालेमा आइन्?
२०७४ सालको निर्वाचनपछि एमाले–माओवादी गठबन्धनबाट सरकार बनेको थियो। २०७५ सालमा ती दुई पार्टीबीच एकीकरण भई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बन्यो । एउटै पार्टी हुँदा आफू तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सिद्धान्त र विचारबाट प्रेरित बन्न पुगेको उनी बताउँछिन्। त्यसो त त्यतिबेला पार्टीमा दुईजना अध्यक्ष थिए। केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’। पार्टीभित्र दुई नेताका समूहबीच दरार आउँदा आफूले ओलीलाई सघाएको उनी बताउँछिन् । २०७७ फागुन २३ गते सर्वाेच्च अदालतले माओवादी केन्द्र र एमालेको एकीकरणबाट बनेको नेकपा बदर गरेर ती दुई पार्टीलाई पूर्ववत् अवस्थामै पुगेको फैसला गरेपछि उनी नेकपा एमालेतर्फ लागेकी थिइन्। यसरी एमालेलाई समर्थन गरेको भन्दै उनलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रदेश संसदबाट बर्खास्त गरिदिएका थिए।
सांसद पद गए पनि उनले एमालेमा आबद्ध रहेर राजनीतिलाई निरन्तरता दिइरहिन्। सोही क्रममा उनी एमालेबाट मधेस प्रदेशको अध्यक्ष भइन्। प्रदेश अध्यक्ष भएको दुई महिना नपुग्दै उनी नेकपा एमालेबाट २०७८ सालमा कृषिमन्त्री बनिन्। त्यतिबेला एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री थिए। सो मन्त्रालयको जिम्मेवारीमा १३ दिन मात्र रहे पनि माटो परीक्षण र वास्तविक किसानको अवस्था नजिकबाट नियाल्ने अवसर पाएको उनी बताउँछिन्।
अहिले उनी एमाले पोलिटब्युरो सदस्यका साथै मधेस सहइन्चार्ज छिन्। उनी पार्टीको संगठन विभागको सदस्यको जिम्मेवारीमा समेत छिन्। यसैबेला मन्त्रीको जिम्मेवारी दिएर एमालेले उनलाई सम्मान गरेको छ।
पढाइको निरन्तरता
माओवादी आन्दोलनमै लागेको कारण ज्वालाले अध्ययनलाइ निरन्तरता दिन सकेकी थिइनन्। शिक्षा आर्जन गर्न उमेरले राक्दैन भन्ने मान्यताको अनुसरण गर्दै उनी आफ्नो अध्ययनलाई अघि बढाइरहेको बताउँछिन्। उनी नेपाली विषयमा स्नातकोत्तर गर्दैछिन्।
सांसद जितपछि प्रतिबद्धता
सांसद जितेलगत्तै उनले आफ्नो पहिलो प्राथमिकता शिक्षा हुने बताएकी थिइन्। ज्ञानको ज्योति शिक्षाबाट कुनै बालबालिका वञ्चित नहुन् भन्ने उद्देश्यले बालश्रममा रहेका बालबालिकाहरुको रेकर्ड राख्दै कम्तीमा राज्यका तर्फबाट उच्च शिक्षासम्म पढाउने योजना आफूले अघि सारेको उनले बताएकी छन्।
अहिले पनि मधेसका धेरै महिलाहरुले आधारभूत स्वास्थ्यको अभावमा अकालमै ज्यान गुमाउनुपर्ने अवस्थामा रहेको उनको भनाइ छ। आगामी दिनमा उपचार नपाएर कुनै महिलाले ज्यान गुमाउन नपारोस् भन्ने उद्देश्य आफ्नो दोस्रो प्रथमिकता रहेको उनी सुनाउँछिन्।
उनको तेस्रो योजना हो, किसानका समस्या निराकरण गर्नु । लगानी गरेबापतको आम्दानी र उत्पादन गर्न नसक्दा किसानले निकै समस्या झेल्नु परेको उनको बुझाइ छ। कृषिप्रधान देश भनिए पनि बर्सेनि खाद्यान्न विदेशबाट आयात गर्नुपर्ने अवस्था आगामी दिनमा सिर्जना हुन नदिन किसानहरुको समस्या समधान हुनुपर्ने उनी बताउँछिन्। कृषिमा रूपान्तरण गर्न आगामी दिनमा किसानलाई माटोअनुसारको बीउबिजन, मलजलको व्यवस्था, कृषि बजार र सकडको व्यवस्था गर्नुलाई उनले प्राथमिकता दिने बताएकी छन्।
आर्थिक रूपमा सबल हुन नसक्दा महिला हिंसाका घटनाहरू दिनप्रतिदिन बढ्दै गएको उनी बताउँछिन्। ‘महिला हिंसा रोकथामका लागि महिलाहरूलाई आर्थिक रूपमा सबल बनाउनुपर्छ,’ उनी भन्छिन्, ‘उनीहरूलाई आर्थिक रूपमा सबल बनाउन विभिन्न किसिमका सीपमूलक तालिम र आयआर्जनसँग जोड्ने योजनामा छु।’
यतिखेर मन्त्री बने पनि कुन मन्त्रालयको जिम्मेवारी पाइने भन्ने ठेगान छैन। तर जुन मन्त्रालयको जिम्मेवारी पाइए पनि आफ्ना योजना पूरा गर्न उनी लागिपर्नेमा विश्वस्त हुन सकिन्छ।