Kathmandu Press

वाग्मतीकिनारका सुकुमबासी : राज्यबाट त्रास, नेताबाट आस     

तीन दशकदेखि वाग्मती नदीकिनारमा रहेका शंखमूल, सिनांमगल, थापाथलीलगायत स्थानमा बस्ती बनाएर सुकुमबासी बस्दै आएका छन्। वाग्मती सभ्यताले सुकुम्बासी बस्ती भत्काउने निर्णय गरेपछि त्यहाँ एकातिर त्रास र अर्कातिर सरकारप्रति आक्रोशको ओइरो लाग्न थालेको छ।
वाग्मतीकिनारका सुकुमबासी : राज्यबाट त्रास, नेताबाट आस     

काठमाडाैं, मंसिर ३ : ‘नेताहरू आउँछन्, भत्काउन दिँदैनौं भन्दै जान्छन्, सरकारी कर्मचारी सुकुमबासी बस्ती खाली गर्न माइकिङ गरेर हुकुम दिन्छन्,’ काठमाडौं महानगरपालिका–११ थापाथलीमार्गस्थित सुकुम्बासी बस्तीकी हरिमाया जिम्बा निराश हुँदै भन्छिन्, ‘टहरा भत्काइदेला भन्ने त्रासले भोकनिद्रा लाग्नै छाडिसक्यो।’ 

हरिमाया काठमाडौं महानगरपालिका–११ स्थित सुकुमबासी बस्तीको टहरा नं. ०७७ मा बस्छिन्। उनी त्यहाँ बस्न थालेको १८ वर्ष भइसक्यो। आफूहरूलाई सरकारले बस्दै आएको ठाउँमै लालपुर्जा दिएर राख्नुपर्ने माग हरिमायाको छ। ‘हामी विदेशी होइनौं, नेपाली हौं। हाम्रो तीनपुस्ते सम्पत्ति छानबिन गरियोस् र बस्न दिइयोस्,’ उनले भनिन्, ‘१० दिनभित्र हट्नू भनेको छ, त्यसो भनेकै भरमा हामी हट्दैनौं, ज्यान दिनुपरे पनि दिन्छौं।’ 

वाग्मती नदीकिनारमा अनधिकृत रूपमा बनाइएका घरटहरा भत्काउन र त्यहाँ रहेका निर्माण सामग्री तथा सवारीसाधन १० दिनभित्र हटाउन भन्दै अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले कात्तिक २५ गते सूचना सार्वजनिक गरिसकेको छ। सोही सूचनाबमोजिम वाग्मती नदीकिनारमा बस्दै आएका सुकुम्बासीलाई टहरा भत्काउन निर्देशन दिँदै माइकिङ गरिएपछि हरिमाया मात्र नभएर सिंगै बस्ती सरकारप्रति आतंकित र आक्रोशित बनेको छ।

Hardik ivf

तीन दशकदेखि वाग्मती नदीकिनारमा रहेका शंखमूल, सिनांमगल, थापाथलीलगायत स्थानमा बस्ती बनाएर सुकुमबासी बस्दै आएका छन्। वाग्मती सभ्यताले सुकुम्बासी बस्ती भत्काउने निर्णय गरेपछि त्यहाँ एकातिर त्रास र अर्कातिर सरकारप्रति आक्रोशको ओइरो लाग्न थालेको छ। 

सरकारले सूचना सार्वजनिक गरेको चार दिन नबित्दै कात्तिक २९ गते सुकुम्बासीहरूले वाग्मती सभ्यताको कार्यालय गुह्येश्वरीमा पुगेर धर्ना दिए। धर्नामा लगभग ३/४ सय सुकुम्बासी सहभागी थिए। सोही दिन उनीहरूले वाग्मती सभ्यतालाई ध्यानाकर्षणपत्र पनि बुझाएका छन्।

वाग्मती सभ्यताका आयोजना प्रमुख सुवास बस्नेतलाई बुझाइएको ध्यानाकर्षणपत्रमा दशकौंदेखि बसिआएका भूमिहीन सुकुम्बासीलाई घरबारविहीन बनाउन खोजिएको भन्दै आपत्ति जनाइएको छ। वाग्मती सभ्यताका आयोजना प्रमुख सुवास बस्नेतले पत्र बुझ्दै त्यसलाई समितिमा बुझाउने र समितिबाट आएको निर्णय सकुम्बासीलाई जानकारी दिने बताए। 

बर्खामा वाग्मतीको बाढीसँग जुध्दै, अरूबेला सरकारले डोजर पस्ने त्रास भोग्दै सोही बस्तीमा दैनिकी गुजारिरहेका २१ वर्षीय हरिशरण राई नुवाकोटबाट त्यहाँ आएका हुन्। उनका बुबा मदिरा सेवन गर्थे। घरपरिवार छाडेर महिनौं बाहिर रमाउँथे। बाबुको त्यस्तो गैरजिम्मेवारप्पनका कारण सन्तान बिचल्लीमा पर्ने सम्भावना उनले देखिन्। छोराछोरीसहित काठमाडौं आइपुगेकी उनकी आमाका लागि सुकुम्बासी बस्तीमा रहनु नै अन्तिम विकल्प बन्यो।

ss1668849726.jpg
क्रमशः हरि राई, दीपक राई र हरिशरण राई

हरिशरणलाई नुवाकोटमा आफ्नो गाउँ कस्तो छ भन्नेसमेत थाहा छैन। उनी सुकुम्बासी बस्तीमै हुर्किए। उनी अहिले आमालाई सघाउन ज्यामी काम गर्छन्। उनका दाजुभाइ, दिदीबहिनी र हजुरआमासहित १३ जनाको परिवार सुकुम्बासी बस्तीमा बस्छन्। उनको परिवार सुकुमबासी बस्तीमा बस्न थालेको झन्डै दुई दशक भइसक्यो। ‘आमा बुढी भइसक्नुभयो। त्यसैले पारिवारिक जिम्मेवारी सम्हाल्न विदेश जाने सोचमा छु,’ उनले भने, ‘तर सरकारले सुकुम्बासी बस्तीमा डोजर चलाउने भएपछि कहाँ जाने के गर्ने भन्ने चिन्ता लागिरहेको छ।’

टहरा भत्किएपछि कहाँ जाने, कसरी गुजारा चलाउने भनेर त्रासदीपूर्ण मनोविज्ञान लिएर बाँचिरहेका हरिमाया र हरिशरण प्रतिनिधि उदाहरण मात्र हुन्, थापाथलीको प्रसूतिगृह अस्पतालपछाडि १३६ टहरामा बस्ने ७÷८ सय सुकुम्बासीको हालत पनि उनीहरूको जस्तै छ।

काठमाडौं महानगर ११ नम्बर वडा कार्यालयले विद्युत् जडानका लागि घर नम्बरको बोर्ड टाँसिदिएको छ। गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनअघि मात्र घरका मुख्य व्यक्तिको नाम र घर नम्बर टाँसिदिएको १३३ नम्बरको टहरमा बस्ने ५८ वर्षीया कान्छीमाया साङ्बाे बताउँछिन्।

‘प्रत्येक घरमा पाँचभन्दा बढी सदस्य छन्,’ उनी भन्छिन्, ‘बाँच्न संर्घष गर्दागर्दै सुकुम्बासी बस्तीमा आइपुगेकी हुँ।’ कान्छीमायाको जन्मघर हेटौंडा हो। उनी २५ वर्षअघि काठमाडौं आएकी थिइन्। गाउँमा जग्गाजमिन नभएपछि गुजारा चलाउन सहज हुने भनेर उनी राजधानी काठमाडौंमा भित्रिएकी हुन्।

दुई सन्तान (एक छोरा र एक छोरी) लिएर आएकी उनले सुरुवाती दिनमा कलंकीको फुटपाथमा चियापसल राखिन्। त्यसबाट गुजारा चलाउन मुस्किल भयो। ज्यामी काम गर्न थालिन्। ‘ज्यामी काम गर्दा पनि दुई सन्तानलाई हुर्काउन गाह्रो भएपछि सुकुमबासीबस्तीमा आइपुगें,’ उनले भनिन्, ‘मर्नुभन्दा बहुलाउनु ठिक ठानेर खोलाको किनारमा बास लिन आइपुगें, एक्लै भए ज्यानै त्यागिदिन्थे, छोराछोरी भएकाले बाँचिरहेकी छु।’ 

पति छुट्टै बस्ने भएकाले पारिवारिक विषयमा उनले थप कुरा गर्न चाहिनन्। उनी सुकुमबासी बस्तीबाट नहटाउन सरकारलाई आग्रह गर्छिन्। वाग्मती किनारमा करिडोर बनाएपछि निस्कने खाली ठाउँमा सुकुमबासीलाई राखिदिए हुने अपेक्षा उनी गर्छिन्। ‘सरकारले जहाँ राखे पनि सरकारी जग्गामा राख्ने हो, त्यसैले बसिरहेको ठाउँमा बस्न दिए हुन्थ्यो,’ उनले भनिन्, ‘बाँसले बारेर भए पनि सानो झुपडी बनाएकी छु, झरीमा ओत लाग्ने ठाउँ मिलेको छु।’

उनी सरकारले जहाँ राखे पनि सुरक्षित बस्ने ठाउँ व्यवस्थापन गरिदियोस् भन्ने चाहन्छिन्। ‘जाने ठाउँ कहीँ छैन, बिचल्ली पार्नुभन्दा कतै बस्ने ठाउँ दिए हुन्थ्यो,’ उनी भन्छिन्, ‘सरकारले लालपुर्जा दिन्छ भन्ने त आशा नै छैन तर पनि बस्ने बास दिए हुन्थ्यो।’ उनी चुलोमा आगो बाल्न दिनभर ज्यामी काममा घोटिन्छिन्। उनका छोराछोरीले पनि कहिलेकाहीँ  उनलाई सघाउँछन्। 

२७ वर्षीय हरि राई दुई दशकअघि दाजुसँग बुढानीलकण्ठमा बस्थे। गुजारा चलाउन नसकेपछि उनीहरू त्यही सुकुम्बासी बस्तीमा आएर बस्न थाले। अहिले उनका दाजुको निधन भइसकेको छ। आफ्नो जन्मथलो कहाँ हो भन्नेबारे न उनलाई अत्तोपत्तो छ, न उनका दिवंगत दाजुलाई थाहा थियो।

sss1668849726.jpg
रन्जुदेवी साह र कान्छीमाया स्याङ्बाे

दाजुको निधनपछि एक्लिएका हरि ज्यामी काम गरेर हातमुख जोर्छन्। सुकुम्बासी बस्तीको १३३ नम्बरको टहर उनका लागि ‘स्वर्ग’ हो। तर सरकारले त्यही ‘स्वर्ग’ भत्काइदेला भनेर केही दिनदेखि उनको निदहराम भइरहेको छ। ‘आएर भत्काइहाल्ने हो कि भनेर काममा पनि गएको छैन,’ उनले भने, ‘जबर्जस्ती भत्कायो भने सामान पनि निकाल्न पाइँदैन भन्ने चिन्ताले काममा नगएको हुँ।’ 

वाग्मती सभ्यताले करिडोर निर्माणका लागि नदीवरपरका अवरोध हटाउँदै आइरहेको छ। सहरी विकास मन्त्रालयअन्र्तगतको वाग्मती सभ्यता र भूमि आयोगको संयुक्त बैठकले सुकम्बासी बस्ती हटाउने निर्णय गरेको आयोजना प्रमुख बस्नेत बताउँछन्। ‘नदीवरपरका बस्ती हटाउने योजना तत्काल बनाइएको होइन,’ उनले भने, ‘करिडोर निर्माणका लागि दसैंअगाडि नै त्यस्तो निर्णय गरिएको हो।’

करिडोर निर्माणसँगै बिस्तारै सुकुमबासी हटाउँदै गइरहेको उनी बताउँछन्। ‘सुकुमबासीको समस्या सुनेका छौं, पुनः समितिको बैठक बसेर छलफल हुन्छ,’ उनले भने, ‘त्यसपछि मात्र अब के गर्ने भन्ने टुंगो लाग्छ।’ 

सुकुमबासीले ध्यानाकर्षणपत्र बुझाएपछि वाग्मती सभ्यताले कुनै पनि सूचना जारी गरेको छैन। त्यसैले ३२ वर्षीया रञ्जु साह सरकारले टहरा भत्काउने हो कि भन्ने कुराले अत्तालिएकी छन्। उनका १५ वर्षीय छोरा र १३ वर्षीया छोरी छन्। उनी सुकुमबासी बस्तीको १०२ नम्बरको टहरामा बस्छिन्। उनी त्यहाँ बस्न थालेको १६ वर्ष भइसक्यो। 

सिरहा घर भए पनि पति बितेपछि गर्भावस्थामै उनी काठमाडौं भित्रिएकी हुन्। त्यतिबेला आफन्तले सुकुमबासी बस्तीमा बस्ने व्यवस्था मिलाइदिए। उनका दुई सन्तान त्यही हुर्किए। अहिले नजिकैको विद्यालयमा पढाउँछिन्, ज्यामी काम गरेर उनीहरूको पालनपोषण गर्छिन्। टहरा भत्काउने भनेर माइकिङ भएको अवस्थामा उनी कात्तिक २९ गते काममा गएकी थिइनन्। ‘टहरा भत्काउँछन् भन्ने पिर परेर काममा गइनँ। भत्काउन आइहाले पकाउने भाँडाकुडाँ निकाल्नुपर्छ,’ उनले भनिन्।

सरकारले आफूहरूमाथि ज्यादती गरिरहेको उनले बताइन्। ‘जाने ठाउँ कहीँ छैन। बस्तीमा डोजर चल्यो भने हामी वाग्मती सभ्यताकै घरमा गएर बस्छौं।’ सरकारले बस्ने विकल्प पनि दिँदैन र बस्दै आएको टहरा पनि भत्काउँछ भने आफूहरूलाई खाल्डो खनेर पुरिदिए हुने भन्दै रञ्जुदेवीले आक्रोश व्यक्त गरिन्। ‘जाने ठाउँ काहीँ छैन, दुःख गरेर बाँसले बारेको घर पनि सरकारले भत्काउँछ भने हामीलाई पनि मारिदिओस् र यही पुरिदिओस्, हाम्रो अन्त जाने ठाउँ कहीँ छैन,’ उनले भनिन्,  ‘होइन भने तीनपुस्ते छानबिन गरेर वास्तविक सुकुमबासीलाई सरकारले बस्ने व्यवस्था गरिदिओस्।’ 

घरजग्गा हुँदाहुँदै पनि केही व्यक्ति सुकुमबासी बनेर बसेकै कारण सरकारले वास्तविक सुकुमबासीप्रति नकारात्मक सोच राख्ने गरेको उनी सुनाउँछिन्। ‘सत्य–तथ्य छानबिन गरियोस् र साँच्चै सुकुमबासीलाई बास दिइयोस्,’ उनले भनिन्, ‘सरकारका कर्मचारी कोही लालपुर्जा दिने भन्छन्, कोही टहरा भत्काउने भन्छन् । कुरै बुझ्न सकिएन।’

geeta and hari maya1668849725.jpg
हरिमाया जिम्बा र गीता थापामगर

कात्तिक २७ गते काठमाडौं ४ का कांग्रेस उम्मेदवार प्रकाशमान सिंह उक्त सुकुमबासी बस्तीमा पुगेका थिए। ‘तपाइहरूलाई हटाउँदैनौं, लालपुर्जा दिन्छौं भनेर आशा देखाएर गए,’ सुकुमबासी बस्तीकै एकजनाले भने। प्रकाशमान मात्र होइनन्, चुनावका बेला र अन्य समयमा पनि आउने विभिन्न दलका नेताले सुकुमबासीलाई लालपुर्जा दिने भन्दै आशा मात्रै देखाउने गरेको उनी बताउँछिन्। ‘हामी नेपाली हाैं, हामीसँग नेपाली नागरिकता छ,’ उनले भनिन्, ‘हामी यही देशका नागरिक हौं, नागरिकजस्तो व्यवहार सरकारले गरोस्, अनागरिकमाथि जस्तो व्यवहार नहोस्।’ 

सुकुमबासी बस्तीको ११३ नम्बरको टहरमा बस्ने दीपक राई पनि सरकारले सुकुमबासीलाई हटाउनुअघि कतै बस्ने व्यवस्था गरिदिए हुने अपेक्षा गर्छन्। परिवारमा उनीबाहेक दुई बच्चा, पत्नी र पिता छन्। उनकी आमाको ७/८ महिनाअघि मात्र निधन भएको हो। ‘दुई बच्चा र वृद्ध बुवालाई कहाँ लिएर जाने भन्ने कुराले पिरोलिएको छु,’ दीपकले भने, ‘पढेको छैन, रोजगारी पाउन मुस्किल छ, परिवार कसरी पाल्ने भन्ने पिरले सताएको छ।’ 

त्यही बस्तीकी ५२ वर्षीया गीता थापामगर पनि टहरा भत्काइएको अवस्थामा कहाँ जाने के गर्ने भनेर चिन्तित छिन्। उनी सुकुमबासी बस्ती ०९७ नम्बरको टहरमा बस्छिन्। उनी त्यहाँ बस्न थालेको १७–१८ वर्ष भइसक्यो। उनका छोराछोरी हुर्केर लाखापाखा लागे। उनी अहिले त्यहाँ एक्लै बस्छिन्। वरिपरिका घरमा आफूले सक्ने काम गरेर गुजरा चलाइरहेको उनले सुनाइन्। ‘छोरी बिहे गरेर गइसकी, छोरा कहिलेकाहीँ आउँछ,’ उनले भनिन्, ‘टहरा भत्काए कहाँ जाने के गर्ने भनेर अन्योलमा परेकी छु।’
 

प्रकाशित मिति: १५:०४ बजे, शनिबार, मंसिर ३, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्