डिपट्युवेलका ट्रान्सफर्मर चोरी
बारा, मंसिर २९ : बाारा र पर्सा जिल्लामा भूमिगत सिँचाइका लागि विभिन्न स्थानमा जडान भएका डिपट्युवेलबाट ट्रान्सफर्मर चोरी भएको पाइएको छ ।
ट्रान्सफर्मर चोरीका कारण दुवै जिल्लामा भूमिगत सिँचाइको काम प्रभावित भएको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजनको कार्यालय वीरगञ्ज पर्साले जनाएको छ । मधेश प्रदेश सरकारको मातहतमा रहेको कार्यालयका अनुसार पर्सा जिल्लामा तीन वटा र बारा जिल्लामा तीन वटा ट्रान्सफर्मर चोरी भएका छन् ।
चोरी भएका ट्रान्सफर्मरबारे पर्सा र बाराका प्रहरी प्रशासनलाई जानकारी दिएको कार्यालय प्रमुख अरविन्दकुमार मिश्राले जानकारी दिए । चोरी भएका छ वटा ट्रान्सफर्मरको मूल्य रु ३० लाख रहेको उनको भनाइ छ ।
कार्यालयका अनुसार पर्साको वीरगञ्ज महानगरपालिका वडा नं २८ र ३१, कोन्दियाको वडा नं ३२ को सोलखपुर र बारा जिल्लाको पर्सोनी गाउँपालिका वडा नं ७ प्रस्टोका, महागढी माई नगरपालिकाको तेलकूवा र हर्नेया नजिक इनर्वामालमा जडान भएका डिपट्यूवेलबाट ट्रान्सफर्मर चोरी भएको प्रमुख मिश्राले जानकारी दिए। उनका अनुसार विगत दुई महिनाको अवधिमा ६ वटै ट्रान्सफर्मर चोरी भएको हो । ट्रान्सफर्मर चोरी भएपछि किसान समस्यामा परेको मिश्राको भनाइ छ।
पर्साका प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले चोरी भएको ट्रान्सफर्मर विषयमा छानबिन तथा पत्ता लगाउनका लागि सम्बन्धित प्रहरी चौकीमा निर्देशन दिइएको बताए।
ट्रान्सफर्मरभित्र रु ५० हजार पर्ने तेल र रु चार लाखभन्दा बढी मूल्य पर्ने तामाको तार जडान गरिएको हुन्छ।