शेयर बजारमा आज अन्तिम समयमा विक्रेताको चाप
काठमाडौं, पुस ८ : साताको तेस्रो कारोबार दिन मंगलबार बैंकिङ समूह सकारात्मक रहे पनि होटल समूह र निर्जीवन बीमामा सबैभन्दा बढी गिरावट थियो।
काठमाडौं, पुस ८ : साताको तेस्रो कारोबार दिन मंगलबार बैंकिङ समूह सकारात्मक रहे पनि होटल समूह र निर्जीवन बीमामा सबैभन्दा बढी गिरावट थियो।
नेप्से परिसूचक २ दशमलव ३७ अंकले घटेर ११६६ दशमलव २१ को विन्दुमा बन्द भएको छ। दोस्रो बजार ० दशमलव २० प्रतिशतले घटेको छ। ११६९ दशमलव ३३ को विन्दुमा खुलेको दोस्रो बजार ११७६ दशमलव ७० को उच्च विन्दुसम्म पुगेको थियो।
बजारको न्यून विन्दु ११६४ दशमलव ५७ मा रहँदा ७२ करोड १६ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। कारोबार रकम भने बढेको छ।
आजको बजार अवस्था
आज सर्वाधिक कारोबार हुने
आज सबैभन्दा धेरै शिवम् सिमेन्ट्सको शेयर किनबेच भएको छ। शिवम् सिमेन्ट्सको १० करोड ३३ लाख बराबरको शेयर किनबेच भएको छ।
आज सर्वाधिक कमाउने र गुमाउने
आज सपोर्ट माइक्रो फाइनान्सका शेयरधनीले सर्वाधिक ९ दशमलव ८९ प्रतिशतले कमाए भने आँखु खोला जलविद्युत कम्पनीका शेयरधनीले सर्वाधिक ७ दशमलव ०१ प्रतिशतले गुमाए।
छोटो समयावधिको प्राविधिक विश्लेषण
अघिल्लो दिनको निष्कर्ष अनुसार हाल बजार सकारात्मक रहेको देखिएको र बजारले अब ११७५ देखि ११८२ को बलियो प्रतिरोध क्षेत्रलाई सामना गर्नु पर्ने देखिन्छ भनिएको थियो। आज बजारले ११७६ दशमलव ७० को उच्च विन्दु बनाए पछि विक्रेताको चाप रहेको र नेप्से परिसूचक ११६६ दशमलव २१ को विन्दुमा बन्द भएको छ।
लाभांश गतिविधि
पुस ७ मा बसेको नेपाल टेलिकम कम्पनीको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई प्रतिशेयर ४५ रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
चित्र नं १ : नेप्से दैनिक मैनबत्ती प्रवृत्ति
चित्र नं १ मा दैनिक मैनबत्ती विश्लेषण अनुसार बजार हाल प्रतिरोध क्षेत्रमा रहेको छ। आजको मैनबत्तीले ‘सुटिङ्ग स्टार’ आकृति बनाउन खोजेको देखिएको छ। यसले कारोबारको पहिलो समयमा क्रेताको चाप रहेता पनि अन्तिम समयमा विक्रेताको चाप रहेको संकेत गरेको छ।
चित्र नं.२ : पाँच मिनेट मैनबत्ती प्रवृत्ति
चित्र नं.२ मा, दुई दिनको कारोबार कस्तो रह्यो भनेर हेर्नलाई पाँच मिनेट समयावधिको मैनबत्तीलाई प्रयोग गरिएको छ। अघिल्लो दिन बढ्दो प्रवृत्तिमा रहेको बजार आज घट्दो प्रवृत्तिको प्रारम्भिक संकेत गरेको छ। २१ र ५० समयावधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए)हरु एकापसमा नजिकिँदै गएकाले बजारमा क्रेताको चाप कमजोर हुन थालेको संकेत गरेको छ।
रिलेटिभ स्ट्रेन्थ इन्डेक्स (आरएसआई) ३३ दशमलव २८ अंकमा रहेको छ। यसको प्रवृत्तिले बजार बढ्न सक्ने प्रारम्भिक संकेत गरेको छ। स्टोकास्टिक अक्सिलेटरले बजारमा शेयर बढी विक्री भएको संकेत गरे पनि बजार सकारात्मक भइहाल्ने संकेत गरेको छैन।
निष्कर्ष : माथि उल्लेखित छोटो समयावधिको बजारको प्रवृत्ति र सूचकले मिश्रित संकेत गरेको छ र तत्कालीन सामान्य टेवा ११६० को क्षेत्रमा रहेको देखिन्छ। तर यदि बजार ११८२ भन्दा माथि स्थिर रहेमा बजार पुनः सकारात्मक हुन सक्ने संकेत गर्दछ।