Kathmandu Press

‘तीन महिना नभई देखिन्न रेबिजको लक्षण, बच्ने उपाय खोप मात्र’

२०७८ सालमा अस्पतालको इमरजेन्सी वार्डमा भर्ना भएका रेबिज संक्रमित १४ जनाको र २०७९ कात्तिक मसान्तसम्म १३ जनाको मृत्यु भइसकेको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका सूचना अधिकारी नवराज गौतमले बताए।
‘तीन महिना नभई देखिन्न रेबिजको लक्षण, बच्ने उपाय खोप मात्र’

काठमाडौं, मंसिर १५ : केही दिनअघि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको बहिरंग विभाग (ओपिडी) मा पुग्दा कुकुरलगायत अन्य घरपालुवा जनावरले टोकेर रेबिजविरुद्धको खोप लगाउन आउने मानिसहरूको लामो लाइन थियो। चिकित्सकहरू पनि खोप लगाउनमा व्यस्त देखिन्थे। 

कुकुरले टोकेर रेबिजविरुद्धको खोप लगाउन आउनेमा काठमाडौं कलंकीका माधवप्रसाद रेग्मी पनि थिए। ६० वर्षीय उनलाई बाटोमा हिँड्दै गर्दा कुकुरले खुट्टामा टोकेको रहेछ। त्यसको दुई दिनपछि मात्र उनी उपचारका लागि टेकु अस्पताल आइपुगेका रहेछन्। करिब १० मिनेट लाइन कुरेपछि रेग्मीले रेबिजविरुद्धको पहिलो खोप लगाए। 

कुकुरले टोकेको करिब ४८ देखि ७२ घन्टाभित्र रेबिजविरुद्धको खोप लगाइसक्नुपर्ने विज्ञहरूको भनाइ छ। रेबिजका लागि तीनवटा खोप लगाउनुपर्ने हुन्छ। पहिलो खोप लगाइसकेपछि उनलाई चकित्सिकले दोस्रो खोपका लागि मिति तोकेर बोलाए। 

Hardik ivf

त्यस्तै ललितपुर ग्वार्कोकी हीरा बिसी पनि त्यही लाइनमा भेटिइन्। उनी आठ वर्षीय छोरा रिदमलाई रेबिजविरुद्धको खोप लगाइदिन त्यहाँ आएकी थिइन्। रिदमलाई पनि कुकुरले खुट्टामै टोकेको रहेछ। हेर्दा सामान्य कुकुर भए पनि पछि कुनै समस्या नदेखियोस् भनेर छोरालाई खोप लगाइदिन टेकु अस्पताल आइपुगेको उनले बताइन्। 

भक्तपुर गट्ठाघरकी ५३ वर्षीया शारदा आचार्य पनि सोही दिन रेबिज विरुद्धको खोपका लागि अस्पताल आइपुगिन्। तर उनी कुकुरले नभई बिरालोले टोकेकाले रेबिज खोप लाउन आएकी हुन्। उक्त दिन तेस्रो खोपका लागि अस्पताल आएकी उनले अघि नै दुईवटा खोप लगाइसकेकी रहिछन्। उनलाई आफ्नै घरमा पालेको बिरालोले हातमा टोकेको रहेछ। 

वार्षिक झन्डै ४० हजारले लिन्छन् रेबिज खोप सेवा

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा दिनहुँ उपचार सेवा लिने बिरामीको घुइँचो लाग्ने गर्छ। सरकारी अस्पताल भएकाले टिकट शुल्कबाहेक खोप सेवा निःशुल्क हुँदा रेबिजविरुद्धको खोप लाउन मात्रै दैनिक ५ सयको हाराहारीमा बिरामी आउने गरेको उक्त अस्पतालका सूचना अधिकारी नवराज गौतमले बताए।

‘रेबिजविरुद्धको खोप निजी अस्पतालहरूमा पनि लगाइन्छ तर निजी अस्पतालले खोपका लागि मनोमानी शुल्क लिने गरेको पाइन्छ,’ उनी भन्छन्, ‘तर टेकु अस्पतालमा उक्त खोप लगाउन टिकट शुल्कबाहेक अरू लाग्दैन। त्यसकारण यहाँ बिरामीको चाप बढ्ने गरेको हो।’ 

teku1669967412.jpg

सूचना अधिकारी गौतमका अनुसार २०७८ साउन १ देखि २०७९ असार ३२ गतेसम्म एक वर्षको अन्तरालमा टेकु अस्पतालमा ३८ हजार ७४८ जनाले रेबिजविरुद्धको खोप लगाएका थिए। तीमध्ये १० हजार ७७३ मासुमा लगाइने खोप लगाइएको थियो भने ९० हजार ४६३ जनाले छालामा लगाए। 

त्यसैगरी २०७९ को साउनदेखि कात्तिक मसान्तसम्म चार महिनाको अन्तरालमा १४ हजार ७९५ जनाले रेबिजविरुद्धको खोप लगाएका छन्। तीमध्ये ३ हजार ३३१ जनाले मासुमा र ३३ हजार १४७ ले छालामा खोप लगाए। 

त्यस्तै २०७८ सालमा अस्पतालको इमरजेन्सी वार्डमा भर्ना भएका रेबिज संक्रमित १४ जनाको र २०७९ कात्तिक मसान्तसम्म १३ जनाको मृत्यु भइसकेको सूचना अधिकारी गौतमले बताए।

के हो रेबिज? 

रेबिज एक भाइरस हो। सोही भाइरसका कारण लाग्ने रोगलाई रेबिज भन्ने गरिन्छ। रेबिज संक्रमित जनावरले टोक्दा त्यसको र्‍यालबाट मानिसमा रेबिज सर्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल अनुसन्धान विभागका संयोजक डा. शेरबहादुर पुन बताउँछन्।

उनका अनुसार रेबिजले मानिसको मस्तिष्कमा असर गर्छ। नेपालका लागि यो रोग नौलो नभए पनि त्यसबाट मृत्यु हुने क्रम भने निरन्तर रहेको उनको भनाइ छ। रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार प्रतिवर्ष नेपालमा रेबिज संक्रमणबाट १०० जनाभन्दा बढीको मृत्यु हुने गरेको छ। 

‘विश्व स्वास्थ्य संगठनले २०३० सालसम्ममा बौलाहा जनावरको टोकाइबाट लाग्ने रेबिज रोगलाई शून्यमा झार्ने लक्ष्य लिएको छ। नेपालमा करिब ९६ प्रतिशत रेबिज कुकुरको टोकाइका कारण लाग्ने गरेको पाइन्छ,’ डा. पुनले भने। उनले थपे, ‘नेपालमा रेबिज कहिलेबाट देखिन थाल्यो भन्ने यकिन विवरण नभए पनि धेरै पुस्ता अघिदेखि कुकुरको टोकाइबाट यो रोग लागेको मान्छेको मृत्यु हुन्थ्यो भनेर सुनिनमा आउँछ।’ 

लक्षण कस्ता हुन्छन्?

रेबिज संक्रमित जनावरले टोकेको एक महिनादेखि तीन महिनासम्म मानिसमा यसका लक्षण देखिन थाल्छन्। तर कसैकसैमा संक्रमित जनावरले टोकेको एक वर्षपछि पनि लक्षण देखा पर्ने डा. पुनको भनाइ छ।

उनका अनुसार रेबिज संक्रमित भएको मानिसमा सुरुमा हल्का ज्वरो आउने, जनावरले टोकेको ठाउँमा झमझमाउने, टाउको दुख्नेजस्ता लक्षण देखापर्छन्। जब रोग बल्झँदै जान्छ तब संक्रमित व्यक्ति पानी र हावाबाट डराउने, अनावश्यक रूपमा छटपटाउने, रिसाउने, अरूलाई झम्टिन खोज्ने, उज्यालोबाट डराएर अँध्यारोमा बस्न रुचाउने गर्छन्। बिरामीमा यस्ता लक्षण देखिन थालेपछि भने उपचार सम्भव नहुने उनले बताए। 

कुनै पनि जनावरले टोकेको ४८ देखि ७२ घन्टा भित्र रेबिज विरुद्धको खोप लगाइसक्नुपर्ने हुन्छ। रेबिजविरुद्धको खोपा छाला र मासुमा गरी दुई तरिकाले दिइँदै आएको डा. पुनले बताए। 
छालामा दिइने खोप दुवै पाखुरामा तीनपटक दिनुपर्छ। पहिलो खोप लगाएको तेस्रो र सातौं दिनमा लगाइन्छ भने मासुमुनि दिइने खोप एक पाखुरामा चारपटक दिइन्छ। पहिलो खोप दिइएको तेस्रो, सातौं र चौधौं दिनमा तीन डोज लगाउनुपर्ने उनको भनाइ छ। 

कसरी बच्ने? 

रेबिजबाट बच्ने एउटै उपाय भनेको खोप लगाउनु नै रहेको डा. पुनले बताए। कुकुर वा अन्य जनावरले टोकेको ४८ देखि ७२ घन्टाभित्र रेबिजविरुद्धको खोप लगाइसक्नुपर्ने उनको भनाइ छ।

हेर्दा सामान्य देखिने कुकुर र टोकेको घाउ पनि सामान्य नै छ भनेर लापरबाही गर्ने र अस्पताल नआउने प्रवृत्ति अझै कायम रहेको उनले बताए।

‘रेबिज जटिल रोग हो र यसको संक्रमणले बिरामीलाई बचाउन नसकिने भएकाले लापरबाही गरेर बस्नुभन्दा रेबिजविरुद्धको खोप लगायौं भने रोगबाट बच्न सकिन्छ,’ उनले भने।
 

प्रकाशित मिति: १२:५८ बजे, शुक्रबार, मंसिर १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्