Kathmandu Press

पहिला झोला पसलका कामदार, अहिले झोला उद्योगकै मालिक 

पहिला झोला पसलका कामदार, अहिले झोला उद्योगकै मालिक 

काठमाडौं, मंसिर २७ : भक्तपुरको कौशलटार चोकबाट बालकोट जाने मार्गको ३०० मिटर अगाडि भेटिन्छ, एउटा ब्याग पसल (झोला पसल)। सेराभन रेडिमेड कम्पनीद्वारा सञ्चालित उक्त पसलमा आफैंद्वारा उत्पादित ‘शिवाकोटी ब्रान्ड’ र चीनबाट आयातित विभिन्न डिजाइनका झोला बिक्रीका लागि राखिएका छन्। स्कुल झोला, कलेज झाेला, लगेज झोला, अफिसियल झोला, लेडिज झोलाले पसल भरिभराउ छ।

उक्त पसलका सञ्चालक खडानन्द (गणेश) शिवाकोटी कम्युटरमा अर्डर लिन, सामान मगाउन, हिसाब मिलाउनमा व्यस्त भइरहेका भेटिन्छन्। उनकी पत्नी अमृता उप्रेती (शिवाकोटी) ग्राहकलाई झोला बेच्नतिर तल्लीन रहन्छिन्। लामो संघर्षपछि आफ्नो कम्पनीबाट झोलालाई ब्रान्डेड बनाउन सफल उनीहरूलाई उत्पादन र बिक्री गर्न भ्याइनभ्याइ छ। 

त्यो पसल भक्तपुर नगरपालिका–२ मा पर्छ। पसलबाट एक किलोमिटरको दूरीमा उनीहरूकाे घर र झोला कारखाना छन्। सो कारखानामा १० जनाले रोजगारी पाएका छन्। 

Hardik ivf

उनी र उनका दाजु सुदर्शन शिवाकोटीले २०५७ चैत १७ गते काठमाडौंको बागबजारमा दुईवटा कोठा भाडामा लिएर ५० हजार रुपैयाँ लगानी गरी झोला उत्पादन र बिक्री थालेका थिए। अहिले शिवाकोटी झोला उद्योग व्यावसायिक क्षेत्रमा चलेको नाम बनेको छ भने त्यहाँबाट उत्पादित शिवाकोटी ब्रान्डका झोला देशैभरि पुग्ने गरेको छ ।

झोला उद्योग आरम्भपछि २२ वर्षको अन्तरालमा उनीहरूले दुइटा कारखाना र दुइटा पसल खोलेका छन्। भक्तपुरका अलावा काठमाडौंको मैतीदेवीमा पनि एउटा कारखाना र एउटा पसल छन्। मैतीदेवीतिर पसल र कारखाना हेर्ने जिम्मा सुदर्शनले लिएका छन्।

यी दुई भिन्न ठाउँका पसलबाट वार्षिक रूपमा ६ करोड रुपैयाँबराबरको कारोबार हुने गरेको खडानन्द बताउँछन्। ‘वार्षिक १ करोड रुपैयाँजति नाफा बस्छ,’ उनले भने, ‘फरकफरक ठाउँमा कारखाना र पसल भए पनि कारोबार दाजुभाइको सामूहिक हो। आवश्यकताअनुसार सहयोग आदानप्रदान भइरहन्छ।’ 

मैतीदेवीको झोला कारखानामा २६ मेसिन र १६ कामदार छन् भने भक्तपुरमा १२ वटा मेसिन र १० कामदार छन्। खडानन्द विभिन्न संस्था र बजारको मागअनुसार झोला बनाउँछन्। ‘पसलमा स्वदेशमै उत्पादित मात्र नभई, आयातित झोला पनि राखेका छौं,’ खडानन्दले भने, ‘कतिपय ग्राहकले नयाँनयाँ डिजाइनका झोला खोज्ने भएकाले चीनबाट पनि ल्याएका हौं। तर धेरैजसो आफैंले उत्पादन गरेको झोला बेच्ने गरेको छु।’

caravan1670924040.jpg

दुवै दाजुभाइको पसलमा एउटा ‘अफर’ छ, शिवाकोटी ब्रान्डको झोला खरिदमा निःशुल्क ‘रिपेयरिङ’को सुविधा। त्यसकारण पनि स्वदेशी झोला धेरैले रुचाउँछन्। ‘ग्राहकले स्वदेशी उत्पादन मन पराइदिने भएकाले व्यापार राम्रो चलेको छ,’ खडानन्दले भने।  झोला उत्पादन र बिक्री गरेरै खडानन्द र उनका दाइले ठुलो व्यावसायिक सफलता हासिल गरेका छन्। 

उनी र उनका दाजु व्यवसायमा सजिलै सफल भएका भने होइनन्। २२ वर्ष अगाडि रोजगारीका लागि भौंतारिएका उनीहरूले अरूका घरमा बसेर काम गर्नेदेखि लिएर अनेकौं संघर्ष गरेका छन्। 

आमा गुमाएपछि ११ वर्षकै उमेरबाट संघर्ष  

२०३८ सालमा दोलखामा जन्मिएका हुन्, खडानन्द शिवकोटी। उनी सुरजकुमार र कृष्णमायाका माहिला छोरा हुन्। उनका दुई दिदीबहिनी छन्। 

आमाले बारीमा घाँस काट्न जाँदा जन्माएर घाँसको डोकोमाथि हालेर घर ल्याएको कथा उनले हाँस्दै सुनाए। ‘त्यतिबेला गाउँनजिकै अस्पताल नभएका कारण घरमै बच्चा जन्माइन्थ्यो, कसैले घाँस काट्न जाँदा, कसैले पानी लिन जाँदा पनि बच्चा जन्माउँथे,’ उनले भने। दोलखाको कालिञ्चोक गाउँपालिका–७ मा स्थायी घर भएका उनी अहिले भक्तपुरमा बस्दै आएका छन्। 

उनका बुबा कामको सिलसिलामा भारतमा बस्थे, आमा सन्तानको लालनपालन र घरव्यवहार सञ्चालनमा जुट्थिन्। उनले गाउँकै सूर्योदय प्राथमिक विद्यालयमा कक्षा ३ सम्म पढे। नजिकै अरू विद्यालय नभएकाले एक घन्टा हिँडेर विद्यालय पुग्नुपर्ने बाध्यता थियो। ‘दैनिक एक घन्टा हिँडेर कक्षा ४ र ५ अध्ययन गरियो,’ उनले भने।

आफू ११ वर्षको हुँदा आमा बितेको उनले बताए । त्यतिखेर उनी कक्षा ५ मा अध्ययनरत थिए। उनी आमालाई सम्झेर आज पनि भावुक हुन्छन्।

‘आमा धेरै धूमपान गर्नुहुन्थ्यो। कहिलेकाहीँ बिरामी पर्नुहुन्थ्यो। गाउँमा अस्पताल थिएन। हिँडडुल गर्न सकुन्जेल उपचारका लागि कहीँकतै जानुभएन। शरीर गलेपछि बुबाले काठमाडौंमा उपचारका लागि ल्याउनुभयो,’ उनले भने, ‘आमालाई क्षयरोग लागेको रहेछ। उपचारका क्रममा काठमाडौंमै बित्नुभयो। त्यसपछि जिन्दगीमा थुप्रै उतारचढाव भोग्नुप¥यो।’ 

पाँच सन्तान हुर्काउन उनका बुबालाई निकै मुस्किल प¥यो। खडानन्दलाई आफन्तको बसेर पढ्न काठमाडौं पठाइयो। ‘काठमाडौंमा आफन्तको बसेर अध्ययन गर्न त्यति सहज थिएन। बिहान ४ बजे उठेर पानी भर्नुपथ्र्याे,’ उनले भने, ‘कक्षा ५ देखि ७ सम्म बानेश्वरको रत्नराज्य माविमा पढें।’ 

गाउँमा पढेर आएको भन्दै पुनः ५ कक्षामै भर्ना गरिदिएको उनी कहिल्यै भुल्न सक्दैनन्। उनले आफन्तको घरमा सहयोगी भएर तीन–चार वर्ष काम गरे। 

 

proprieter1670924041.jpgकक्षा ७ को अध्ययन सकिनै लाग्दा उनका दाइ सुदर्शन एसएलसी परीक्षा दिएर काठमाडौं आए। दाजुले पनि अर्काका घरमा काम गरे। ‘दाइलाई अर्काको घरमा काम गर्दागर्दा विरक्त लागेछ, छोडिदिनुभयो,’ उनले भने, ‘हाम्रो गाउँका धेरैले सडकको चोकचोकमा बसेर झोला बेच्ने काम गर्थे। दाइले पनि त्यही काम थाल्नुभयो।’ 

न्युरोडमा छविलाल तिमल्सिनाको झोला पसल थियो। सुदर्शन छविलालको पसलबाट झोला लिएर सहरका विभिन्न गल्ली–गल्ली पुग्थे । खडानन्दले पनि सोही पसलमा सहयोगीका रूपमा काम गर्न थाले। तर त्यहाँ धेरै समय टिक्न सकेनन्। 

‘बुबाको सिरानीबाट दुई हजार चोरेर बनारस पसें’

उनलाई छविलालको झोला पसलमा काम गर्न सजिलो लागेन। उनी त्यतिखेर काम गर्दै दरबार हाई स्कुलमा अध्ययन गर्थे। ‘कक्षा ८ र ९ दरबार हाई स्कुलमा पढेको हुँ,’ उनले भने, ‘कक्षा ९ मा अध्ययन गर्दागर्दै बीचैमा छाडिदिएँ।’

पसलको काम र स्कुल छाडेर उनी गाउँ फर्किए। घर पुगेपछि उनले त्यतिबेला एउटा पुस्तक भेटे, जसमा लेखिएको थियो, न्याय नपाए गोर्खा जानू, शिक्षा नपाए बनारस जानू। उक्त भनाइले उनको मनमा बेग्लै उत्सुकता जगायो। बुबाको सिरानीमुनिबाट दुई हजार रुपैयाँ चोरेर बनारस पुगे। ‘त्यतिबेला काठमाडौंबाट बनारस पुग्न ८ सय रुपैयाँ भाडा तिरियो,’ उनले भने।

त्यतिबेला बनारससम्म पुग्न जम्मा भाडा ६ सय रुपैयाँ लाग्ने रहेछ। टिकट काट्नेले ठगेको भनेर खडानन्दले पछि थाहा पाए। बनारसमा अर्को आपत् आइलाग्यो। काम खोजिदिन सहयोग गरिदिने भन्दै एक भारतीय युवकले उनको झोला र पैसा लुटे।

‘पाँच मिनेटमा काम बुझेर आउँछु भनेर गएको मान्छे दुई घन्टा बित्दा पनि आएनन्,’ उनले हाँस्दै भने, ‘काम पाइने आशामा विश्वास गरेर झोला र पैसा दिएँ, मान्छे फरार भए। युरी म बनारसमा लुटिएँ।’ गुहार मागेपछि त्यहीँका एक व्यवसायीले गुरुकुलमा निःशुल्क बस्ने व्यवस्था मिलाइदिएपछि अलपत्र हुनबाट जोगिएको उनको भनाइ छ। 

‘गुरुकुलमा अनिल गुरुले नाम, थर, गोत्र सबै सोधे,’ उनले भने, ‘कार्यालय सहयोगी भएर एकदुई दिन बस्न दिइयो। ६÷७ दिनपछि संस्कृत पढ्ने अनुमति पाएँ।’

गुरुकुलमा ब्राह्मणलाई निकै आदरसम्मान गर्ने चलन रहेछ त्यतिबेला, कुचो लगाउने, शौचालय सफा गर्ने काम गर्नुनपर्ने। उक्त गुरुकुलमा ६/७ महिना पढेपछि उनलाई गाह्रो लाग्यो। त्यसपछि तबला बजाउन सजिलो हुने ठानेर अर्काे गुरुकुलमा गए।

‘केही महिना तबला सिकें तर निरन्तरता दिन सकिनँ,’ उनले भने, ‘संस्कृत अध्ययन गर्नुभन्दा तबला बजाउन रमाइलो होला भनेर त्यहाँ पुगेको थिएँ, तबला बजाउन पनि सजिलो नहुने रहेछ।’ त्यहाँ पनि उनी लामो समय टिक्न सकेनन्। त्यहाँ उनले साधुलाई खाना बनाएर ख्वाउनुपथ्र्यो। तीन महिनाजति तबला सिकाउने गुरुकुल त्यागे उनले।

bag1670924040.jpg

त्यसपछि बनारसको एक होटेलमा काम गर्न थालेको उनले सुनाए। ‘होटलमा काम गरिरहेकौ बखतमा २०५७ सालतिर एकजना आफन्तसँग भेट भयो,’ उनले भने, ‘ती आफन्तले मेरा दाइले झोला कारखाना खोल्ने कुरा गरिरहेको सुनाउँदै नेपाल फर्कन सुझाव दिए।’ तीन वर्षको बनारस बसाइपछि उनी नेपाल फर्किए।

सुुदर्शनले झोला कारखाना खोल्ने तयारी गरिरहेका रहेछन्। ५० हजार रुपैयाँ लगानी जुटाएर पसलका लागि कोठा खोज्दै गरेका दाइलाई खडानन्दले दाजुलाई भेटे। दाजुभाइ मिलेर बागबजारमा दुई कोठा लिएर दुईजना झोला बनाउने कालीगढ राखी २०५७ चैत १७ मा झोला व्यवसाय सुरु गरेको उनी बताउँछन्। ‘५० हजारमा केही कच्चा पदार्थ, झोला सिलाउने मेसिन, एउटा खाट किनेर झोला पसल खोलियोे,’ उनले भने। 

यसरी मिल्यो व्यावसायिक सफलता

खडानन्दलाई झोला पसलमा काम गरेको थोरबहुत अनुभव थियो। तर बागबजारमा पसल खोलेपछि थाहा लाग्यो पहिलाको अनुभव पर्याप्त रहनेछ। उनलाई कटिङ गर्न गाह्रो भयो। सुरुवाती दुई महिनामा न्युरोडको एक चिनेजानेका कालीगढले सिकाए। कटिङ जानेपछि उनलाई काम गर्न सजिलो भयो।

दाजुभाइमध्ये एकजना पसलभित्रको र एकजना बाहिरको काममा भिड्न थाले। झोला विभिन्न ठाउँका पसलमा पु¥याउने काम दाइले गर्न थाले। भाइ उत्पादनमा जुटे। ‘मैले कटिङ, सिलाइलगायत काम सम्हालें, दाइले बजार हेर्न थाल्नुभयो,’ उनले भने, ‘त्यतिबेला झोलाको धेरै डिजाइन आउँदैनथ्यो, एउटा डिजाइनले एकदुई वर्ष चल्थ्यो।’ 

नयाँ डिजाइन जसले निकाल्यो, राम्रो आम्दानी उसैलाई हुन्थ्यो। झोलाका लागि लागतभन्दा कम मूल्यमा बिक्री गर्नुपर्ने स्थिति आए व्यवसायीले नयाँ डिजाइन निकाल्थे। बिस्तारै व्यवसायले उचाइ लिन थाल्यो।

बागबजारका दुई कोठा साँघुरा भए। त्यसपछि बागबजार छाडेर अनामनगर सरेको खडानन्दले सुनाए। ‘सुरुसुरुतिर दिउँसोको समयमा दाजुले झोला बोकेर बेच्न लैजानुहुन्थ्यो, बिस्तारै विभिन्न संस्थाका अर्डरअनुसारका झोला बनाई होलसेलमा बिक्री गर्न थाल्यौं,’ उनले भने, ‘कारखाना र कर्मचारी थपिँदै गए।’

 

विभिन्न कार्यालयबाट अर्डर आउन थाले। अनामनगरमा एउटा पसल थियो। घट्टेकुलोमा कारखाना राखियो। बिस्तारै व्यापार मौलाउँदै जाँदा २०६२ सालमा कोटेश्वरमा ५० हजार रुपैयाँका दरले तीन आना जग्गा किनेर तीन तलाको घर बनाएको उनले सुनाए।‘एकैपटक तीन तलाको घर बनाएको भने होइन, बिस्तारै तला थप्दै दुई–तीन वर्ष लगाएर बनाइएको हो,’ उनले भने, ‘कोटेश्वरमा कारखाना र मैतीदेवीमा पसल राखियो, उक्त पसल अहिलेसम्म सञ्चालनमा छ।’

बिस्तारै व्यापार मैलाउँदै जाँदा २०७२ सालमा कोटेश्वरको घर बेचेर उनीहरुले मैतिदेवीमै घर किने। पसलनजिकै कारखाना बनाए। खडानन्दले पछि भक्तपुरमा घर किने र त्यतै बस्न थाले। कौशलटार चोकबाट ३०० मिटर अगाडि बालकोट जाने मार्गमा झोला पसल राखे। २०७६ भन्दा अगाडि थिमिमा पनि झोला पसल राखेको उनी बताउँछन्। ‘कोरोनाका कारणले थिमिको पसल बन्द गर्नुप¥यो,’ उनले भने, ‘सफलताका पछाडि दुःखद कहानी पनि छन्। धेरैपटक दुःखकष्टको पहिरोमा परेका छौं। धेरै दुःख गरियो, अहिले भने व्यापार राम्रै छ।’

उनले विभिन्न स्थानमा पसल राख्दा १ करोडभन्दा बढी नोक्सानीसमेत बेहोर्नुपरेको अनुभव सुनाए। ‘झोलासँगै टिर्सटको माग आउन थालेपछि ३० वटा मेसिन राखेर नयाँ बजारमा उद्योग खोलें,’ उनले भने, ‘सोचेजस्तो काम गर्न नसक्दा ५० लाखभन्दा बढी लगानी डुब्यो।’

bagpack1670924186.jpg

त्यस्तै न्युरोडको भित्री गल्लीमा होलसेल झोला पसल राखे पनि राम्रो व्यापार नभएपछि २५/३० लाख घाटा बेहोर्नुपरेको उनी बताउँछन्। ‘बिस्तारै अनलाइन माध्यमबाट अर्डर लिने र विभिन्न संस्थाका लागि झोला बनाउन थालेपछि व्यापार फस्टाउन थालेको हो,’ उनले भने, ‘स्वदेशी उत्पादनलाई मन पराउनुको एउटा कारण पुन निःशुल्क रिपेयरिङ गर्न पाउनु पनि हो।’

रिपेयर गर्न पाउने सुविधाले ग्राहक तानिएका छन्। अहिले शिवाकोटी ब्रान्डको झोला देशभर पुगेका छन्। विभिन्न संघसंस्थाहरूमार्फत झोला देशभर पुगेको उनको भनाइ छ। ‘म आफ्नो पेसाप्रति खुसी छु, निरन्तर मेहनतले सफलता दिने रहेछ,’ उनले भने, ‘संर्घष गर्दा बीचमा आउने चुनौतीलाई स्वीकार गर्न सके सफल भइन्छ।’

खडानन्द व्यवसायमा मात्र होइन, पारिवारिक जीवनमा पनि उत्तिकै खुसी छन्। उनले २०६७ सालमा दोलखाकी अमृतासँग मागी विवाह गरेका थिए। ‘२०६७ देखि अमृताले घरव्यवहार र पसल समालेकाले आफूले निर्धक्क भएर बाहिरी कारोबार हेर्न पाएँ,’ उनले भने, ‘बिस्तारै सबै थोक राम्रो हुँदैछ।’ 

उनका एक छोरा र एक छोरी छन्। व्यवसाय र पारिवारिक जीवनमा बिस्तारै सफल भइरहेको अनुभूति हुन थालेको उनको भनाइ छ। 
 

प्रकाशित मिति: १५:१० बजे, मंगलबार, मंसिर २७, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्