मत्थर बन्दै डेंगु, अझै केही दिन जाेखिम रहने
देशव्यापी रूपमा फैलिएको डेंगु पूर्ण रूपमा नियन्त्रण हुन नसके पनि जाडाेयामसँगै संक्रमित हुने संख्यामा भने कमी आइरहेको सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन्।काठमाडौं, मंसिर २ : गत भदौबाट महामारीका रूपमा फैलिएको डेंगु रोग जाडोयाम लागेसँगै मत्थर बन्दै गइरहेको छ। जाडो बढ्दै गएपछि डेंगु संक्रमितको संख्या आरोलो लाग्दै गएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।
महाशाखाको अक्टोबर ३१ को तथ्यांकअनुसार नेपालभर डेंगुबाट संक्रमण हुनेको संख्या ४६ हजार ७६८ थियो। नोभेम्बर ९ मा सो संख्या बढेर ५१ हजार १७७ पुगेको थियो। यसरी हेर्दा नौ दिनको अन्तरालमा नेपालभर ४ हजार ४ सय ९ जना डेंगु संक्रमित थपिएका थिए।
नोभेम्बर १२ मा नेपालभरि डेंगु संक्रमित ५१ हजार ४४६ जना पुगे। ती तीन दिनको अन्तरालमा देशभर २६९ जना मात्र डेंगुका बिरामी थपिएकाले संक्रमणमा कमी आएको पुष्टि हुन्छ।
सबैभन्दा बढी डेंगु संक्रमण हुने प्रदेशमा वाग्मती अग्रपंक्तिमा छ। नोभेम्बर १२ सम्म वाग्मती प्रदेशमा ३९ हजार ८५८ जना डेंगु बिरामी थिए। सोही मितिसम्म लुम्बनी प्रदेशमा ४ हजार ९ सय २१, प्रदेश १ मा २ हजार ९२, गण्डकीमा १ हजार ७४६, सुदूरपश्चिममा एक हजार २५७, मधेसमा ८९६ र कर्णालीमा ६७६ जनामा डेंगु संक्रमण देखिएको छ।
त्यसैगरी डेंगु संक्रमण सबैभन्दा बढी फैलिएको जिल्लामा काठमाडौं रहेको छ। नोभेम्बर ९ सम्म १३ हजार ७६८ जनामा डेंगुु पुष्टि भएको काठमाडौंमा तीन दिनको अन्तरालमा ६५ जना नयाँँ संक्रमित थपिएर १३ हजार ८३३ पुगेको छ।
अझै केही दिन डेंगुको जोखिम रहने
डेंगु भन्नेबित्तिकै एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने रोग भन्ने बुझिन्छ। सामान्यतया गर्मीयाम र वर्षात्को समयमा लामखुट्टे बढी सक्रिय हुने र यसको प्रजनन अथवा वृद्धि विकास पनि सोही मौसममा चाँडो हुने भनेर आम रूपमा बुझिन्छ।
तर डेंगु सार्ने लामखुट्टेको आनीबानी अलिकति फरक हुने गर्छ। हल्का चिसो मौसममा पनि यो लामखुट्टे बाँच्न सक्ने भएकाले हिउँद लागिसक्दा पनि डेंगु नियन्त्रण हुन नसकेको सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन्।
हरेक वर्ष डेंगु असोज–कात्तिकसम्म देशको कुनै न कुनै भूभागमा देखिने गरेको उनी बताउँछन्। ‘काठमाडौंलगायत देशका विभिन्न भूभागमा तीव्र गतिमा डेंगु फैलिएको यो नै पहिलो वर्ष हो,’ उनले भने।
डा. पुनका अनुसार यो वर्ष भदौअसोजबाट लम्बिँदै गएको डेंगुबाट दुई तीन महिनाको अवधिमा देशभरका धेरै मानिस संक्रमित भइसकेका छन्। अहिले काठमाडौंको हकमा भने दुईतीन साताको तुलनामा भने निकै कमी आएको छ।
एक महिनाअघिसम्म डेंंगुका बिरामीले बेड नै नपाएर समस्या भोग्नुपरेको टेकु अस्पतालमा अझै दैनिक १२ देखि १५ जना डेंगुका बिरामी आउने गरेको उनी बताउँछन्।
‘सामान्य लक्षण देखिएका बिरामीलाई चेकजाँच गराएर सिटामोल दिने गरिन्छ। डेंगु लाग्दा टाउको दुख्ने, बान्ता हुने, ज्वरो आउने, रिँगटा लाग्ने, हाडजोर्नी दुख्नेजस्ता लक्षण देखापर्छ भनेर प्रायः सबैलाई थाहा भइसक्यो,’ डा. पुन भन्छन्, ‘त्यसकारण यस्ता लक्षण देखा परेपछि घरमै बसेर सिटामोल खानेको संख्या धेरै छ। त्यसैले अस्पतालमै आई उपचार गराउने डेंगुका बिरामीको संख्यामा भने कमी आएको छ।’
यसरी देशव्यापी रूपमा फैलिएको डेंगु पूर्ण रूपमा नियन्त्रण हुन नसके पनि जाडाेयामसँगै संक्रमित हुने संख्यामा भने कमी आइरहेको उनी बताउँछन्। युरोपको दक्षिणी भेगमा पनि एडिस जातको लामखुट्टे देखिन्छ। ‘त्यसकारण एडिस जातको लामखुट्टे १० देखि १२ डिग्री सेल्सियस तापक्रममा बाँच्न सक्ने भएकाले अझै केही दिन काठमाडौंलगायत देशका विभिन्न भूभागमा डेंगुको जोखिम रहनेछ,’ डा. पुन भन्छन्।