साझेदारी र कनेक्टिभीटी नेपाल–भारत साझा समृद्धिका आधार : परराष्ट्रमन्त्री
नेपाल र भारतले पारस्परिक रूपमा प्रसारण अन्तरसम्बन्ध, ग्रिड कनेक्टिभिटी र विद्युत आदानप्रदान, सीमापार बिजुली व्यापार विकास गर्ने सहित विद्युत क्षेत्रमा सहयोगलाई थप मजबुत बनाएको भनाई राणाको छ।
काठमाडौं, जेठ २९ : परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले नेपाल–भारतबीच विभिन्न क्षेत्रमा हुनसक्ने संयुक्त साझेदारी र कनेक्टिभीटीका माध्यमबाट दुवै देशमा साझा समृद्धि हासिल हुने भनाई राखेकी छिन्।
बिहीबार काठमाडौँमा आयोजित नेपाल–भारत रणनीतिक संवाद सम्बन्धी एक कार्यक्रमको उद्घाटन गर्दै मन्त्री डा.राणाले उक्त भनाई राखेकी हुन्। उनले नेपाल र भारतले दुई देशबीचको सम्पर्क सञ्जाललाई विभिन्न प्लेटफर्महरूमार्फत् समृद्धिमा रूपान्तरण गर्ने समय आएको बताइन्।
हाल विश्वव्यापी आर्थिक परिदृश्य ज्ञानमा आधारित अर्थतन्त्र, सेवाहरू र डिजिटल प्लेटफर्महरूतर्फ केन्द्रित भइरहेको बताउँदै अबका दिनमा दुई देशले पनि डिजिटल अर्थतन्त्र, प्रविधि र नवप्रवर्तन, आधुनिक शिक्षा, सीप विकास र रचनात्मक अर्थतन्त्रका क्षेत्रमा आफ्ना प्रयासहरुलाई साझा रुपमा केन्द्रित गर्नुपर्ने भनाई मन्त्री राणाको थियो।
पछिल्लो समयमा ऊर्जा क्षेत्र दुई देशबीचको सहयोगको प्रमुख उदाहरणका रूपमा रहेको मन्त्री राणाको भनाई छ।
आगामी दशकमा नेपालबाट १० हजार मेगावाट बिद्युत आयात गर्ने भारतको प्रतिबद्धताले नेपाल–भारत ऊर्जा सहयोगको प्रतितिधित्व गरेको पनि उनले बताइन्। नेपाल र भारतले पारस्परिक रूपमा प्रसारण अन्तरसम्बन्ध, ग्रिड कनेक्टिभिटी र विद्युत आदानप्रदान, सीमापार बिजुली व्यापार विकास गर्ने सहित विद्युत क्षेत्रमा सहयोगलाई थप मजबुत बनाएको भनाई राणाको छ।
विश्वमा द्रुत प्राविधिक परिवर्तन, परिवर्तनशील भूराजनीतिक गतिशीलतामा रहेको र विश्वव्यापी जलवायु परिवर्तनले निम्त्याउने जोखिमहरू बढ्दै गएको अवस्थामा दुई देशबीच साझा चुनौतीसँग जुध्न संयुक्त सहकार्यको आवश्यकतामाथि उनको जोड थियो।
‘नेपालले आफ्ना छिमेकी र मित्रहरूसँगको साझेदारीमा नयाँ युगमा शान्ति, स्थिरता र समृद्धिको भविष्यको अपेक्षा गरेको छ,’ मन्त्री डा.राणाको भनाई थियो, ‘यस प्रकारका प्लेटफर्महरुले नेपाल–भारत सम्बन्धलाई थप प्रगाढ बनाउने र जनता जनता बीचको सम्पर्कलाई थप मजबुद बनाउन सहयोग पु¥याउने छ।’
