यसकारण अत्यावश्यक छ – निजगढ अन्तर्राष्ट्रिय विमानस्थल
सन् २०१६ मा नेपालको कुल ग्राहस्थ उत्पादन (जीडीपी) २१.१३ अर्ब डलर थियो भने माल्दिभ्सको ४.२२ अर्ब डलर । जीडीपीमा पर्यटनको योगदान नेपालमा २.३५ प्रतिशत छ, माल्दिभ्समा ६७ प....
सन् २०१६ मा नेपालको कुल ग्राहस्थ उत्पादन (जीडीपी) २१.१३ अर्ब डलर थियो भने माल्दिभ्सको ४.२२ अर्ब डलर । जीडीपीमा पर्यटनको योगदान नेपालमा २.३५ प्रतिशत छ, माल्दिभ्समा ६७ प्रतिशत । धेरै वर्ष जातीय गृहयुद्धले थलिएको श्रीलंकामा समेत जीडीपीमा पर्यटनको योगदान ४.०७ प्रतिशत छ । नेपालमा भएको पर्यटनको अथाह सम्भावनाका तुलनामा यो क्षेत्रबाट भएको आम्दानीलाई स्वाभाविक मान्न सकिँदैन । उक्त वर्ष जम्मा ७ लाख ५३ हजार पर्यटक नेपाल आएका रहेछन् भने माल्दिभ्समा करिब १२ लाख ८६ हजार र श्रीलंकामा करिब २० लाख ५१ हजार पर्यटक गएका रहेछन् ।
विश्वका अन्तर्राष्ट्रिय विमानस्थलहरुको तुलनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सवारी आवागमन असाध्यै कम देखिन्छ । त्यहाँबाट वार्षिक रुपमा आवतजावन गर्ने यात्रुहरुको संख्या सन् २०१७ मा जम्मा ६३ लाख ४० हजार थियो । त्यसै वर्ष सिंगापुरको चाँगी अन्तर्राष्ट्रिय विमानस्थलबाट आउने जाने यात्रुको संख्या करिब ६ करोेड २० लाख रह्यो भने भारतको नयाँ दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल करिब ६ करोड यात्रुले प्रयोग गरे । यस्तो आकँडा थाइल्याण्डको सुवर्ण भूमि अन्तर्राष्ट्रिय विमानस्थलका लागि ६ करोड १० लाख र चीनको बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थमा ९ करोड ६० लाख थियो ।
नेपाल भूपरिवेष्ठित मुलुक भएकाले तुलनात्मक रुपमा धेरै सामान कार्गोको रुपमा जहाजबाट ल्याउनुपर्ने हुन्छ । तर त्रिअविको क्षमता सीमित छ । यो विमानस्थलमा सन् २०१५ मा जम्मा २९ हजार टन कार्गो ह्याण्डल गरिएको थियो । त्यो वर्ष सिंगापुरको चाँगी विमानस्थलमा १८ लाख ५३ हजार टन, नयाँ दिल्ली विमानस्थलबाट ७ लाख ८७ हजार टन, थाइल्याण्डको सुवर्णभूमि विमानस्थलबाट १२ लाख ३० हजार टन, बेइजिङ विमानस्थलबाट १८ लाख ४३ हजार टन कार्गो ह्यान्डल भएको थियो । यसकै लागि पनि वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थल आवश्यक भइसकेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश र नेपाल आउने जाने यात्रुको संख्या प्रतिवर्ष बढ्दो छ । सन् १९९० मा त्यहाँबाट अन्तर्राष्ट्रिय उडानमा आउने जाने यात्रुको संख्या करिब ७ लाख २२ हजार थियो भने सन् २०१७ मा ३८ लाख ८८ हजार पुग्यो । त्यस्तै आन्तरिक उडानतर्फ यात्रुको संख्या सन् १९९० मा करिब ४ लाख १६ हजार थियो भने सन् २०१७ मा करिब २४ लाख ५१ हजार जति पुग्यो । यो अवधिमा अन्तर्राष्ट्रिय उडान र घरेलु उडानबाट आवतजावत गर्ने यात्रुसंख्यामा वृद्धि प्रतिवर्ष करिब ७.२ प्रतिशत र ७.६७ प्रतिशत रह्यो । यो विमानस्थलबाट ल्याउने र लगिने कार्गोको मात्रा पनि बढेको छ । भविष्यमा यी आँकडमा वृद्धि हुनेछ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अहिले नै केही क्षेत्रमा तोकिएको क्षमतामा भन्दा बढी काम गरिरहेको छ । जस्तै, यसले व्यवस्थापन गर्न सक्ने भन्दा ३५ प्रतिशत बढी बढी यात्रुहरु यहाँबाट आउजाउ गर्न थालिसकेका छन् । पीक आवरमा यात्रुहरुको आवतजावत स्वाभाविक भन्दा करिब ५१ प्रतिशत बढी भइसकेको छ । अहिले नै रनवेको प्रयोग त्रिअविको क्षमताको ७८ प्रतिशत भइरहेको छ । सन् २०२६ सम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवेले जहाजहरु आवतजावत धान्न सक्ने छैन भने त्यहाँका भवनबाट सन् २०२८ पछि बढ्ने यात्रुहरुलाई सुविधा दिन सक्ने छैनन् ।
अहिले नै पनि यात्रु र जहाजहरुको बढी आवतजावतले गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केही सुरक्षा चिन्ताहरु उत्पन्न भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अहिले नै साँघुरो भएको छ । एयर स्पेश साँघुरो भएकोले जहाजहरुले तुरुन्तै अवतरण गर्न पाउँदैनन्, धेरै समय आकाशमै होल्डमा रहन बाध्य हुन्छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एअर ट्राफिक कन्ट्रोलर (एटीसी)को क्षमता एक घण्टामा ३३ वटा जहाज हो तर पिक आवर (बिहान १० बजे देखि दिउँसो ४ बजेसम्म) प्रति घण्टा ४४ वटासम्म जहाज ह्यान्डल गर्नु परेको अवस्था छ । यसरी पिक आवरमा एटीसी क्षमताको १३३ प्रतिशत काम गरिरहेको हुन्छ । यसले गर्दा एटीसीमा रहेर काम गर्नेहरुलाई बढी तनाव उत्पन्न हुन सक्छ । यसको गम्भीर परिणामहरु हुन सक्छन् ।
निजगढमा नै किन ?
नेपालमा पर्यटनको ठूलो सम्भावना छ । पर्यटनलाई बढावा दिने हो भने ठूलो क्षमताको विमानस्थलको विकल्प छैन ।
काठमाडौं नेपालको संघीय राजधानी, साँस्कृतिक सम्पदाले धनी सहर र हिमाली क्षेत्रमा जान सजिलो ठाउँ भएकाले अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट नजिक हुनु आवश्यक छ । काठमाडौंलाई निजगढसम्म जोड्ने द्रुुतमार्ग बनेको खण्डमा त्यहाँ पुग्न लाग्ने समय करिब १ घण्टा जति हुनेछ ।
अहिलेसम्म काठमाडौं आउने र जाने जहाजहरुले अवतरण गर्नका लागि भारतीय क्षेत्रबाटै उचाइ कम गर्दै जानु पर्ने र जाँदा भारतीय क्षेत्रसम्मै उचाइ बढाउँदै जानुपर्ने हुन्छ । निजगढ विमानस्थल बनेको खण्डमा रन वे पूर्व पश्चिम फैलने र विमानस्थलको उत्तर र दक्षिण दुवैतिर जहाज उडाउन प्रशस्त खुला क्षेत्र भएकाले जहाजहरुले नेपालको सीमाभित्रै उचाइ कम गर्न र उचाइ लिने सुविधा पाउनेछन् ।
विश्वका २० चर्चित सहरहरु ४ घण्टाको उडान दूरीमा हुने हुनाले निजगढ विमानस्थल महत्वपूर्ण ट्रान्जिट हुनसक्छ । नेपाली आकाश भएर जाने जहाजहरुको लागि मार्ग सृजना हुनेछ । अन्तर्राष्ट्रिय नियम अनुसार नेपालले यसबाट पनि आम्दानी गर्न सक्नेछ ।
नेपालमा स्तरीय वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थलको आवश्यकताको बारेमा छैटौ योजना (२०३७ –२०४२) देखि नै सोंच बनेको देखिन्छ । त्यसपछिका प्रत्येक योजनाले पनि त्यस्तो आवश्यकता औंल्याएका थिए । एघारौं योजना (२०६४–२०६६)ले निजगढ नै त्यस्तो अन्तर्राष्ट्रिय विमानस्थल बनाउन उपयुक्त थलोको रुपमा औंल्याइएको थियो । त्यसपछिका योजनामा पनि यसलाई निरन्तरता दिइएको छ । यसको विस्तृत परियोजना प्रतिवेदन बनाउनेदेखि वातावरणीय प्रभाव मूल्याङ्कन गर्ने काम भइसकेका छन् ।
उक्त विमानस्थल बनेको खण्डलमा त्यसले वार्षिक रुपमा ५ करोड भन्दा बढी यात्रुहरुको ओहोरदोहोर थेग्न सक्छ । त्यहाँबाट उत्तर अमेरिका, यूरोप र अष्ट्रेलियाका लागि लामो दूरीका सीधा उडानहरु गर्न मिल्छ । यसले हाम्रो पर्यटक क्षमता पनि अभिवृद्धि गर्छ ।
अहिले बन्दै गरेका भैरहवा र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बन्न सक्छन् तर निजगढको जस्तो भूमिका निर्वाह गर्न सक्दैनन् ।
(देउजा सरकारका पूर्वसहसचिव हुन् । )